६ वर्षपछि ढोलाहिटी–लेले सडक सम्पन्न गरिने
काठमाडौं । निर्माण सुरु भएको छ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न गर्ने तयारी गरिएको छ । बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौतामा उल्लेख भए पनि आधाभन्दा बढी लम्बाइ र लक्ष्यभन्दा आधा कम चौडाइको काम भएको छ । तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सुनाकोठीमा झण्डै आठ सय मिटर लम्बाइमा एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउड रहेकाले पुनःसडक भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार पानी बग्ने ठाउँ नभएकाले सडकमा निर्माण हुनासाथ उप्कने गरेको हो । कालोपत्रका लागि प्रयोग हुने उपकरणले सडक नजिकका घरलाई असर गर्ने हुनाले सो स्थानमा उपकरण प्रयोग नगरिएको जोशीले बताए । उनले भने, ‘यही अवस्थामा कालोपत्र गर्दा नटिक्ने हुँदामर्मत गरेरै ठेक्का सम्पन्न गरिनेछ ।’ विस्तारका क्रममा रहेका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माणसम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए । चौडाइ बढाउन, तथा त्यहाँका संरचना हटाउनका लागि लामो सयम लाग्ने देखिए पनि अब निर्माण कार्य छिट्टै सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, ‘पर्खाललगायतका अरु कुरा सकिएको छ सरासर कालोपत्र गर्दा लामो समय लाग्दैन ।’ सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ । टाखेल–टीकाभैरव खण्डमा भने जङ्गल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ । ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायत बजार क्षेत्रमा सडक साँघुरा छन् । उक्त स्थानमा ठूला सवारीसाधनका कारण घन्टौँसम्म सडक जाम हुनुका साथै कार्यालय समयमा लामो समय जाम हुँदा स्थानीयवासी समस्यामा परेका छन् । झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नगरिएपछि पटकपटक ठेक्का अवधि थप हुँदै आएको छ । पछिल्लो दुई वर्षमा भने कोभिड सङ्क्रमणका कारण सडक निर्माण अवरोध पुगेको थियो । रासस
विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्यो
काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छ । साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला अवकाशप्राप्त उपरथी र सुनिल थापा अवकाशप्राप्त क्याप्टेन तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुन् । दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।
शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । इन्स्योरेन्समा जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको ५ पदका लागि आवेदन खुल्ला गरिएको हो । कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना गरि ५ पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकलाई यहि माघ १५ भित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
बागलुङका स्थानीय तहमा छैनन् दमकल
बागलुङ । आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ । बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोटका नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘दमकल अत्यावश्यक छ, गलकोटमा सहर विस्तारको कार्य भइरहँदा जोखिम बढी भएको छ, तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन’, उनले भने, ‘विपद्जन्य आगलागीका घटना निवारणका लागि नगरपालिकाले सचेतना गर्ने, तत्कालै पानी ल्याउन सक्ने स्थानको व्यवस्थापन भने गरेको छ, आफ्नै दमकल खरिद गरेर चलाउने पालिकाको सामथ्र्य छैन ।’ आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जन धनको क्षति हुनबाट रोकिने भए पनि शहरउन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला सदरमूकामबाहेक अन्यत्र दमकलको पहुँच पुग्न सकेको छैन । पश्चिम क्षेत्रको ढोरपाटन अथवा गलकोट नगरपालिकाले दमकल व्यवस्थापन गर्दा अन्य पालिकालाई समेत समेट्न सकिने स्थानीयको भनाइ छ । आगलागीका घटनामा बागलुङ नगरपालिकाले अन्य स्थानीय तहहरुलाई समेत सहयोग गर्दै आएको नगरउपप्रमुख राजु खड्काले बताए । खड्काले छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका र जैमिनि नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन रहेको बताए ।
चालक दलका सदस्यसहित केहीको शव काठमाडौं ल्याइने
काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौं ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एनएनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।
नेपालको पहिलो ‘क्रुज सिप’ सञ्चालन; जहाजभित्रै विवाह, ब्रतबन्धदेखि रेष्टुरेन्टको सुविधा
काठमाडौं । नारायणी नदीमा आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज सिप आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो । भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा पानी जहाजको झल्को दिने खालको क्रुज सिप सञ्चालनमा आएको हो । तीन तला रहेको क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्ने बताइएको छ । पहिलो तलामा सभा समारोह, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाँउ छ भने माथिल्लो तलामा रेष्टुरेण्ट पनि छ । जहाजमा बार, भिआईपी क्याविन र शौचालयको पनि सुविधा रहेको छ । क्रुजसिपमा चढेर नदी छेउमा रहेका वनजंगल, धार्मिक क्षेत्र लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने राइनो वाटर इन्टरटेन्मेण्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारीका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । उक्त क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । यात्रुलाई ढुंगेलले एक घन्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको बताए। यसका लागि ७ सय रुपैयाँ लाग्छ । यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए । ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । यो क्रुज सिप निर्माणमा १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको ढुङ्गेलले बताए । उनले क्रुजमा यात्रा गर्ने हरेक यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा हुने बताए । क्रुज सिपमै बसेर विवाह, व्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइनेछ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् । क्रुजमा दुई इञ्जिन रहेका छन् । तीनघण्टाको प्याकेज बनाइएको छ। हिउँदमा देवघाटसम्म र वर्षामा गाजीपुसम्म पु¥याउने भनिएको छ ।
सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा
काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले थप दुई स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या १८२ पुगेको छ । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको जनाएको छ । बैंकले उक्त शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए।टि।एम।सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
पोखरा विमान दुर्घटना : पोष्टमार्टममा केही समय लाग्ने
पोखरा । आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन । पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ नै पोष्मार्टम गरिने र काठमाडौँ लगिने शव काठमाडौँमा नै पोष्मार्टम गर्नेगरी तयारी गरिएको जानकारी दिइएको छ । हवाई दुर्घटनामा परी निधन भएकाको शव पोष्टमार्टम सम्बन्धमा प्रक्रियागतरुपमा टोली गठन गर्ने व्यवस्थाअनुसार सम्बन्धित निकायमा पत्राचार गरिसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिकुमार शाहीले जानकारी दिए । पोष्टमार्टमका लागि अन्य आन्तरिक तयारी भइसकेको बताउँदै उनले प्रक्रियागतरुपमा केही समय अझै लाग्ने जानकारी दिए ।