काठमाडौं । पोखरा फाइनान्सको २६ औं वार्षिक साधारण सभाले लाभांश पारित भएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरण पश्चात् फाइनान्सको चुक्ता पुँजी १.०८ अर्ब रुपैयाँ पुगेको छ । साथै सभाले अबको ४ वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ ।
सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्त गरेको छ ।
साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको संस्थाले जनाएको छ ।