मर्जर पश्चात् यी ५ बैंकको प्रतिस्पर्धी परिवर्तन, को बन्ला नम्बर वान ?
काठमाडौं । मर्जर भएका बैंकहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६ वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका छन् । वाणिज्य बैंकहरुमा पछाडि रहेका बैंकहरु मर्ज हुँदै टप फाइभ भित्र पुगेका छन् । मर्जरपश्चात् ठूला बनेका यी बैंकहरुले आगामी दिनमा कस्तो व्यवसाय गर्लान् त्यो भने हेर्न बाँकी नै छ । तर मर्जर पश्चात् भने अबका मुख्य प्रतिस्पर्धी बैंकका रूपमा उनीहरू उदाएका छन् । साथै, हिमालयन बैंक र सिभिल बैंक र लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेका छन् । यी बैंक मर्जर पश्चात् भने प्रतिस्पर्धा झनै रोचक बन्ने छ । नबिल बैंक नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गत असारमा गाभेर सबैभन्दा ठूलो बैंकको रूपमा उदाएको थियो । त्यसपछि भएका मर्जहरूले नबिल बैंकको पहिलो स्थान खोसिने सम्भवाना रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको कूल निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बैंकको २४० वटा शाखा कार्यालय र २७५ वटा एटिएम रहेका छन् । कुमारी बैंक कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक पुस १७ गतेदेखि एकीकृत भएर कुमारी बैंकको नामबाट कारोबार भएको हो । यी दुई मर्जर हुनुअघि अधिकांश सूचकमा पछाडि थिए । तर, मर्जर पश्चात् भने टप फाइभ भित्र परेका छन् । कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ र जगेडा कोष १० अर्ब भन्दा बढी रहेको छ । यस्तै, कुमारी बैंकको कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कुमारी बैंकको शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । साथै कर्मचारीको संख्या ३ हजार २६७ जना रहेका छन् । ग्लोबल आइमएई बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भएको हो । मर्जरअघि पनि केही सूचकहरूमा नम्बर वान रहेको ग्लोबल आइएमई बैंक मर्जर पश्चात् भने धेरै सूचकमा पहिलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकको कूल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ र कूल पूँजी ५७ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ र जगेडा कोष २२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकको कूल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कूल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको ३६५ शाखा कार्यालय, ३६७ एटिएम मेसिन, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालय रहेका छन् । बैंकमा ४ हजार ४ सय जना कर्मचारी कार्यरत छन् भने ४० लाखभन्दा बढी ग्राहकलाई सेवा बैंकले दिइरहेको छ । प्रभु बैंक प्रभु बैंक र सेञ्चुरी बैंकको पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू भएर प्रभु बैंकको नामबाट कारोबार भएको हो । केही सूचकमा अघि रहेको प्रभु बैंकले पुच्छारमा रहेको सेञ्चुरी बैंकलाई प्राप्ति गरेपश्चात् टप फाइभ भित्र पुगेको छ । प्रभु बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र कूल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष ८ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ र कूल कर्जा २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुगेको छ । प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५५५ जना कर्मचारीले ३० लाख ग्राहकलाई सेवा दिइरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पुस २७ गते मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरिरहेको छ । मर्जर पश्चात् यस बैंकको प्रतिस्पर्धी नै परिवर्तन भएको छ । बैंकले जहिल्यै पनि टप थ्री भित्र रहने लक्ष्य लिएको छ । केही सूचकमा नम्बर वान र अधिकांश सूचकमा दोस्रो र तेस्रो रहेको यस बैंकले आगामी दिनमा झनै बलियो बन्ने देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ । बैंकको कूल कर्जा ३२९ अर्ब रुपैयाँ र निक्षेप ३०७ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा कार्यालय २९६, एटिएम मेशिन २७९ र एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । बैंकका ३ हजार ३१५ जना कर्मचारीले नेपालको जनसंख्याको १० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको बैंकले जनाएको छ ।
विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो
पोखरा । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।
पेरुमा आपतकालको घोषणा
एजेन्सी । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वतन्त्रता जस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको प्रकाशित एक आदेश जनाइएको छ । अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरुले डिसेम्बरदेखि दक्षिण अमेरिकी देशभर सडकमा ¥याली र नाकाबन्दी गरेका छन्, नयाँ चुनाव र बोलुआर्टेलाई हटाउन माग गर्दै आन्दोलन जारी राखेका छन् । ‘मेरो प्रतिबद्धता पेरूसँग छ’ शुक्रबार राति उनले टेलिभिजन सम्बोधन गर्दै राजीनामा दिन अस्वीकार गरेका छन् । आपतकालिन अवस्थाले लिमा, कस्को र पुनोका क्षेत्रहरू, साथै राजधानीको छेउमा रहेको कालाओ बन्दरगाहलाई समेट्छ । पेरुमा शनिबार विरोधीहरु १०० भन्दा बढी सडक अवरोध गरेका थिए । लिमावरपर क्षेत्र मुख्यतया अशान्तिको केन्द्रबिन्दु भएको छ । दक्षिणी पेरुको प्रख्यात माचुपिचु साइटको प्रवेशद्वार कुस्कोको एयरपोर्ट, विरोध प्रदर्शनको कारण बन्द भएपछि शनिबार फेरि खुल्ला भएको छ । प्रदर्शनकारीहरूले यातायातमा पुग्ने प्रयास गरेपछि अधिकारीहरुले बिहीबार देशको दोस्रो सबैभन्दा ठूलो हवाई यातायात ह्यान्डल गर्ने एयरपोर्टमा रोकथाम उपायको रूपमा सञ्चालन निलम्बन गरेका छन् ।
२ वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती
काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको कामपाको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसको हो । सहमतिअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागिे कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीकोे ६० कामपाको र प्रतिशत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोक, पुतली सडक, शीतल निवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब १२ करोड रुपैयाँको लागतमा एक हजार सात सय थान आधुनिक सडक बत्ती जडानका लागि कार्यअघि बढाउने भनिएको छ । कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती जडान गर्ने सहमति भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्नका लागि छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापा बताउँँछन् । उनी भन्छन्,’यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा छ’ । बाँकी रहेका स–साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी रहेको पनि प्रमुख थापा जानकारी दिन्छन् । त्यसैगरी बत्ती जडानपछि बत्ती ती स्थानका फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ । बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीलेभन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।
‘नाङ्गिँदै हिमाल, कष्टकर बन्दैछ जीवनयापन’
फुङ्लिङ । जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला ? दिन दिनै हिमाल नाङ्गिँदै जाँदा लाज पनि नलाग्दो हो कि ? हिमाल, सुन्नासाथ हाम्रो मानसपटलमा एउटा आकृति आँखा अगाडि आउँछ । हिउँले छपक्कै छोपेको । चाँदी जस्तै सेताम्य । जस्तोसुकै परिस्थितिमा पनि अटल रहने पहाडको चुचुरोहरु । हिमाल देख्नासाथ जो कोहिले गर्वको महसुस गर्दछन् । अनि स्थिर भएर अगाडि बढ्ने अठोट गर्दछ । नेपालको उत्तरपट्टि हे¥र्यो भने हिउँले ढाकिएको सेतै चम्किरहेको सेतो पहाड देख्नेछौं । सधैँभरि हिउँले छोपिएर रहने भएकाले हिमाल भनिएको हुन सक्छ । समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइ भयो भने पहाडलाई सधैँ हिउँले छोप्छ । हिमाल यस्तै हिउँले छोपिएको पहाड हो । हिमाल जम्मा दुई हजार ४०० किलोमिटर लामो छ । त्यसमध्ये करिब ८५० किलोमिटर लामो हिमाल हाम्रो नेपालमा पर्छ । हिमालको चौडाइ भने लम्बाइ जति छैन । हिमालको चौडाइ २०० देखि ४०० किलोमिटरसम्म मानिएको छ । नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० वटा सबैभन्दा अग्ला हिउँ चुचुराहरू यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ । नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठ वटा नेपालमा छन् । हिमालका चुचुराहरू सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन् । तर ती हिमालहरु अहिले नाङ्गिँदै गएको छ । फुङ्लिङ नगरपालिका–८ का चारपाटेका ८१ वर्षीय शेरबहादुर गुरुङ प्रत्येक दिन पहिलो दृश्य भने कञ्चनजङ्घा, कुम्भकर्णलगायतका हिमालमा आफ्नो आँखा डुलाएर मात्र दैनिकी सुरुआत गर्छन् । उनको पुस्तासँग ती हिमालहरुको नाता जोडिएको छ । गुरुङको बाजेको पालादेखि भेडा चराउँदै कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका टाकुराहरु चहारेका छन् । ती हिमालका फेदीहरुमा शेरबहादुरको पैतलाको छाप नरहेको ठाउँ भेट्न मुस्किल छ । उनी सानै उमेरमा बुबालाई सघाउन भेडा गोठ पछ्याउँदै हिमाल चहार्न थाले । हिमाल फेदीमा भेडा चराउँदाका उनीसँग हजारौं तीतामीठा अनुभूतिहरु छन् । तर अहिले उनीसँग भेडा गोठ छैन । भेडा चराउँदै हिमाल चहारेको ठाउँहरु भने उनको घरको झ्यालबाट देखिन्छ । उनी बिहान उठ्नेबित्तिकै झ्यालबाट भेडा चराउँदा चाहारेको हिमाल हेर्छन् । तर आजभोलि हिमाल हेर्न लायकको नभएको गुरुङले बताए । उनले भने, ‘हिमाल सेताम्य हुन्थ्यो सधैँ । तर आजभोलि कोइला जस्तै कालो देखिन थालेको छ ।’ पछिल्लो समयमा हिमाल पग्लदै गएको गुरुङको अनुभूति भइरहेको बताए । ताम्लिङ शेर्पा बिहीबार बिहानको घाम ताप्दै कञ्चनजङ्घा हिमालतिर हेरेर टोलाउँदै थिए । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो शेर्पाको घर । याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । हिमालको फेदीमा पर्दछ । शेर्पा जाडो छल्न् सदरमुकाम फुङ्लिङमा आएका हुन् । अहिले शेर्पाले हिमाल कालापत्थर जस्तै भएको हिमाल हेर्दै दिन बिताउँछन् । चिन्तित हुँदै शेर्पाले भने, ‘हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो । हिमाल सुक्खा भयो भने पानीको मुहान सुक्छ । चौँरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्का हुँदै गएपछि घाँस उम्रिँदैन । घाँस नभए पनि चौँरी याकहरु तिर्खा र भोकले मर्ने छन्’, याङमा गाउँका समुदायको मुख्य पेसा चौँरी याकपालन हो । उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन । त्यसैले चौँरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो । त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुदै गएसँंगै चिन्ताले पिरोल्न थालेको हो । ‘हिमालमा हिउँ पग्लदै गएको छ । खेतबारी सुक्खा हुँदैछ’, फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भने, ‘बारीमा जौ, गहुँ खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ । केही कसैले त पाइपमा पानी ल्याएर स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मेसिन) खेतबारीमा घुमाउँदैछन् ।’ अहिले लिम्बूको दैनिकी नै अलैँची बगानमा सिँचाइ गर्न व्यस्त हुनुहुन्छ । पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खरेडीबाट अलैँची बगान जोकाउनका लागि बिहान बेलुका अलैँची बगानमा सिँचाइ गर्न व्यस्त भएको लिम्बूले बताए । ताप्लेजुङका किसानलाई यतिखेर आलु रोप्न समय भएको तर हिमाल हिउँ पग्लदै गएर कालो पत्थर जस्तै भएपछि रोपेको आलु उम्रन नपाई सुक्ने पो हो की भन्ने चिन्ताले सताउन थालेको फक्ताङलुङ गाउँपालिका–६ का किसान मेघवीर हेल्लोकले बताए । विगतका वर्षहरुमा मङ्सिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । तर यसवर्ष भने माघ लाग्दासमेत हिउँ नपरेको समुद्र सतहदेखि तीन हजार ५०० मिटरमा अस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाले बताइन् । यता सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ । विगतमा यातायातका साधनको चाप कम हुन्थ्यो । विस्तारै विकास निर्माणसँगै मानिसको चाप र यातायातको चापसमेत बढ्दै गएकाले मधेसतिरको हुस्सु हिमाली क्षेत्रमा समेत फैलिन थालेको फुङ्लिङ नगरपालिका–५ का निर्मला रिजालको भनाइ छ । उनी भन्छिन्, ‘जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा देखिएको छ । यसले स्थानीयवासीको जीवनशैली कष्टकर बनाएको छ ।’ हिमालमा हिमरेखाभन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताए । राईले भने, ‘जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ । हिउँ समयमै नपर्नु पनि प्रत्यक्ष अप्रत्यक्ष वातावरणमा असर पु¥याएको हुन्छ ।’ कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुलर्भ जनावर हिउँ चितुवाको विषेश बासस्थान मानिन्छ । हिउँ नै पग्लदै गए पछि हिउँ चितुवासमेत सङ्कटमा पर्नसक्ने राईले चिन्ता व्यक्त गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लुडब्लुएफ, नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो । त्यस समयमा कञ्चनजङ्घा क्षेत्रमा २४ वटा हिउँचितुवा पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विकाससँगै सहरदेखि गाउँगाउँमा औद्योगीकरण, यातायात साधनको चाप वृद्धि भएसँगै वायु प्रदूषण बढ्दै गएकाले समयमा पानी नपर्ने समय हिउँ नपर्नेजस्ता समस्या देखा पर्न थालेको लामो समय देखि जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । समयमै हिउँ नपरेकाले जोखिम पनि त्यतिकै बढ्दै गएको राईको भनाइ छ । जलवायु परिवर्तनका असरका कारण हिमाली क्षेत्रमा हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन तथा जङ्गल सुक्खा हुने भएकाले वन जङ्गलमा ढडेलो लाग्ने ठूलो सम्भाना रहेको राईले बताए । वन जङ्गलमा रहने वन्यजन्तुकोसमेत स्थानान्तरण हुँदै जाने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगत जलवायु परिवर्तन तथा स्वास्थ्य विभागको राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना जलवायु परिवर्तन स्वास्थ्थ अनुकूलन रणनीति तथा कार्ययोजना (विसं २०७२—२०७७) जलवायु परिवर्तन नेपालमा जलवायु परिवर्तन र यसबाट उत्पन्न हुने नकारात्मक असरहरूका कारण यो महत्वपूर्ण जनसरोकारको विषय बनेको छ । नेपालमा उपलब्ध तापक्रम र वर्षाको तथ्याङ्क अध्ययन तथा विश्लेषण गर्दा जलवायु परिवर्तन स्पष्टरूपमा तीव्र गतिमा भइरहेको विभागले जनाएको छ । तापक्रमको प्राप्त तथ्याङ्कअनुसार नेपालको समग्र तापक्रममा वृद्धि भएको छ भने हिमाली र पहाडी भेगमा तापमान बढ्नेक्रम तराई र भित्री मधेसका तुलनामा बढी पाइएको छ । वर्षाको तथ्याङ्कले स्पष्टरुपमा जलवायु विषमतासम्बन्धी कुनै स्पष्ट भिन्नता नदेखाए पनि नेपालमा भारी तथा अत्यन्त कम वर्षा हुने दिनको सङ्ख्या बढिरहेको पाइएको छ । रासस
दुर्घटना अपडेट : ६० जनाको शव निकालियो
काठमाडौं । यती एअरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६० जनाको शव निकालिएको छ । उद्धारमा खटिएको सशस्त्र प्रहरी बलले ६० जनाको शव निकालिएको जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार ६० जनाको शव निकालिएकोमा ३० जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।
यती एयरलाइन्सको पाँचौं विमान दुर्घटना, नेपालको इतिहासमा १०८ औं
काठमाडौं । सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा १०८ वटा साना ठूला हवाई दुर्घटना भएको छ । नेपाल उड्डयन प्राधिकरणकाे अनुसार यीमध्ये ५६ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् । नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको थियो । तर उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन । त्यसपछिको हवाई दुर्घटनाको इतिहास खोतल्ने हो भने सन् १९५५ देखि हालसम्म भएको दुर्घटनामा ७ सय ८७ जनाले दुर्घटनास्थलमै मृत्युवरण गरेका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएको छ । यसरी हेर्दा हवाई दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ सयभन्दा बढी रहेको छ । नेपालमा विमान दुघर्टनाका तथ्याङ्क –सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना (स्थान नखुलेको) मानविय क्षति भएन । –सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ जनाको मृत्यु । –सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु । –सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु । –सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु । –सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु । –सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु । –सन् १९६२ मा नेपाल वायुसेवा –निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु । –सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना ३५ जनाको मृत्यु । –सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु । –सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु । –सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु । –सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु । –सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु । –सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु । –सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु । –सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपरमा दुर्घटना १५ जना मृत्यु । –सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना २५ जनाको मृत्यु । –सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु । –सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना १६७ जनाको मृत्यु । –सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु । –सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना २ जनाको मृत्यु । –सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु । –सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु । –सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु –सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु । –सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु । –सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु । –सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना २५ जनाको मृत्यु । –सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु । –सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु । –सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु । –सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु । –सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु । –सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु । –सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु । –सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु । –सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु । –सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु । –सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु । –सन् २०१२ मा सीता एयरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु । –सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन । –सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना, ४५ जनाको मृत्यु । –सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु । –सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान, २ जनाको मृत्यु । –सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु । –२०७९ जेठ १६ गते मुस्ताङको थासाङमा तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु । आइतबार पोखरामा दुर्घटना परेको यती एयरको पाँचौ दुर्घटना हो । अहिलेसम्म भएका मध्ये सबैभन्दा ठूलो दुर्घटना नै पोखराको हो । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना निसवार थिए । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ डएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।
सरकारले भन्यो : आन्तरिक उडानका गर्ने सबै विमानको प्राविधिक परीक्षण गर्नु
काठमाडौं । सरकारले आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रीपरिष्दको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । नागरिक उड्डयन प्राधिकरणले यस बारे अनुगमन गर्नेछ ।