गुराँस, प्राइम र युनियन मर्ज भई हिमालयन लाइफ बन्ने, अध्यक्ष र सीईओ दुबै यूनियनबाट
काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर गर्ने अन्तिम सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा आइतबार तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।यसअघि नै तीन कम्पनीबीच मर्जरकाे सैद्धान्तिक सहमित काम अगाडि बढेकाे थियाे । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको सेयर स्वाप रेसियाे १ : १ : १ कायम गरिएको छ । डिडिए रिपाेर्टका अाधारमा स्वाप रेसियाेमा अन्तिम सहमति भएकाे कम्पनीले जनाएका छन् । मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । अध्यक्ष र सीईओ दुबै यूनियन लाइफ इन्स्याेरेन्स कम्पनीका हुन् । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । यूनियन लाइफका प्रवर्द्धककाे अगुवाइमा गत वर्ष हिमालयन रि इन्स्याेरेन्स खुलेकाे थियाे । कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको यूनियन लाइफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकतृ मनाेज कुमार लाल कर्णले जानकारी दिए ।
प्रत्यक्षदर्शी भन्छन् : ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’
लेखनाथ । “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो । जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो”, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजङ्ग गुरुङले भने, ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइनँ ।’ ‘जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकीसमेत ठूलो कालले बाच्यौँ भनेर घरभित्र पस्यौँ तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो’, उनले भने । सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन् । शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश सेती खोँचमा नै खसेका छन् । आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोँचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलबीचको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनास्थल नजिकै नयाँगाउँ निवासी विष्णुहरि सापकोटाले भने, ‘उत्तरतर्फको काहूँ डाँडातर्फबाट पुरानो विमानस्थलमा आज जहाज आयो भनियो । तर, जहाज पुरानो विमानस्थलबाट पश्चिम मोडेर नयाँ विमानस्थलमा लाने क्रममा एक्कासि ढलपल ढलपल हुँदै सेती नदीको खोँच डिलको बाँसको थानमा छुन पुग्यो । अनि ठूलो आवाजसहित भुईमा खस्यो । हामी दौडेर त्यहाँ पुग्दा आगोको मुस्लोसहित धुवाँ आइरहेको थियो,’ उनले भने । ‘दुर्घटनास्थलमा जान सक्ने अवस्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भए पनि सेती खोँचमा रहेको लास जलेको गन्ध आइतबार दिनभरि आइनै रहेको छ’, स्थानीय सापकोटाले भने । ‘सेती खोँचको पूर्वी भागका एक दर्जन घर विमानचालकले बचाएर सेती खोँचमा खसालेको अनुमान स्थानीय प्रीती गुरुङ गर्छन् । अर्का प्रत्यक्षदर्शी स्थानीय मनिषा परियारले भनिन्, ‘हामी त घाम तापेर बसिरहेका थियौँ, जहाज कोल्टे–कोल्टे हुँदै आयो, के भएछ भनेर हेरियो’, उनले भनिन्, ‘त्यसको एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो, अनि त हामी झनै आत्तियौँ ।’ विमान कोल्टे परेको दुईतीन मिनेटमै सेतीको खोँचमा ठोक्किएको उनले जानकारी दिइन् । विमान खोँचमा खसेकाले बस्ती जोगिएको उनको भनाइ थियो । ‘कोल्टे कोल्टे हुँदै वारि ठोकिएर पारि जोतिन पुग्यो, अनि आगो बल्न सुरु भइहाल्यो’, मनिषाले भनिन्, ‘धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हाम्रो पनि बिचल्ली हुन्थ्यो ।’ आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उनले बताइन् । केही स्थानीयले प्रहरीलाई खबर गरे पनि जलिरहेको जहाज हेर्नुभन्दा अर्को उपाय नभएको उनको भनाइ थियो । ‘एकै छिनमा आगो बल्न सुरु भयो । हामीले बाल्टीमा पानी बोकेर त गयौँ तर त्यसले के हुन्थ्यो ?’ उनले भनिन्, ‘कसैले प्रहरीलाई फोन गर्न तिर लाग्यौँ । केही छिनमा बोरिङको ट्याङ्कर पनि आयो त्यसपछि दमकल, एम्बुलेन्स, प्रहरी, आर्मी सबै आए । अनि बल्ल हामीलाई बाँच्नेहरु बाँच्छन् कि भन्ने भयो ।’ पोखराको सेती खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेकामध्ये ४ः३० बजेसम्म ६२ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए । दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ । उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चारसदस्य थिए । जहाज खोँचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन् । रासस
एसवाई बजारको टिकटक प्रतियोगिताबाट रविले पाए डेढ लाख
काठमाडौं । एसवाई बजारले आयोजना गरेको टिकटक प्रतियोगिताबाट रवि मुक्तानले डेढ लाख रुपैयाँ जितेकी छिन् । अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल गर्न सकिने एसवाई बजारले आयोजना गरेको प्रतियोगितामा प्रथम भएका मुक्तानले पुरस्कार वापत उक्त रकम पाएका हुन् । एसवाई बजार कम्पनीले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ९ लाख रुपैयाँ जित्ने मौका ल्याएको थियो । आइतबार कम्पनीले उक्त प्रतियोगिताको विजेता घोषणा गर्दै प्रतियोगीहरूलाई नगद र सम्मानसहितको कार्यक्रम सम्पन्न गरेको छ । यस्तै, उक्त प्रतियोगितामा दुई जना दोस्रो भएका छन् । दोस्रो हुनेमा टिकटकर हेमन्त पाण्डे र अजय श्रीस मगर रहेका छन् । उनीहरूले प्रतिव्यक्ति १/१ लाख नगद रुपैयाँ पाएका छन् । यसै गरी टिकटकर विषेश सिंगदेल (बलिभाई), रेश्मा राई र गोकुल नकर्मी (रेभ स्क्वाड) तेश्रो भएका छन् । यी तीन जनाले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । कम्पनीका अनुसार नमु न्यौपाने/गोपा कृति, अस्मिता भुजेल र जीके डान्स एकेडेमी चौथो भएका छन् । कम्पनीले उक्त प्रतियोगितामा चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ । यस्तै, कम्पनीले पाचौंमा ५ जनालाई छनोट गरेको छ । जसमा अञ्जन न्यौपाने, रमेश बुढाथोकी, अशोक क्षेत्री, रविन अधिकारी, मयुर बस्नेत र सुरोज तामाङ रहेका छन् । उनीहरूले प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् । कम्पनीले गत मंसिर २५ गतेदेखि सो प्रतियोगिता सुरु गरेको थियो । जसमा आएका भिडियोहरूलाई कम्पनीले विभिन्न आधारमार्फत उत्कृष्ट भिडियोको रूपमा छनोट गरेको हो । जसमा २० प्रतिशत लाइकको आधारमा, ५० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र २० प्रतिशत भिउज, धेरै सेयर र कमेन्टको आधारमा उक्त प्रतियोगीहरू छनोट भएका हुन् ।
भेरी करिडोर अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा
भेरी । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली उपल्लो डोल्पा पुगेको हो । जाजरकोटबाट डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर सडक भेरी करिडोरभित्र पर्दछ । मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धो सम्माको ६५ किलोमिटर सडक निर्माणको ट्र्याक खोल्ने काम भइसकेको छ । दुनै–ल्यासिक्याप सडक २० किलोमिटर लामो छ । डोल्पा सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत भइरहेको छ । सडक डिभिजनको टोलीले एक सय ४८ किलोमिटर सडकको अध्ययन यस पटक गरेको प्रमुख कर्णले जानकारी दिए । दुनै लासीक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो । विसं २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कूल लागत १३ करोड ४१ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ । अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यति विल्ड्रसले काम गरिरहेको छ । कर्णाली प्रदेश हुँदै लम्बिनी प्रदेशको नेपालगञ्ज, जमुनाह नाकासमेत यसले जोड्छ । भेरी करिडोर निर्माण भएमा भारतको रुपेडियाबाट चीनको तिब्बत्सँग यसको सिधा सडक सम्पर्क जोडिने छ । जाजरकोटदेखि दुनैसम्म अस्थायी ट्र्याक नेपाली सेनाले खोलेको हो । अहिले स्तरोन्नतिको काम सडक डिभिजन चौरजहारीले गरिरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख कर्णले बताए । दुनैदेखि लासिक्यापसम्मको सडक निर्माण गर्न हिउँदमा अत्यधिक चिसोका कारण मुस्किल हुनेगर्छ । वर्षायाममा सडक खन्नका लागि निर्माण सामग्रीदेखि विभिन्न औजारको समस्या हुन्छ । उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडका भरमा दैनिक काम हुँदै आएको छ । सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी गरिन्छ । भेरी करिडोर निर्माण गर्न अत्यधिक लगानी गर्नुपर्ने डिभिजन प्रमुख कर्णको भनाइ छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र २५ पुल निर्माण गर्नुपर्ने अवस्था छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्र गर्न ठेक्का भइसकेको छ । तल्लुबाट दुनैसम्म सडक कालोपत्र चाँडै थालिने उनले बताए ।
विमान दुर्घटनाबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना
काठमाडौं । आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताए । उनले भने, ‘विमान दुर्घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्न कल सेन्टर खोलिएको छ, आवश्यक जानकारी लिन कल सेन्टरमा फोन गर्दा हुन्छ ।’ उक्त कल सेन्टरमा यती एअरलाइन्सका तर्फबाट पेम्बा शेर्पा ९९८०१००७५३१० तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०१४११३१६३ नम्बरका फोनहरु राखिएका छन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेसँगै विमानस्थलमा कल सेन्टर स्थापना गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
हवाई दुर्घटना : छानबिन समितिका प्रतिवेदन कार्यान्वयन भएनन्
काठमाडौं । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ । मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौँबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ । उनले नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटिआर नै दुर्घटनामा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु सङ्ख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । आचार्यका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ । हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरुको भनाइ छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटना पनि आफैमा ठूलो हो । सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे हुनुहुन्छ । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला अवकाशप्राप्त उपरथी र सुनिल थापा अवकाशप्राप्त क्याप्टेन तथा हवाई मर्मत इञ्जिनीयर एकराजजङ थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । समितिले ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ । यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उनले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । “यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भने । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो । यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु भएको थियो । यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो । हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन । सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौँथो दुर्घटना हो । रासस
विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग
काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खौँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
मर्जर पश्चात् यी ५ बैंकको प्रतिस्पर्धी परिवर्तन, को बन्ला नम्बर वान ?
काठमाडौं । मर्जर भएका बैंकहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६ वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका छन् । वाणिज्य बैंकहरुमा पछाडि रहेका बैंकहरु मर्ज हुँदै टप फाइभ भित्र पुगेका छन् । मर्जरपश्चात् ठूला बनेका यी बैंकहरुले आगामी दिनमा कस्तो व्यवसाय गर्लान् त्यो भने हेर्न बाँकी नै छ । तर मर्जर पश्चात् भने अबका मुख्य प्रतिस्पर्धी बैंकका रूपमा उनीहरू उदाएका छन् । साथै, हिमालयन बैंक र सिभिल बैंक र लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेका छन् । यी बैंक मर्जर पश्चात् भने प्रतिस्पर्धा झनै रोचक बन्ने छ । नबिल बैंक नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गत असारमा गाभेर सबैभन्दा ठूलो बैंकको रूपमा उदाएको थियो । त्यसपछि भएका मर्जहरूले नबिल बैंकको पहिलो स्थान खोसिने सम्भवाना रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको कूल निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बैंकको २४० वटा शाखा कार्यालय र २७५ वटा एटिएम रहेका छन् । कुमारी बैंक कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक पुस १७ गतेदेखि एकीकृत भएर कुमारी बैंकको नामबाट कारोबार भएको हो । यी दुई मर्जर हुनुअघि अधिकांश सूचकमा पछाडि थिए । तर, मर्जर पश्चात् भने टप फाइभ भित्र परेका छन् । कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ र जगेडा कोष १० अर्ब भन्दा बढी रहेको छ । यस्तै, कुमारी बैंकको कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कुमारी बैंकको शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । साथै कर्मचारीको संख्या ३ हजार २६७ जना रहेका छन् । ग्लोबल आइमएई बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भएको हो । मर्जरअघि पनि केही सूचकहरूमा नम्बर वान रहेको ग्लोबल आइएमई बैंक मर्जर पश्चात् भने धेरै सूचकमा पहिलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकको कूल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ र कूल पूँजी ५७ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ र जगेडा कोष २२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकको कूल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कूल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको ३६५ शाखा कार्यालय, ३६७ एटिएम मेसिन, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालय रहेका छन् । बैंकमा ४ हजार ४ सय जना कर्मचारी कार्यरत छन् भने ४० लाखभन्दा बढी ग्राहकलाई सेवा बैंकले दिइरहेको छ । प्रभु बैंक प्रभु बैंक र सेञ्चुरी बैंकको पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू भएर प्रभु बैंकको नामबाट कारोबार भएको हो । केही सूचकमा अघि रहेको प्रभु बैंकले पुच्छारमा रहेको सेञ्चुरी बैंकलाई प्राप्ति गरेपश्चात् टप फाइभ भित्र पुगेको छ । प्रभु बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र कूल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष ८ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ र कूल कर्जा २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुगेको छ । प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५५५ जना कर्मचारीले ३० लाख ग्राहकलाई सेवा दिइरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पुस २७ गते मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरिरहेको छ । मर्जर पश्चात् यस बैंकको प्रतिस्पर्धी नै परिवर्तन भएको छ । बैंकले जहिल्यै पनि टप थ्री भित्र रहने लक्ष्य लिएको छ । केही सूचकमा नम्बर वान र अधिकांश सूचकमा दोस्रो र तेस्रो रहेको यस बैंकले आगामी दिनमा झनै बलियो बन्ने देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ । बैंकको कूल कर्जा ३२९ अर्ब रुपैयाँ र निक्षेप ३०७ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा कार्यालय २९६, एटिएम मेशिन २७९ र एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । बैंकका ३ हजार ३१५ जना कर्मचारीले नेपालको जनसंख्याको १० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको बैंकले जनाएको छ ।