विकासन्युज

यी ७ नेपाली ब्राण्ड : जो विश्व प्रसिद्ध र महँगो मूल्यमा बिक्छन्

काठमाडौं । नेपालमा केही बन्दैन, एउटा सियो पनि विदेशबाट आयात गर्नु पर्छ भन्ने वाक्यांश तपाईं हामीले बेलाबखत सुनिरहन्छौं । यो वाक्यांशमा पुरै सत्यता भने छैन । नेपालमै उत्पादन गरेर विश्व ब्राण्ड बनेका वस्तुहरु पनि बजारमा धेरै छन् । नेपालमा उत्पादन भएर विश्वमा चर्चित र विश्व ब्राण्डका रुपमा परिचित वस्तुहरुले प्रशिद्धी मात्रै कमाएका छैनन् राम्रै पैसा पनि कमाएका छन् । कतिपय वस्तुहरु मानिसको दैनिकी जोडिएका छन् भने कतिपय वस्तुहरु मानिसहरुले सुख सयलका लागि प्रयोग गर्ने गरेका छन् । ती वस्तुहरु विश्व बजारमा पुगेर प्रशिद्धी मात्रै कमाएका छैनन्, अब्बल र प्रतिस्पर्धी पनि बनेका छन् । ती वस्तुहरु विश्व ब्राण्ड बन्ने दौडमा पनि छन् । आज हामीले पाँच नेपाली उत्पादनको विषयमा चर्चा गरेका छौं । जुन वस्तु विश्व बजारमा चर्चित मात्रै छैनन्, महँगो पनि उतिकै छन् । दी गोर्खा लेदर दी गोर्खा लेदर कम्पनी एक विश्व प्रशिद्ध कम्पनी हो । यसले उत्पादन गरेका उत्पादनहरु विश्व बजारमा चर्चित छन् । यो कम्पनीले विभिन्न किसिमका लेदरका झोला तथा पर्सहरुको उत्पादन गर्छ । कम्पनीले उत्पादन गरेको एउटा सामान्य झोलाको मूल्य नै न्यूनतम डेढ लाख रुपैयाँ पर्छ भने पर्सको पनि न्यूनतम ३० हजारदेखि १ लाख बढी पर्छ । यस कम्पनीले विभिन्न रङ्गका पर्स तथा झोलाहरु उत्पादन गर्छ । गोर्खा सैनिकको नामबाट स्थापना भएको यस कम्पनीको स्थापना सन् १९७० मा भएको हो । हिमालयन पेट सप्लाई हिमालयन पेट सप्लाई कम्पनीले कुकुरले खाने छुर्पीको उत्पादन गर्दै आएको छ । घरपालुवा कुकुरहरुलाई खानाका रुपमा प्रयोग गरिने छुर्पी पनि विश्व चर्चित र महँगो उत्पादन हो । यस कम्पनीको अफिस अहिले जापान सिङ्घापुर, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न ठाउँमा रहेको छ । यस कम्पनीले १५० अमेरिकी डलबर बढीको मूल्य तोकेको छ । छुर्पी नेपालमा उत्पादन भएर निर्यात हुन्छ । निर्यात भएको छुर्पीबाट हिमलायन पेट सप्लाईले कुकुरको खानाका रुपमा उत्पादन गरेर बिक्री गर्दै आएको छ । नेपाली युवा–युवतीबीच लोकप्रिय छुर्पी (दुर्खा) अमेरिकामा कुकुरका लागि पोषिलो खाना मान्निछ । कम्पनीले वार्षिक करिब ५० करोड रुपैयाँको छुर्पी अमेरिका निर्यात गर्ने गरेको बुझिएको छ । कोबोल्ड वाच कोबोल्ड वाच आकर्षक डिजाइनको घडी उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले उत्पादन गरेको घडी रोलेक्स घडी भन्दा पनि महँगो पर्ने बताइएको छ । काठमाडौंको कोबोल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालय घडीको मुख्यालय भने अमेरिकामा छ । डायलमा सगरमाथाको चट्टान र अधिक चिसो खप्न सक्ने क्षमताकै कारण कोबोल्ड हिमालय सिरिजका घडी यूरोपेली मुलुकका नागरिकको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ । सगरमाथाबाट ल्याएर यस घडीमा पत्थर राखिएको कारण यो घडी महँगो हुने बताइएको छ । कोबोल्ड कम्पनीले बनाएको एउटा घडीको मूल्य नै १५ हजार बढी अमेरिकी डलर पर्छ । यो घडी मुख्यतः अमेरिका, नेपाल र जर्मनीमा बन्छ । यो घडीको मूल्य २ लाखदेखि झण्डै १७ लाखसम्म पर्छ । निर्यातभन्दा पनि नेपाल आउने विदेशीहरूले कोबोल्ड हिमालय सिरिजका घडी खरीद गर्ने गरेका छन् । शेर्पा एड्भेञ्चर गियर हिमाल आरोहणमा वा हाइकिङमा प्रयोग हुने कपडाका लागियो कम्पनी प्रशिद्ध छ । यसमध्ये शेर्पा एड्भेन्चरले ज्याकेट, डाउन ज्याकेट, स्वेटर, हुकलगायतका उत्पादनका माध्यमबाट विश्वका धेरै मुलुकमा न्यानो छरेको छ । शेर्पा एड्भेन्चर गियरले त अमेरिकामा आउटलेट नै खोलिसकेको छ । त्यस्तै विभिन्न डिलर र प्रयोगकर्तामार्फत शेर्पाका उत्पादन पश्चिमा देश विशेषगरी यूरोपेली मुलुकहरूमा निर्यात हुन्छन् । यस कम्पनीको सामान महँगो पनि उतिकै हुन्छ । यार्सागुम्बा ह्विस्की नेपालको हिमाली भेगमा पाइने सर्वगुण सम्पन्न टिपिकल वस्तु हो ‘यार्सागुम्बा’ । जसले विश्व बजारमा नेपालको पहिचान दिलाउँछ । त्यही यार्सागुम्बाकै कारण पनि नेपाल विश्वमा चिनिन थप मद्दत पुगेको छ । अहिले नेपाली उत्पादन यार्सागुम्बा ह्विस्की पनि एक चर्चित ब्राण्ड बनेको छ । विश्व बजारमा स्थापित पेयपदार्थहरुलाई टक्कर दिँदै यार्सागुम्बा चर्चित ब्राण्डका रुपमा अगाडि बढेको छ । यस कम्पनीले हिमाली भेगमा पाइने यार्सागुम्बा संकलन गरी ह्विस्की उत्पादन गर्छ । कम्पनीले पेय पदार्थ उत्पादन गर्न सुरु गरेको धेरै समय भएको छैन । तर, छोटो समयमा नै विश्व बजारमा लोकप्रियता पाएको छ । यो ब्राण्डको ह्विस्कीको मूल्य न्यूनतम २५० डलर पर्छ । गोल्ड स्टार किरण शूज म्यानुफ्याक्चरिङ प्रालिले उत्पादन गर्ने गोल्डस्टार जुत्ता पनि विश्व बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ । बाँकी विश्वबजारमा भने अधिकृत बिक्रेताहरूमार्फत् पुगिरहेको छन् । अहिले गोल्डस्टार जुत्ता लगाउने स्वदेशीभन्दा पनि विदेशी बढिरहेका छन् । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाबिलिस’ हुने प्रयासमा गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने कम्पनीका अध्यक्ष अमिर प्रताप अध्यक्ष राणा बताउँछन् । सन् २०१५ मा कम्पनीले बढी निर्यात गरेर बढी कर तिरेवाफत उत्कृष्ट करदाताको रुपमा पनि सम्मानित भएको थियो । उद्योगले दैनिक दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । सन् २०१५ मै यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । ३ हजारले रोजगारी पाएको किरण सुज उद्योग उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो । ‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाबिलिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्, ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’ वाइवाइ वाईवाई चाउचाउ पनि नेपाली ब्राण्ड हो । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले उत्पदान गर्ने वाइवाइ चाउचाउ अहिले विश्व ब्राण्ड बनेको छ । चौधरी ग्रुपको वाइवाइ चाउचाउ दक्षिणएशिया, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत विश्वका ३० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको छ । अहिले विश्वमा साढे दुई अर्ब प्याकेट बिक्री भइरहेको वाइवाइ ले विश्वको चाउचाउ बजारको २.३ प्रतिशत हिस्सा ओगटेको चौधरी ग्रुपको दाबी छ ।

सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन् : बेलाबेलामा झस्कन्छु

काठमाडौं । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् । स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन् । संयोगवश आइतबार पनि विहानै उनी सेतीको खोँच झरे । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार विहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे । एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए । ‘ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ’, उनले भने, ‘खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।’ माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए । सेती खोँचमा आफू मात्रै नभइ अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए । ‘यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ’, उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।’ जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए । नदीको दुवैतर्फ रहेका घनावस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका वस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुनेनै छ ।’ सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमबार विमानको विहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना भन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याविन, ककपिट आदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।

सुजुकीका गाडीको मूल्य बढ्यो, अब कति पर्छ ?

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी मारुती सुजुकीले कारको मूल्य बढाएको छ । कम्पनीले आफ्ना विभिन्न मोडलका गाडीहरुमा मूल्य बढाएको जानकारी दिएको छ । कम्पनीले यसअघि नै मूल्य बढ्ने जानकारी गराएपनि आजदेखि भने मूल्य बढ्ने भएकाे हो । कम्पनीका अनुसार अब मारुती सुजुकीको हरेक गाडीहरुमा १.१ प्रतिशतको मूल्यवृद्धि हुनेछ । कम्पनीले गाडीको मूल्यमा १.१ प्रतिशत मुल्य बढाएको बताए अनुसार अब हरेक गाडी खरिद गर्दा ग्राहकले पनि १.१ प्रतिशत बढी मूल्य तिर्नु पर्नेछ । मुद्रास्फिति बढेको कारणले गाडीको मूल्य पनि बढाउनु पर्ने बाध्यता आएको कम्पनीको भनाइ छ । मुद्रास्फिति बढ्दा कम्पनीको लागत पनि बढेकोले कम्पनी गाडीको मूल्य पनि बढाउन बाध्य भएको हो । कम्पनीका अनुसार अहिले सुजुकीका गाडीका विभिन्न मोडलहरुमा १ लाख रुपैयाँ (भारु)बढीले बढेको छ । नेपालमा पनि बढ्ने भारतमा गाडीको मूल्य बढेपछि नेपालमा पनि स्वतः मूल्य बढ्छ । भारतमा कम मूल्य बढेपनि नेपालमा भने दोब्बरले बढ्छ । नेपाल सवारीसाधनमा सर्वाधिक धेरै कर लगाउने मध्यको एक देश हो । नेपालमा एउटा सामान्य गाडी किन्ने पैसाले भारतमा २/३ वटा गाडी किन्न सकिन्छ । नेपालमा भन्सारदर, अन्तशुल्क, मूल्यवृद्धि कर लगायत शुल्कले गाडी बिक्रेताले भारतको तुलनामा दोब्बररतेब्बरले मूल्य बढाउँछन् । उदाहरणका लागि भारतमा बोलान कारको मूल्य १३ लाख २८ हजार रुपैयाँ पर्छ । तर, त्यसको मूल्य नेपालमा ३७ लाख ९९ हजार रुपैयाँ पर्छ । मारुती सुजुकी अल्टो भिएक्स गाडीको मूल्य भारतमा यसअघि १७ लाख ८९ हजार रुपैयाँ पथ्र्यो । अब १.१ प्रतिशतले बढेर १८ लाख ३२ हजार ५४९ पर्छ । सो रकमको नेपाली २९ लाख ५ हजार ९ सय ४९ रुपैयाँ हुन्छ । यसमा भन्सार, अन्त शुल्क, मूल्यवृद्धि कर लगायतका करहरु जोडेर नेपालमा तेसको तेब्बर बढी मूल्य हुन आउँछ ।

मन्त्रालय टुंगो लगाउन बोलाइयो उच्चस्तरीय संयन्त्रको बैठक

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । ओली संयोजक रहेको संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने बताइएको छ । ओलीसँगको बैठकपछि दाहालले सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्ने बताएका थिए ।

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो । अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस आयोजनाअन्तर्गत दुई सय २५ हेक्टर क्षेत्रफमा घाँसेमैदान व्यवस्थापन र निर्माणको काम सुरु गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । उनले निकै कम रकममा ठेक्क परेको बताउँँदै अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए । निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको कामसमेत भइरहेको उनले जानकारी दिए । यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भईरहेको छ । पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिए लगत्तै पूर्वी क्षेत्रमा काम सुरु गरिने छ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमती लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताए ।चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए । निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान रहेको छ । घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जानेक्रम कम हुने छ । घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएकाे छ । यस्तै, डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।    

मकवानपुरगढी गाउँपालिकाले तोक्यो कोदो र फापरको मूल्य

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४५ रुपैयाँ र फापरको प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ । गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए ।

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बीमामा समस्या छैन : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको बताए । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘सबैको सद्गती भइसकेपछि प्रमाणहरु लिएर सबैको बीमाको पाटोमा समस्या छैन,’ उनले भने । उनले बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको पनि बताए । ‘आफन्तहरु पीडामा हुनुहुन्छ, उहाँहरुलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरुले के सहयोग पु¥याउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो, विदेशी बडीहरु पनि कलेक्शन गर्नुप¥यो, ल्याएर त्यसको पोष्टमार्टम गर्नुप¥यो, त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुप¥यो । कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरु भयो,’ उनले भने । बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो । आईतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।