मकवानपुरगढी गाउँपालिकाले तोक्यो कोदो र फापरको मूल्य
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४५ रुपैयाँ र फापरको प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ । गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए ।
विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बीमामा समस्या छैन : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको बताए । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘सबैको सद्गती भइसकेपछि प्रमाणहरु लिएर सबैको बीमाको पाटोमा समस्या छैन,’ उनले भने । उनले बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको पनि बताए । ‘आफन्तहरु पीडामा हुनुहुन्छ, उहाँहरुलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरुले के सहयोग पु¥याउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो, विदेशी बडीहरु पनि कलेक्शन गर्नुप¥यो, ल्याएर त्यसको पोष्टमार्टम गर्नुप¥यो, त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुप¥यो । कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरु भयो,’ उनले भने । बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो । आईतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स
काठमाडौं । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो । सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दुःखद् घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।
ट्रमा सेन्टरको आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हो । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो । ३८ वर्षिय श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।
६ वर्षपछि ढोलाहिटी–लेले सडक सम्पन्न गरिने
काठमाडौं । निर्माण सुरु भएको छ वर्षपछि ललितपुरको ढोलाहिटी–लेले सडक सम्पन्न गर्ने तयारी गरिएको छ । बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौतामा उल्लेख भए पनि आधाभन्दा बढी लम्बाइ र लक्ष्यभन्दा आधा कम चौडाइको काम भएको छ । तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सुनाकोठीमा झण्डै आठ सय मिटर लम्बाइमा एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउड रहेकाले पुनःसडक भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार पानी बग्ने ठाउँ नभएकाले सडकमा निर्माण हुनासाथ उप्कने गरेको हो । कालोपत्रका लागि प्रयोग हुने उपकरणले सडक नजिकका घरलाई असर गर्ने हुनाले सो स्थानमा उपकरण प्रयोग नगरिएको जोशीले बताए । उनले भने, ‘यही अवस्थामा कालोपत्र गर्दा नटिक्ने हुँदामर्मत गरेरै ठेक्का सम्पन्न गरिनेछ ।’ विस्तारका क्रममा रहेका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माणसम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए । चौडाइ बढाउन, तथा त्यहाँका संरचना हटाउनका लागि लामो सयम लाग्ने देखिए पनि अब निर्माण कार्य छिट्टै सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, ‘पर्खाललगायतका अरु कुरा सकिएको छ सरासर कालोपत्र गर्दा लामो समय लाग्दैन ।’ सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ । टाखेल–टीकाभैरव खण्डमा भने जङ्गल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ । ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायत बजार क्षेत्रमा सडक साँघुरा छन् । उक्त स्थानमा ठूला सवारीसाधनका कारण घन्टौँसम्म सडक जाम हुनुका साथै कार्यालय समयमा लामो समय जाम हुँदा स्थानीयवासी समस्यामा परेका छन् । झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नगरिएपछि पटकपटक ठेक्का अवधि थप हुँदै आएको छ । पछिल्लो दुई वर्षमा भने कोभिड सङ्क्रमणका कारण सडक निर्माण अवरोध पुगेको थियो । रासस
विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्यो
काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छ । साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला अवकाशप्राप्त उपरथी र सुनिल थापा अवकाशप्राप्त क्याप्टेन तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुन् । दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।
शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । इन्स्योरेन्समा जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको ५ पदका लागि आवेदन खुल्ला गरिएको हो । कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना गरि ५ पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकलाई यहि माघ १५ भित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
बागलुङका स्थानीय तहमा छैनन् दमकल
बागलुङ । आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ । बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोटका नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘दमकल अत्यावश्यक छ, गलकोटमा सहर विस्तारको कार्य भइरहँदा जोखिम बढी भएको छ, तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन’, उनले भने, ‘विपद्जन्य आगलागीका घटना निवारणका लागि नगरपालिकाले सचेतना गर्ने, तत्कालै पानी ल्याउन सक्ने स्थानको व्यवस्थापन भने गरेको छ, आफ्नै दमकल खरिद गरेर चलाउने पालिकाको सामथ्र्य छैन ।’ आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जन धनको क्षति हुनबाट रोकिने भए पनि शहरउन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला सदरमूकामबाहेक अन्यत्र दमकलको पहुँच पुग्न सकेको छैन । पश्चिम क्षेत्रको ढोरपाटन अथवा गलकोट नगरपालिकाले दमकल व्यवस्थापन गर्दा अन्य पालिकालाई समेत समेट्न सकिने स्थानीयको भनाइ छ । आगलागीका घटनामा बागलुङ नगरपालिकाले अन्य स्थानीय तहहरुलाई समेत सहयोग गर्दै आएको नगरउपप्रमुख राजु खड्काले बताए । खड्काले छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका र जैमिनि नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन रहेको बताए ।