विकासन्युज

बागलुङका स्थानीय तहमा छैनन् दमकल

बागलुङ । आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ । बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोटका नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘दमकल अत्यावश्यक छ, गलकोटमा सहर विस्तारको कार्य भइरहँदा जोखिम बढी भएको छ, तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन’, उनले भने, ‘विपद्जन्य आगलागीका घटना निवारणका लागि नगरपालिकाले सचेतना गर्ने, तत्कालै पानी ल्याउन सक्ने स्थानको व्यवस्थापन भने गरेको छ, आफ्नै दमकल खरिद गरेर चलाउने पालिकाको सामथ्र्य छैन ।’ आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जन धनको क्षति हुनबाट रोकिने भए पनि शहरउन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला सदरमूकामबाहेक अन्यत्र दमकलको पहुँच पुग्न सकेको छैन । पश्चिम क्षेत्रको ढोरपाटन अथवा गलकोट नगरपालिकाले दमकल व्यवस्थापन गर्दा अन्य पालिकालाई समेत समेट्न सकिने स्थानीयको भनाइ छ । आगलागीका घटनामा बागलुङ नगरपालिकाले अन्य स्थानीय तहहरुलाई समेत सहयोग गर्दै आएको नगरउपप्रमुख राजु खड्काले बताए । खड्काले छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका र जैमिनि नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन रहेको बताए ।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौं ल्याइने

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौं ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एनएनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

नेपालको पहिलो ‘क्रुज सिप’ सञ्चालन; जहाजभित्रै विवाह, ब्रतबन्धदेखि रेष्टुरेन्टको सुविधा

काठमाडौं । नारायणी नदीमा आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज सिप आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो । भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा पानी जहाजको झल्को दिने खालको क्रुज सिप सञ्चालनमा आएको हो । तीन तला रहेको क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्ने बताइएको छ । पहिलो तलामा सभा समारोह, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाँउ छ भने माथिल्लो तलामा रेष्टुरेण्ट पनि छ । जहाजमा बार, भिआईपी क्याविन र शौचालयको पनि सुविधा रहेको छ । क्रुजसिपमा चढेर नदी छेउमा रहेका वनजंगल, धार्मिक क्षेत्र लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने राइनो वाटर इन्टरटेन्मेण्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारीका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । उक्त क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । यात्रुलाई ढुंगेलले एक घन्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको बताए। यसका लागि ७ सय रुपैयाँ लाग्छ । यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए । ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । यो क्रुज सिप निर्माणमा १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको ढुङ्गेलले बताए । उनले क्रुजमा यात्रा गर्ने हरेक यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा हुने बताए । क्रुज सिपमै बसेर विवाह, व्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइनेछ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् । क्रुजमा दुई इञ्जिन रहेका छन् । तीनघण्टाको प्याकेज बनाइएको छ। हिउँदमा देवघाटसम्म र वर्षामा गाजीपुसम्म पु¥याउने भनिएको छ ।

सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले थप दुई स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या १८२ पुगेको छ । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको जनाएको छ । बैंकले उक्त शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए।टि।एम।सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पोखरा विमान दुर्घटना : पोष्टमार्टममा केही समय लाग्ने

पोखरा । आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन । पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ नै पोष्मार्टम गरिने र काठमाडौँ लगिने शव काठमाडौँमा नै पोष्मार्टम गर्नेगरी तयारी गरिएको जानकारी दिइएको छ । हवाई दुर्घटनामा परी निधन भएकाको शव पोष्टमार्टम सम्बन्धमा प्रक्रियागतरुपमा टोली गठन गर्ने व्यवस्थाअनुसार सम्बन्धित निकायमा पत्राचार गरिसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिकुमार शाहीले जानकारी दिए । पोष्टमार्टमका लागि अन्य आन्तरिक तयारी भइसकेको बताउँदै उनले प्रक्रियागतरुपमा केही समय अझै लाग्ने जानकारी दिए ।

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

पोखरा । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए । ‘आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उनले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ’, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने । पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन । ‘आइतबार बिहान काठमाडौंबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ’, बहिनीलाई सम्हालिरहेकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भनिन्, ‘सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ ।’ यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा थिए भन्ने हेक्का थिएन । दिउँसोको टिकट काटेकाे भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन् । सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमान्को नाम देखेपछि भने उनको मनको शङ्का बढ्दै गएको थियो । जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो । दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुगेकी उनी बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लैजानु परेको थियो । आइतबार साँझ ६.३० बजेसम्म उनलाई अस्पतालबाट घर फर्काइसकिएको थियो । कोठाका भित्ताभरी टाँगिएका श्रीमान्का तस्बिर हेर्दै उनी एकोहोरो रोइरहेकी थिइन् । टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमान्को तस्बिरलाई हेरेर उनी निकैबेर रुइन् । ‘कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?’ श्रीमान्को तस्बिरसँग उनले गुनासो गरिन् । उनको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो । ‘ज्वाइँ काठमाडौँमै भएकाले माघको ५/६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ’, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भनिन्, ‘माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो ।’ आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो । तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो । ‘मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो’, रुँदै गरेकी पौडेलकी आमाले भनिन्, ‘कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो तर यसपाली गरेन ।’ सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल सानैदेखि मिहेनती थिए । पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक)का अनुसार पौडेलले १५/१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए । ‘मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो’, उनले भने, ‘माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिएँ ।’ छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताए । आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उनले स्मरण गरे । घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उनको भनाइ छ । उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए । पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए । विसं २०७५ मा विवाह गरेका पौडेलका एक छोरा पनि छन् । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेका थिए । स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उहाँको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् । पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिए । रासस

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् २९ वर्षिय सिर्जना

रुपन्देही । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन् । २९ वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उनलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त थिइन् । सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौंमै पुग्ने तयारीमा थिइन् । सिर्जनाको आइतबार दुईवठा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौंदेखि यतिएयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उनले शनिबार फोनमा आमा खिमिसरालाई बताएकी थिइन् । माघे सङ्क्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज खसेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो । एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गरेकी खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । घटनापछि उनको घरमा छिमेकी जम्मा भए । ‘हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो’ खिमिसराले भक्कानिँदै भनिन् । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ । भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै तीन छोरा छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिइन् । प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरेकी थिइन् । आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो, डाटा निकाल्न भारत पठाइने

फाइल फाेटाे काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरूले सोमबार बिहान १० बजे विमानको ब्ल्याक बक्स भेटाएका हुन । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उद्धारकर्मीले सोमबार बिहान जहाजको ब्ल्याक बक्स भेटिएको जनाएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको भन्दै काठमाडौं ल्याउने तयारी थालिएको बताए । ‘हामीले ब्ल्याक बक्स काठमाडौं ल्याएपछि सरकारले गठन गरेको जाँच आयोगलाई हस्तान्तरण गछौँ, उनले भने, ‘ब्ल्याक बक्सको डेटा नेपालमा निकाल्न मिल्दैन, सम्भवत डाटा निकाल्न भारत पठाइन्छ ।’ उनले ब्ल्याक बक्सको सम्पूर्ण जिम्मा जाँचबुझ आयोगको रहेको भन्दै आयोगले आइतबारदेखि नै काम सुरु गरेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोगमा गठन गरेको छ । उक्त आयोगको सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आलो मगर थिए । जहाजमा चालद दलका ४ सदस्यसहित ६८ जना यात्रु गरी ७२ जनाको मृत्यु भएको छ । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई जना कोरियन, एक जना फ्रान्सेली गरि ६८ जना र चालक दलका ४ जना सहित ७२ जना थिए । ब्ल्याक बक्स के हो ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।