विकासन्युज

को हुन नवनियुक्त शिक्षामन्त्री शिशिर खनाल ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै १ महिना समय हुनलाग्दा उनले मन्त्रीपरिषदको विस्तार गरेका छन् । आज मंगलबार प्रधानमन्त्री प्रचण्डले १६ जना मन्त्रीहरु थप गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् । नयाँ विस्तारित मन्त्रीमण्डलमा अधिकांश नयाँ अनुहार आएका छन् । जसमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पाएका छन् । नवनियुक्त शिक्षामन्त्री खनाल तनहुँमा जन्मिएका हुन् । बुवा सरकारी जागिरे भएका कारण उनको बाल्यकालको उमेर बुवासँगै धेरै जिल्लामा अध्ययन गर्दै वितेको थियो । खनालले काठमाडौंको बनस्थलीबाट एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए । उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएस्सी, अमेरिकाको ब्रिजपोर्ट युनिभर्सिटी विश्वविद्यालयबाट राजनैतिक अर्थशास्त्रमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्। अहिले उनी टोखा १० काठमाडौंका स्थायी बासिन्दा हुन् । गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट खनाल निर्वाचित भएका हुन् । विद्यार्थी जीवनदेखि नै विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा रुची राख्ने खनाल सामाजिक र शैक्षिक क्षेत्रका अभियन्ता र उद्यमीको रुपमा समेत परिचित छन् । खनालसँग सर्वोदय अभियानअन्तर्गत विश्वका केही मुलुकमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धी काम गरेको अनुभव छ । उनले नेपालमा ‘टिच फर नेपाल’ संस्थाको सहसंस्थापक भएर सरकारी विद्यालयको क्षेत्रमा हजारौं विद्यार्थीहरुसँग काम गरेका थिए । जसले गर्दा उनी नेपालको शिक्षा क्षेत्रसँग पनि नजिकबाट परिचित रहेका छन् । ०७४ मा स्थानीय तहको निर्वाचन पश्चात उनले तुल्सीपुर उपमहानगरपालिका दाङको शिक्षा सल्लाहकार भएर पनि काम गरेका थिए । कोरोना महामारीको समयमा उनले साथीहरुसँग मिलेर ‘पिक एण्ड ड्रप’ नामको कम्पनी समेत स्थापना गरेर काम गरेका छन् । समयमा नै शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीहरुको भविष्यमा खेलबाड भइरहेको विषय उठाउँदै आएका खनालले नयाँ सरकारसँगै आँफैले सो जिम्मेवारी पाएका छन् । संघीय तहमा शिक्षा ऐन नबन्दा प्रदेश र स्थानीय तहमा समेत अन्यौलता भइरहेको छ । संसदमा बोल्न पाउँदा पहिलो दिन नै शिक्षाको विषयमा बोल्ने बताएका खनालले नेपालको शैक्षिक क्षेत्रमा रहेको भिमकाय समस्यालाई कसरी समाधान गर्छन, त्यो भने व्यवहारबाट नै हेर्नुपर्ने हुन्छ ।

पाल्पामा सहज बन्दै राहदानी सेवा

पाल्पा । राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नु परेपछि सो सेवालाई सहज बनाइएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि सेवा समय थप गरेको हो । समय बढाएर सेवा दिन थालेपछि अहिले सेवाग्राहीलाई सजिलो भएको छ । कार्यालयले दैनिक तीन सिफ्टमा समय तालिका बनाएर सेवा सुरु गर्दै बिहान आठ बजेदेखि बेलुका सातबजेसम्म ११ घण्टा सेवा पुर्याइएको छ । बिहान आठबजेदेखि १० बजेसम्म, १० बजेदेखि दिउँसो चार बजेसम्म र चार बजेदेखि बेलुका सात बजेसम्म समय तालिकाअनुसार सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । ‘राहदानी लिनेको भीड बढ्न थालेपछि सेवाको अवधि विस्तार गरिएको छ’ उनले भने,–’विद्युतीय राहदानीका लागि एउटा मात्र मेसिन चालु भएको हुँदा जतिसक्दो धेरैलाई सेवा दिने प्रयासमा छौँ’ । उनका अनुसार एक दिनमा ७० जनासम्मको काम भएको छ । इलाका प्रशासन कार्यालयबाट पनि सो दिनका लागि राहदानी मेसिनको व्यवस्थाका लागि पहल गर्नुपर्ने भएको छ । कार्यालयले अन्य सेवा प्रवाह गर्न पनि समयतालिका निर्धारण गरी काम गर्दै आएको जनाएको छ । सेवासम्बन्धी कुनै दुविधा वा अस्पष्टता भएमा फाँटवाला प्रमुख वा सहायक प्रमुख जिल्ला अधिकारीको सहयोग लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ । उक्त कार्यालयले एकवर्ष अघि पनि केही समयसम्म दैनिक तीन सिफ्ट गरी सेवा दिएको थियो । सेवाग्राही कम हुँदै गएपछि भने सो सेवा स्थगन गरिएको थियो ।

काे हुन् संचारमन्त्री रेखा शर्मा ?

काठमाडौं । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छिन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन् । देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ । पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताइन् । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् । विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । विसं २०२६ असोज ९ गते घोराहीको मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी उनले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विसं ०४२/४३ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिएकी उनी अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य, २०५१ मा वाइसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष भएकी थिइन् । विसं २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उपब्यूरोको इन्चार्जको भूमिका निर्वाह गरिन् । विसं २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परी नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा बसकी थिइन् । युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ साल चैत ३१ मा दुवै जना मुक्त हुँदै पार्टीमा क्रियाशील भइन् । विसं २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी शर्मा माओवादीभित्र स्थापित नेत्रीसमेत हुन् । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् । पार्टीको विद्यार्थी, युवा र महिला सङ्गठनमा लामो समय बिताएकी शर्माले राज्यबाट संविधानसभा पदक प्राप्त गरेकी छिन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी शर्माको स्थायी ठेगाना घोराही उपमहानगरपालिका–१८ दाङ हो ।

डडेल्धुराको प्रशासन कार्यालयमा टाइमकार्डले सेवाग्राहीलाई सहज

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो । नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, सङ्घरसंस्था नवीकरण, दलितरजनजाति प्रमाणित, मुद्दा पेसी र तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको थियो । आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । अशक्त, अपागङ्ता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्रहीलाई प्राथमिकता दिने गरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो प्रदान गर्न टाइमकार्ड लागू गरिएको प्रजिअ जोशीले बताए । टाइमकार्ड लागू भएपछि सामान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए । संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुगेका भट्टले समयमा नै सेवा पाएको जनाए । टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिनेकार्य भइरहेको र प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखी प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए । अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितको महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ । रासस

पर्वतबाट मन्त्री बन्नेमा पदम गिरी पहिलो

कुश्मा । पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराएका गिरी जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुन् । पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायतकालको सुरुआतमा मोदी गाउँपालिका अन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२/२३ सालमा राज्यमन्त्री बनेका थिए । त्यसको केही वर्षपछि सोही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बनेका थिए । यस्तै २०३९ सालमा जलजला–४,मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बनेका थिए । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल भएका थिए । पर्वतमा यसअघि छ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ‘पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो’, स्थानीय राजु पौडेलले भने, ‘अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौँ ।’ विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बनेका थिए । विसं २०७२ मा आठाैं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बनेका थिए । रासस

कोका–कोला नेपालले १ हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम

काठमाडौं । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी जना महिलाहरुलाई तालिम प्रदान गर्न सफल भएको हाे । गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्लिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सौरहाकी गीता श्रेष्ठले भनिन्, ‘महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिँए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षम भएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।’ कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने ‘कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको छ । हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ । हामी धेरै खुशी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तिकरण गर्दै जानेछौँ ।’ त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले भने, ‘नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको छ । काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु छन जुन महिलाले चलाउँछन् । त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्धेश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ ।’ कोका–कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुल मान्यतामा राखेको छ र यिनीहरुले कम्पनीको वृद्धि र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन । यी कुराहरु कम्पनीले बेला–बेलामा सञ्चालन गर्ने महिला सशक्तिकरण सम्बन्धि तालिमहरुमा पनि प्रतिविम्बित हुन्छन् । सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टि (५ बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (पचास् लाख ) महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो । त्यस्तै नेपालमा पनि गत ६ वर्ष देखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत ५,८०० जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिम दिइसकेको छ । नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना अनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्धेश्यलाई पनि यो पहलले सघाउ पुर्याउने कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक

काठमाडौं। आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतससम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर कम्पनीले पौष ३० गतेबाट पुनस् सुचारु गरेको हो । यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० क्यासब्याक प्राप्त गर्न सकिने पनि जनाएको छ । आइएमई पेले ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको छ ।  

अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत आठ करोड पाउने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ । छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली एक वर्षदेखि केन्द्रीय प्रशासरण लाइनमा जोडिएको छ । कूल ७१ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरी खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन् । निलगिरि १ र २ दुवैले चालु आर्थिवर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टी वापत ८ करोड रुपैयाँभन्दा बढी, वन रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ । त्यसका साथै पर्यटनबाट ४० हजार रुपैयाँभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए । नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट पाँच सयभन्दा बढी स्थानीयले रोजगारी पाएका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार विद्युत् आयोजनाले स्थानीय तीन वटा विद्यालयका शिक्षकको तबल भत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत वार्षिक दुई करोड रुपैयाँ पनि यही वडाभित्र खर्च हुनेगरेको उनले जानकारी दिए । यसअघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा सहयोग पाएको उनले बताए । ‘जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको छ, स्थानीयले रोजगारी पनि पाएका छन्’, उनले भने ।