विकासन्युज

सानिमा मिडिल तमोर हाइड्रोपावर आइपीओ निष्कासन, कसले दिने आवेदन ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओ तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबरको प्रतिशेयर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका–१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका–१ र २, मेरिङदेन गाउँपालिका–२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत शेयर निष्कासन गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । त्यस्तै सर्वसाधारणका लागि रु ४९ करोड ९८ लाख ७५ हजार बराबरको शेयर ४९ लाख ९८ हजार सात सय ५० कित्ता साधारण शेयरको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी माघ १८ गते हुनेछ भने ढिलोमा आगामी फागुन ४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्ये तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा मनोनीत

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ । संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन् । जुम्लाबाट निर्वाचित सांसद शाहीले  माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए ।

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

पर्वत । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् । फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पस यतिबेला करिब डेढ करोड ऋणको भारी बोकेर जीर्ण संरचनासहित सञ्चालनमा छ । विसं २०४१ मा स्थापना भएको उक्त क्याम्पस सञ्चालन गर्न स्थानीय अगुवाले जति सङ्घर्ष गरे त्यसपछिका दिनमा समेत उक्त क्याम्पसको आर्थिक तथा पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा समस्या भएको हो । सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । विसं २०४८ मा स्थापना भएको सो क्याम्पसलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत बर्सेनि १३ लाख रुपैयाँ हाराहारी आउने रकमले दुई प्राध्यापकलाई पारिश्रमिक दिन मुस्किल भएको छ । पूर्णकालीन र आंशिक गरी २७ प्राध्यापक, कर्मचारी पाल्न धौधौ भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए । ग्रामीण क्षेत्रमा सञ्चालित शङ्करपोखरी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस, बहाकी क्याम्पस, जनता सुदर्शन, अन्नपूर्ण, नवजागृत, महाशिला बहुमुखी क्याम्पसलगायतमा अपेक्षित सङ्ख्यामा विद्यार्थी नहुँदा आर्थिक सङ्कट बढ्दै गएको हो । सबैजसो क्याम्पसले विज्ञानबाहेक शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पठनपाठन गराउँदै आएका छन् । कुश्माको गुप्तेश्वरबाहेकका क्याम्पसमा स्नातक तहको मात्रै पढाइ हुन्छ । गुप्तेश्वरले गत वर्षदेखि व्यवस्थापन सङ्कायमा स्नातकोत्तरको पढाइ सुरु गरेको छ । शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा ग्रामीण क्षेत्रमा अध्ययन गर्नेमा अधिकांश गृहिणी, छोरीबुहारीमात्रै छन् । युवा कक्षा १२ पढेपछि विदेश जाने चलन बढेपछि गाउँमा अधिकांश छोरी–बुहारीले मात्र पढ्दै आएको शङ्करपोखरी बहुमुखी क्याम्पसका प्रमुख गोविन्दप्रसाद शर्माले बताए । सदरमुकामकै क्याम्पसमा पनि छात्रा विद्यार्थीको बाहुल्य छ । सबैजसो सङ्कायमा ८० प्रतिशत छात्रा र २० प्रतिशत छात्र छन्, स्नातकदेखि माथि अध्ययन गर्ने छात्र निकै कम छन् । जिल्लाभरका क्याम्पसको परीक्षा सञ्चालन हुने गुप्तेश्वर क्याम्पसमा उपस्थित परीक्षार्थीमध्ये १० देखि १५ प्रतिशत मात्रै छात्र उपस्थिति हुने गरेका गुप्तेश्वर क्याम्पसका प्रमुख सुभास पन्तले बताए । न्यून विद्यार्थी सङ्ख्या, जीर्ण पूर्वाधार, अर्थाभावलगायत कारणले सामुदायिक क्याम्पसको अवस्था दयनीय छ । न्यूनतम पारिश्रमिकमा अध्यापन गराउनुपर्ने बाध्यता र त्यसमाथि पनि अर्थाभावका कारण प्राध्यापकले समयमा पारिश्रमिक पाउनसमेत मुस्किल छ । फलेवास नगरपालिकाले विगत तीन वर्षदेखि नै पालिकाभित्रका क्याम्पसलाई आर्थिक सहयोग गर्दै आएको छ । फलेवासले पर्वत क्याम्पसलाई दुई प्राध्यापकको पूर्णकालीन तथा शङ्करपोखरी र अन्नपूर्ण क्याम्पसलाई एक–एक प्राध्यापकको पारिश्रमिक बराबरको अनुदान दिँदै आएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए । कुश्मा नगरभित्रका क्याम्पसले पनि अनुदान माग गरेका छन् । गुप्तेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले स्नातकोत्तर तहको पढाइ हुने क्याम्पसका प्राध्यापकलाई समयमा पारिश्रमिक भुक्तानी गर्न नसक्दा हिनतावोध हुने गरेको बताए । सञ्चालक समितिले कुश्मा नगरपालिकालाई आर्थिक सहायताका लागि पटक–पटक माग गरे पनि नगरपालिकाले स्थानीय सामुदायिक क्याम्पसको शैक्षिक विकासका लागि ध्यान नदिएको उनको गुनासो छ । कुश्मा नगरप्रमुख रामचन्द्र जोशीले स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले क्याम्पसलाई सहयोग गर्न समस्या भएको बताए । कार्यपालिकामा निर्णय गरेर सहयोग गर्नलाई भने कानुनी उल्झन नहुने उनको भनाइ छ । ग्रामीण क्षेत्रका क्याम्पसमा बढीमा एक सयदेखि डेढ सयसम्म विद्यार्थी पढ्छन् । आम्दानीको मुख्य स्रोत विद्यार्थी नै हुन् । विद्यार्थीबाट एउटा क्याम्पसले बर्सेनि १२ लाखदेखि रु २० लाख हाराहारीमा रकम सङ्कलन हुने गरेको बताइएको छ ।

लाभांश पारित गर्न युनियन लाइफले बोलायो साधारण सभा

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७र७८ को नाफाबाट सेयरधनीलाई ८।९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसको अर्थ माघ १५ गतेसम्म युनियन लाइफको सेयर खरिद गरी सेयरधनी बनेकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

‘सीप त छ, बेच्न बजार छैन’

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उनले बताइन् । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाइन्। उनले भनिन्, ‘पटिया बिक्री हेतो त फेरी बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु)।’ केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो । यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । ‘त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ’, उनले भनिन्। दनुवारको पाँच जनाको परिवार छ । श्रीमान् दुई लाख ऋण गरेर साउदी अरब जाएका छन् । दुई वर्ष बितिसक्दा विदेश जाँदाको ऋण तिर्न सकेकी छैनन् । तीन सन्तानको पालन पोषणलगायत घरायसी खर्च टार्न उनलाई यति बेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहनु भएकी दनुवारको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ । दनुवारले मात्रै होइन, उक्त समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भनिन्, ‘पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।’ उनले तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउने गर्थिन्। ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफैँ काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे’, एक दशकअघिको समय सोम्नीले सम्झिइन् । दिनमा पाँच वटासम्म मान्द्रो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । सोम्नी शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गर्थिन् । ‘पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किन्ने गरेका थियौँ’, उनले भनिन्, ‘त्यत्तिबेला जतिवटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन । मान्द्रो बन्न छोड्दै गएका छन्, मैले पनि छाडे ।’ मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको सोम्नीले बताए । उहाँसँग मान्द्रो र थरिथरिका डालो बनाउने सीप छ । गर्दै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थालेकी सोम्नी उपयुक्त कामको खोजीमा छन् । दनुवार समुदायको परम्परागत तथा पुखौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उनको भनाइ छ । स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई/चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन । अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसार नपाउँदा लोप हुँदै गएको छ । बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर (दनुवार)ले नजिकै बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउन प्लास्टिकको किनेर ल्याएको बताइन् । उनले भनिन् , ‘नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको रु १५ हजारदेखि रु २० हजारसम्म कमाउँथे । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु ? आफूलाई ओछ्याउन बजारबाट प्लास्टिकको विछ्याउना किनेर ल्याएको छु ।’ यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उनले धारणा छ । मान्द्रो मात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छ । बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापन समेत नहुँदा दनुवार समुदायका महिलाले पुखौँदेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुगेकोे दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर (दनुवार)ले बताए । ‘दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पेशा लोप हुन थालेको हो’, उनले भने । पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लामा बिक्री हुने गरेको उनी सम्झिन्छन् । प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र बाँसका सामग्रीबनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसायसंकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारी जस्ता सामग्रीको उत्पादन अत्यन्तै न्यून हुने गरेको उहाँले बताए । ‘पहिला बाँसका सामग्री बनाउने जनशक्ति धेरै थियो । अहिले कम छ’, उनले भने, ‘अहिलेका युवा पुस्ता परम्परागत काममा चासो देखाउँदैनन् ।’ रासस

देवराज घिमिरे बने एमालेबाट सभामुखको उम्मेदवार

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको नाम एमालेमा  सर्वसम्मत भएको हो । उनले केहीबेरमा मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

८ करोडमा लिफ्टिङ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । फुङ्लिङ नगरपालिका–११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुर्याइएको छ । ‘यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पुर्याउन सफल भएका छौँ’, उनले भने । यो सँगै लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्याउने कार्यको प्रारम्भिक परीक्षण गरिएको निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताए । डढेले मुहानको पानी सञ्चित गर्न काफ्लेपाटीमा प्रमुख इन्टेक ट्याङ्की निर्माण गरिएको छ । पाथीभरा मन्दिरमा खानेपानी पु¥याउन २०७७ असोजमा सम्झौता भएको थियो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने योजना छ । यो आयोजना कुल आठ करोड २२ लाखको लागतमा निर्माण गरिएको हो । कार्यकारी निर्देशक काफ्लेका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिको ३० प्रतिशत लागतमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो । सरकारको पाँच करोड ७५ लाख र समितिको दुई करोड ४६ लाख रुपैयाँ लगानी रहेको छ । काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने व्यवस्था मिलाइएको छ । काफ्लेपाटीसहित छवटा ट्याङ्कीमा पाँचवटा स्टेशनमार्फत लिफ्टिङ प्रविधिमार्फत पानी पम्पिङ गरेर लगिएको छ । यसअघि पाथीभरा मन्दिरमा पानीको समस्या हुँदा तीर्थालुले हैरानी खेप्दै आएका थिए । तीर्थालुले माथिल्लो फेदीबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता थियो ।

वैदेशिक रोजगारीको भयावह अवस्था, ६ महिनामा ६ सय बढी कामदारको मृत्यु

काठमाडौं । रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका गएका ६ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको पाइएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत साउनदेखि पुस मसान्तसम्म विभिन्न २३ देशका ६ सय १२ नेपालीको मृत्यु भएको हो । तथ्यांक अनुसार ६ महिनाको अबधिमा सबैभन्दा धेरै साउदी अरेबीयामा १८७ नेपालीले अकालमै ज्यान गुमाएका छन् । यस्तै, युएईमा १०४, दक्षिण कोरियामा ११, कतारमा ११७, मलेसियामा १२३, कुवेतमा ३०, बहराइनमा १२, जापानमा ५ र साइप्रसमा ४ नेपालीले ज्यान गुमाएका हुन । रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका ३५० नेपालीको शव ढुवानी गरिएको छ । बोर्डले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार विभिन्न देशबाट नेपाल ल्याईएका ३४९ नेपालीको शव सम्बन्धीत व्यक्तिको घरसम्म ढुवानी गरिएको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै साउदी अरेबियाबाट ल्याईएका १०९ जनाको शव सम्बन्धीत स्थानमा पुर्याईएको छ । यस्तै, युएईबाट ५३, कतारबाट ५०, मलेसियाबाट ९२, कुवेतबाट १९ र बहराइनबाट ७ नेपालीको शव ढुवानी गरिएको हो । ६ महिनामा ११४ नेपालीले विभिन्न देशमा अंगभंग भएका छन् भने विभिन्न देशमा ज्यान गुमाएका १५५ नेपालीको शव नेपाल ल्याईएको छ । ३ महिनामा १८ करोड सहायता वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको ३ महिनामा १८ करोड रुपैयाँ बढी बैदेशिक साहायतामा खर्च भएको जनाएको छ । बोर्डले विदेशमा मृतु भएका कामदारको परिवारलाई सहायता, औषधोपचार, शव झिकाएर सम्बन्धीत घर ठेगानासम्म शव पुर्याउने तथा अभिमुखीकरण तालिमका लागि १८ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको जनाएको हो । तथ्यांक अनुसार २८० मृतक कामदारको परिवारलाई आर्थिक सहायताका लागि १६ करोड ७ लाख ५५ हजार रुपैयाँ, अंगभंग भएका ३१ जना कामदारको परिवारलाई १ करोड ३३ लाख ६७ हजार रुपैयाँ, ७ जना कामदारका परिवारलाई औषधोपचारमा ३ लााख ५० हजार रुपैयाँ, ३९ कामदारको उद्धारका लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा ८ लाख १९ हजार, ६३ जनाको शव झिकाउन ४५ लाख ९८ हजार, २७३ जनाको शव घर ठेगानासम्म पुर्याउन ५३ लाख ६६ हजार र ८५ जनाको अभिमुखीकरण तालिमका लागि ५९ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ ।