विकासन्युज

सभामुखमा एमालेका घिमिरेको मनोनयन दर्ता

काठमाडौं ।  प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन छन् । विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनी एमालेको स्थायी समिति सदस्य छन् । आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ । रासस

कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

म्यानपावर कम्पनीमा मेरो संलग्नता छैन : श्रममन्त्री अर्याल

काठमाडौं । नविनयुक्त श्रम तथा रोजगारमन्त्री डोल प्रसाद अर्यालले आफु कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नभएको बताएका छन् । सामाजिक संजालमार्फत उनले आफु कुनै पनि म्यानपावरमा संलग्न नभएको बताएका हुन् । ‘म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ”इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर” को पद लेखिदिए तर हटाईदिन भुले,’ उनले लेखेका छन् । उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नभएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका मन्त्री अर्याललाई स्वार्थ बाँझिने पद दिइएको भन्दै आलोचना भइरहेको छ ।    

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०।८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १६ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेहरुले मात्र लाभांश पाउनेछन् ।

कालिका नगरपालिकाले जफत गर्‍यो ३ सय टिपर अवैध नदीजन्य पदार्थ

चितवन । कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ जफत सुरु गरेको छ। नगरपालिकाले आजसम्म तीन सय टिपर नदीजन्य पदार्थ जफत गरेको हो। नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नम्बर ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ। दैनिक रुपमा टिपर र जेसीबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो। उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ सङ्कलन थालिएको हो। उनले भने, ‘नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ।’ अझै दुई सय टिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ। सबै सामग्री सङ्कलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ। त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए।

सभामुखको उम्मेदवारीका लागि काँग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

काठमाडौं । नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको काँग्रेस प्रवक्ता एवं सांसद डा।प्रकाशशरण महतले बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा काँग्रेस छ,’ उनले भने । उनले अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने जानकारी दिए । प्रवक्ता महतले काँग्रेस समझदारीबाट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताए । प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा ९एकीकृत समाजवादी० काँग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

नारायणगढ–मुग्लिन सडक थप एक महिना बाटो बन्द हुने

मुग्लिन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन को भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन । उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उहाँले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ । यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ । सो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले निष्कासन गर्ने शेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सकिने जनाइएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।