विकासन्युज

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची आजै अपराह्न ४।१५ बजे प्रकाशित गरिने छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुने तय भएको छ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।

पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

काठमाडाैं । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए । गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो । केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए । उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुवात गरेका हुन् । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन ।

तरकारी खेतीले उकास्यो जीवनस्तर

चाैतारा। धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका-५ जेठलका मकरबहादुर तामाङ। चार वर्ष साउदी अरबमा बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका हुन्। छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको छ। यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन्। साउदी अरबको अनुभव सुनाउँदै उनले भने, ‘बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ।’ त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताए। सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन।’ तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन्। रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थालेका हुन्। झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेका छन्। रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताए। गत वर्षदेखि उनले रासायनिक मल प्रयोग पूर्णरुपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेका छन्। गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाइरहेका छन्।

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

गुल्मी। विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ। घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन्। तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ। यहाँ ग्रामीण भेगका महिला आफैं आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आएका छन्। रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको छ। जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताइन्। उनीहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचालगायत सामग्री लिएर बेच्न आएका छन्। बुढा उमेरले ५६ वर्ष पुगिन्। यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो। घरमा श्रीमान्‌ले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताइन्। आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुरा बुढाको भनाइ छ। ‘महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन’, उनले भनिन्, ‘म त धेरै वर्षदेखि आफैं आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु।’ मेहनत र परिश्रम गरेपछि कुनै समस्या नहुने बुढाले बताइन्। रुकुम पूर्वबाट आफैँले भेडाको ऊनबाट बनाएका सामग्री बेच्नको लागि १६ वर्षदेखि ६६ वर्ष उमेर समूहका महिला गुल्मीमा आएका छन्। उनीहरुले एक हजारदेखि दुई हजारसम्ममा विभिन्न काम्ला, राडीपाखी र गलैँचा बेचिरहेका छन्। दैनिक चारदेखि पाँच हजारसम्मको बिक्री भइरहेको अर्की खीमा छन्त्यालले जानकारी दिइन्। आफूहरु अरु कसैको भर पर्न नपरोस् भन्ने हेतुले फुर्सदको समयमा निर्माण गरिएका सामग्री बेच्न ल्याएको सोही समूहकी सर्मीला बुढाले बताइन्। ‘हामी आफैँले बनाएका सामग्री बिक्री मेलामा विभिन्न जिल्लामा पुग्छौँ’, उनले भनिन्, ‘ब्यापरसँगै सीपको संरक्षण र आफैँ आत्मनिर्भर बन्न सकेका छौं।’ जाडोयाममा निकै तातो हुने भेडाको ऊनबाट बनेका कपडा लोप हुँदै गएकोले आफू यसमा होमिएको सर्मीलाले बताइन्। भेडा आफैँले पालेर त्यसको ऊनबाट गरिएको यो अर्को आम्दानी हो। आफूले धेरै भेडा पालेर ऊन महिला किन्न आउँदा दिने गरेको रुकुम पूर्वकै रामकुमार बुढाले बताए। उनले दुई सयभन्दा बढी सङ्ख्यामा भेडा पालन गरेका छन्। बुढाले वर्षको दुई पटक असोज र चैतमा भेडाबाट ऊन निकाल्छन्। १० वटा भेडाबाट निकाएलिएको सबै ऊनले एउटा काम्लो बन्ने उनको भनाइ छ। कम्तीमा ५० देखि ६० को सङ्ख्यामा भेडाहरु ३५ जनाकै घरमा पालेको उनीहरुले बताए। रुकुम पूर्वबाट गाडी चढेर सामग्री बिक्रीका लागि गुल्मीको रिडीमा पुस मसान्तमा आएका उनीहरु माघ ५ गतेसम्म बस्नेछन्। उनीहरुका कारण रिडीमा लाग्ने माघी मेलालाई परम्परागत हस्तकलाबाट निर्मित सामग्रीको ब्यापर मेला पनि भन्ने गरिन्छ। रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रिडीमा लाग्ने मेलामा परम्परागत सामाग्रीको किनबेचले थप रौनकता थपेको बताए। टाढाटाढाबाट आएर हस्तकलाबाट निर्मित सामग्री बेच्ने व्यवसायीलाई सहजीकरण गरिरहेको उनको भनाइ छ। रिडीमा रुरु फ्रेन्ड क्लबले माघी मेला आयोजना गर्दै आएको छ।

१० लाख डलरको इसा अवार्ड डा. सन्दुक रुइतलाई

काठमाडौं । नेत्र चिकित्सक डा. सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर, गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।  

राष्ट्रपति र सभामुख सहमतिमा चयन गर्न प्रधानमन्त्री दाहालको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको जानकारी दिए । यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो दैनिक तरलताको अवस्था र अन्तर–बैंक कारोबारको विवरण अनिवार्यरुपमा ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ (एआइएस) रिपोर्टिङ पोर्टलमा प्रविष्ट गर्न निर्देशन दिएको हो । यसअघि सबै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार बैंकको अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ र दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म नेपाल राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म र अन्तर बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरीवेक्षकीय सूचना प्रणालीमार्फत नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । यस्तै, २०७८ असार १ गतेदेखि नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिटर्न पनि सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अनिवार्यरुपमा अद्यावधिक गर्नुपर्नेछ । ‘कुन मितिदेखिका रिटर्न बैंक तथा वित्तीय संस्थाले सुपरिवेक्षकीय सूचना प्रणालीमा समेत अनिवार्य रुपमा तथ्याङ्क र विवरण पठाउनुपर्ने स्पष्ट पार्न आवस्यक देखिएको हुँदा यस्तो व्यवस्था लागू गरिएको हो’, राष्ट्र बैंकले मार्गदर्शन संशोधनको कारण खुलाउँदै भनेको छ । यसअघि प्रत्येक त्रयमास समाप्त भएको सात दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी विवरण र ब्याजदर संशोधन गरेको सातदिनभित्र सोको पूर्ण विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो । अब त्यस्तो विवरण पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमार्फत अद्यावधिक गर्नुपर्नेछ ।

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । ‘तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ’, उनले भने, ‘फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ । अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए । तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् । सोही प्रकृतिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकामा नवलपुर जिल्ला अदालतले शाहविरुद्ध गत भदौ २१ गते दुई वर्ष छ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई दश लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो । शाहले उक्त फैसलाउपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।