विकासन्युज

कांग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन् । उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाई प्रस्तुत हुने अपेक्षा गरे । नेता लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरे । सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उनले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे ।

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा सन्दुक रुइत

काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए । उनले अवार्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गरे । ‘आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो’, डा रुइतले भने, ‘अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग गरेको छ ।’ सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा रुइतको भनाइ थियो । ‘यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफैँले विश्वास गर्न सकेन । पछि राम्रो लाग्यो । अनि अवार्ड पाएको कुरा कसलाई भनुँ, कसलाई भनुँ भयो’, उनले भने । अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपाली गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । छ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए । वरिष्ठ आँखा चिकित्सक डा रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताए । उनले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गरे । ‘आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रियरुपमा निर्यात गर्नुपर्छ’, उनले भने । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्र्ड प्रदान गर्दै आएको छ । अवार्र्डको राशि १० लाख डलर रहेको छ । डा रुइतले मोतिबिन्दु उपचार गर्ने सरल विधि (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) को विकास गरेका छन् । उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको बताइएको छ । रासस

म्याग्देमा २ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । शीत भण्डारमा फलफूल, तरकारीलगायत उपज भण्डार गर्न सकिने छ । कृषकले उत्पादन गरेका वस्तु भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डार २०८० असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । समृद्ध गाउँपालिका बनाउनका लागि उत्पादन र कृषिमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । कृषकले फलफूल र तरकारी उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्ने समस्या टड्कारो रहेका कारण उचित मूल्य पाउनबाट वञ्चित हुनुपरेकाले शीत भण्डार निर्माण जरुरी भएको उनको भनाइ छ । उत्पादित वस्तु समयमा बेच्न नसक्दा सड्ने र कृषकले घाटामा बेच्नुपर्ने हुँदा कृषकलाई प्रोत्साहन गर्न शीत भण्डार आवश्यक छ । उनले भने, ‘शीत भण्डार निर्माण पछि कृषक आफैँले उत्पादित वस्तु भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।’ रासस

प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ । प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने छन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला छन् । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आआफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नेछन् ।

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बागलुङ । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे। प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो । बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले। मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीन जनालाई सुत्केरी गराएको स्वास्थ्य चौकीकी अनमी माधुरी नेपालीले बताइन्। ‘धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ’, नेपालीले भनिन्,‘बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन।’ स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन्। ‘हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौं तर सुनवाई भएको छैन’, उनले भनिन्। बेलाबेलामा बिना सूचना काटिने विद्युतले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ। बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन्। अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेका हुन्। ‘एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एक जनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ’, कार्कीले भनिन्, ‘हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन्।’ यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ। स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो। बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ। छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ। ‘एक पटक गयो भने तीन-चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ’, स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भने, ‘बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ।’ विद्युत् नहुँदा मोबाइलकै भर पर्नुपरेको उनले सुनाए। बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा विद्युत् नभएका बेला वैकल्पिक प्रयोगका लागि ‘ब्याकअप’ जडान गरेको छ। धुल्लुबास्कोट स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘ब्याकअप’ले सहयोग पुगेको अनमी अनिसा आचार्यले बताइन्। गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पुर्‍याउने योजना बनाएको छ। ‘क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन्’, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने।

प्रधानमन्त्रीले भेटे जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुको परिवारलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न अस्पताललाई निर्देशन दिएका छन् । उनले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे । भेटघाटका क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरेका थिए ।

एनआईबिएल सहभागिता फण्डको आकार २ अर्ब, एसआईपीबाट २५ हजार लगानीकर्ता

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार २ अर्ब कायम भएको छ ।  यो योजना नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो । सुरुमा १० करोड इकाईसम्म जारी गर्न सकिनेगरी हाल योजनाकोआकार १ अर्ब रहेको थियो । आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरीसकिएको र गत पुस १७ गतेदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए संगै योजनाको आकार बृद्धि भई २ अर्ब कायम भएको क्यापिटलले जनाएको छ । यस सँगै हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा यो योजना सबैभन्दा ठुलो आकारको खुलामुखी योजना बनेको छ । नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित  यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर प्रतिफल दिन सफल भइरहेको छ । योजनाले संञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथैअनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांष पुनः लगानी योजना  मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् । क्यापिटलका अनुसार हाल व्यवस्थित लगानी योजना मार्फत २५ हजार लगानीकर्ता जोडिएका छन्  ।

नेपालगञ्ज भन्सारको राजस्व असुली घट्दै

नेपालगञ्ज । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ । चालु आव २०७९/८० को साउनमा एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा एक अर्ब ३५ करोड चार लाख र भदौमा दुई अर्ब २३ करोड ३६ लाख लक्ष्य पाएकामा एक अर्ब ४३ करोड ४९ लाख रुपैयाँ राजस्व असुली गरेको भन्सार अधिृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए । यो लक्ष्यको ६४ दशमलव २५ प्रतिशत हो । चालु आवको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार, असोजमा दुई अर्ब ३४ करोड १९ लाख राजस्व असुलीको लक्ष्य राखिएकामा एक अर्ब २८ करोड ४८ लाख ९५४ दशमलव ८७ प्रतिशत मात्रै राजस्व असुली भएको छ । मङ्सिरमा नेपालगञ्ज भन्सारले लक्ष्यको ५५ दशमलव २१ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले दुई अर्ब ४९ करोड ५० लाख लक्ष्य पाएकामा एक अर्ब ३७ करोड ७४ लाख राजस्व सङ्कलन गरेको शर्माले बताए । पुसमा दुई अर्ब ६७ करोड छ लाख लक्ष्य निर्धारण गरिएकामा एक अर्ब ५० करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ५६ दशमलव ३० प्रतिशत हो । नेपालगञ्ज भन्सारले आव २०७८/७९ मा २५ करोड २१ लाख छ लाख लक्ष्य पाएकामा २२ अर्ब ३१ करोड २६ लाख भन्सार राजस्व असुल गरेको थियो । यो लक्ष्यको ८८ दशमलव ५१ प्रतिशत हो । चालु आव २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ मा भन्दा रु चार अर्ब बढी लक्ष्य नेपालगञ्ज भन्सारले पाएको छ । अघिल्लो आवमा २५ अर्ब राजस्व असुलीमा असफल नेपालगञ्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आवका लागि लक्ष्य निर्धारण गरिएको हो । भन्सारले चालु आव २०७९/८० मा २९ अर्ब ३२ करोड ९५ लाख लक्ष्य निर्धारण गरेको हो । आव २०७८/७९ मा भन्सारले २५ करोड २१ लाख छ लाख लक्ष्य पाएको थियो । सरकारको आयात र निर्यात नीतिले यसलाई प्रभावित गरेको हुनसक्ने भन्सार अधिृत शर्माको भनाइ छ ।