रसुवामा राहदानीको अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था
रसुवा । रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् । हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। सरदरमा दैनिक १०-१२ सेवाग्राहीले राहदानी प्राप्तिका लागि आवेदन अनलाइन फारम भराउने गरेका छन्। जिल्ला प्रशासन कार्यालयले निःशुल्क फारम भर्ने व्यवस्था मिलाएका कारण केही राहत मिलेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन्। नियमसङ्गत तरिकाले जिल्ला प्रशासन कार्यालयमा पेश भएका माग पत्रलाई आजको आजै सम्बोधन गर्दै कार्यसम्पादन गर्ने गरिएको छ। यस्तै विपद् व्यवस्थापनका लागि सवै सुरक्षा अङ्गलाई आवश्यक साधनसहित तयारी हालतमा राखिएको प्रजिअ अधिकारीले बताए। रासस
आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस चार दशमलव तीन डिग्री सेल्सियस तथा सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१ दशमलव छ डिग्री सेल्सियस छ ।
‘४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा राज्यले सन्तुष्टि लिन हुँदैन’
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताएका छन् बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताएका हुन् । उनले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको बताए । ‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको छ, सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको छ, यसकाे लागि राष्ट्र बैंकले प्रयत्न गरिरहेको छ,’ उनले भने । उनले दुई/तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गरे । ‘हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक छ, ब्याजदर घटेर केही हुँदैन, नेपाललाई रोजगारी वृद्धि,निर्यात र उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ, सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिन्छ,’ उनले भने । यस्तै, उनले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर एकलमा आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताए । उनले ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको बताए
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले पनि गर्व बोध गरोस् र सरकारले राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसाबले विभूषणका सम्बन्धमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।’ त्यसैगरी मन्त्रिपरिषद्ले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने पनि निर्णय गरेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा देवराज अधिकारीलाई नियुक्त गर्नुका साथै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवलाई ऊर्जामा र ऊर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ । बैठकले सरकारको न्यूनतम कार्यक्रम र नीतिगत प्राथमिकतालाई कार्यान्वयनका निम्ति हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।
सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्री भएर अर्थमन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौति र समस्या समाधानको लागि अर्थतन्त्रको शुद्धिकरण गरिरहेको बताएका हुन् । उनले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिवद्धता जनाए । ‘भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको छ, सबै अफ्ठ्याराहरु पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको छ,’ उनले भने । मन्त्री पौडेलले राजश्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताए।
भिभिआईपीको टेबल/सोफामै सकिन्छ करोडौं बजेट, कुनको खर्च कति ?
काठमाडौं । नेपालका उच्च पदस्थहरुको कार्यालय व्यवस्थापनमै वार्षिक करोडौं खर्च हुने गरेको छ । उच्च पदस्थ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायतको कार्यालय व्यवस्थापनमै करोडौंको खर्च हुने गरेको हो । आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा फर्निचर तथा मेसिनरी सामग्री व्यवस्थापन गर्दा राज्यले करोडौं रुपैयाँ खर्च गरेको छ । विकासन्युजलाई प्राप्त सूचनाअनुसार ६ वटा भीभीआईपी कार्यालयहरुमा फर्निचर तथा मेसिनरी सामग्री व्यवस्थापन गर्दा वार्षिक रुपमा करोडौं खर्च गरेकाे देखिएकाे छ । आर्थिक वर्ष ०७७/७८ मा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रपति निवासका निम्ति विभिन्न प्रकारका फर्निचर र मेसिनरी सम्बन्धी सामग्रीहरु खरिद गरेको थियो । सचिवालयले राष्ट्रपति निवासका लागि उक्त आर्थिक वर्षमा सिंगल बेड २, रेफ्रिजेरेटर २, डाइनिङ मेच १४, भ्याकुम क्लिनर ३, गलैंचा १, पेन्टिङ ३, म्याट्रेस १, वुडन ट्रली १, कफी मेकर १, जुस मेकर १, प्लेट वार्नर र एसीबी १ थान खरिद गरेको थियो । खरिद गरिएका मध्ये अधिकांश सामग्रीहरु टेन्डर प्रकृयाद्वारा खरिद गरिएको सचिवालयले जनाएको छ । दुई आर्थिक वर्षमा सबै भिभिआईपीका लागि साढे दुई हजारका दरले ३० वटा आइरन, ६४ हजार रुपैयाँको दरले २१ थान टेलिभिजन, १२ हजार रुपैयाँका दरले १५ थान वाटर डिस्पेन्सर, साढे १ लाखको दरले ४१ वटा एयर कन्डिसनर, २३ हजारका दरले १७ वटा भ्याकुल क्लिनर र ६ हजार रुपैयाँका दरले १०७ वटा साइट टेबल खरिद गरेका छन् । जसको मूल्य मात्रै करिब १ करोड पर्न जान्छ । अन्य धेरै सामान खरिद गरिएका छन् । जसको मूल्य करोडौं पर्छ । त्यस्तै, सचिवालयले राष्ट्रपति निवासकै लागि आर्थिक वर्ष ०७८/७९ मा पनि ठूलो संख्यामा फर्निचर तथा मेसिनरी सामग्री खरिद गरेको छ । सचिवालयका अनुसार राष्ट्रपति निवासका लागि उक्त आर्थिक वर्षमा टेलिभिजन ६, माइक्रोवेभ २, वासिङ मेशिन १, मिक्सचर २, पलङ ३, पेन्टिङ २ र सोफासेट ५ थान खरिद भएको छ । उपराष्ट्रपति निवासको लागि आर्थिक वर्ष ०७७/७८ मा सचिवालयले साइड टेबल ३४, सोफासेट ४९, पलङ १, डाइनिङ टेबल ३, औषधी छर्ने पम्प १, म्याट्रेस १ र सीसीटीभी सामग्री एकथान खरिद गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा उपराष्ट्रपति निवासकै लागि सचिवालयले पानी तान्ने पम्प २, भ्याकुम क्लिनर १, माइक्रो फोन ७, घाँस काट्ने मेसिन १ र एम्प्लिफाएर १ थान खरिद गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारको लागि सचिवालयले २ आर्थिक वर्षमा फर्निचर तथा मेसिनरी औजार सम्बन्धी ठूलो संख्यामा सामग्री उपलब्ध गराएको विकासन्युजलाई प्राप्त सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार आर्थिक वर्ष ०७७/७८ मा सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारको लागि काठको दराज १, अफिस मेच २, काठको अफिस टेबुल १, सोफासेट १, पलङ बेड १२, स्टिल दराज १, सूचना पार्टी १, कम्प्युटर १, घाँस काट्ने मेशिन १, एयर कन्डिसनर ५, किचेन र्याक १, युपिएस ८, भ्याकुम क्लिनर २, गलैंचा ३, स्ट्यान्ड फेन ३, होलिजिन हिटर २, काठको र्याक १, ग्याँस चुल्हो १, मल्टिमिडिया प्रोजेक्टर सामग्री ६, साउन्ड सिस्टम १, म्याट्रेस २, बोगेज एक्सरे स्क्यानर १, बुलेटप्रुफ ब्रिफकेस ५, पोर्टेबल मोबाइल जामर र हाइपावर मोबाइल जामर १–१ थान, रियाक्टेबल ब्यारियर टेप १ र साउन्ड सिस्टम ५ थान खरिद गरेको थियो । त्यस्तै सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारको लागि आव ०७८/०७९ मा पानी तान्ने पम्प २, भ्याकुम क्लिनर १, आइरन ३, स्ट्याण्ड पंखा १२, कन्भर्टर ४, नेटवर्किङ र्याक २, सिलाई मेशिन १, टुल बक्स १, फायर एक्स्टिङग्युसर १, टेबुल ३, दराज २, स्टिल दराज ५, टी टेबुल ७, पलङ ७, स्ट्यान्ड २ र सफ्टवेयर १ थान खरिद गरेको थियो । सचिवालयले राष्ट्रपति निवास, उपराष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सभामुख निवास, राष्ट्रिय सभा अध्यक्ष निवास, प्रधान न्यायाधीश निवास र मन्त्री निवासका लागि आवश्यक सामग्री उपलब्ध गराउने र नेपाल सरकारका केन्द्रीय तथा विभिन्न विभागीय कार्यालयहरुमा निर्माण तथा व्यवस्थापन सम्बन्धी विभिन्न कामहरु गर्ने गर्छ । सचिवालयका अनुसार आव ०७७/७८ र ०७८/७९ मा १४ प्रकारको मेसिनरी सामग्री आपूर्तिका लागि कुशल इन्टरप्राइजेजले ठेक्का पाएको थियो, भने अन्य सामग्रीहरु कोटेशन मार्फत खरिद गरिएको थियो ।
बुटवल पावर कम्पनीको संचालकमा तीन जना नियुक्त
काठमाडौं । बुटवल पावर कम्पनीको संचालकमा तीन जना नियुक्त भएका छन् । कम्पनीको ३० औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना र स्वतन्त्रमा एक जनालाई संचालकमा नियुक्त गरेको हो । सभाले दिनेश हुमागाईं र विणा राणालाई सर्वसाधारण सेयरधनीको तर्फबाट र स्वतन्त्र संचालकमा तर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए शपथ
पोखरा । पोखरा फाइनान्सका अध्यक्ष डा. दीर्घमान गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । फाइनान्सको सञ्चालक समितिको ५१५औं बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंकका निर्देशक डा। राम शरण खरेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । नवनियुक्त अध्यक्ष डा. गुरुङले शपथ लिँदै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।