विकासन्युज

आरपिएस मार्फत १८ सय अर्बको भुक्तानी कारोबार फर्छ्यौट

काठमाडौं । रिटेल पेमेन्ट स्वीच(आरपिएस) मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १८ सय अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । याे गत वर्षकाे तुलनामा ३१ प्रतिशतले बढी हाे । त्यसैगरी, कम्पनीकाे कारोबार संख्या पनि गत आर्थिक वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीकाे अनुसार रिटेल पेमेन्ट स्वीच(आरपिएस)मा हाल दैनिक औसत १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपिएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । अरपिएस अन्तर्गत फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपिआई मार्फत उपलब्ध रहेका छन् । आरपिएस अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपिआई मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । ओपन एपिआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपिआईले आरपिएसँंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । आरपिएस अन्तर्गत हालै भिपिएमा आधारित भुक्तानी, रिक्वेष्ट टु पे इमेनडाटामा आधारित भुक्तानी, अन्तरआबद्ध नेपाल पे क्युआर, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् । आरपिएसमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाखसम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा १ करोडसम्मको भुक्तानी कारोबार गर्न सकिन्छ । आरपिएस अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार २० लाखसम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको कारोबार गर्न सकिन्छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआईपिएसमा आफ्ना एक वा सो न्दा बढी बैंक खाताहरु लिन्क गरी एकै प्ल्याटफर्म मार्फत भुक्तानी गर्न सक्दछन् ।  

महासंघको चुनावमा आर्थिक मन्दीको असर, बरिष्ठका आकांक्षीले पाएनन् उम्मेद्वार

काठमाडौं । आगामी चैत मसान्तमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले व्यवसायिक क्षेत्रमा रौनक ल्याउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष पदका लागि चार जना व्यवसायी दौडधुपमा लागेका छन् । तर, उनीहरुले उपाध्यक्षसहितको टिम बनाउन सकिरहेका छैनन् । एक बरिष्ठ उपाध्यक्ष पदको लागि वर्तमान उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, रामचन्द्र संघाई र पूर्व उपाध्यक्ष उमेशला श्रेष्ठ प्रतिस्पर्धाको तयारीमा छन् । उनीहरु मध्ये अञ्जन र उमेशलालले पदाधिकारीहरुको टिम लगभग तय गरेका छन् तर आकांक्षीद्वय दिनेश र रामचन्द्रले पदाधिकारीको टिम तयार गरेको छैनन् । अन्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एशोसिएट समूहबाट उपाध्यक्षमा शाहिल अग्रवाल, वस्तुगत समूहबाट उपाध्यक्ष मनिषलाल प्रधान उम्मेद्वार बन्दैछन् । यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा कृष्ण शर्मा, एशोसियततर्फको उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगत समूहको उपाध्यक्ष पदमा हेमराज ढकाल उम्मेद्वार बन्दैछन् । दिनेश र रामचन्द्रको समूहबाट पदाधिकारीका उम्मेद्वारबारे अहिलेसम्म प्रारम्भिक खाका आएको छैन । ‘वरिष्ठमा चार जना उम्मेदवार हुँदैनन्, चारै जनाले टिम बनाएर चुनावमा जाने सम्भावना छैन, चार वटै टिम बन्ने हो भने २६० जना उम्मेद्वार हुनुपर्छ’ उपाध्यक्ष दिनेश श्रेष्ठले भने– ‘वरिष्ठ उपाध्यक्षमा २ जना उम्मेदवार हुन्छन्, त्यसपछि मात्र अन्य पदाधिकारी उम्मेद्वार तय हुनेछ ।’ जिल्ला उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले पनि आकांक्षा राखेका छन् । वस्तुगत र जिल्ला उपाध्यक्षका आकांक्षी बढी भए पनि एशोसिएटतर्फ भए दुई जनाले मात्र आकांक्षा व्यक्त गरेका छन् । आर्थिक मन्दी भएको कारण व्यवसायीहरु संकटपूर्ण अवस्थामा रहेकोले पनि चुनावमा आकांक्षी कम देखिएको हुन सक्ने महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति हेमराज ढकाल बताउँछन् । आर्थिक मन्दीकै कारण महासंघको चुनावी माहोल पनि सुस्त रहेको उनले बताए । वर्तमान नेतृत्व मौन, पूर्व अध्यक्षहरु सक्रिय आगामी निर्वाचनको विषयमा महासंघको वर्तमान नेतृत्व मौन देखिएको छ भने पूर्व अध्यक्षहरुको सक्रियता बढेको छ । महासंघको राजनीतिमा पुराना खेलाडी चण्डिराज ढकाल अहिले पनि उस्तै सक्रिय देखिन्छन् । उनी खुलेर उमेशलाल श्रेष्ठको पक्षमा लागेका छन् । पूर्व अध्यक्षहरु भवानी राणा, कुशकुमार जोशी, पूर्व उपाध्यक्ष किशोर प्रधान अञ्जन श्रेष्ठको पक्षमा लागेका छन् । पूर्व अध्यक्ष पशुपति मुरार्का, वर्तमान अध्यक्ष शेखर गोल्छाले पनि अन्जनको समूहले समर्थन गर्ने उपाध्यक्षमा आकांक्षी अरुण राज सुमाग्रीले बताए । यद्यपि, वर्तमान अध्यक्ष शेखर गोल्छा र अध्यक्ष हुँदै गरेका चन्द्रप्रसाद ढकाल चुनाव लक्षित कार्यक्रमहरुमा सहभागी भैरहेका छैनन् । आगामी निर्वाचनमा कुनै पनि उम्मेद्वारको पक्षमा आफू नलाग्ने अध्यक्ष शेखर गोल्छाले विकासन्युजसँग बताए । ‘गत निर्वाचनमा मेरो पक्षमा कार्यसमितिमा बहुमत सदस्य जिताउन मैले खुलेर चुनावी अभियानमा लाग्नु पर्यो, यस पटक म तटस्थ भूमिकामा हुन्छु’ उनले भने । महासंघको अगामी निर्वाचनपछि स्वत अध्यक्ष बन्दै गरेका चन्द्रप्रसाद ढकाल पनि निष्पक्ष भूमिका खेल्न चाहेका छन् । ‘निर्वाचनपछि सबैलाई मिलाएर लैजानसजिलो होस् भनेर अध्यक्षमा निर्वाचन नगर्ने, बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था गरिएको हो’ ढकाल भन्छन्– ‘विधानको मर्म अनुसार नै म अगाडि बढ्छु, कसैलाई समर्थन वा विरोध मबाट हुँदैन ।’ वरिष्ठ उपाध्यक्षका अकांक्षीहरु भने अन्तिममा चन्द्र ढकालले आफूलाई समर्थन गर्नेमा आशावादी देखिन्छन् । ‘उहाँले खुल्दीन भन्नु भएको छ, उहाँलाई पनि काम गर्न सजिलो मान्छे चाहिन्छ, अन्तिममा उहाँले मलाई समर्थन गर्नुहुन्छ’ वरिष्ठ उपाध्यक्षका एक आकांक्षीले विकासन्युजसँग भने ।

राष्ट्रपति बाइडेनको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद

वासिङ्टन । सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् । राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको अनुमति दिएका थिए । यद्यपि उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ । गत पुस १२ गते राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिङ्टनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको खुलासा गरेपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो । बाइडेन उपराष्ट्रपति रहेका बेलाका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताउनुभएको थियो । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको अशान्तिपूर्ण बहिर्गमनपछि अमेरिकी जनतामाझ आफ्नो सत्चरित्रयुक्त छवि रहेको चित्रण गर्ने प्रयासमा राष्ट्रपति बाइडेनलाई ठेस लागेको छ । तेह्रघण्टा लामो खोजविनका क्रममा गोप्य लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले बताएका छन् । बाइडेन सिनेटर र उपराष्ट्रपति रहेका बेलाका दस्तावेज टोलीले नियन्त्रणमा लिएको जानकारी पनि उनले दिए । टोलीले लिएका दस्तावेज कति गोप्य हुन् भन्ने स्पष्ट भएको छैन । अनुसन्धान टोलीले लिएका दस्तावेज कानुन मन्त्रालयले समीक्षा गर्नेछ ।

अर्बौं खर्च गरेर बुद्धलाई विश्वकै गुणस्तरयुक्त कम्पनी बनाएका छौं : विरेन्द्र बस्नेत

काठमाडौं । अर्बौं खर्चेर बुद्ध एयरलाई विश्वकै टप सेन्टाइल गुणस्तरयुक्त वायूसेवा कम्पनी बनाएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । बस्नेतले १५०० कर्मचारीहरुलाई नियमित तालिम, भौतिक पूर्वाधार, जगेडा पार्टपुर्जा एवं टुल्सहरुमा अर्बौ रुपैयाँ खर्च गर्दै बुद्ध विश्वकै टप सेनटाइल कम्पनी बनेको बताए । ‘सन् २०११ सेप्टम्बर २५ को बुद्धको पहिलो दुर्घटनापछि हामीले सुक्ष्म र मिहिन ढंगले इञ्जिनियरिङ, अपेरशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक तप्कामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान अनुरुपको कार्य एवं प्रणाली अँगालेका छौं,’ उनले भने । माघ १ गते पोखरामा भएको हवाई दुर्घटनापछि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले नेपालका सबै हवाईसेवा असक्षम एवं असुरक्षित भनेर सम्प्रेषण गरेका खबरले आफुहरुलाई चिन्नित बनाएको बताउँदै उनले बुद्धले गुणस्तर कायम गरी सेवा प्रवाह गरिरहेको बताए ।    

बुद्धले बेच्यो २५ वर्ष चलाएको जहाज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्धले पुरानो जहाज बिक्री गरेको छ । २५ वर्ष अगाडी उडान यात्रा सुरु गरेको पहिलो जहाज बिचक्राफ्ट जहाज बिक्री गरेको हो । बुद्धले आजभन्दा २५ वर्ष अगाडी बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट हवाई यात्रु सुरु गरेको थियो । नेपालका वायुसेवा कम्पनीले पुरानो जहाज मात्रै ल्याएर सञ्चालन गर्छन भनिरहँदा बुद्धले २५ वर्ष चलाएको बिचक्राफ्ट जहाज क्यानडाको कम्पनीलाई बिक्री गरेको हो । नेपाली आकाशमा ७५ हजार पटक उडान अवतरण गरेको पुरानो चहाल क्यानडाको कम्पनीलाई बिक्री गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र वहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार नेपाली आकाशमा उडान गर्ने सबै जहाज थोत्रा र पुराना हुन भन्नेहरुका लागि बुद्धले बिक्री गरेको बिचक्राफ्ट जहाज उदाहरण हो । जहाज पुरानो नहुँने भन्नै तोकिएको समयमा मेन्टेनेश गरेर २५ वर्षदेखि जहाज चलाईएको उनको बताए । १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाजको नेपाली दर्ता नम्बर ‘नाइन एन –एईई’ र दोस्रो जहाज सन् १९९८ मा खरिद गरिएको बिचक्राफ्टको दर्ता नम्बर ‘नाइन एन –एईडब्लू’ रहेको छ ।

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएकोबताएका छन्। २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, ‘आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष)को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए। नेपालमा बसोबास गर्ने सबै जाति/जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेका र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो’, उनले भने। प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए। उनले भने, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।’ मानव जातीले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सांस्कृतिक पाटोको बारेमासमेत जानकारी दिए । उनले चन्द्रमाको गतिको आधारमा समय गणना हुन थालेको र सोही पद्दति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्ने पनि बताए । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्दछन् भन्ने तथ्य स्थापित भएको बताए। ‘ल्होको अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यो परम्परामा विभिन्न बाह्र पशुपक्षीको नामबाट १२ ल्हो को नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ’ उनले भने, ‘बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एकवटा ल्हो फेरिन्छ । ल्हो (वर्ष) सँग खाम (पाँच तत्व)हरू- आगो, पानी, माटो, फलाम, काठ,सँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।’ तामाङ समुदायले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिनको रुपमासमेत लिइने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘हिजो ताकल्हो (बाघ वर्ष) लाई बिदा गरियो । आजबाट ह्योई (खरायो वर्ष) ल्हो सुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाईसमेत प्रतिविम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।’ नेपालमा मात्र नभएर चीन, मङ्गोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल—चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घ–संस्थालेसमेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमासमेत विशेष महत्व राख्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने, ‘ल्होछार पर्व केवल तामाङ समुदायको मात्र होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृति लोप भएर जादैँछन् । मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

सातौं पर्वत महोत्सव माघ ११ गतेदेखि हुँदै, ५ करोड बढी कारोबार हुने

काठमाडौं । पर्वत उद्योग वाणिज्य संघले ‘सातौं पर्वत महोत्सव’ आयोजना गर्ने भएको छ । पर्वतको कृषि, उद्योग, खेलकुद, पर्यटन लगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित उक्त महोत्सव गर्न लागिएको संघले जनाएको छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीका अनुसार उक्त महोत्सव यही माघ ११ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । १० दिन चल्ने उक्त महोत्सवमा आन्तरिक तथा बाहृय पर्यटक सहित करिब ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । ‘पर्वत महोत्सव ११ गतेबाट सुरु हुँदै छ, हामी महोत्सव व्यवस्थापनको अन्तिम चरणमा छौं, यहाँका स्थानीय उत्पादनदेखि हरेक क्षेत्रको प्रवर्द्धन गर्नको लागि सो महोत्सवको आयोजना गर्न लागेका हौं,’ उनले भने । उक्त महोत्सवमा २ सय ७५ वटा स्टल रहने र पर्वतका व्यवसायीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको पनि अधिकारीले बताए । मेलामा ५ करोड रुपैयाँभन्दा बढीकाे आर्थिक कारोबार हुने अपेक्षा राखेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

होटल हब बन्दै बाँके, व्यवसायीले गरे १२ अर्ब लगानी

बाँके। पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो । होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्नेक्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुई वटा पाँचतारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुनेभएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् । होटलको सङ्ख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए। आफूहरूले पनि दुई हजार जना क्षमताको ब्याङ्केट हल बनाइसकेको बताउँदै नेपालगञ्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको आठ तलामा ‘रुफटप रेस्टुराँ’ सञ्चालन गरिरहेको उनको भनाइ छ । पर्यटनको सम्भावना बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् । जसलाई संरक्षण र सम्बर्दन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको धर्मगरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्कआदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा डेढ अर्ब लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको सञ्चालक मिश्रले बताए । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । व्यवसायीहरु नेपालगञ्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी बढाउन जरुरी भएको बताउँछन् ।