रामपुरमा औद्योगिक ग्राम निर्माण गरिँदै
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भए तापनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र बेराजगार युवालाई रोजगार दिन, स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने गरी साना उद्योगलाई व्यवस्थित गर्दै औद्योगिक ग्राम नै स्थापना गरी काम अगाडि बढाउने भएको छ । उद्योग, व्यवसायमा धेरैको आकर्षण र लगानी बढ्दै जान थालेपछि नगरले ग्राम नै स्थापना गर्न लागेको हो । रामपुर नगरपालिका–७ स्थित बिरिन्टारमा करिब ४२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै छरिएर रहेका उद्योगलाई एकीकृत गर्ने गरी यहाँ ग्राम स्थापना हुने भएको छ । नगर प्रमुख रमणबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केका, ३० वर्षभित्रका युवायुवतीलाई रोजगारी दिलाउने प्राथमिकता साथ स्थानीय उत्पादन, साना–साना खालका उद्योग स्थापना गर्ने बताउनुभयो । जग्गाको चारैतिरको क्षेत्रमा बारबन्देज, प्रवेशद्वार, प्रशासनिक भवन, शौचालय निर्माणलगायतका काम अब छिट्टै सम्पन्न गरी ग्राम स्थापना गर्ने प्रक्रिया अगाडि बढेको नगर प्रमुख थापा बताउँछन् । ‘स्थानीयस्तरमा पाइने कच्चापदार्थ उत्पादन गर्ने, घरेलु उद्योग विस्तार गरी नागरिकको आयस्तर उकास्नका लागि औद्योगिक ग्राम स्थापना गर्न लागेका छौँ’, उनले भने, ‘ग्राम सञ्चालनका लागि उद्योगी, व्यवसायीलाई सहुलियतमा जग्गा भाडामा दिने र उद्योग सञ्चालनका लागि संरचना बनाउने काम स्वयं उद्योगी, व्यवसायीले नै गर्नुपर्नेछ ।’ बिरिन्टार क्षेत्रमा स्थापना हुने ग्रामका लागि २६ करोड ११ लाख रुपैयाँको ‘डिपिआर’ तयार पारी प्रक्रियाको थालनी भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रामपुर नगरपालिकालाई आर्थिक वर्ष २०७६/०७७ ८० लाख रकम प्राप्त भएको थियो । सो आवको चैतमा मात्र योजना सम्झौता गरी ६७ लाख रकमबाट औद्योगिक ग्राम क्षेत्रमा पर्ने खोलाको किनार छुट्टाउने, ग्रामको दक्षिणतिरको भागमा करिब ५० मिटर पक्की पर्खाल लगाउने, बाटोको पहुँचमार्ग, पार्किङस्थल सम्याउनेलगायतका काम भएको रामपुर नगरपालिकाका इन्जिनियर कृष्ण थापाले बताए । उनका अनुसार यस आवमा मन्त्रालयबाट विनियोजित ८० लाख बजेट र आव ०७६/०७७ मा बाँकी रहेको १३ लाख रकम गरी ९३ लाख बराबरको रकमबाट औद्योगिक ग्राम निर्माणको काम सुरु गरिनेछ । हालसम्म नगरपालिकाको खातामा ग्राम स्थापना लागि आव ०७६/०७७ रु ८० लाख, ०७९/०७८ मा ८० लाख गरी एक करोड ६० लाख रकम प्राप्त भएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले आव २०७६/०७७ देखि सुरु भएको औद्योगिक ग्राम स्थापनाको काम त्यस समयमा मन्त्रालयबाट बजेट आए पनि के काम गर्ने नगर्ने अलमलजस्तै अवस्था रहेको बताए । ‘डिपिआर रिपोर्ट’ तयार पारिएपछि कार्यविधि तयार भएर स्थानीय स्रोत साधनबाट स्थानीय कच्चा पदार्थबाट बन्ने उद्योग, साना, घरेलु र लघु उद्योग सञ्चालन गर्ने एक खालको खाका तयार भएपछि काम गर्न सहज भएको उनी बताउँछन् । ‘औद्योगिक ग्राम निर्माणको काम एक दुई वर्षमा सम्पन्न गर्न नसकिने हुँदा क्रमशः समयअनुसार संरचना थपिँदै जानेछ, डिपिआर गर्दा ग्राम निर्माण गर्न धेरै रकम आवश्यक पर्ने भएकाले सङ्घ, प्रदेश सरकार तथा विभिन्न निकायको सहयोगमा काम गर्न सकिनेछ’, उनले भने । रामपुर नगरपालिका–७ का वडाध्यक्ष दोवराज तिवारीले बिरिन्टार क्षेत्रमा स्थापना हुने ग्राम निर्माणका लागि स्थानीयवासी तथा सरोकारवाला, राजनीतिक दलले सर्वसम्मतरुपमा सहमति जनाएपछि प्रक्रिया अगाडि बढाइएको बताए । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले स्थानीय उत्पादनसँग जोडिएको हुँदा यस क्षेत्रमा पाइने कच्चा पदार्थलाई प्राथमिकता दिएर ग्राम स्थापना गरियो भने प्रभावकारी हुने बताउँछन् । कालीगण्डकी करिडोर सडकखण्डले रामपुरलाई ठूला सहरसँग जोडेको हुँदा यहाँ ग्राम स्थापना गरी सञ्चालनमा आएको खण्डमा रामपुर रोलमेडल बन्न सक्ने उनले बताए । उनी भन्छन्, ‘पाल्पाली ढाका उद्योग, करुवा उद्योग, हरिया, कुटो, कोदालो, बाँसजन्य सामग्री, हस्तकलालगायत घरेलु उत्पादनलाई जोड दिएर ग्राम सञ्चालन गर्दा यहाँका नागरिकको जीवनस्तर उकासिनेछ ।’ औद्योगिक ग्राम निर्माणको लागि प्रशासनिक भवन, बैंक तथा वित्त संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह महिला र पुरुषका लागि, पार्किङस्थल तथा आरामस्थल, चमेनागृह, प्राथमिक स्वास्थ्य केन्द्र, औद्योगिक ग्रामको प्रवेशद्वारसहितको सीमा पर्खाल वा तारबार, पहुँचमार्ग र ग्रामभित्रको मुख्य तथा सहायक मार्ग, ग्रामभित्रको मुख्य मार्गको साइडमा पैदमार्ग, उद्योग स्थापनाका लागि विभिन्न प्लट, ११ केभिए विद्युत् प्रसारण लाइन, आवश्यकताअनुसार विद्युत् सवस्टेशन तथा ट्रान्सफर्मरको व्यवस्था, आन्तरिक विद्युत् विस्तार लाइन, सम्भव भएसम्म वैकल्पिक ऊर्जाको प्रयोग हुनुपर्ने मापदण्ड छ । गोदाम घर, पानीको आपूर्ति व्यवस्था, भूमिगत र सतह ढल निकासको व्यवस्था, औद्योगिक फोहर व्यवस्थापन, आवश्यकताअनुसार प्रदूषित पानी उपचार संयन्त्रको व्यवस्था, सञ्चार सुविधाको व्यवस्था, पहुँचमार्ग र ग्रामभित्रको मुख्य तथा सहायक मार्गको दुवै साइडमा रुख, बिरुवा, सडक बत्तीको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ । औद्योगिक ग्राम स्थापना गर्न हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा २५ रोपनी, पहाडी क्षेत्रमा ३५ रोपनी, तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्नेछ । घना बस्तीदेखि न्यूनतम पाँच सय मिटर दूरी हुनुपर्ने, औद्योगिक ग्रामको दुई सय मिटरको परिधिभित्र मानव बस्ती विकास नहुने व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय सीमादेखि न्यूनतम दुई किलोमिटर दूरी हुनुपर्ने तर अन्यत्र जग्गा उपलब्ध नभई सीमा क्षेत्र नजिक मात्र जग्गा उपलब्ध हुने भएमा पाँच सय मिटर दूरीमा औद्योगिक ग्राम स्थापना गर्न सकिनेछ । आर्थिक तथा भौगोालिक दुष्टिकोणबाट उपयुक्त हुनुपर्ने, न्यून वातावरणीय असर भएको हुनुपर्ने, आवश्यकताअनुसार नेपाल सरकारले निर्धारण गरेको अन्य मापदण्ड हुनुपर्नेछ । रामपुरमा ग्राम स्थापना गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उद्योग सञ्चालन गर्न सकियो भने काठमाडौँ, पोखरा, बुटवल भैरहवा, नारायणघाटजस्ता ठूला सहरसँग जोडिएको यो क्षेत्रमा रोजगारको ढोका खुल्ने ठूलो अवसर बन्ने देखिएको छ । रासस
सीपले बदलिदिएको महिलाको दैनिकी
बागलुङ । चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफैँ कमाउन सक्ने बनेका छन् । आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन् । चार वर्ष अगाडि तमानखोला गाउँपालिकाले दिएको तालिमले अहिले उनीहरुको दैनिकी नै बदलिएको छ । महिलाले तमान गाउँमा कल्याण आमा समूहको भवनमा उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालनमा आएपछि उनीहरुको बिहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गरेको छ । पहिले घरको काम र बालबच्चाको स्याहारसुसारमा व्यस्त महिला अहिले भने कपडा बुन्नमा व्यस्त छन् । उद्योगले उनीहरुको दैनिकी फेरिदिनुका साथै आयआर्जनको माध्यम बनेको छ । उद्योगमा कति महिला त बच्चासमेत बोकेर उद्योगमा आउँछन् । गाउँपालिकाले गाउँमा २० महिलालाई तालिम दिए पनि अहिले उद्योगमा सात जना मात्रै काम गर्छन् । उनीहरु आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् । उद्योगमा सात जनाको समूह भए पनि उनीहरुले ११ वटा तान राखेका छन् । त्यसमध्ये केही बुन्ने काम गर्छन् त केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् । समूहमा धेरैजसो युवती सक्रिय छन् भने केही बृद्ध महिला पनि आबद्ध भएर काम गरिरहेको कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्तीमगरले बताउछिन् । ‘गाउँमा पहिले रोजगार गर्ने अवसर पाइएको थिएन, सीप पनि सिक्न पाएका थिएनौँ, सीप भन्ने ठूलो सम्पत्ति रैछ, सीप भयो भने जहाँ गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दो रैनछ’, उनले भनिन्, ‘गाउँका दिदीबहिनी धेरैले अहिले सीप सिकेका छौँ, सीप भएन भने भोकले मर्ने हो, हामीले सीप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदै गएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ, बाहिरबाट पनि मान्छेहरु यहाँ आउने गर्नुहुन्छ ।’ उद्योग सञ्चालनमा आएपछि धेरै ठाउँबाट माग आएपछि आफूहरुलाई निकै हौसलासमेत मिलेको उनी बताउछिन् । उनले १४ महिलाको लगानीमा उद्योग सञ्चालन गरेको बताइन्। अध्यक्ष घर्तीमगरले समूहका सबैले सुरुमा ६०/६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताउछन् । आफूहरुले उत्पादन गरेका कपडा धेरैजसो गाउँमै बिक्री भएको र बजारसम्म पु¥याउनका लागि बढी उत्पादन गर्न थालेको उनको भनाइ छ । उनी भन्छिन्, ‘हामीहरुलाई अझै केही मेसिन आवश्यक छन्, ती मेसिन आए भने अझै काम गर्न सहज हुने थियो, दिदीबहिनीको लगानीमा उद्योग सञ्चालन गरेका हौँ, अहिलेसम्म राम्रो भइराखेको छ, माग पनि ठिकठिकै छ र उत्पादन पनि ठिकै छ, अब विस्तारै ठूलाठूला बजारमा पठाउने गरी काम गरिराखेका छौँ, अहिले बजारका लागि केही समस्या छ, विस्तारै त्यसको पनि व्यवस्थापन हुन्छ कि, गाउँपालिकाले सहयोग गरे राम्रो हुन्थ्यो ।’ उद्योगमा आबद्ध हुँदै आउनुभएकी जुनुमाया घर्तीमगरले आफूहरुले ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादालगायतका कपडा बनाउँदै आएको उद्योगमा आबद्ध जुनुमाया घर्तीमगरले बताइन् । उनले उद्योग सञ्चालनमा आएको केही समय राम्रो व्यापार भए पनि अहिले बजार व्यवस्थापनमा समस्या रहेको बताउछिन् । कपडा निर्माण गर्न चाहिने धागो तथा अन्य सामान बुर्तिबाङ, पोखरा तथा काठमाडौँबाट ल्याउने गरेको उनको भनाइ छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने जुनुमायाले बताइन् । एउटा सल बुन्नको लागि दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ । अरु कपडा बुन्नका लागि एक दिनदेखि हप्ता दिनसम्म लाग्ने उनको भनाइ छ । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म र सलको १२ सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गरेको उनी बताउछिन् । ‘अहिले हाम्रो मुख्य समस्या भनेकै बजार हो, बजार व्यवस्थापन भयो बने हामीहरुको आम्दानी पनि राम्रो हुन्थ्यो, अरु त अहिले खासै समस्या छैन, उत्पादन बढिराखेको छ, बजार राम्रो भयो भने उद्योग फस्ट्याउने थियो’, उनले भने, ‘ढाका बुनाइले हामीहरुलाई उद्यमी बनायो, खुसी छौँ, परिवार चलाउन सहज भएको छ, पहिलेको जस्तो अवस्था छैन ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले ढाका सञ्चालकलाई आवश्यक सहयोग गर्दै आएको बताए । उनले पालिकाकै पहलमा तालिम सञ्चालन गरेर उद्योग स्थापना गरेको बताउनुभयो । पछिल्लो समय लोप हुँदै गएको ढाका बुनाई गाउँमा स्थापित उद्योगले ब्युँताएको उनको भनाइ छ । उनी भन्छन्, ‘यो ढाका उद्योगले परम्परागत ढाका बुनाइलाई ब्युँताएको छ, मौलिक कलासँग जोडिएको ढाका बुनाइ बूढापाकाले मात्रै गर्ने गरेको सन्दर्भमा गाउँपालिकाले नयाँ पुस्तालाई तालिम दियौँ र अहिले उद्योगनै सञ्चालनमा आएको छ, यसले पुरानो संस्कृति जोगाएको छ, उद्यमीलाई पर्ने समस्याको समाधान हामीहरु गर्छौं ।’ उनले उद्यमीलाई थप तालिम, आवश्यक मेसिन र बजारीकरणका लागि गाउँपालिकाले योजना बनाएको भन्दै उत्पादनलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले महिला परनिर्भरबाट आत्मनिर्भर बनेको भन्दै अब तमानखोलाका हरके महिलालाई सीप सिकाई उद्यमसँग जोड्ने बताउछन् । ढाका बुनाइसँगै यहाँका बेरोजगार युवाका लागि अन्य सीप सिकाइ रोजगार बनाउने गाउँपालिकाको योजना रहेको सुनाए ।
६ वर्ष बित्दा पनि सम्पन्न भएन गोदावरी सडक
काठमाडौं । निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन । उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । हात्तीबन कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको सडक निर्माण सम्पन्न गर्न सम्बन्धित वडा कार्यालयसँग समन्वय भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार त्यहाँको वडाध्यक्षले काम गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले त्यसलाई सम्पन्न गर्न सकिने देखिएको छ । झण्डै दुई सय मिटर सडकमा समस्या रहेकामा त्यसलाई टुङ्ग्याउन लागिएको हो । उनले भने, ‘त्यहाँ सम्पन्न गर्न सकियो भन्ने अरुतिरको सडक क्लियर छ ।’ साँघुरो सडक फराकिलो बनाएर कालोपत्र गर्ने गरी ठेक्का गरिएको भए पनि चौडाइ बढाउन नसकिएपछि कम चौडाइमा नै कालोपत्र गर्न लागिएको सूचना अधिकारी जोशीले बताए। बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले कतै पाँच त कतै त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । कतैकतै एउटा गाडी मात्रै सजिलै हिँड्न सक्ने रहेको छ । हरिसिद्धिको घुम्ती नजिकैको सडक सबैभन्दा साँघुरो रहेको सूचना अधिकारी जोशीले बताए । चारैतिर घर र मन्दिर भएको सो ठाउँमा चौडाइ पाँच मिटरभन्दा कम छ । ठेक्का भएको लामो समय भएकाले र सरकारको निर्णयअनुसार नै जति उपलब्ध छ त्यतिमै कालोपत्र गरेर पनि ठेक्का टुङ्गाउन लागिएको उनले बताए। ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक लामो समयसम्म सम्पन्न नहुँदा स्थानीयवासीले दुःख पाएका थिए । छ वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । तीन वर्ष पहिले सरकारले उपलब्ध चौडाइमा नै निर्माण गर्ने निर्णय भएपछि भने निर्माण अघि बढाइएको हो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि आआफ्नो जग्गा पर्ने स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि लामो समय सडक निर्माण अवरुद्ध रहेको थियो । सो सडकमा गोदावरीको नजिकै झण्डै साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम भएको छ । वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या रहेको थियो । विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैंव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।
करोडौँ लगानीमा निर्माण गरिएको सोलुखुम्बुको विमानस्थल प्रयोगहीन
सोलुखुम्बु। सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका-२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन्। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन्। विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ। विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो। विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो।
‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’
काठमाडौं । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमोजारीलाई पनि औँल्याइन्छ । यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटीआर–७२–२१२) विमान दुर्घटनमा चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भयो भने एक जनाको शव पहिचानको चरणमा छ । उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटीआर विमान दुर्घटनामा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको हवाई क्षेत्रप्रति चासो हुनु स्वभाविक हो । बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाले विमान दर्ताको हिसाबले पुरानो हुने तर थोत्रा नहुने बताउँछन्। ‘दुर्घटना विमानको ‘आयु’ सँग सिमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन, विमानको विभिन्न तहमा समयसमयमा पाटपूर्जा फेर्नुपर्छ, ‘नियमित मर्मतसंहार गरेर उडानयोग्य’ अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ’, उनले भने । विमान ‘निश्चित सयमा’ मा ‘पार्टपूर्जाहरू’ फेरेर मर्मत गरी उडान योग्य अवस्थामा राखिने गरेको छ । निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ । विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ । ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ । विमानमा एक ‘टेकअफ’ मा एक साइकल हुन्छ । विज्ञहरूका भनाइमा एटीआर जहाजको ७० हजार साइकल पूरा भएपछि उडाउन नपाइने नियम छ । त्यो जहाजको इन्जिन राम्रो भए पनि सञ्चालन गर्न पाइँदैन । मानवीय क्षतिका हिसाबले नेपालमा आन्तरिकतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना भएकाले मुलुकको समग्र हवाई क्षेत्र मात्रै हैन कोभिड–१९ महामारीले तङ्ग्रिदै गरेको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । निर्देशक थापाका अनुसार विमान दुर्घटना ‘मनवीय पक्ष’ मा धेरै आधारित हुनेगर्छ । उहाँले कुनै पनि विमान खरिद गरेर त्यसै उडानमा नलगिने, विमान सञ्चालनमा ल्याउनु अघि हवाई मापदण्ड अनुरुप मर्मतदेखि सबै खाले प्रक्रिया पूरा गरेर मात्रै व्यावसायिक उडानमा लगिने भएकाले हवाई सुरक्षा सबैको पहिलो प्राथमिकता हुने उल्लेख गरे । उनले भने, ‘विमान त्यसै ल्याएर उडाउने कुरा हुँदैन, कष्टोमाइज मेन्टिनेन्स्’ गरेर मात्रै उडानमा लैजान्छौँ, सञ्चालन वातावरण र ‘अप्रेशन ड्युरेसन’ का आधारमा कस्टमाइज गरिन्छ ।’ निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर विमान दुर्घटनापछि सवत्र उठेको चासो र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आज ‘गुणस्तरीय एवं आरामदायी उडान’ विषयक अन्तरक्रिया गरेको छ । कम्पनीले हवाई सुरक्षा गुणस्तर अभिवृद्धिमा हालसम्म गरिरहेको काम र सुरक्षा सतर्कताबारे पर्यटन र ‘एभिएसन बिट’मा कामगर्ने सञ्चारकर्मीलाई ‘एभिएसन सेफ्टी’ र उडान सञ्चालनबारे अभिमुखीकरण गराएको हो । कम्पनीको प्राविधिक विभाग, उडान सञ्चालन विभाग, तालिम विभाग, सुरक्षा विभागलगायत विभिन्न विभागका प्रमुख एवं विज्ञहरूले आधारभूत हवाई सुरक्षा र उडान सञ्चालनबारे प्रस्तुति गरेका थिए । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले एटीआर जहाज दुर्घटनापछि विगत केही दिनयता लगातार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालका सबै हवाई सेवा प्रदायक असुरक्षित भन्ने सम्प्रेषणले कम्पनीलाई चिन्तित तुल्याएको बताए । उनले हवाई सुरक्षा प्रणालीमा कम्पनीले कसरी काम गरेको छ भनेर आधारभूत जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सुनाए । सन् २०११ को दुर्घटनापछि कम्पनीको इञ्जिनीयर, अप्रेशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक विभागलाई चुस्त र प्रभावकारी बनाइएको उनले बताए । प्रबन्ध निर्देशक बस्नेतले कम्पनीमा आबद्ध एक हजार पाँच सय कर्मचारीलाई नियमित तालिम दिएर र भौतिक पूर्वाधार जगेडा पाटपूर्जा एवं ‘टुल्स’ मा अर्बौ खर्चेर गुणस्तरीय वायुसेवाको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । बुद्ध एयरकै उडान सञ्चालन निर्देशक सुवर्ण खरेलले विमान उडानका विभिन्न प्रणालीबारे जानकारी गराएका थिए । कम्पनीसँग करिब एक सय ५० विमान चालक (पाइलट) रहेका छन् । तीन एटीआर–४२ र ११ एटीआर–७२ सिरिजका गरी कूल १४ विमानमार्फत सेवा सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रचलन, हवाई मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्ड अनुरुप सुरक्षा गुणस्तर व्यवस्थापनमा कम्पनी लागिपरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । दुर्घटना लगत्तै सरकारले छानविन समिति बनाउने र समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वनय हुन सकेको छैन । दुर्घटनाको क्रम रोकिनुभन्दा बढिरहेको छ । क्यानका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय पाँच विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ । रासस
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
बनियानी । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ’, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका उनले भने, ‘चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु ।’ गुम्बाका अध्यक्ष सुभाषचन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश नं १ का कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलालगायतको उपस्थिती थियो । पूर्वकार्य समितिका सदस्यलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । हरेक वर्ष एक/एक जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ । तामाङलगायत बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
सोनाम ल्होछारमा धपक्क बलेको टुँडिखेल (फोटोफिचर)
काठमाडौं । तामाङ समुदायको मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज (आईतवार) विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौं लगायत देशभरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो । सो अवसरमा आज तामाङ समुदायका बालबालिका, किशोरकिशोरी र वृद्धवृद्धाहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाएका थिए । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसार आजबाट २८५९ औं वर्ष शुरु भएको छ । यससँगै बाघ वर्ष पूरा भइ बिरालो वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
अखिलको दबाबमा सारियो त्रिभुवन विश्वविद्यालयको परीक्षा
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दबाबका कारण त्रिभुवन विश्वविद्यालय (टीयू)ले विद्यार्थीको परीक्षा सारेको बुझिएको छ । फागुन पहिलो साता हुने २३औं राष्ट्रिय महाधिवेशनका कारण अनेरास्ववियुले त्रिभुवन विश्व विद्यालयलाई परीक्षा सार्न दबाब दिएपछि टीयू पनि परीक्षा सार्न बाध्य भएको बुझिएको हो । त्रिभुवन विश्वविद्यालयले यसअघि फागुन दोस्रो सातादेखि स्नातक तह पहिलो र चौथो वर्षका सबै संकायको परीक्षा तोकेको थियो । सोही समयमा परीक्षाको कारण अनेरास्ववियुको महाधिवेशन प्रभावित हुने भन्दै अनेरास्ववियुका विद्यार्थी नेताहरुले परीक्षा सार्न दबाब दिएपपछ परीक्षा सरेको स्रोतको भनाइ छ । विद्यार्थी नेताहरुको दबाबपछि विश्वविद्यालयले पनि फागुनामा हुने परीक्षा रद्द गरेर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । विश्व विद्यालयले ती परीक्षाहरुलाई चैतको दोस्रो सातादेखि सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ । विद्यार्थी नेताको दबाबकै कारण विद्यार्थीहरुको परीक्षा १ महिना पछाडि धकेलिएको छ । पुरानो परीक्षा तालिका [pdf id=382353] अनेरास्ववियुका महासचिव समिर बडालले भने दबाब नभई विश्व विद्यालयलाई आग्रह गरेको बताए । अनेरास्ववियुले विद्यार्थीको परीक्षा नै सार्नको लागि विश्वविद्यालयलाई दबाब नदिएको बताउँदै उनले विश्वविद्यालयलाई अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन र स्ववियु निर्वाचनको तालिकाको विषयमा जानकारी गराएर विद्यार्थीको परीक्षा प्रभावित नहोस् भनेर अग्रिम जानकारी गराएको बताए । ‘हाम्रो महाधिवेशनको कार्यतालिका यस्तो छ, स्ववियु पनि नजिकिँदैछ, यसले गर्दा विश्व विद्यालयको क्यालेन्डर प्रभावित नहोस, त्यही बिचमा धेरै विद्यार्थीको परीक्षा पनि छ, यो बेला विश्व विद्यालयले मिलाएर काम गर्नु पर्छ भनेर हामीले आग्रह मात्रै गरेका थियौं, परीक्षा नै सार्नु पर्छ भनेर हामीले दबाब दिएका छैनौं,’ बडालले विकासन्युजसँग भने । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दृष्टिकोणका आधारमा व्यवस्थापन तथा प्राध्यापकहरुको काम कारवाहीमा विद्यार्थी संगठनहरुले आफ्नो दृष्टिकोण राख्दै सोही अनुसार प्रतिक्रिया जनाउँदै आएको देखिन्छ । लामो इतिहास र प्रशस्त सम्भावना बोकेको विश्वविद्यालय पटक–पटक राजनीतिक निशानामा पर्दै पनि आएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेशल दाहाल भने विद्यार्थी नेताको दबाबमा परीक्षा सारेको विषयलाई अस्वीकार गर्छन् । उनका अनुसार केही मिलाउन बाँकी आन्तरिक विषयहरु मिलाउनका लागि परीक्षा सारिएको उनको तर्क छ । यसअघि तयारी सकेर परीक्षा तालिका नै सार्वजनिक गरिसकेको अवस्थामा अहिले कसरी तयारी पुगेन भन्ने प्रश्नमा भने उनी नाजवाफ भए । ‘विद्यार्थी नेताहरुको दबाबमा विश्वविद्यालय बस्दैन, अहिले केही विषयहरुमा तयारी नपुगेर एक महिना पछाडि सारेका हौं, यसमा अन्यथा सोच्नु हुँदैन,’ उनले भने । समयमा परीक्षा लिने, नतिजा सार्वजनिक गर्ने र पाठयक्रमको नियमित विकास गर्ने लगायतका विषयहरुमा अब्बलता पदर्शन गर्न नसकेको विश्वविद्यालयले एउटा विद्यार्थी संगठनको दबाबमा विद्यार्थीको परीक्षालाई एक महिना सार्ने काम गरेको भन्दै अहिले चौतर्फी रुपमा आलोचना पनि भइरहेको छ । कोरोना महामारीले प्रभावित पारेको शैक्षिक क्षेत्रको तालिका अझै नियमित हुन नसकिरहेको अवस्थामा विश्वविद्यालयले विद्यार्थीको परीक्षालाई थप एक महिना धकेल्दा यससँग सम्बन्धित हजारौं विद्यार्थीको पढाई पनि प्रभावित हुने देखिन्छ । नयाँ परीक्षा तालिका [pdf id=382349]