कान्ति बाल अस्पतालमा हिमालयन बैंक थप दुई बिल भुक्तानी काउन्टर
काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले माघ ४ गते बुधबारदेखि बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र उनका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको जानकारी दिएको छ । बैंकको अनुसार उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् । बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६००० भन्दा बढी पिओएस टर्मिनल्सबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो
काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको र १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो । हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनःनिर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ । साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भइ सर्वसाधारणका लागि खुला गरिएको छ । हाल पुनःनिर्माण भइरहेका सम्पदाको काम पूरा नभइ अन्य काम सुरू गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनःनिर्माणको काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिए । काम सुरु हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन् । ‘माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेगको पुनःनिर्माण सकिएपछि कामदेव मन्दिरको पुनःनिर्माण सुरु हुन्छ’, उनले भने । त्यसैगरी आगम्छे घरको पुनःनिर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उनको भनाइ छ । उक्त क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको हो । यस क्षेत्रको सम्पदा पुनःनिर्माण पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग ९जाइका०, बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौं महानगरपालिका, केही स्थानीय गुठीमार्फत् काम भइरहेको छ । प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार नाम रहन गएको हो । हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरपरका अन्य सम्पदालाई पनि यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् । महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घर विसं १८१३ मा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गरेका हुन् । कुल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो ।
पर्यटन मन्त्रालयको सहयोग पेटिकामा ३ लाख जम्मा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब रु तीन लाख जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए । मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित तीन लाख रुपैयाँ जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिए । उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताए । यसैगरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिए । देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न उनले सुझावसमेत माग गरेका छन् ।
साना उद्यमीलाई कर्जा पाउन कठिन भएको छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीलाई कर्जा पाउन कठिन भएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंकहरुको महंगो ब्याजले साना उद्यमीलाई लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताए । ‘बैंकहरुको महंगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको छ, साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने छ,’ उनले भने । यस्तै, उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । ‘कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता भएका छैनन्, कर बुझाउन जाँदा उल्टै दुःख पाउने कारण धेरै उद्याेग दर्ता भएका छैनन्,’ उनले भने ।
फोर्स मोटर्सको सर्भिस सेन्टर पोखरामा
काठमाडौं । फोर्स मोटर्सको सर्भिस सेन्टर पोखरामा सञ्चालनमा ल्याएको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले पार्टपुर्जा लगाएत विभिन्न सेवा दिने उदेश्यले सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो सेवा दिने उदेश्य राखिएको आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए । विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
३८.५ प्रतिशत लाभांश वितरण गर्ने नेशनल माइक्रोफाइनान्सकाे घोषणा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ ९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ
काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो ।
५ वर्षमा शुक्लाफाँटा नगरपालिकाले पाँच जनालाई चिकित्सक बनाउने
कञ्चनपुर । पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो । प्रत्येक वर्ष एक/एकजनाका दरले पाँच वर्षमा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी एमबिबिएस र इन्जिनियरिङ पढाउनका लाागि कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । ‘पढाइ पूरा नहुन्जेलसम्मका लागि पूरै खर्च नगरपालिकाले व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गर्छौं’, उनले भने, ‘छात्रवृत्ति पाएर एमबिबिएस र इन्जिनियरिङ उत्तीर्ण गरेका छात्रछात्रालाई नगरपालिकामै रोजगारी उपलब्ध गराउने योजनासहित कार्यक्रम अगाडि बढाइएको छ ।’ चालू आवमा छात्रवृत्ति प्रदान गर्नका लागि १५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । १० लाख एमबिबिएस पढ्नेलाई र पाँच लाख इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति प्रदान गरिनेछ । ‘पढाइमा अब्बल रहेका विद्यार्थी आर्थिक अभावका कारण एमबिबिएस तथा इन्जिनियरिङ पढ्नबाट वञ्चित नहुन भनेर चालू आवको नीति तथा कार्यक्रममै छात्रवृत्तिको कार्यक्रम ल्याउने घोषणा गरेका थियौँ’, नगरप्रमुख रणबहादुर महराले भने, ‘चालू आवदेखि नै एमबिबिएस र इन्जिनियरिङ पढ्न चाहनेलाई छात्रवृत्तिबापतको रकम उपलब्ध गराउँछौँ ।’ पढाइ पूरा नहुन्जेलसम्म छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको खर्च नगरपालिकाले ब्यहोर्ने उनले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा पढेका कक्षा १२ मा राम्रो अङ्क ल्याएका विद्यार्थीले आर्थिक अभावकै कारण रोजेको विषय पढ्न नपाएको गुनासो अभिभावकले पटक–पटक गरेको सुनेका छौँ, त्यसै समस्यालाई निराकरण गर्दै, आर्थिक अभावले पढाइ छाड्नु नपरोस् भनेर कार्यक्रम अघि सारेका हौँ’, उनले भने । नगरपालिकाबाट छात्रवृत्ति पाएर पढेका विद्यार्थीले कम्तीमा दुई वर्ष नगरपालिकाको स्वास्थ्य संस्था र प्राविधिक फाँटमा रहेर काम गर्नुपर्ने सर्त अघि सारिएको छ । पढाइ पूरा गरी नगरपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई र इन्जिनियरिङ पढेकालाई नगरपालिकाले सम्झौता गरी तलबमानमा रोजगारी उपलब्ध गराउने नगरप्रमुख महराले बताए। रासस