विकासन्युज

महोत्तरीमा केशोर र बयरको बजार बढ्दै

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको छ ।  श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष)  र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र बयरको बजार बढेको छ ।  वसन्तपञ्चमी पनि भनिने यस पर्वमा सरस्वतीको पूजाका लागि  बयर र केशोरको महत्व निकै हुन्छ । बस्ती-बस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजामा  प्रसादका रूपमा बयर र केशोरको प्रयोग गरिने भएकाले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् । पर्व नजिकिँदै गर्दा किसान केशोर खन्न र बजार पुर्‍याउन तल्लीन देखिन्छन् । ‘लगातार बाक्लो हुस्सुसँगैको चिसो स्याँठले राम्ररी काम गर्न  कठिन भए पनि  केशोर बिक्रीको बेला भएकाले धमाधम खन्न लागेका छौँ’,  बर्दिबास-९ पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘अबका चार दिन केशोरले बजार पाउने त हो ।’ यस वर्ष  श्रीपञ्चमी पर्व माघ मध्यअघि नै पर्दा केशोर खन्न ठीक बेला भए पनि लगातारको चिसोले यसमा कालो धब्बा लागेर दुःख दिएको सम्बद्ध किसानले बताए  । बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहितका जिल्लाका उत्तरवर्ती नगर क्षेत्रका बस्तीमा केशोरको व्यावसायिक खेती हुँदै आएको छ । यस भेगको केशोर देशका विभिन्न भागका साथै  भारतको पश्चिम बङ्गालसम्म पुग्ने हुँदा अहिले केशोरका व्यापारीको चहलपहल पनि बढेको छ । केशोरको व्यावसायिक खेती हुने भए पनि यहाँ बयरको भने व्यावसायिक खेती फस्टाएको छैन । उन्नत जातका बयरका बिरुवा नरोपिँदा यहाँको बजारमा पुराना बयरले माग धान्न नसकेपछि हाटबजारमा बाहिरबाट मनग्ये बयर आउने गरेको छ । ‘बयरका रूख त छन्  तर उनै पुराना, जे फल्छन् भगवान् भरोसे’, भङ्गाहा-४ पलारका किसान जयकरण बाँतरले भने,  ‘यो पनि वसन्तपञ्चमी ताका टिप्न सकिएन भने झरेर खेर जान्छ, त्यसैले टिप्दैछौँ ।’ यता उन्नत जातका बयरको खेती नथालिँदा भारतबाट आउने बयरमा आश्रित हुन परेको किसान बताउँछन् । स्थानीय सरकारले उन्नत जातका बयरका बिरुवा उपलब्ध गराइदिए आफूहरू खेती गर्न इच्छुक रहेको जयकरणकै छिमेकी महेश सर्दार बाँतरले बताए । यसैगरी माटोमुनि फल्ने केशोर तयार हुने समय पनि माघ मध्यभित्र नै हो । खन्न ढिलो हुनासाथ माटोमुिन नै फल कुहिँदै जाने, कालो धब्बा लाग्ने र स्वाद बिग्रने भएको हुँदा केशोर खन्न किसान व्यस्त देखिएका हुन् । ‘केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमी आउन  अब केही दिनमात्र बाँकी छ, आउने बिहीबारसम्म पर्वका लागि यसको बजार हुन्छ, त्यसैले घरका सबै केशोर खन्न जुटेका छौँ’, बर्दिबास-७ मनहरिपुरका किसान रोशन यादवले भने । टाढाटाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि मौसमले राम्रो साथ नपाएको बताए । खनेको केशोर तत्कालै नबिग्रने हुँदा मनहरिपुरमा अहिले   घरघरैजसो आँगनमा खनेका केशोरका थुप्रा देखिन्छन् । जिल्लामा बयरको व्यावसायिकरुपमै खेती गर्ने किसान त थोरै छन् । तर केशोर खेती भने जिल्लाका उत्तरवर्ती क्षेत्रका बस्तीमा किसानले व्यापकरूपमा गर्दै आएका छन् । सरस्वती पूजाका बेला यस भेगमा उत्पादित केशोर मुलुकभित्रकै टाढाटाढाका बजार र भारतीय बजारसम्म पुग्ने गरेको गौशाला-१० का किसान अरुण कुशवाहाले बताए । स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्वविशेषको प्रसाद सामग्रीमात्र  नभई मौसममा फल्ने फलका रुपमा खाने चलन आमरूपमा बस्न सके यसको बजार विस्तार अझ हुने स्वास्थ्यकर्मीको भनाइ छ । खानामा अरुचि हटाउन, पाचनक्रिया मजबुत बनाउन, कोशिकाहरु सक्रिय बनाउन  र रगत शुद्धीकरणका लागि पनि केशोर उपयोगी फल रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए ।  अहिले उत्पादन भएको केशोर खनेर चिस्यानघरमा राख्नसके वैशाख-जेठको गर्मीयाममा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ तर चिस्यानघरको अभावमा केशोरलाई सुरक्षित राख्न कठिन भएको उनको गुनासो थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी माग्यो सुझाव

काठमाडाैं । नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सम्बन्धी सुझाव मागेकाे छ । बैंकले आर्थिक वर्ष २०७९/८० काे माैद्रिक नीतिकाे अर्द्धवार्षिक समीक्षाकाे लागि राय र सुझावहरु मागेकाे हाे । बैंकले माघ २० गतेसम्म बैंककाे आर्थिक अनुसन्धान विभागकाे इमेल वा ठेगनामा सुझावहरु पठाउन अनुराेध गरेकाे छ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष माैद्रिक नीति सार्वजनिक गर्दै आएकाे छ । नेपाल राष्ट्र बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि नै मौद्रिक नीति हो । सामान्यतः बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउन राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै आएको छ ।

होण्डाले ल्यायो १ रुपैयाँमा तीन वर्षको सर्भिसिङ अफर

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गतका ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन् । यदि उक्त समय भित्र पार्टस् नपाए ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यस्तै, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल १ रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टसको सेवा लिन सक्नेछन् ।  

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघ १२ गतेदखि हुने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा माघ १२ गतेदेखि हुने भएको छ । काउन्सिलको सूचना अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ। काउन्सिलले माघ १२ देखि १५ गतेसम्म परीक्षा हुने सूचनामा उल्लेख गरेको छ ।

जाजरकोटको स्वास्थ्य चौकीमा ५ महिनादेखि छैन सिटामोल

जाजरकोट । जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ । दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताए । ‘औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौंबाट आएपछि बाँड्ने योजना छ,’ उनले भने । बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे–११ का कैलो नेपाली, दमले  सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउछन् । उनले भने, ‘स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।’ प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गर्छन् । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बन्नुभएका खड्काले भने, ‘उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोलसमेत दिएनन् ।’ चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् । एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रलाई पाँच वर्षपहिला राष्ट्रिय बीमा संस्थानले १६ लाखको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए  । ‘विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने । विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उनले बताए । स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता छ ।

१३ अंकले घट्यो सेयर बजार, पाँच वित्तिय कम्पनीको सेयरमा सर्किट

काठमाडौं । सोमबार १३ अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार सोमबार सेयर बजार घटेर २१६५.१० विन्दुमा पुगेको छ । आज एक करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ कराेड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार सबैभन्दा बढी कारोबार कुमारी बैंककाे २७ करोड रुपैयाँको भएकाे छ । आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमश आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड बैंक र समृद्धि फाइनान्स रहेको छ ।

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन, वार्षिक ७ लाख आम्दानी

गलकोट । बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गतवर्ष तमानखोला   गाउँपालिका-२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर दुई लाख आम्दानी गरे। उनले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको थियो ।   अहिले जैमिनी नगरपालिका-१० राङ्खानीका केदार आचार्यले आफ्नै आचार्य जैविक कृषि फर्ममा समेत पहिलो पटक स्ट्रबेरीको खेती थालेका छन् । पछिल्लो समय बागलुङमा छन्त्याल र आचार्यले स्ट्रबेरीको व्यावसायिक खेती थालेका छन् । छन्त्यालले बागलुङमा स्ट्रबेरी खेती गरेको खबर पाएपछि उनकै सल्लाहमा पहिलोपटक यस वर्ष एक हाइटेक टनेलमा स्ट्रबेरी खेती थालेको राङ्खानीका कृषक केदार आचार्यले बताए। उनले गत वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती थालिएको जनाउँदै यो बागलुङका लागि नयाँ फल रहेको बताए । उनले आफूले परीक्षणका लागि लगाएका तीन सय स्ट्रबेरीका बिरुवाले उत्पादन दिन थालेको जानकारी दिए।  ‘पाँच वर्षदेखि कृषि कर्ममा तल्लीन छु, नयाँ-नयाँ फलफूल तथा तरकारीको परीक्षण उत्पादनसमेत गर्दै आएको छु, यहाँ स्ट्रबेरीको राम्रो सम्भावना देखेँ, स्ट्रबेरी खेतीको विषयमा खोजी गर्दा तमानखोलामा यसको व्यावसायिक उत्पादन भएको पत्ता लगाएर आफूले समेत उक्त खेती यस वर्षदेखि थालेको हुँ’, आचार्यले भने, ‘स्ट्रबेरी अन्य फलफूलभन्दा सजिलै उत्पादन गर्न सकिने र राम्रो मुल्य पाउने देखियो, अर्को वर्ष अझै वृहत तरिकाले उत्पादन गर्ने लक्ष्यमा छु ।’ उनले नयाँ फल रहेको र बिरुवा उत्पादनमा कुनै समस्या नभएकाले बजारीकरणको समस्या नदेखिएकाले यसको व्यावसायिक उत्पादन आवश्यक रहेको बताए। अहिले बागलुङ बजारको कौसी खेतीमा समेत स्ट्रबेरी लगाइएको पाइन्छ तर त्यो व्यावसायिक नभएर घरायसी प्रायोजनका लागि मात्रै भएको आचार्यले जानकारी दिए।  उनले चारवटा प्लास्टिक टनेलमा तरकारी खेती, सुन्तला खेती, स्ट्रबेरी खेती, गड्यौला खेती र १० रोपनी जग्गामा अलैँची खेती गर्दै वार्षिक सात लाख आम्दानी गर्दै आएका छन्। वैदेशिक रोजगारीबाट फर्केर कृषि कर्ममा लाग्नुभएका आचार्यले स्ट्रबेरी खेतीलाई प्रवर्द्धन गर्न थालेका छन् ।    छन्त्यालले गाउँमा कृषि क्रान्ति नै ल्याएका छन्। गाउँमा पहिलोपटक उनले प्लास्टिक टनेल हालेपछि अहिले गाउँभरि प्लास्टिक टनेल छन् । पाँच वर्षअघि मात्रै आफ्नो पुरानो गाउँ कटेरी फर्केर कृषिमा लागेका छन्त्यालले भने , ‘अहिले स्ट्रबेरीको क्रेज बढेको छ, पहिला स्ट्रबेरीको नामै थाहा नभएकाले स्ट्रबेरी खान थाले, बागलुङमा पहिलोपटक स्ट्रबेरीको व्यावसायिक उत्पादन गत वर्ष मैले नै थालेको हुँ, अहिले केदार आचार्यले पनि थाल्नुभएको रहेछ ।’   छन्त्यालले टमाटर फलाउने जग्गामा स्ट्रबेरी फलाउन सके धेरै गुणा महङ्गोमा बिक्री गर्न सकिने अनुभव सुनाए । ‘गत वर्ष स्ट्रबेरी लगाएको प्लास्टिक टनेलमा हिमपातका कारण केही क्षति भएपछि अहिले टनेल मर्मतमा लागेको छु, त्यसपछि पुनः स्ट्रबेरी लगाउने उदेश्य छ’, उनले भने। छन्त्यालले जल्लामै पहिलोपटक स्ट्रबेरीको व्यावसायिक खेती थालेको कृषि ज्ञान केन्द्रको तथ्यांकलेदेखाएको छ ।  लामो समय वैदेशिक रोजगारीमा गएका छन्त्यालले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि काठमाडौँ र पोखरामा व्यावसायिक खेती सुरु गरेका थिए । पछि आफ्नै गाउँ कटेरीमा छ रोपनी जग्गामा व्यावसायिक तरकारी र स्ट्रबेरी खेती थालेको छन्त्यालको भनाइ छ । स्ट्रबेरीको बजार मूल्य अहिले प्रतिकिलो पाँच सय रहेको छ । लामो समयदेखि घरको कौसीमा स्ट्रबेरी खेती गर्दै आएका बागलुङ नगरपालिका–३ का घरधनी बमबहादुर खड्काले बताए। उनले छतमै फलाएको काउली र बन्दा बिक्री गरे पनि उत्पादन भएको स्ट्रबेरी परिवार र आफन्तले उपभोग गरेको बताए।

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

  म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका २ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालले मङ्गला १ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । मङ्गला १ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला २ की २२ वर्षीया विपना कार्की, मङ्गला १ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए ।