एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकाथन’ हुँदै
काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा ‘ह्याकाथन’ गर्ने भएको छ । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना हुँदैछ । ‘विविधता, समानता र समावेशीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ,’ कम्पनीले भनेको छ, ‘यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु हो ।’ कार्यक्रमका अन्य साझेदारहरूमा ‘गर्ल्स इन टेक’ र ‘वुमन इन बिग डेटा’ छन् । शिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरूप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसनका काम भइरहेका छन् । यस ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करिअर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ। यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको कम्पनीको भनाइ छ। ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरू तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्छन् र यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन्। दर्ता भएका समूहमध्येबाट छानिएका समुहको सूची माघ २० घोषणा गरिने छ। कार्यक्रम पूर्व तयारी स्वरूप हाल विभिन्न कलेजहरूमा विभिन्न गतिविधिहरू भइरहेका छन् । शिक्वल फाउन्डेसनका अनुसार यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आइटीसम्बन्धी उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा समान सहभागिता बढाउँछ।
तरकारी खेतीले फेरिएको महिलाको दैनिकी, मनग्य आम्दानी
रामपुर । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीमा संलग्न हुन थालेपछि जिल्लाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले उनले काउली, बन्दा उत्पादन गरेर बजारमा दिनहुँजसो बेच्छिन् । बन्दा प्रतिकिलो ३०, काउली प्रतिकिलो ६० मा बिक्री भइरहेको उनले बताइन् । ‘घरवरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ’, उनले भनिन्, ‘घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।’ घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहेकि छन् । घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन् । उनि भन्छिन्, ‘महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हँुदोरहेछ, श्रीमान्सँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन ।’ आफ्नो मेहेनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उनले बताइन् । तरकारी बिक्रीवापत वार्षिकरूपमा खर्च कटाएर करिब दुई लाख आम्दानी गर्छन् । कुन्तादेवी गैरेले आफैँले घरवरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउछिन् । उनले बर्सेनि चार रोपनी जति जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने गर्छिन् । घरमा खानका लागि मात्र नभई बजारमा बिक्री गर्ने गरेको गैरेले बताइन् । ‘पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफँैले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ’, उनले भनिन् । यहाँका महिलालाई स्थानीय नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा प्रेरणा मिलेको छ । समूहले महिलालाई आयमूलक क्षेत्रमा उत्प्रेरित गराउन तरकारी खेतीमा हौसला दिन थालेपछि व्यावसायिक तवरबाट तरकारी लगाउन थालेका हुन् । घरमा थोरै खानका लागि तरकारी लगाउने राधा खनालले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउछिन् । उनलाई दुई वर्षयता तरकारी खेती सुरु गरेपछि किनेर खानुपर्ने बाध्यता टरेको छ । करिब तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएको खनालले बताइन् । खेतबारीमा लगाएको काउली, बन्दा र आलुखेतीको स्याहारसुसारमा यतिबेला गोमा पोखरेलको पनि समय बित्ने गरेको छ । सात वर्षदेखि तरकारी खेतीमा तल्लिन रहेकी पोखरेल आफूलाई कृषि समूहमा आबद्ध भएपछि तरकारी लगाउने प्रेरणा मिलेको बताउछिन्। सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ । आफैँले घरका खेतबारीमा तरकारी लगाउन थालेपछि बाहिर तरकारी किन्ने पैसा बचतमात्रै नभई स्वस्थ ताजा तरकारी सेवनले स्वास्थ्यलाई धेरै फाइदा गरेको सावित्रा गैरेको अनुभव छ । ‘साढे दुई रोपनी जग्गामा लगाएको तरकारीले मेहेनतका साथ खेती गरियो भने राम्रै फल्छ, बजारबाट किनेर खाएका तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी पु¥याउने भएकाले घरमै तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ’, उनले भनिन् । रामपुर नगरपालिकाले तरकारी खेतीलाई प्रवद्र्धन गर्दै समूह, सहकारीमार्फत बीउबिजन, स्थलगत प्राविधिक सेवा, अभिमुखीकरण कार्यक्रम, तरकारी बाली पकेट विकास कार्यक्रम, कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता विभिन्न कार्यक्रममा जोड दिएकाले आयआर्जन गर्ने गरी कृषकले तरकारी खेतीलाई विस्तार गरिरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरु पुरुषसरह नै व्यवसायमा मेहेनत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् । रासस
२० रुपैयाँमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर
कञ्चनपुर । विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुप¥यो । महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुङ्गा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए । दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन् । विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएपापत पारिश्रमिक २० लिएर काम गरेको विगत सुनाए । ‘वनबासाबाट आउन जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाका लाग्थे’, उनले भने ‘त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो ।’ उनले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिकरूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताए । ‘वर्षात्को उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन’, उनले भने, ‘त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।’ तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधारा चाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको भए पनि सडक, पुललगायतका संरचना निर्माणले समस्याबाट टाढा छ । ‘ओदाली (भीमदत्त नगरपालिकातर्फ)बाट सवारी र सामान राखेर अहिले झोलुङ्गे पुल भएको ठाउँमा झार्थेँ’, सिंहले भने, ‘किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो ।’ उनका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी दुईवटा किस्ती चल्थे । किस्ती चलाउन आफूसहित चार जनाको टोली हुने गरेको उनले बताए । ‘प्रतिव्यक्ति महाकाली तारेको पाँच भाडा थियो’, उनले भने, ‘सहयोगीसहित चार जनाको टोली भए पनि मुख्य चालक म नै थिएँ ।’ उनले किस्तीमा ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाए । ‘यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो’, उनले भने, ‘झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो ।’ हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधारा चाँदनीवासी अहिले सुदूरपश्चिमको आर्थिक स्मृद्धिको ढोकामा छन् । यहाँ चार लेनको पक्की मोटरेबल पुलदेखि दोधादा चाँदनी नगरपालिका–१ मा सुक्खाबन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ । किस्तीको ठेक्का हुँदा तत्कालीन चाँदनी गाविसमा चार/पाँच हजारमा वार्षिक ठेक्का हुँदै सुरु भए पनि पछि गरेर एक/डेढ लाखसम्म रकम वार्षिकरूपमा सङ्कलन गर्ने गरी ठेक्का हुने गरेको उनको भनाइ छ । ‘वर्षात्मा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि’, उनले भने, ‘दोधारा चाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो ।’ दैनिक एकपटकमात्रै किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयवासीलाई धेरै सहज भएको सिंहको भनाइ छ । ‘किस्तीमा पानी भरिँदा सफा गर्नेमात्रै दुई जना हुन्थे’, उनले भने, ‘महाकाली तार्न यहाँ दुईवटा घाट बढी सञ्चालनमा थिए ।’ महाकाली नदीमा विसं २०५८ मा झण्डै डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी मूलधारसित जोडिनु पुगेको थियो । पछिल्लो समय सडक सञ्जालको व्यापक निमार्णदेखि महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँचमार्ग बनेपछि दोधारा चाँदनीको स्वरुपमै परिर्वतन आएको छ । यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हुँदैछ । ‘त्यो बेला साइकल नहुने दोधारा चाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्’, उनले भने, ‘मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधारा चाँदनीले पनि हो ।’ रासस
एसईई तयारी गरिरहेका विद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरी नियन्त्रणमा
तनहुँ । तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् । उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते भएकी थिइन् । लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए। आफ्नै छोराछोरी सम्झेर राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए। अन्य विद्यार्थी अवस्था सामान्य रहेको पनि उनले स्पष्ट पारे। होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रअ थापाले गरेको निरीक्षक अर्यालले जानकारी दिए। घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीमाथि पनि अभिभावकले मदिरा सेवन गरी अराजकता मच्चाउन खोजे पनि प्रहरीले संयमता अपनाइएको उनले बताए। गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले जानकारी दिए। कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
तुलसीपुरमा ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर सङ्कलन गर्ने भएको छ । घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो । उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो । नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए।
सहकारी संस्थाका बचतकर्ताद्धारा ७ करोड बचत रकम फिर्ता गर्न माग
खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिर्ता गर्न माग गरेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ । बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका छन् । बचतकर्ता धनीराम नछुङले भने, ‘आफूहरूको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलनबाहेक रहेन ।’ सो सस्थामा चार हजार पाँच सय बचतकर्ता रहेको जनाइएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गते दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा ५१ लाखसम्म बचत गर्ने बचतकर्ता रहेका छन् । आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्नका लागि बचतकर्ता दैनिकजसो ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् । घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न ५१ लाख रकम सहकारीमा जम्मा गरेर राखेको केही समयपछि सहकारी नै डुबेपछि परिवारमा समस्या भएको बचतकर्ता लेखनाथ आचार्यले गुनासो गरे । ‘आफूहरूले दैनिक थोपाथोपा गरेर सहकारीमा जम्मा गरेको बचत रकम डुबेकाले अन्तिम विकल्पका रूपमा आन्दोलनमा उत्रनुपरेको छ’, उनले भने, ‘बचत फिर्ता गर्ने विषयमा तत्काल सम्बन्धित निकायले चासो नदिएको खण्डमा ठूलो समस्या सिर्जना हुने अवस्था आएको छ ।’ जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको थियो । विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ भन्दै सम्झाइबुझाइ फर्काउने गरेका छन् । पछिल्लो समय सञ्चालक समितिले ऋण असुल गर्दै बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ । सहकारीको ७४ जना ऋणी छन् । उनीहरूले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरूमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेका छन् । सहकारीको जग्गाबाहेक सावाँब्याजसहित करिब १० करोड ऋण लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँब्याजसहित करिब सात करोड फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ । सहकारीमा देखिएको समस्या समाधानका लागि आफू सक्रियताका साथ लागिपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताइन् । सहकारीका कारण धेरैको घरबार सङ्कटमा परेकाले सबैभन्दा बढी सञ्चालक समितिले चासो दिनुपर्ने न्यायिक समितिका संयोजकसमेत रहेका उनको भनाइ छ ।
अब डेढ लाखमै कर्णालीमा मृगौला प्रत्यारोपण, स्वास्थ्य क्षेत्रमा नयाँ फड्को
सुर्खेत । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ। तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ। त्यही गोठीकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा आजको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको थियो। पछि उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झर्यो। विसं २०२९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो। त्यसको ठिक २० वर्षपछि २०४९ सालमा २५ शय्याको अस्पताल बनेर सेवा विस्तार गर्यो। त्यस्तै विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण भयो। मुलुक सङ्घीय संरचनामा गइसकेपछि भने विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो। प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र सङ्घीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको दुई सय ९७ शय्यामामा आफ्नो सेवा विस्तार गरेको छ। अहिले यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ। हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इएनटी, अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमर्जेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। उनले भने, ‘प्रदेश अस्पतालको सेवाको आकर्षण र स्वास्थ्य बीमाको सुविधा र त्यसको लाभले होला पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको छ। गत आव २०७८/७९ मा ओपिडी सेवा लिनेको सङ्ख्या ४९ हजार चार सय ३० रहेकामा चालु आव २०७९/८० को छ महिनामा ८४ हजार दुई सय ८८ पुगेको छ।’ त्यस्तै गत आवभरि अन्तरङ्ग १० हजार चार सय ४६, इमर्जेन्सी सात हजार दुई सय २६, सिटीस्क्यान एक हजार एक सय सात, एक्सरे १८ हजार सात सय ९८, युएसजी १२ हजार सात सय ३१, जटिल शल्यक्रिया एक हजार नौ सय दुई र डेलिभरी सेवा दुई हजार छ सय ४८ जनाले सेवा लिएका थिए। चालू आवको छ महिनामा ११ हजार आठ सय ९१ अन्तरङ्ग, १० हजार सात सय ८६ इमर्जेन्सी, एक हजार नौ सय ८८ सिटीस्क्यान, २६ हजार छ सय ३४ एक्सरे, २० हजार पाँच सय ६२ युएसजी, एक हजार नौ सय ४८ जटिल शल्यक्रिया र दुई हजार सात सय ७४ जनाले डेलिभरी सेवा लिएको प्रदेश अस्पतालले बताएको छ । मृगौला प्रत्यारोपण हुँदै कर्णाली प्रदेश अस्पताल सुर्खेतले मृगौला प्रत्यारोपण गर्ने तयारी गरेको छ। आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ। आइतबार आयोजित पत्रकार भेटघाटमार्फत् अस्पताल निर्देशक डा खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिए। ‘प्रदेश अस्पताल सुर्खेतले मृगौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ’, उनले भने, ‘दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ।’ पछिल्लो समयमा मृगौला रोगीको सङ्ख्या बढ्दै आएको निर्देशक डा खड्काले बताए। प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र सात लाखसम्म सरकार आफैंले व्यहोर्ने उनको भनाइ थियो। पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चारपटक हुने उनले जानकारी दिए। कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको बताउँदै उनले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा खड्काले जनाए। यसले चालू आव २०७९/८० भित्रै एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत् अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।
सिन्धुपाल्चोकको सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षातका समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदैआएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्नुहुँदै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । ५६ लाख ७८ हजार एक सय ३७ को लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’को १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण भने उपभोक्ता समितिमार्फत हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिए । रासस