विकासन्युज

राष्ट्रिय वाणिज्य बैंक वित्तीय क्षेत्रको विश्वविद्यालय हो, ठूला बैंकसँग प्रतिस्पर्धा गर्न सक्षम छ : डीसीईओ खनाल

वि.सं २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक देशको एक अग्रणी बैंकका रुपमा परिचित छ । बैंकले हरेक वर्षको माघ १० गते आफ्नो वार्षिकोत्सव मनाउँछ । मंगलबार (आज) पनि बैंकले ५८औं वार्षिकोत्सव मनाउँदैछ । नेपाली वित्तीय क्षेत्र सुधार र वित्तीय पहुँच र वित्तीय साक्षरतामा अग्रणी भूमिका खेलेको राष्ट्रिय वाणिज्य बैंक पछिल्लो समय निजी क्षेत्रबाट सञ्चालित ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्षम बनेको छ । सरकारको स्वामित्वमा रहेका अन्य सार्वजनिक संस्थानहरु नोक्सानमा भइरहँदा राष्ट्रिय वाणिजय बैंक भने प्रत्येक वर्ष सरकारलाई लाभांश खुवाउँछ । बैंकले देशमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी प्रदान गरेको छ भने देशमा उद्योग व्यवसायको वातावरण सिर्जना गर्नमा पनि यस बैंकको योगदान महत्वपूर्ण छ । बैंकले गरिरहेको काम कारवाही, बैंकिङ क्षेत्रका समसामयिक विषयवस्तु र बैंकको व्यक्तिगत बिजनेस लगायतको विषयमा हामीले बैंकका नायव प्रमुख कार्यकारी अधिृकत देवेन्द्र रमण खनालसँग कुराकानी गरेका छौं । राष्ट्रिय वाणिज्य बैंक ५८औं वार्षिकोत्सव मनाउँदै छ, यो बैंकको विगत स्मरण गरौं न, वित्तीय क्षेत्र सुधारमा राष्ट्रिय वाणिज्य बैंकको भूमिका कस्तो रह्यो ? राष्ट्रिय वाणिज्य बैंक रहन्छ वा रहन्न भन्ने अवस्थाबाट अहिलेको अवस्थामा आइपुगेको हो । देशकै सबैभन्दा ठूलो, सबैले पत्याएको र विश्वसनिय बैंकका रुपमा चिनिएको छ । अग्रजहरुले यो बैंकलाई जसरी प्रगतिमा डोर्याउनु भयो, त्यो किसिमको सफलता पनि हासिल गरेको छ । यो बैंकले धेरै आरोह अवरोधहरु सामना गरेको छ । ५० को दशकमा बैंकले खासै सफलता हासिल गर्न सकेको थिएन । खराब कर्जा धेरै थियो । बजारमा प्रतिस्पर्धा नै गर्न सक्ने अवस्थामा थिएन । कर्मचारी व्यवस्थापनको समस्या थियो । तर, पछि बैंकको अध्ययन गरियो । ६० को दशकपछि बैंकले काँचुली फेर्याे । म बैंकमा आउँदा अर्थात् १५ वर्ष अगाडि बैंकमा २५ अर्बको हाराहारीमा कर्जा थियो । सोही हाराहारीमा निक्षेप थियो । बैंकका शाखाहरु थिए, कर्मचारीहरु थिए । तर, यो रुपमा उन्नति प्रगति हुन सकेको थिएन । बैंक सरकारी कारोबारमा निर्भर थियो । तर, अहिले बैंकले त्यो अवस्थाबाट धेरै प्रगति गरिसकेको छ । ६० को दशकपछि बैंक अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सफल भयो । त्यो समयको तुलनामा बैंकको निक्षेप करिब ६ गुणा बढेको छ । कर्जा करिब १० गुणा बढेको छ । ठूला बैंकहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यतिबेला धेरै कर्मचारी भर्तिको प्रक्रियामा झमेला थियो । हामी पछिल्लो समय कर्मचारी भर्ति गर्न सफल भएका छौं । अहिले योग्य कर्मचारीको भर्ति भइरहेको छ । यसै वर्ष हामीले ८ सय बढी कर्मचारीलाई बैंकमा भर्ति गराउने प्रक्रियामा छौं । पहिले र अहिलेको राष्ट्रिय वाणिज्य बैंक आकाश–पातल फरक भइसकेको छ । बैंक व्यवसायिक हिसाबमा चलेको छ । अहिले हामीलाई हेर्ने सबैको दृष्टिकोण नै परिवर्तन भएको छ । यो बैंकबाट गएका कर्मचारीहरु विभिन्न निकायको नेतृत्व गरिरहनु भएको छ । बैंक एउटा वित्तीय क्षेत्रको विश्वविद्यालयको रुपमा चिनिएको छ । यो बैंकमा राम्रो अनुभव लिन सकिन्छ भन्ने बोध सबैमा भएको छ । हामी अहिले बजारमा प्रतिस्पर्धीहरुको अगाडि शिर ठाडो बनाएर हिड्न सकेका छौं । हाम्रो सेवा सुविधा पनि प्रतिस्पर्धी बैंकसरह नै छ । हाम्रा ग्राहकहरु पनि सन्तुष्ट हुनुहुन्छ । हामी चुनौतिसँग जुध्न सक्षम भएका छौं । राष्ट्रिय वाणिज्य बैंक वित्तीय क्षेत्रकै एउटा विश्वविद्यालय भन्नुभयो, यो बैंकले वित्तीय क्षेत्रमा छोडेका पदचिह्नहरु के–के हुन् ? राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको बैंकिङ क्षेत्रको एक प्रतिनिधि हो । विभिन्न ठाउँमा यो बैंक पुगेको छ । जहाँ–जहाँ राष्ट्रिय वाणिजय बैंक पुगेको छ, त्यहाँ राज्यको प्रतिनिधिको रुपमा छ । मान्छेले हामीलाई वाणिज्य बैंक भन्छन् । हुन त अहिले २२ वटा वाणिज्य बैंक नै छन् । तर, सबैले हामीलाई मात्र वाणिज्य बैंक भन्छन् । उद्योग व्यवसाय तथा साना व्यापार क्षेत्रमा पनि यो बैंकको ठूलो योगदान छ । अहिले देशका विभिन्न उद्योग व्यवसायहरुमा हाम्रो संलग्नता छ । पहिले केही केही निजी बैंकहरुमा वा अन्य संस्थाहरुमा राष्ट्रिय वाणिज्य बैंकको सेयर थियो । पछि क्रस होल्डिङको कारण सेयर हट्यो । राष्ट्रिय वाणिजय बैंककै कारण कतिपय बैंकहरु पनि चले । ती बैंकहरुलाई प्रतिस्पर्धामा ल्याउन पनि राष्ट्रिय वाणिज्य बैंकले भूमिका खेलेको छ । देशको आर्थिक सामाजिक क्रियायाकलापमा यो बैंकले ठूलो भूमिका खेलेको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरेको छ । अहिले बैंकमा २२ सय बढी कर्मचारी छन् । ८० हजार बढी व्यवसायिक संस्थाहरु जोडिएका छन् । यो बैंकले लाखौं रोजगारीको सिर्जना गरेको छ । यो योगदान इतिहासमा दर्ज गर्न लायक छ । बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्, राष्ट्रिय वाणिज्य बैंक आफ्नो ब्यालेन्सिटप्रति कत्तिको सन्तुष्ट छ ? राष्ट्रिय वाणिजय बैंकको वित्तीय विवरण सन्तोषजनक छ । जति गर्न सकिन्थ्यो, त्यति भने भएको छैन । त्यसका धेरै कराणहरु छन् । विश्व महामारीका रुपमा फैलिएको कोराना भाइरसको कारणले अर्थतन्त्रमा देखिएको संकुचनले पनि बैंकहरुको वित्तीय विवरणहरु उत्साहजनक छैनन् । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्याले पनि खासै कर्जा विस्तार हुन सकेन । तरलता अभावकै कारण हामीले बजेटमा गरिएको ब्यवस्था अनुसार काम गर्न सकेनौं । अतिप्रभावित क्षेत्रका ग्राहकले पनि सावाँ ब्याज तिर्न सकेनन् । त्यस कारण पनि आशा गरे जति ग्रोथ हुन सकेन । अहिले धेरै ऋणीले सावाँ ब्याज नतिर्दा बैंकहरुलाई रिकभरीमा ठूलो दबाब पर्यो भन्ने सुनिन्छ, यो सकस राष्ट्रिय वाणिज्य बैंकले कति झेल्नु पर्यो ? कोभिड–१९ को प्रभाव अझै देखिन बाँकी छ । अहिले हामीले कोभिड अघिका ग्राहकको लोन रिकभरी गरिरहेका छौं । राष्ट्रिय वाणिज्य बैंकको खराबकर्जा पनि प्रत्येक वर्ष कम हुँदै गएको छ । गत वर्षको तुलनामा यस वर्ष पनि खराबकर्जाको अुनपात घटेको छ । व्यवसायको विस्तारमा काम गरिरहेका छौं । समस्याहरु छन् । बजारमा केही ऋणीहरु वित्तीय अनुशासन नभएको हामीले पाएका छौं । वित्तीय अनुशासनको उल्लंघन कसले गर्यो ? कुनै व्यक्ति विशेष वा संस्थाले वित्तीय अनुशानसको उल्लंघन गर्यो भनेर भन्न मिल्दैन । हामी पब्लिकसँग काम गछौं । पब्लिककै पैसा चलाउँछौं । कतै धर्ना, जुलुस, नारवाजी भइरहेका छन् । यो व्यवसायी जगतकै समूहहरु हो । यसमा निश्चित व्यक्ति वा संस्थालाई जोड्न मिल्दैन । यसमा पब्लिक नै जोडिएका छन् । हामी सबै पक्षले अनुशासनमा बस्नु पर्छ । विगतका वर्षहरुको तुलनामा यस वर्ष बैंकहरुको लाभांशदर घटेको देखिन्छ, राष्ट्रिय वाणिजय बैंकको पनि घटेको छ, यो किसिमको संकुचन किन आयो ? अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको लाभांशदर पनि घटेको छ । हामीले गत आर्थिक वर्षको नाफाबाट कुल १२.५ प्रतिशत लाभांश वितरण गरेका छौं । हामीले साधारणसभा गरेर पनि लाभांश खातामा पठाइसकेका छौं । हामी प्रतिस्पर्धी बैंक अनुसार नै काम गरिरहेका छौं । लाभांशदर नियामक रिजर्भमा राख्नु परेकोले लाभांशदर घटेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन र केही नीतिगत विषयकै कारण पनि बैंकहरुको लाभांश घटेको हो । अघिल्लो वर्ष हामीले ३३ प्रतिशत लाभांश दिएका थियौं । जब इक्विटी बढ्दै जान्छ त्यसको आधारमा रिटर्न कम हुँदै जाने हो । अहिले बजारमा सबै बैंकहरु मर्ज भइरहेका छन् । ती बैंकहरुको पुँजी पनि बढिरहेको छ । राष्ट्रिय वाणिज्य बैंकको पुँजी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । पुँजी बढ्दै जाँदा रिर्टन पनि घट्छ । ९ अर्ब र १४ अर्बले दिने रिटर्न फरक नै हुन्छ । ३० अर्ब पुँजी भएकाहरुको रिटर्न पनि अब कम हुन्छ । पहिले अपेक्षा गरे जस्तो प्रतिफल बैंकहरुले दिन सक्ने अवस्था अहिले छैन । राष्ट्रिय वाणिज्य बैंक बढी नै लाभांश दिनेमा प्रतिवद्धत छ । तर, बजारमा प्रतिस्पर्धा छ । बैंकहरुबीच मर्जर भइरहेको छ । कर्जामा पनि पछिल्लो समय केही संकुचन देखिएको छ । बजारमा प्रिमियमदर तोक्नु पर्ने, ब्याजदर कायम गर्नु पर्ने र स्प्रेडदर घटाउनु पर्ने लगायतका कारणले नाफामा चाप पर्छ । तरपनि हामी अहिलेको भन्दा नाफा बढाउनेमा छौं । अहिले बैंकहरुबीच मर्जरको लहर छ, बैंकहरु पुँजीको हिसाबमा ठूला बैंक बनिरहेका छन्, अब ती बैंकहरुको बिजनेस भोलुम पनि सोही अनुसार बढ्छ, सरकारी बैंकहरुलाई मर्जरको चुनौति बढ्यो नी ? चुनौति पक्कै छ । चुनौति मर्जरको मात्रै भन्दा पनि रिक्स र विभिन्न कम्प्लायन्स लगायतका विषयमा पनि छ । हिजो हामी पुँजी, शाखा सञ्जाल, ग्राहक लगायत सूचकहरुमा अगाडि नै थियौं । अब अन्य बैंकहरु मर्जर हुँदा हामीले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । सबै ठूला बैंक मर्जरमा गइसकेपछि त्यो चुनौति सरकारी बैंकमाथि पनि छ । त्यो चुनौतिको सामना गर्न हामी तयार छौं ।  सरकारी बैंकबीच मर्जर गर्न आवश्यक छ या छैन ? नेपाल सरकारलाई तपाईंको सल्लाह के हुन्छ ? यो नेपाल सरकारको विषय हो । सरकारको नीतिमा निर्भर हुने विषय हो । सरभाइव हुनका लागि प्रतिस्पर्धा आवश्यक हुन्छ । त्यो प्रतिस्पर्धाका लागि के गर्न सकिन्छ भन्ने विषय सरकारले सोच्नु पर्छ । त्यस्तै खालको नीति नियम आवश्यक पर्छ । प्रतिस्र्धामा जुध्नका लागि साइज पनि चाहिन्छ । साथसाथै पुँजी पनि चाहिन्छ । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति एउटा चरणमा पुगिसकेको छ । सरकारी बैंकमाथि पनि चुनौति थपिएको हुनाले यस विषयमा पनि सोच्नु पर्छ । एकताका राष्ट्रिय वाणिज्य बैंकको सेयर सर्वसाधारणलाई पनि दिनु पर्छ भन्ने बहस थियो, अहिले अलिकति त्यो बहस सेलाएको छ, यो विषयमा तपाईंको धारणा के हो ? यो मन्त्रिपरिषदबाट निर्णय भइसकेको विषय हो । बैंक तथा वित्तीय संस्था ऐनमा सरकारले एउटा बैंक राख्न सक्ने भन्ने नीति भएपछि रोकियो । पब्लिकमा सेयर जारी भइसकेको छैन  । तर, एनआइडीसीसँग मर्ज भइसकेपछि केही सर्वसाधारणको सेयर छ । तर, सरकारी बैंकहरुले पनि सेयर जारी गरेर पब्लिकबाट पैसा उठाउन सकियो भने राज्यलाई पनि फाइदा हुन्छ जस्तो लाग्छ । राष्ट्रिय वाणिजय बैंकका आगामी योजना के कस्ता छन्, बैंक आगामी दिनमा कसरी अगाडि बढ्छ ?  राष्ट्रिय वाणिज्य बैंकको उज्वल भविश्य छ । अहिले सार्वजनिक संस्थानहरुमा औंलामा गन्न सकिने संस्थाहरुले मात्रै नेपाल सरकारलाई प्रतिफल दिइरहेका छन् । त्यतिमात्रै होइन, सरकारले ल्याएका कार्यक्रमहरुलाई सर्वसाधारणमा लिएर जानका लागि हामी प्रतिवद्ध छौं । ती विभिन्न कार्यक्रम लागू गर्नका लागि हामी प्रभावकारी माध्यम बनिरहेका छौं । हामी सबैभन्दा अग्रपंतिमा रहेर काम गरिरहेका छौं । अहिले कम कर्मचारीमा पनि हामी यति धेरै काम गरिरहेका छौं । अझै कर्मचारीहरु आउने क्रम जारी छ । अब कारोबारलाई प्रविधिसँग जोडर लैजानु पर्छ  । अन्तर्राष्ट्रिय प्रविधिलाई आत्साथ गरेर गरिबी र न्यून आयस्रोत भएका वर्गसम्म वित्तीय पहुँच पुर्याउनका लागि हाम्रो भूमिका महत्वपूर्ण हुन्छ । भविश्यमा अझै प्रभावकारी र  सफल बनाउन हामी प्रतिवद्ध छौं । कुनै पनि संस्थाको वृद्धि विकासका लागि योग्य र सक्षम जनशक्ति चाहिन्छ । त्यसका लागि राष्ट्रिय वाणिज्य बैंकमा भएको जनशक्ति अब्बल छ । अझै धेरै काम गर्न सकिन्छ ।

सुनको मूल्य आकासियो, एकैदिनमा १ हजारले बढेर नयाँ रेकर्ड

काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले  बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत क्रसर उद्योगको छानबिन सुरु

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले यहाँ सञ्चालित क्रसर उद्योगको छानबिन सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि ती उद्योगहरुले न्यूनतम मापदण्ड पूरा गर्न कागजात पूरा गरेका छन् वा छैनन् भन्ने विषयमा छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए । क्रसर उद्योगले सडक बनाउने बहानामा जम्मा गरेका गिट्टी, बालुवा र ढुङ्गा अन्यत्र बिक्री वितरण गरेको गुनासो आएकाले तत्कालै कति परिमाण चाहिने हो सोहीअनुसार मात्र उत्पादन गर्नका लागि आवश्यक पर्ने विवरण माग गरिएको र अनुगमन कडाइ गरिएको कोइरालाको भनाइ छ । मध्यपहाडी राजमार्गअन्तर्गत दैलेख भू भागमा करिब एक सय २५ किलोमिटर सडकको काम सुरु भएको वर्षौँ भइसकेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले सडक निर्माण लागि सञ्चालन गरिएका क्रसर उद्योगले हरेक वर्ष अवैधरूपमा गिट्टी र बालुवा बिक्री गरिरहेको आरोप छ । स्थायी प्रकृतिको एक र सडक निर्माणका लागि भन्दै अस्थायी प्रकृतिका गरी आठवटा क्रसर उद्योग सञ्चालनमा छन् । सञ्चालन भएका उद्योगले न्यूनतम मापदण्ड पूरा गर्न नगरेको पाइएको हो । जिल्ला प्रशासन र सम्बन्धित निकायबाट बेलाबेलामा अनुगमन हुने भए पनि मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द भएका छैनन् । भगवतीमाई गाउँपालिकाको लोहोरे, नारायण नगरपालिका २ कुसाँडा, नारायण नगरपालिका ८ बगौरा, महावु गाउँपालिका १ भिरखेत, चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ लैनचौर, आठबीस नगरपालिका २ सिस्ने, आठबीसको शाहीगाउँ र टुनिबगरमा क्रसर उद्योग सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय दैलेखको भनाइ छ ।

कृषकलाई अनुदान उपलब्ध गराउँदै म्याग्दे

तनहुँ । व्यावसायिकरूपमा पशुपालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्नका लागि तनहुँको म्याग्दे गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि तीन लाख ५० हजार, च्यापकटर वितरणका लागि एक लाख, गोठ खोर निर्माणका लागि चार लाख, लोकल कुखुरा वितरणका लागि एक लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । ‘व्यावसायिकरूपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ’, उनले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौँ ।’ उनका अनुसार कृषकले गाउँपालिकामा निवेदन दिएकामा निवेदन दिएका कृषकहरूको फार्म अनुगमन गरिएको छ । गाउँपालिकाले कृषकलाई अनुदान दिनका लागि एक सय २२ व्यावसायिक फार्मको अनुगमन सम्पन्न गरेको छ । अनुदान वितरणका लागि पालिकाले व्यावसायिक कृषकसँग निवेदन माग गरेको थियो । तीमध्ये एक सय २२  कृषकले अनुदान प्राप्तिका लागि निवेदन दिएकामा गाउँपालिकाले सबै फार्मको अनुगमन गरेको हो । नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले बैंकबाट ऋण लिएर लगानी गरे पनि उत्पादनले बजार नपाउँदा समस्या हुने गरेको गुनासो गरे । ‘गाउँपालिकाको सातवटै वडामा पुगेर व्यावसायिक फार्म अनुगमन गरेका छौं, अब कृषकको वर्गीकरण र आवश्यकता हेरेर अनुदान रकम उपलब्ध गराउँछौँ’, उपाध्यक्ष घिमिरेले भने । गाउँपालिकाले कुखुरा तथा पशुपक्षीपालन, माछापालन, बङ्गुरपालन, भैँसीपालन, मौरीपालनलगायतको निरीक्षण गरेको थियो । वास्तविक कृषक पहिचानका लागि अनुगमन गरिएको जनाउँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, ‘अनुदानका लागि निवेदन परे पनि वास्तविक कृषक हो कि होइन भनेर अनुगमन गरेका हौं । अनुदानको प्रक्रिया अगाडि बढाउँछौँ ।’ रासस

खेलमैदानमा हेलिकप्टर ल्याण्ड गर्ने पाइलट ग्राउण्डेड, कम्पनीका सबै जहाज उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाएको छ । अनुमतिबिना स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्रभु हेलिकप्टर कम्पनीको सबै उडानमा रोक लगाईएको हो । प्रभुको हेलिकप्टरले गत माघ ५ गते स्याङ्जा जिल्लाको वालिङ फुटबल मैदानमा खेल चलिरहेका बेला बिनाअनुमति हेलिकप्टर अवतरण गरेको थियो । खेल जारी रहेकै बेला हेलिकप्टर अवतरण गरेपछि मैदानमा केही समय झडप भएको थियो । बिनाअनुमति हेलिकप्टर अवतरण गरेपछि विवाद हुँदा हेलिकप्टरका पाइलट रमेश डंगोललाई स्थानीयले कुटपिट समेत गरेका थिए । बिनाअनुमति हेलिकप्टर मानिसको भिडभएको स्थानमा अवतरण गरेको भन्दै माग ५ गतेदेखि नै क्यानले पाइलट डंगोललाई ग्राउन्डेड गरेको छ । सुरुवाती चरणमा पाइटललाई ग्राउण्डेड गरेको क्यानले कम्पनीका सबै उडानमा रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकारणको नियम तथा सो कम्पनीको कार्यविधि विपरित मानिसको भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटसँगै प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाइएको हो । प्राधिकरणले अर्को आदेश नभएसम्मको लागि उक्त हेलिकप्टरको पाइलटलाई उडानमा रोक लगाएको छ ।

विर्तामोडमा आधुनिक सडक बन्दै

झापा । विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार रुपैयाँको सहयोगमा ६ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँचवटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उनले बताए । सात मिटर चौडाइ हुने सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी एक सय ६८ वटा इलेक्ट्रिक पोल लगाइनेछ । जसमा सडकको दुवैतर्फ झिलीमिली बनाउन ६ सय १९ वटा स्टिल लाइट राखिने उनको भनाइ छ । इञ्जीनियर श्रेष्ठले सो सडकमा एक सय ३८ वटा ट्राफिक साइनपोस्ट, छवटा स्टेण्डर मार्करस्टोन, रोडवे डेलिनेटर एक सयवटा बनाइने जानकारी दिए । सडक निर्माणसँगै दायाँबायाँ गरी विभिन्न फूल प्रजातिका एक हजार दुई सय ३६ वटा बिरुवा रोपण गरिनेछ । यसअघि सङ्घीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका सडकभन्दा आधुनिक व्यवस्थित हुने नगरप्रमुख पवित्रा महतराले बताए । जुन सडक जिल्लाकै नमूना सडकका रूपमा स्थापित हुने उनको भनाइ छ ।

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकाथन’ हुँदै

काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा ‘ह्याकाथन’ गर्ने भएको छ । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना हुँदैछ । ‘विविधता, समानता र समावेशीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ,’ कम्पनीले भनेको छ, ‘यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु हो ।’ कार्यक्रमका अन्य साझेदारहरूमा ‘गर्ल्स इन टेक’ र ‘वुमन इन बिग डेटा’ छन् । शिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरूप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसनका काम भइरहेका छन् । यस ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करिअर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ। यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको कम्पनीको भनाइ छ। ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरू तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्छन् र यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन्। दर्ता भएका समूहमध्येबाट छानिएका समुहको सूची माघ २० घोषणा गरिने छ। कार्यक्रम पूर्व तयारी स्वरूप हाल विभिन्न कलेजहरूमा विभिन्न गतिविधिहरू भइरहेका छन् । शिक्वल फाउन्डेसनका अनुसार यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आइटीसम्बन्धी उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा समान सहभागिता बढाउँछ।

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी, मनग्य आम्दानी

रामपुर । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीमा संलग्न हुन थालेपछि जिल्लाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले उनले काउली, बन्दा उत्पादन गरेर बजारमा दिनहुँजसो बेच्छिन् । बन्दा प्रतिकिलो ३०, काउली प्रतिकिलो ६० मा बिक्री भइरहेको उनले बताइन् । ‘घरवरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ’, उनले भनिन्, ‘घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।’ घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहेकि छन् । घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन् । उनि भन्छिन्, ‘महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हँुदोरहेछ, श्रीमान्सँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन ।’ आफ्नो मेहेनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उनले बताइन् । तरकारी बिक्रीवापत वार्षिकरूपमा खर्च कटाएर करिब दुई लाख आम्दानी गर्छन् । कुन्तादेवी गैरेले आफैँले घरवरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउछिन् । उनले बर्सेनि चार रोपनी जति जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने गर्छिन् । घरमा खानका लागि मात्र नभई बजारमा बिक्री गर्ने गरेको गैरेले बताइन् । ‘पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफँैले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ’, उनले भनिन् । यहाँका महिलालाई स्थानीय नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा प्रेरणा मिलेको छ । समूहले महिलालाई आयमूलक क्षेत्रमा उत्प्रेरित गराउन तरकारी खेतीमा हौसला दिन थालेपछि व्यावसायिक तवरबाट तरकारी लगाउन थालेका हुन् । घरमा थोरै खानका लागि तरकारी लगाउने राधा खनालले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउछिन् । उनलाई दुई वर्षयता तरकारी खेती सुरु गरेपछि किनेर खानुपर्ने बाध्यता टरेको छ । करिब तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएको खनालले बताइन् । खेतबारीमा लगाएको काउली, बन्दा र आलुखेतीको स्याहारसुसारमा यतिबेला गोमा पोखरेलको पनि समय बित्ने गरेको छ । सात वर्षदेखि तरकारी खेतीमा तल्लिन रहेकी पोखरेल आफूलाई कृषि समूहमा आबद्ध भएपछि तरकारी लगाउने प्रेरणा मिलेको बताउछिन्। सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ । आफैँले घरका खेतबारीमा तरकारी लगाउन थालेपछि बाहिर तरकारी किन्ने पैसा बचतमात्रै नभई स्वस्थ ताजा तरकारी सेवनले स्वास्थ्यलाई धेरै फाइदा गरेको सावित्रा गैरेको अनुभव छ । ‘साढे दुई रोपनी जग्गामा लगाएको तरकारीले मेहेनतका साथ खेती गरियो भने राम्रै फल्छ, बजारबाट किनेर खाएका तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी पु¥याउने भएकाले घरमै तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ’, उनले भनिन् । रामपुर नगरपालिकाले तरकारी खेतीलाई प्रवद्र्धन गर्दै समूह, सहकारीमार्फत बीउबिजन, स्थलगत प्राविधिक सेवा, अभिमुखीकरण कार्यक्रम, तरकारी बाली पकेट विकास कार्यक्रम, कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता विभिन्न कार्यक्रममा जोड दिएकाले आयआर्जन गर्ने गरी कृषकले तरकारी खेतीलाई विस्तार गरिरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरु पुरुषसरह नै व्यवसायमा मेहेनत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् । रासस