सहकारी संस्थाका बचतकर्ताद्धारा ७ करोड बचत रकम फिर्ता गर्न माग

<p>खोटाङ ।  लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिर्ता गर्न माग गरेका छन् ।  सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ । बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका छन् । [&hellip;]</p>

खोटाङ ।  लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिर्ता गर्न माग गरेका छन् ।  सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ ।

बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका छन् ।  बचतकर्ता धनीराम नछुङले भने,  ‘आफूहरूको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलनबाहेक रहेन ।’

सो सस्थामा चार हजार पाँच सय बचतकर्ता रहेको जनाइएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गते दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा ५१ लाखसम्म बचत गर्ने बचतकर्ता रहेका छन् । आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्नका लागि बचतकर्ता दैनिकजसो ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् ।

घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न ५१ लाख रकम सहकारीमा जम्मा गरेर राखेको केही समयपछि सहकारी नै डुबेपछि परिवारमा समस्या भएको बचतकर्ता लेखनाथ आचार्यले गुनासो गरे । ‘आफूहरूले दैनिक थोपाथोपा गरेर सहकारीमा जम्मा गरेको बचत रकम डुबेकाले अन्तिम विकल्पका रूपमा आन्दोलनमा उत्रनुपरेको छ’, उनले भने, ‘बचत फिर्ता गर्ने विषयमा तत्काल सम्बन्धित निकायले चासो नदिएको खण्डमा ठूलो समस्या सिर्जना हुने अवस्था आएको छ ।’

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको थियो ।

विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ ।  बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ भन्दै सम्झाइबुझाइ फर्काउने गरेका छन् ।

पछिल्लो समय सञ्चालक समितिले ऋण असुल गर्दै बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरूले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरूमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेका छन् ।

सहकारीको जग्गाबाहेक सावाँब्याजसहित करिब १० करोड ऋण लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँब्याजसहित करिब सात करोड फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीमा देखिएको समस्या समाधानका लागि आफू सक्रियताका साथ लागिपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताइन् । सहकारीका कारण धेरैको घरबार सङ्कटमा परेकाले सबैभन्दा बढी सञ्चालक समितिले चासो दिनुपर्ने न्यायिक समितिका संयोजकसमेत रहेका  उनको भनाइ छ ।

Share News