विकासन्युज

अब डेढ लाखमै कर्णालीमा मृगौला प्रत्यारोपण, स्वास्थ्य क्षेत्रमा नयाँ फड्को

सुर्खेत । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ। तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ। त्यही गोठीकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा आजको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको थियो। पछि उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झर्‍यो। विसं २०२९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो। त्यसको ठिक २० वर्षपछि २०४९ सालमा २५ शय्याको अस्पताल बनेर सेवा विस्तार गर्‍यो। त्यस्तै विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण भयो। मुलुक सङ्घीय संरचनामा गइसकेपछि भने विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो। प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र सङ्घीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको दुई सय ९७ शय्यामामा आफ्नो सेवा विस्तार गरेको छ। अहिले यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ। हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इएनटी, अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमर्जेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। उनले भने, ‘प्रदेश अस्पतालको सेवाको आकर्षण र स्वास्थ्य बीमाको सुविधा र त्यसको लाभले होला पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको छ। गत आव २०७८/७९ मा ओपिडी सेवा लिनेको सङ्ख्या ४९ हजार चार सय ३० रहेकामा चालु आव २०७९/८० को छ महिनामा ८४ हजार दुई सय ८८ पुगेको छ।’ त्यस्तै गत आवभरि अन्तरङ्ग १० हजार चार सय ४६, इमर्जेन्सी सात हजार दुई सय २६, सिटीस्क्यान एक हजार एक सय सात, एक्सरे १८ हजार सात सय ९८, युएसजी १२ हजार सात सय ३१, जटिल शल्यक्रिया एक हजार नौ सय दुई र डेलिभरी सेवा दुई हजार छ सय ४८ जनाले सेवा लिएका थिए। चालू आवको छ महिनामा ११ हजार आठ सय ९१ अन्तरङ्ग, १० हजार सात सय ८६ इमर्जेन्सी, एक हजार नौ सय ८८ सिटीस्क्यान, २६ हजार छ सय ३४ एक्सरे, २० हजार पाँच सय ६२ युएसजी, एक हजार नौ सय ४८ जटिल शल्यक्रिया र दुई हजार सात सय ७४ जनाले डेलिभरी सेवा लिएको प्रदेश अस्पतालले बताएको छ । मृगौला प्रत्यारोपण हुँदै कर्णाली प्रदेश अस्पताल सुर्खेतले मृगौला प्रत्यारोपण गर्ने तयारी गरेको छ। आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ। आइतबार आयोजित पत्रकार भेटघाटमार्फत् अस्पताल निर्देशक डा खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिए। ‘प्रदेश अस्पताल सुर्खेतले मृगौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ’, उनले भने, ‘दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ।’ पछिल्लो समयमा मृगौला रोगीको सङ्ख्या बढ्दै आएको निर्देशक डा खड्काले बताए। प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र सात लाखसम्म सरकार आफैंले व्यहोर्ने उनको भनाइ थियो। पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चारपटक हुने उनले जानकारी दिए। कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको बताउँदै उनले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा खड्काले जनाए। यसले चालू आव २०७९/८० भित्रै एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत् अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।

सिन्धुपाल्चोकको सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सिन्धुपाल्चोक ।  सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षातका समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदैआएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्नुहुँदै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने  सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । ५६ लाख ७८ हजार एक सय ३७ को लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’को १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण भने उपभोक्ता समितिमार्फत हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिए । रासस

निगमका पाँच पाइलट निलम्बनमा, उडानका नियम पालना नगरेको आरोप

काठमाडौैं नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए । उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए । रासस

सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । सूर्य नेपाल प्रा लिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरुलाई उद्धार गर्न कठिनआई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सामाजिक संस्था सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागि प्रयोग हुनेछ । सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट करर्पोरेट अफैर्स रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेल, सूर्य नेपाल प्रा लि को भाइस प्रेसिडेन्ट करर्पोरेट अफयर्स रवी केसी , प्रबन्ध निर्देशक रवी के रायवरम, भाइस प्रेसिडेन्ट फाइनेन्स विकास भुत्रा, भाइस प्रेसिडेन्ट मारकेटिङ दिप्रा लेहरी लगायतको सहभागिता रहेको थियो ।

विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष मल्लले भने, ‘मुलुक विप्रेषणका भरमा चलेको छ । युवाले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।’ सो अवसरमा मन्त्री भण्डारीले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उद्योगको क्षमता विस्तार गरेर ५० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी सरकारले योजना बनाइरहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले भने, ‘संसद्को पहिलो बैठकमै रोजगारीको विषयले प्राथमिकता पाएको छ । उद्योगको क्षमता विस्तार गरेर विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी दिलाउने सरकारको मुख्य प्राथमिकता हो ।’ औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रवर्द्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अब रणनीतिका साथ अघि बढ्ने मन्त्री भण्डारीको भनाइ छ ।

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो साना तथा मझौला उद्यम सम्मेलन

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक काठमाडौंमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । आज ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासङ्घले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि यो सम्मेलनले गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घबीच २०७९ साउनमा भएको समझदारीअनुसार साना एवं मझौला उद्यमको प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । त्यस्तै महासङ्घमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्रमार्पmत उद्यमीलाई निरन्तर आवश्यक सेवा प्रदान दिने विषय घोषणापत्रमा राखिएको छ । लघु, घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सञ्चालित ठूला उद्योगसँग जोड्न निरन्तर पैरवी गर्ने र स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गर्ने निर्णय पनि महाङ्घको यो सम्मेलनले गरेको छ । यस्ता उद्यमलाई वित्तीय सेवामा सहज पहुँच पु¥याउन पहल गर्ने, परियोजना कर्जा सहजरुपमा पाउनसक्ने गरी नीति बनाई कार्यान्वयनमा लैजाने, उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका गर्ने तथा बजारीकरणका लागि डिजिटल प्रविधिको प्रयोग गर्दै जाने घोषणा पनि सम्मेलनले गरेको छ । सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा साना एवं मझौला उद्यममा पर्नसक्ने प्रभाव न्यूनीकरणका लागि सरकारसँगको सहकार्यमा रणनीति तयार पार्ने र नवप्रवर्तनकारी (स्टार्टअप) नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग सहकार्य गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

बैंकको ब्याजले सकस भएको व्यवसायीको गुनासो, अर्थमन्त्रीले भने : नआत्तिनुस्, समाधान हुन्छ

काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदरले ब्यवसाय गर्न समस्या भइरहेको गुनासो गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला (एमएसएमई) सम्मेलनमा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजदरको कारणले उद्योग व्यवसाय विस्तार गर्न समस्या भइरहेको गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुको उच्च ब्याजले साना उद्यमीलाई कर्जा पाउन पनि कठिन भएको बताएका छन् । बैंकहरुको महँगो ब्याजले साना उद्यमीलाई लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताउँदै साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनु पर्ने धारणा राखे । यस्तै, उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । ‘कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता भएका छैनन्, सरकारले यस्ता उद्योगलाई नीति नियमको दायरामा ल्याउनु पर्छ,’ उनले भने । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले एमएसएमई धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले यो क्षेत्रको विकासमा सम्बन्धित नियाकले पहल नगरेको गुनासो गरे । वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त भएको सुनाए । यस्तै, नेपाल घरेलु उद्योग तथा साना उद्योगकी उपध्यक्ष शोभा शर्माले साना उद्यमीहरुले बैंक कर्जा लिन जाँदा चप्पल फाट्ने तर कर्जा नपाइने गुनासो गरिन् । सायौं पटक बैंक तथा वित्तियमा कर्जा माग्न जाँदा भोगेको समस्या बताउँदै भनिन्, ‘बैंकले सहुलियत कर्जा दिने भन्दै प्रचार गर्छ तर कर्जा भने सहज रुपमा पाइँदैन, नेपाल राष्ट्रिय बैंकको यस तर्फ ध्यान जान जरुरी छ,’ उनले भनिन् । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले साना उद्यमीलाई कर्जा प्रदान होस् भन्ने मनसायले नै राष्ट्र बैंकले एसएमई कर्जाको व्यवस्था गरेको सुनाए । उनले साना, घरेलु तथा मझौला उद्योग (एसएमई) लाई राष्ट्र बैंकले प्राथमिकता दिएको बताउँदै सबै बैंक तथा वित्तीय क्षेत्रलाई पनि यो क्षेत्रमा कर्जा प्रवाह गर्न निर्देशन दिइरहेको धारणा राखे । ‘सहुलियतपूर्ण कर्जाको सकारात्मक प्रभाव देखिएको छ तर वित्तीय साक्षरता पनि उतिकै आवश्यक छ, बैंकिङ पहुँच विस्तार गर्न अब वडा÷वडामा बैंकका शाखा पुग्नु पर्छ,’ उनले भने । उनका अनुसार २०७९ मंसिर सम्म बैंक तथा वित्तिय संस्थाले ४ खर्ब २३ अर्ब १५ करोड रुपैयाँ लघु साना र मझौला उद्योग क्षेत्रमा कर्जा लगानी गरेका छन् । समस्याको समाधान गर्दैछु : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र निजि क्षेत्रका मागहरु क्रमिक रुपमा पुरा गर्दै गएको बताएका छन् । उप–प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले ब्याजदर, चालू पुँजी कर्जा, आयातको नगद मार्जिन र आयात प्रतिबन्ध जस्ता समस्याको आफुले समाधान गरेको बताएका हुन् । ‘नेपालको कुल ग्रार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योग्दान ५.६ प्रतिशत छ, त्यसमा घरेलु तथा साना उद्योगको अंक ९० प्रतिशत छ, नेपालमा सञ्चालित कुल उद्योग मध्ये ९८.४४ प्रतिशत एमएसएमई उद्योग छन्, एसएमईका समस्या समाधान गर्न सरकार तयार छ,’ उनले भने । ‘स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो, कार्यविधि छिट्टै पारित हुनेछ’, उनले भने, ‘निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।’ साना तथा मझौला उद्योगका समस्याबारे निजी क्षेत्रले सरकारलाई स्पष्ट सुझाव दिन आवश्यक भएको उनको भनाइ छ । प्रक्रियागत झन्झटहरु कसरी कम गर्न सकिन्छ र के कसरी सेवा प्रवाहलाई सहज बनाउन सकिन्छ भनेर मुर्त र स्पष्ट सुझावको अपेक्षा सरकारको रहेको उनले बताए । निजी क्षेत्रका समस्या सुन्ने र जायज समस्या समाधानका लागि आफूले काम गर्ने उनको भनाइ छ ।

त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल शाखा प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई अख्तियार नियन्त्रण लिएको हो । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए । उनले भने, ‘मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।’ नवौ तहका कर्मचारी रहेका चुडाललाई उजुरीका आधारमा अख्तियारले जानकारी दिएको छ ।यद्यपी उनको विषयमा परेको उजुरीबारे भने अख्तियारले थप जानकारी पछि दिने बताएको छ ।