छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार
कालीकोट । हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुन्, कालीकोट पचाल झरना गाउँपालिका ५ कि दुर्गा बुढा । बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेकी छिन् । उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेका हुन् । गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हाल्एकी उनले त्यो बेलामा मासिक ३० देखि ४० हजारसम्म कमाउँथिन् । ‘गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ’, उनले भनिन्, ‘यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो ।’ तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन् । ‘टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र प¥यो भने आम्दानीका सबै स्रोत पनि सुके’, उनले भने । नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन् । जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गरेकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन । ‘दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ’, दुर्गा भन्छिन्, ‘काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।’
सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल
काठमाडौं । सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । कम्पनीको सोमबारा बसेको संचालक समितिको बैठकले दाहाललाई स्वतन्त्र संचलकमा नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहालको कार्यकाल ४ वर्षको रहनेछ । बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय कार्यालय काठमाडौं चाबहिलमा रहेको सिभिल वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
होटल रोयल सिंगीको २५ वर्ष पुरा, फेब्रुअरीभर २५ प्रतिशत छुट
काठमाडौं । होटल रोयल सिंगीले २५ वर्ष पुरा गरेकाे अवसरमा विभिन्न सेवाहरुमा छुट अफर ल्याएकाे छ । जनवरी २० मा २५ वर्ष पुरा गरेकाे हाेटलले विभिन्न सेवामा छुट अफर ल्याएकाे हाे । कम्पनीले फेब्रुअरी १ देखि २८ सम्म होटलको लोकप्रिय आउटलेट ‘द बिएलभिडी’मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गर्ने जनाएकाे छ । हाेटलले यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने बताएकाे छ । यस्तै, फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया, कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैँया र साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने हाेटलले जानकारी दिएकाे छ । यति मात्र नभएर हाेटलले विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराउने जनाएकाे छ । होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात र सिंगल अकुपेन्सी मात्र २५ सय नेट रहेको छ ।
अलैँचीको मूल्य घटेर प्रतिमन २४ हजार झरेपछि किसान निरास
भोजपुर । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले जानकारी दिए। यस वर्ष चोलन्ती गाउँमा रहेको करिब छ सय मन अलैँची प्रतिमन २४ हजारका दरले मात्र बिक्री भएको उनले बताए । ‘यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य पाएन’, विष्टले भने । अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरु मारमा परेको उनको भनाइ छ । विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा छाएको विष्टले बताए । ‘अहिले अलैँचीको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था छैन’, उनले भने, ‘मैले यस वर्ष १० मन अलैँची उत्पादन गरे । त्यसको गोडमेल तथा टिप्नका लागि एक सय ५० जना बढी खेताला लगाएको छु । अहिलेको मूल्य हेर्दा उनीहरुलाई दिने पैसा नै नपुग्ने अवस्था छ ।’ मूल्यमा गिरावट आउन थालेपछि कतिपय कृषकले बगान नै गोड्न छाडेको कृषक विष्टको भनाइ छ । यसरी नै मूल्य घट्दै जाने हो भने अलैँचीको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘पाँच/छ वर्षअघिसम्म अलैँचीको मूल्य राम्रो थियो’, विष्टले भने ‘हामीले नै प्रतिमन एक लाख २० हजारसम्म बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि धान खेत मासेर अलैँची लगाइयो अहिले समस्या भयो । समय फेरियो अब फेरि अलैँचीको विकल्पमा अरू बाली लगाउनुपर्ने अवस्था छ ।’ अलैँचीले राम्रो मूल्य पाएपछि विदेश जान छाडेर यही व्यावसायिक खेतीमा लागेको भए पनि मूल्यमा आएको गिरावटको कारण समस्या भएको युवा अलैँची कृषक सुवास विष्टले बताए । कुल ११ रोपनीभन्दा बढी जमिनमा खेती विस्तार गरेको भए पनि सोचेजस्तो मूल्य पाउन नसकेकेको उनको भनाइ छ । ‘स्वदेशमा नै केही गरौँ भनेर व्यावसायिक अलैँची खेती गरिरहेको छु’, कृषक विष्टले भने, ‘मूल्य स्थिर छैन । हामी जस्ता किसानको समस्यालाई ध्यानमा राखेर सरकारले बजारीकरणमा ध्यान दिन आवश्यक छ ।’ मूल्यमा आउने गिरावट, अलैँचीमा लाग्ने रोग, सुक्खा खडेरीलगायत विविध कारण अलैँचीको उत्पादन घट्दै गएको स्थानीय किसान पुष्कर विष्टले बताए। ‘मूल्यको कारण किसानमा निराशा छ’, उनले भने, ‘किसानले पहिला जस्तो मिहेनत गर्न छाडेको अवस्था छ । जसको कारण बर्सेनि उत्पादन पनि घटेको अवस्था छ । बर्सेनि मूल्य कमी हुँदै जाँदा खेती विस्तारमा पनि धेरै कृषकहरुले कमी गरेका छन् ।’ पछिल्लो समय अलैँची किसानमा निराशा छाएको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए । अलैँची किसानलाई मूल्यमा आएको गिरावटसँगै रोग, किरा तथा बाँदरका कारण उत्पादनमा समस्या रहेको उनले जानकारी दिए । ‘मूल्यमा आउने उतारचढावका कारण अलैँची किसानमा निराशा छ’, अध्यक्ष प्रधानले भने, ‘मूल्य घटेको कारण किसानको श्रम ज्याला नउठ्ने अवस्था छ । सरकारले यसको उचित मूल्य निर्धारण गरेर बजारीकरणमा ध्यान दिए किसानमा उत्साह थपिने थियो ।’ अलैँचीको उत्पादन पनि कुल बर्सेनि कमी हुँदै आएको उनको भनाइ छ । ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उनले जानकारी दिए । जिल्लामा सात सय १९ हेक्टर क्षेत्र अलैँची खेतीयोग्य जमिन रहेको भए पनि पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुने गर्दछ ।
क्यानले निलम्बन गरेका पाइलटलाई निगमको उडान अनुमति, तीन महिनाअघि पनि गरेका थिए गल्ति
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले उड्डयन नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको क्यापटेनलाई नेपाल वायुसेवा निगमले उडानको सूचीमा राखेको छ । क्यानले कारवाही गरेको क्यापटेन नरबहादुर विश्वकर्मा एनवीलाई काठमाडौं क्वालालम्पुर उडानमा रोखेको पाइएको हाे। मंगलबार राती १ बजे हुने क्वालालम्पुर उडान उनकै नेतृत्वमा हुन लागेको छ । १८/१८ महिनामा हुने सि– चेकका लागि निगमले जहाज मलेसिया लैजान लागेको छ । तर, निगम भने क्यानले एनवी विश्वकर्मालाई कारवाही नगरेको दाबी गरेको छ । निगमका प्रवक्ता अर्चना खड्का निगमले ४ पाइटललाई मात्र कारवाही गरेको भन्दै एनवीको नाम उडान सूचिमा राखिएको बताउँछिन् । ‘गत जनवरी १४ को उडानमा एनवी विश्वकर्र्मा पनि हुनुहुन्थ्यो, तर उहाँले जहाज उडाउनु भएको थिएन, हङकङ उडानमा ३ जना क्यापटेन राख्नुपर्ने भएका कारण उहाँ हङकङ जानुभएको हो, फर्कदा उहाँले जहाज चलाउनुभएको हो’, उनले भनिन् । क्यानका अधिकारी भने निगमले पठाएको पत्रका आधारमा कारवाही स्वरुप उडानमा रोक लगाइएको बताउँछन् । क्यानका प्रवक्ता जगन्नाथ निरौला निगमले पठाएको पत्रका आधारमा कारवाही गरिएको बताउँछन् । ‘हामीलाई निगमले ५ जनाको नाम राखेर पठाएको थियो, उताबाट आएको पत्रअनुसार हामीले ग्राउण्डेड गरेका हौँ’, उनले भने, ‘कारवाही गरिएको मान्छेलाई उडानमा किन राखियो, यो विषयमा बुच्छौँ ।’ एकैपटक ५ पाइटललाई कारवाही निगमले अन्तर्राष्ट्रिय उडान गर्दै आएको ठूला जहाजका ५ जना क्यापटेन एकैपटक निलम्बनमा परेका छन् । छोटो दुरीका गन्तव्यमा उडान गर्ने एयरबस ३२० (न्यारोवडी) जहाजका ३ र एयरबस ३३० वाइडबडीका २ जना गरी कुल ५ जना पाइलट क्यानको कारवाहीमा परेका हुन । काठमाडौं–हङकङ उडानका क्रममा निगमका तीन पाइटलले हङकङ विमानस्थल एटीसीको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको भन्दै प्राधिकरण गाउन्डेड (रोक) लगाएको छ । जनवरी १४ मा काठमाडौं–हङकङ उडानमा क्रममा पाइलटहरू उद्धव घिमिरे, नरबहादुर विश्वकर्मा (आईपी) र राजेश कुसवाहलाई प्राधिकरणले ग्राउन्डेड गरेको हो । उनीहरुले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेको भन्दै उडानमा रोक लगाएको हो । तीनजना नै एयरबस–३२० का पाइलट हुन् । गत जनवरी १४ मा उनीहरुले एटीसीको इन्स्ट्रक्सन नमानेको जानकारी हङकङ सिभिल एभिएसनबाट आएपछि क्यानले शुक्रबारदेखि उनीहरुलाई ग्राउन्डेड गरेको हो । यस्तै, क्यानले काठमाडौंबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेको भन्दै प्रशन्न राना र वाइपी जुवारचनलाई समेत निलम्बन गरेको छ । जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । तर निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि क्यानले कारबाहीका लागि निगमलाई निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए । शुक्रबार नै प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि तीनै पाइलटलाई उडानमा प्रतिबन्ध लगाउन भन्दै पत्राचार गरेको छ । प्राधिकरणले जोखिमपूर्ण अवतरण गराएको रिपोर्ट आएको र अब उनीहरूसँग बयान लिएर थप निर्णय गर्ने बताइएको छ । निगमका पाइटल भन्छन् : दुर्घटना हुनसक्थ्यो निगमका एक क्यापटेन हङकङ उडानका क्रममा चालकदलका सदस्यले एटीसीको इन्स्ट्रक्सन नमान्दा ठूलो दुर्घटना हुन सक्ने बताएका छन् । ‘हङकङमा एयर चाप धेरै छ, त्यसमा डाँडाकाडा धेरै छन्, एटीसीको इन्स्ट्रक्सन नमान्नु ठूलो दुर्घटना हुनु हो, जहाज उडाउने मान्छेले नै एटीसीको इन्स्ट्रक्सन नबुझेर अवतरण गरेको हुनुपर्छ,’ ती क्याप्टेनले भने । उनले पाइलटहरूले एटीसीले भने अनुसार अल्टिच्युट म्यानेज नगरी जोखिमपूर्ण अवतरण गराएको बताए । तीन महिना अगाडि पनि नियम उल्लंघन निगमकै पाइलटले तीन महिना अगाडि पनि हङकङ उडानमा गल्ती गरेको पाइएको छ । काठमाडौं–हङकङ उडानका क्रममा निगमको एयरबस ३३० (बाइडबडी) जहाजका क्यापटेन प्रशन्न राना र वाइपी जुवारचनले एटीसीको इन्स्ट्रक्सन पालना नगरेको पाइएको थियो । ‘३ महिना अगाडिको घटना निगम र क्यान दुबैले लुकाएका थिए, त्यसबेला कुनै पनि कारवाही नभएपछि हङकङले क्यानलाई पत्र नै पठाएर जानकारी गराएको थियो, तर कुनै पनि कारवाही भएन’, निगम स्रोतले भन्यो, ‘सोेही प्रकृतिको घट्नामा अहिलेपनि ठाकछोप गरिएको थियो, तर हङकङबाट पुनः पत्र आएपछि बाध्य भएर कारवाही गरिएको हो ।’ ३ महिना अगाडी हङकङ अवतरणमा एटीसीको इन्स्ट्रक्सन पालना नगरेका दुई क्यापटेन (प्रशन्न राना र वाइपी जुवारचन) ले नै फेरि गल्ति दोहोर्याएका हुन् । क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी हाल बंगलादेशमा छन् । उनी स्वदेश फर्किएपछि मात्र ती पाइलटलाई कारवाहीको प्रक्रिया थालिने क्यानले जनाएको छ । ‘हामीले सोमबार उद्धव घिमिरे र राजेश कुसवाहलाई बोलाएर हङकङ उडानका विषयमा सोधखोज गरिसकेका छौँ, बाँकी ३ जनासँग उडानका विषयमा थप छलफल गछौँ, उनीहरुले बताए अनुसार के कारवाही गर्ने विषयमा छलफल हुन्छ’, प्रवक्ता निरौलाले भने ।
योजना अलपत्र पार्ने ७ कम्पनीसँग स्पष्टीकरण माग
काठमाडौं । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । ‘यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ’, खरिद अनुगमन कार्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ । लिखित स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा ती कम्पनीलाई कालोसूचीमा राखिने पनि कार्यालयले जनाएको छ । खरिद अनुगमन कार्यालयले सुशील कार्की मुख्य सञ्चालक रहेको सिरुवा कन्ट्रक्सन कम्पनी लिमिटेडलाई लिखित जवाफ पेस गर्न भनेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको काम अलपत्र पारेपछि यो कम्पनीलाई स्पष्टीकरण पेस गर्न भनिएको हो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्साको विजनेस नेपाल कन्सल्टेन्सी प्रालिलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । राजेशप्रसाद चौहान मुख्य सञ्चालक रहेको यो कम्पनीले मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पारेको जनाइएको छ । खैरहनी नगरपालिका नगरपालिकाको कार्यालय चितवनको काम अलपत्र पार्ने युनाइटेड एग्रो इञ्जिनियरिङ प्रालिलाई पनि कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न भनिएको छ । कम्पनीका सञ्चालक सुुरेश कुमार बुढाथोकी हुन् । सडक बोर्ड नेपालले सुकबहादुर गुरुङ सञ्चालक रहेको नवलपरासीको भोलेबाबा कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यो कम्पनीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले विज्ञान कुमार अर्याल मुख्य सञ्चालक रहेको काठमाडौँमा रहेको डाइग्नोकेम इन्टरनेसनललाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेकोमा खरिद अनुमगन कार्यालयले यो कम्पनीलाई पनि स्पष्टीकरण सोधेको छ । त्यस्तै, बर्दियाको बारबर्दिया नगरपालिकाले कल्पना ज्ञवाली सञ्चालक रहेको कल्पना कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न लेखीपठाएको खरिद अनुगमन कार्यालय जनाएको छ । गोदावरी नगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिष कुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकोमा उक्त कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
गाउँगाउँमा बीमाको जानकारी दिन विद्यार्थीलाई आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यार्थीहरुलाई गाउँघरमा गएर बीमाको जानकारी दिन आग्रह गरेको छ । प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरुसँग आग्रह गरे । नुवाकोटको दुप्चेश्वर-६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा आयोजित बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् । कार्यक्रममा उनले गाउँ गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको समेत बताए । रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । उक्त कार्यक्रममा रुक्मणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरु लगायत गरी करिव ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।
विदेशमा सिकेको सीपले मासिक १ लाख आम्दानी गर्दै राजकुमार निरौला, १० जनालाई रोजगारी
मोरङ । पारिवारिक सुखका लागि सन् २००६ मा खाडी देशमा रोजगारीका लागि होमिएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाए । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किएका उनले विदेशमा सिकेको सीप र क्षमतालाई स्वदेशमै उपयोगमा ल्याउन सदाका लागि वैदेशिक रोजगारी त्यग्ने सोच बनाए । वैदेशिक रोजगारीमा सङ्गालेको अनुभवलाई समेटेर निरौलाले ५० लाखको लगानीमा उर्लाबारी–५ स्थित सिर्जना चोकमा ‘नोभा बेकरी उद्योग’ स्थापना गरे । विदेशमा कमाएको सबै रकम उद्योगमा लगानी गर्दा सुरुसुरुमा उनले लगानी डुब्ने हो की भन्ने पिरले निकै मन पोल्ने गरे पनि निरन्तर उद्योग सञ्चालनमा लागिरहँदा आज उर्लाबारीमै सफल बेकरी उद्योगीका रूपमा स्थापित भइएको बताए । उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’ले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भयो । आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफूमा पलाएको बताउँदै निरौलाले यस उद्योगबाट बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट, विभिन्न प्रकारका पाउरोटी यति बेला धमाधम उत्पादन भइरहेका छन् भन्नुभयो । हाल बजारमा डुनोट, ब्रेड र केकको बढी माग हुन्छ । उनले भने –’मेरो उद्योगमा दैनिक १० जनाले निरन्तर काम गरिरहेका छन् तर बजारको माग धान्न मुस्किल छ ।’ नोभा बेकरीका उत्पादन पूर्वी मोरङका मुख्य सहर उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, झापाको दमक बजार र गाउँ बस्तीसम्म छाएका छन् । बजारबाट बेकरीको राम्रो माग भएपछि आधिकारिक बिक्री काउन्टर खोल्ने सोचमा पुग्नुभएका निरौलाले भने, ‘हालसम्म उद्योगबाटै उत्पादित वस्तुलाई बजारसम्म लाने गरिएको थियो अब उर्लाबारी चोकको पश्चिमतर्फ रोड हाउस क्याफेसँगै रहेको कोइराला मार्केटमा बिक्री काउन्टर खोलेर व्यवसायलाई विस्तार गर्ने सोचमा छु ।’ उद्योग सञ्चालनमा आएको सात वर्ष नबित्दै नोभाका उत्पादनको व्यापार फस्टाउँदै गएको छ । उनीसँगै परिवारका सदस्य र कामदारलाई बेकरीमा आउने मागलाई पूर्ति गर्न सधैँ हतारो हुने गरेको उक्त व्यापारलाई नजिकबाट नियाल्नेहरुले बताए । गुणस्तरीय उत्पादन र छरितो सेवाका कारण ग्राहकको रोजाइँ बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराईले उल्लेख गरे । चाडपर्वमा बढी उत्पादन र बिक्री हुने चर्चा गर्दै निरौलाले भने, ‘होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौंँ ।’आफूले नोभाकै बिस्कुट र पाउरोटीहरु बिक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेसनमा रहेको श्रेष्ठ होटलका सञ्चालक राम श्रेष्ठको भनाइ थियो । विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहनुभएका निरौलाले होटल, पार्टी प्यालेस र व्यक्तिगत माग पनि धान्दै आएका छन् । ‘स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सपरिवार लागिपरेका छौँ’ उनले भने, ‘बजारमा हाम्रो उत्पादन नयाँ नै हो, हामी सिकिरहेका छौँ, फड्को मारेको त नभनौँ तर सबै खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँको हाराहारीम बचत हुने गरेको छ, हाम्रो तयारी अझ निखार्न ज्ञान, प्रविधि र सीप हासिल गर्न हामी बढी केन्द्रीत छौ, हाम्रो उद्देश्य ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै समझौता नगरी शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन दिनु हो ।’