विकासन्युज

कालीगण्डकी कोरिडोरको बेनी-गलेश्वर खण्डको काम सुरु

बेनी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ । कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय/मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएको हो । सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयभित्रै कामसक्ने योजनासहित दुईवटा र आवश्यक जनशक्ति कार्यक्षेत्रमा परिचालन गरिएको बताए । सडक निर्माणमा आयोजना र स्थानीय वडा र पालिकामार्फत् र समुदायबाट रचनात्मक साथ दिएर उपयुक्त वातावरण तयार भए तोकिएको समय अगावै कामसक्ने उनको भनाइ छ । यसै सातादेखि निर्माण सुरु गरेको कम्पनीले जलेश्वरमा सडकको पर्खाल निर्माणको काम अघि बढाएको छ । सडकलाई फराकिलो बनाउने, खोलाखोल्सामा कल्भर्ट निर्माण गर्ने, आरसिसी पर्खाल निर्माण गरी नाली तयार गरेर बेससहित आठ मिटर चौडाइ कालोपत्र गरिने भएको छ । सडक स्तरोन्नतिमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्र काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्ने बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले बताए । सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी घुम्न आउने पर्यटकलाई राहत पुग्नेछ ।

मर्ज भएर ठूला भएका निजी बैंकसँग जुध्न अब रणनीति बनाउनुपर्छ : सीइओ श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण कुमार श्रेष्ठले मर्ज भएका निजी बैंकसँग जुध्न आरबिबिले उपयुक्त रणनीति बनाउन आवश्यक रहेकाे बताएका छन् । मंगलबार बैंकको ५८ ‍औं वार्षिकाेत्सवकाे अवसरमा बाेल्दै सीइओ श्रेष्ठले ‘क’ वर्गका बैंकहरु मर्ज हुँदा आकार र क्षमता ठूलाे हुन गएकाले अर्थमन्त्रालयले पनि सरकारी बैंकका लागि रणनिती बनाएर अगाडी बढ्न पर्ने बताएका हुन् । ‘यसरी ‘क’ वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा यस बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । सीइओ श्रेष्ठले वार्षिकाेत्सवकाे अवसरमा बैंककाे आगमी ११ याेजना पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ११ योजनामा सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्मका विषय रहेका छन् ।  यस्तै, वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ । कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइयो । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन दुई खर्ब ७२ अर्ब रुपैयाँ, कर्जा प्रवाह दुई खर्ब ३४ अर्ब रुपैयाँ र नेटवर्थ ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ ।

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौं : अर्थमन्त्री

काठमाडौं  ।  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन् । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको पदाधिकारीको टोलीले नेपाल राष्ट्र बैङ्कले अटो क्षेत्रमा गरेको कडाइको असरबारे अर्थमन्त्री पौडेललाई जानकारी गराए । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीको समस्याबारे अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा नाडालाई बोलाएर त्यसबारे छलफल गरिने बताएका हुन् । भेटमा नाडा अध्यक्ष थापाले आयातमा एलसी खोल्दा अनिवार्य नगद ‘मार्जिन’ राख्नुपर्ने व्यवस्था, आयातमा लगाइएको प्रतिबन्ध आठ महिनापछि हटाइएको निर्णय स्वागतयोग्य भएको बताएका थिए। सरकारको उक्त निर्णयले अटोमोबाइल लगायतका व्यवसायहरुमा सकारात्मक प्रभाव परेको थापाको भनाइ थियो । अध्यक्ष थापाले राष्ट्र बैङ्कका केही नीतिका कारण व्यवसायीले पलायन हुनुपर्ने अवस्था रहेको अर्थमन्त्री पौडेललाई जानकारी गराएको नाडाले जनाएको छ । छलफलमा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था (७५ प्रतिशत)मा ल्याउनुपर्ने, सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन बैङ्कहरुबाट निजी सवारीसाधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनुपर्ने र चालू पूँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाको संशोधन गर्नुपर्ने बताएका थिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग जस्तैै अटोमोबाइल स्पेयर पार्टस उद्योगको प्रशस्त सम्भावना देखिएको भन्दै उक्त क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । उनले काठमाडौँ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले जनाएको छ ।  कार्यक्रममा देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिब र कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने करिब ३०० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष तालिम दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रमबाट सहभागीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान हसिल गर्न सफल भएको बताए । साथै सीप तथा प्रविधि मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित  र थप ऊर्जावान बनेको उनले बताए । कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले  कर्मचारीको प्रगति र हितका लागि सञ्चालक समिति सकारात्मक रहेको भन्दै मेहनत र लगनशील भएर काम गर्न आग्रह गरे । कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्‍याउने ४८ जना कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकको ११ योजना : सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्म

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ११ योजना सार्वजनिक गरेको छ । मंगलबार ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको आगामी ११ योजना सार्वजनिक गरेका हुन् । बैकले योजना अन्तर्गत कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन लोन ओरिजिनेसा एण्ड अप्रुभल अटोमेसन सिस्टम लागु गर्ने जनाएको छ । यस्तै, बैंकले वैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाउने योजना बनाएको छ । यसका साथै बैंकले लो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स् ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गर्ने योजना पनि बनाएको छ । यस्तो छ बैंकको ११ योजना १। बैंकको स्वीकृत रणनैतीक योजना (Strategic Plan 2020-2025) बमोजिम कार्यक्रमहरुलाई समयावधी सहितको कार्ययोजना बनाई निरन्तरता दिईने । २। कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन Loan Origination and Approval Automation System लागु गरिने । ३। बैंकका सम्पुर्ण म्यानुयल, कार्यविधि, नितिहरुलाई समयसापेक्ष बनाउन आवश्यकता अनुसार पुनरावलोकन, परिमार्जन तथा पुर्नलेखन गरिने । ४। बैंकका सम्पूर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सुधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन तथा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न Business Process Re-engineering (BPR) को कार्यलाई थप प्रभावकारी बनाई तिव्रता प्रदान गरिने । ५। बैंकको सूचना प्रविधि सम्बन्धी संरचनालाई समयसापेक्ष तथा सुदृढ बनाउने योजना बमोजिम सुरु गरिएको IT Enhancement Roadmap बमोजिम नयाँ CBS खरिद प्रक्रिया सम्पन्न गरिने । ६। बैंकका सम्पूर्ण अचल सम्पत्तिहरुको उचित व्यवस्थापनका लागि तर्जुमा गरिएको Asset Utilization Plan कार्यान्वयन गरी समुचित प्रतिफलको सुनिश्चतता गरिने । ७| अनावश्यक खर्च कटौती तथा नियन्त्रणका लागि आ.व. ०७९/८० को बजेट तथा कार्यक्रममा उल्लेखित Cost Control & Reduction Project लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने । ८। बैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाईने। ९। ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स् ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गरिने । १०। जोखिम व्यवस्थापन तथा AML/CFT का क्षेत्रलाई थप व्यवस्थित र सुदृढ गरिने । ११। संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिने  

सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन खुला

काठमाडौं । सनराइज क्यापिटलले मंगलबार (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेकाे हो । क्यापिटलले सोमध्ये १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सनराइज बैंकलाई सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीकाे लागि राखेकाे हाे । क्यापिटलकाे अनुसार लगानीकर्ताले न्यूनतम १०० इकाईका र अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा माघ १३ गते र पूर्ण आवेदन नपरेमा माघ २४ गतेसम्म लम्बिने क्यापिटलले जानकारी दिएकाे छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्इवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबर्द्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गरेका थिए भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गरेका उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिको सदस्यहरुमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहेका छन् । त्यस्तै, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा छन् । समितिलाई १५ दिनको समय दिइएको छ । सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैँले व्यवस्थित गर्न सक्नेछ । समितिका सदस्यहरुले आफूमध्येबाट एकजना सभापति चयन गर्नेछन् भने समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्नेछ । प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यका लागि नेपालको संविधानअनुरुप प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार गर्ने र नियमावली पारित गर्नेसम्मका अवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरु गर्ने जिम्मेवारी छ । यसैबीच प्रतिनिधिसभाका सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखको अनुपस्थितिमा कृष्णगोपाल श्रेष्ठ र उपाध्यक्षको अनुपस्थितिमा विमला सुवेदीले बैठक सञ्चालन गर्ने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिए ।

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो । भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।