विकासन्युज

आयातसँगै घट्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म रू नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो । साथै गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको निर्यात भएको हो । तथ्याङक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ । सात खर्बको व्यापारघाटा चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ । गत आवमा आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ । तथ्याङ्क अनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ । आयात प्रतिबन्धको असर राजस्वमा सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व सङ््कलन भएको हो । सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मङ्सिरमा एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो । एक सय ४८ देशबाट आयात विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ । कुल चार खर्ब बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । छ महिनाको अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ ।

हिउँमा रमाउँदै जुम्लाका केटाकेटी (फोटोफिचर)

काठमाडौं । जुम्लामा बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ । हिउँ परेर हिउँदे बालीलाई राहत भएको स्थानीयवासीले बताएका छन् । लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए । गत असोजदेखि हिउँ नपरेको जुम्लामा हिउँ परेपछि बालबालिकाहरु हिउँमा खेल्दै रमाएका छन् ।     

निर्धन उत्थान लघुवित्त पनि एनसीएचएलमा आवद्ध

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा निर्धन उत्थान लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत निर्धन उत्थान लघुवित्तले एनसिएचएल आइपिएस र कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध/सरकारी संस्थाहरु लगायतका ८० गैर/बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट । प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस लघुवित्तले ७७ वटा जिल्लामा १८५ शाखाहरु फैलाएको छ र ४०२,४१४ घरदुरी ओगटेको छ । निर्धन उत्थानले विभिन्न सरोकारवालाहरुलाई प्राविधिक सहयोग सहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने गरेको छ ।

जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिने कम्पनीले जनाएको छ । ५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुर का संचालक सुनिल महतोले जानकारी दिए ।

सामान्य अंकले बढ्यो सेयर बजार, टेलिकमको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ८.१५ प्रतिशतले बढेर २१७३.२५ विन्दु पुगेको छ । नेप्सेको अनुसार आज ८३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्बको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सानिमा जिआइसी लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्दा कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।

बाजुरा केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प

बाजुरा । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

कालीगण्डकी कोरिडोरको बेनी-गलेश्वर खण्डको काम सुरु

बेनी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ । कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय/मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएको हो । सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयभित्रै कामसक्ने योजनासहित दुईवटा र आवश्यक जनशक्ति कार्यक्षेत्रमा परिचालन गरिएको बताए । सडक निर्माणमा आयोजना र स्थानीय वडा र पालिकामार्फत् र समुदायबाट रचनात्मक साथ दिएर उपयुक्त वातावरण तयार भए तोकिएको समय अगावै कामसक्ने उनको भनाइ छ । यसै सातादेखि निर्माण सुरु गरेको कम्पनीले जलेश्वरमा सडकको पर्खाल निर्माणको काम अघि बढाएको छ । सडकलाई फराकिलो बनाउने, खोलाखोल्सामा कल्भर्ट निर्माण गर्ने, आरसिसी पर्खाल निर्माण गरी नाली तयार गरेर बेससहित आठ मिटर चौडाइ कालोपत्र गरिने भएको छ । सडक स्तरोन्नतिमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्र काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्ने बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले बताए । सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी घुम्न आउने पर्यटकलाई राहत पुग्नेछ ।

मर्ज भएर ठूला भएका निजी बैंकसँग जुध्न अब रणनीति बनाउनुपर्छ : सीइओ श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण कुमार श्रेष्ठले मर्ज भएका निजी बैंकसँग जुध्न आरबिबिले उपयुक्त रणनीति बनाउन आवश्यक रहेकाे बताएका छन् । मंगलबार बैंकको ५८ ‍औं वार्षिकाेत्सवकाे अवसरमा बाेल्दै सीइओ श्रेष्ठले ‘क’ वर्गका बैंकहरु मर्ज हुँदा आकार र क्षमता ठूलाे हुन गएकाले अर्थमन्त्रालयले पनि सरकारी बैंकका लागि रणनिती बनाएर अगाडी बढ्न पर्ने बताएका हुन् । ‘यसरी ‘क’ वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा यस बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । सीइओ श्रेष्ठले वार्षिकाेत्सवकाे अवसरमा बैंककाे आगमी ११ याेजना पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ११ योजनामा सजिलै कर्जा प्रवाह गर्नेदेखि विभिन्न देशमा कार्यालय खोल्नेसम्मका विषय रहेका छन् ।  यस्तै, वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ । कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइयो । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन दुई खर्ब ७२ अर्ब रुपैयाँ, कर्जा प्रवाह दुई खर्ब ३४ अर्ब रुपैयाँ र नेटवर्थ ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ ।