बुर्तिबाङ बजार : नमुना सहरको काम सुस्त गतिमा
ढोरपाटन । साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ । हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ । तर हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुनसकेका छैनन् । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये नमूनाका रुपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२/७३ देखि पूर्वाधार थालिएको हो । सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत काम अझै हुन नसकेका स्थानीय प्रेमबहादुर विकले बताए । ‘बजार क्षेत्रको सडक साँघुरो छ, दुर्घटनाको जोखिम छ’, उनले भने । बजार क्षेत्रका चोक, फुटपाथ र गल्ली जोखिमयुक्त छन् । बसपार्क साँघुरो छ । खानेपानीको समस्या पनि उस्तै छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोषजनक नभएको बताउँछन् । ‘बजार क्षेत्रमा खोलाको जोखिम छ, यसतर्फ ध्यान गएको छैन’, उनले भने । बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न नयाँ सहर आयोजना सञ्चालन गरिएको हो । आव २०७२-७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । करिब एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ । कुत्थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ । बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन् । व्यवस्थित बसोबास निर्माण र पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताए । ‘बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन’, उनले भने, ‘चारवटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।’ आयोजनाको एक हजार रोपनी जग्गा किन्ने लक्ष्य छ । आयोजनाका लागि चालु आवमा १५ करोड ६० लाख विनियोजन भएको अधिकारी बताउँछन् । भब्रेटामा सभाहलको काम सुरु भएको छ । खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ । हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुनसकेको छैन । बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उनले बताए । रासस
तानसेन–रिडी सडक एक महिना बन्द हुने
पाल्पा । तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ। सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए । यसअघि पनि सोही सडकखण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो । उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् । यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।
सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा
वालिङ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए । ‘सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन’, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन् । स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति गर्नु अत्यावश्यक रहेको उनले बताए । सडक छेउछाउका बासिन्दा पटक-पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्ने हो भने सबैलाई राम्रो हुने उनले बताए । ‘भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटकीय सहर पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने यो सडकको स्तरोन्नति गर्न सकेमात्रै स्याङ्जाको भविष्य उज्वल छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट र कार्यान्वयनमा सबैले सहयोगसमेत गर्नुपर्दछ, होइन भने हामी नै पछाडि पर्दै जानेछौँ ।’ सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले हिजो घरटहरा बचाउनुपर्छ भनेर विरोध गरियो तर आजको विरोध फेरिएको बताए । ‘हिजोका दिनमा सडकको स्तरोन्नतिका लागि सङ्घर्ष समिति नै बनाएर विरोध भयो’, उनले भने, ‘अब पनि सडकको स्तरोन्नति गर्ने, चौडा गर्ने, घुम्ती कटान नगर्ने हो भने यो सडक भएर यातायातका साधन नगुड्ने र अन्यत्र खुलेका वैकल्पिक मार्गबाट सवारीसाधन गुड्ने भएकाले स्याङ्जा जिल्ला नै पछाडि पर्न सक्ने भएकाले हिजोको विरोध र आजको विरोधमा फरक आएको हो ।’ सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष पुग्यो तर अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद् रहेको स्याङ्जाका विभिन्न ठाउँमा सरोकारवालाले उठाएको आवाज हो । सडकका घुम्ती काट्ने, चौडा बनाउने कार्यले हालको सडकमा करिब ३२ किलोमिटर छोटिने दाबी छ । घुमाउँरो र साँघुरो भएकै कारण सडक दुर्घटना हुनसक्ने भएकाले यसको स्तरोन्नति गरी यात्रा सुरक्षित गराउनका लागि अब सबै एकजुट भएर सम्बन्धित निकायमा दबाब दिनुपर्ने आवाज उठ्ने गरेको छ । हालको अवस्थामा रहेको सिद्धार्थ राजमार्ग अवस्थामा स्तरोन्नति गरी हरेक मौसममा सञ्चालन रहने गरी दुई लेन बिटुमिनस मापदण्डमा बनाउने योजना रहेको छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको सबैभन्दा धेरै ६७.२ किलोमिटर भाग स्याङ्जा जिल्लामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने त्यसमा पनि तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । यो सडक हाल ६.८ देखि ७ मिटर चौडा रहेको छ । अब स्तरोन्नति हुने सडक क्यारिजवे चौडाइ सात मिटर र सोल्डर सडकको दुवैतिर १.५ मिटर गरी कुल १० मिटर चौडाइ रहने छ । उक्त सडकमा पाइप कल्भर्ट तीन सय २५, स्ल्याब कल्भर्ट चार सय ३३ र आर्क कल्भर्ट १६ वटा रहने छन् । पुल ३७ वटा निर्माण गरिने प्रस्तावित गरिएको छ । विस्तारित सडकखण्डमध्ये ४७.१ हेक्टर वन क्षेत्रअन्तर्गत पर्ने आकलन गरिएको छ । यस सडकखण्डमा ४३ सामुदायिक वन र एक धार्मिक वन पर्दछ । सडक विस्तारका क्रममा दायाँबायाँ गरी दुई हजार आठ सय ८६ वटा रुख कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने स्तनधारी वन्यजन्तु, सरीसृप, विभिन्न प्रजातिका चरा, विभिन्न प्रजातिका माछा संरक्षणमा ध्यान दिनुपर्ने देखिएको छ ।
पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै
बनेपा । काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। पाँचखाल नगरपालीकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो। ‘मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ’, उनले भने। हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ। स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिन सो कार्यक्रमले महिला उद्यमशिलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले बताए। यसका लागि पाँचखाल–७ मा ९८ रोपनी जग्गा २५ वर्षका लागि उपलब्ध गराउने योजना छ। औद्योगिक ग्राम सञ्चालनपछि रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने नगरप्रमुख खरेलले बताए। हरित ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ, नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भएको हो। प्रारम्भिक चरणमा ६० लाख विनियोजन गरिएको थियो। बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका पाँच स्थानीय तहमा आर्थिक वर्ष २०७६/७७ मा सरकारले औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको थियो। त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन तथा मकवानपुर, दोलखा र चितवनमा एक/एक औद्योगिक ग्राम निर्माण गर्न सरकारले ९२ लाख बजेट छुट्याएको थियो।
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
तुलसीपुर । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो । पहिलो चरणमा नगर विकास समितिबाट १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो । ‘पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण गर्यौँ’, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । ‘बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन’, उनले भने, ‘बाँकी काम २४ करोडमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ ।’ उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ । छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो । टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन् । पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ । यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन् । पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ । अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुनसकेको उनीहरुको आरोप छ । विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो । सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो । त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो ।
नेपालको इतिहासमा पहिलो दलित महिला अर्थमन्त्री भइन् ‘सीता कुमारी सुन्दास’
काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिका ७ मा दलित परिवारमा जन्मिएर राजनीति शुरु गरेकी सीता कुमारी सुन्दास नेपालको इतिहासमा पहिलो प्रदेश अर्थमन्त्री भएकी छन् । मंगलबार प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुन्दासलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा उनी गण्डकी प्रदेश स्याङ्जा –१ को (क) अन्तर्गत प्रदेश सभा सदस्यमा एमालेको तर्फबाट निर्वाचित भएकी थिइन् । सुन्दास प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला प्रदेश सभा सदस्य समेत हुन् । निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की अमृता थापालाई पराजित गरेकी थिइन्। प्रतिनिधि सभामा ८ जना र प्रदेश सभामा १४ जना महिला प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए । गत पुस २५ गते मुख्यमन्त्री अधिकारीसँगै सुन्दास लगायत ३ मन्त्रीले सपथ लिएपनि मंगलबार सम्म जिम्मेवारी पाएका थिएनन् । मन्त्रीपरिषदको बाँडफाँटमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाएका छन् । मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशमा विगतमा कायम भएको १२ बाट ५ घटाएर ७ वटा मन्त्रालय बनाएका छन् । को हुन सुन्दास ? स्याङ्जा जिल्लाको साविक ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका वडा नं.७ मा २०२४ सालमा सुन्दासको जन्म भएको हो । बुवा गुमानसिँह र आमा चित्रकुमारीको सन्तान हुन उनी । उनका बुवा भारतीय सेनामा जागिरे थिए भने आमा घरायसी कृषि जीवनमा नै थिइन् । दलित समुदायभित्र तुलनात्मक रुपमा शिक्षित परिवारमा जन्मिएकी सुन्दासले आफ्नै आमाबाट अध्ययन प्रारम्भ गरेकी थिइन् । उनले गाउँमै रहेको जनता माविबाट एसएलसी, पुतलीबजारको त्रिभुवन आदर्श क्याम्पसबाट स्नातक र पृथ्वीनारायण क्याम्पस पोखराबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । आफ्नी आमा र दाई तत्कालिन नेकपा (माले)मा संगठित सदस्य भएको र सोही प्रभावका कारणले उनले पनि सोही पार्टीबाट राजनीतिक यात्रा शुरुवात गरेकी थिइन् । कक्षा ७ मा पढ्दै गर्दा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा जोडिएर उनको औपचारीक राजनीतिक यात्रा प्रारम्भ भएको थियो । पञ्चायती व्यवस्थाको विरुद्धमा भएको आन्दोलनमा उनको परिवारले सक्रियतापूर्वक सहभागिता जनाएको थियो । सोही क्रममा उनकी आमालाई ०४५ सालमा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको थियो । मुलुकमा पञ्चायती व्यवस्था सञ्चालन भइरहेको समयदेखि राजनीतिमा जोडिएकी सुन्दासले ०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । विद्यार्थी संगठनमा सक्रिय हुँदै नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय तहसम्म पुगेर उनले संगठनात्मक रुपमा काम गरेकी छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनापछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुखमा एक कार्यकाल पुरा गरेकी छन् । सो क्रममा उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्ष समेत भएकी थिइन् । सुन्दास अहिले नेकपा (एमाले)को केन्द्रीय सदस्य, गण्डकी प्रदेशको सचिव र स्याङ्जा जिल्ला इन्चार्जको भूमिका समेत निर्वाह गरिरहेकी छन् ।
३ कम्पनीको साढे ११ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति छ ?
काठमाडौं । विभिन्न कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । कम्पनीमा रहेका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका हुन् । कुमारी बैंक, ग्रामीण विकास लघुवित्त र आशा लघुवित्तको गरी कूल ११ लाख ३२ हजार २८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् । कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ । बैंककी संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले ७ लाख ७४ हजार ३७५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ३७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । यस्तै, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सोभन्दा बढि मूल्य तोकि बोलकबोल गर्न सक्नेछन् ।
संसद् भवन अगाडि शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन
काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । उनको शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था रहेको उनले बताए । इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल र्पुयाएको थियो ।