विकासन्युज

काठमाडौं महानगरले हटायो ९ हजार होडिङ बोर्ड

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ९ हजार अनधिकृत परिचय पाटी (होडि बोर्ड) हटाएको छ । मापदण्डमा रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी महानगरले हटाइएको हो । महानगरले गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेकाे थियाे । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरेकाे थियाे । तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ । महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ तोकेको छ । यस्तै, १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैँया, १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट एक हजार रुपैयाँ थप शुल्क तिनुपर्छ ।

१० प्रतिशत व्यवसायीमा मनोरोगको समस्या, व्यवसायिक असफलता बन्दै मृत्युको बाटो

काठमाडौं । घटना १ : मंगलबार दिउसो बानेश्वर संसद भवन अगाडि इलामका प्रेम आचार्यले आफूमाथि पेट्रोल खन्याएर सडकमै आगो लगाए । नजिक रहेका सर्वसाधारण र प्रहरीले उनको शरिरमा लगाएको आगो निभाए । आफैमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यलाई तुरुन्त किर्तिपुर अस्पताल पुर्याइयो । गम्भीर घाइते भएका आचार्यको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भयो । आचार्यले आत्मदाह गरेपछि उनको विषयमा मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भयो । उनले आत्मदाह गर्नुअगाडि सामाजिक सञ्जालमा स्टाटस लेखेर आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनको यथार्थ सार्वजनिक गरेका थिए । साथै उनले धेरै व्यक्ति तथा मिडियाहरुलाई पनि आफ्नो विषयमा जानकारी गराएका थिए । तर, आत्मदाह अगाडि उनको उद्दारको लागि कुनै पक्षबाट पनि निर्णायक पहल हुन सकेन । आचार्यले आफ्नो विषयमा सार्वजनिक गरेको प्रारम्भिक विवरणलाई हेर्दा उनी नेपालमा उद्यमको शुरुवात गरेर असफल भएपछि आत्मदाह गर्ने अवस्थामा पुगेका हुन् । घटना २ : काठमाडौंस्थित न्युरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलामा सञ्चालनमा रहेको स्वेत बराह इन्टरप्राइजेजका सञ्चालक शुदर्शन घिमिरेले गत भदौको २१ गते आत्महत्या गरे । काभ्रेको काभ्रे नाला घर भएका घिमिरेले ०६६/६७ पछि काठमाडौंमा व्यवसाय गर्न शुरु गरेका थिए । ०७१ बाट उनले रञ्जना ट्रेड सेन्टरमा व्यवसाय शुरु गरेका थिए भने उनको श्रीमतीले पनि छुट्टै व्यवसाय सञ्चालन गरेकी थिइन् । कोरोना महामारीसँगै व्यवसायिक क्षेत्रमा परेको नकारात्मक प्रभाव घिमिरेको व्यवसायमा पनि परेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई समयमा नै सावाँ ब्याज चुक्ता गर्न नसक्नु, चिनियाँ नाकामा भएको समस्याका कारण खरिद गरिएको लाखौंको सामान रोकिनु, व्यवसायमा मन्दी हुनु लगायत समस्याका कारण उनी आत्महत्याको अवस्थामा पुगेको हुनसक्ने अनुमान उनका निकट व्यवसायीहरुले विकासन्युजसमक्ष गरेका थिए । अध्ययन क्षेत्रमा स्नातकोत्तर तह पुरा गरेका घिमिरेले व्यवसायिक असफलताको कारण नै आत्महत्याको बाटो रोज्न विवश भए । घटना ३ : मोरङ विराटनगरको शनी रोडमा व्यवसाय गर्दै आएका विराटनगर, ३ पोखरियाका ५७ वर्षीय मोहन प्रसाद न्यौपानेले बुधबार आफ्नै घरमा आत्महत्या गरे । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपककुमार श्रेष्ठका अनुसार उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले बुवाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको आत्महत्या अगाडि सुसाइड नोट लेखेका थिए । उनले बैंक र सहकारीलाई डेढ करोड भन्दा धेरै पैसा तिर्न बाँकी रहेको सुसाइड नोटमा उल्लेख छ । घटना ४ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक गत सोमबार आफ्नै घरको दक्षिण–पश्चिम दिशातर्फ ३ सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परे । मरिकको परिवारले घरायसी ऋणको तनावका उनले आत्महत्या गरेको हुनसक्ने प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका छन् । पारिवारिक खर्चको लागि मरिकको परिवारले सहकारीबाट १ लाख र लघुवित्तबाट १ लाख १५ हजार ऋण लिएको थियो । उनीहरुले किस्ता–किस्तामा आधा भन्दा धेरै ऋण तिरिसकेका थिए । बाँकी ऋणको पछिल्लो किस्ताको जोहो गर्न परिवारले सकिरहेको थिएन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले मरिक आत्महत्याको अवस्थामा फेला परेको भएपनि विस्तृत विवरण खुलिनसकेको बताएका छन् । घटना ५ : २०७८ को फागुन २५ मा काठमाडौंको नागार्जुन नगरपालिका–६स्थित रामकोट डाँडापौवामा भीममान प्रधानको परिवारले गरिबीकै कारण सामूहिक आत्महत्याको बाटो रोजे । काठमाडौं महानगरपालिका–१५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस्न पुगेका थिए । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार गरिबीबाट पार लाग्ने उपाय फेला नपारेपछि उनीहरू सपरिवार आत्महत्या गर्ने निर्णयमा पुगेको तत्कालिन समयमा सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए । प्रहरी नायब उपरीक्षक केसीका अनुसार भीममानको परिवारमा पत्नी ३३ वर्षीया मन्दिरा, ६३ वर्षीया आमा इन्द्रमाया, ११ वर्षीया छोरी सुब्रिना र २८ वर्षीय भतिजा सुवर्णमान छन् । उनीहरूमध्ये भीममान डिप्रेसन र इन्द्रमाया क्यान्सरपीडित रहेछन् । सुवर्णमान सुस्त मनस्थितिका रहेको प्रहरी नायब उपरीक्षक केसीले बताएका थिए । सुसाइड नोट लेखेर सामूहिक रुपमा विष सेवन गरेको प्रधान परिवारका एक सदस्यको तत्काल मृत्यु भएको थियो भने अरु चार जना गम्भीर अवस्थामा फेला परेका थिए । माथिका ५ वटा घटना बाहेक आर्थिक समस्या र गरिबीका कारण पछिल्लो समयमा मानिसको मानसिक समस्यामा असर पर्ने र त्यसले आत्महत्यासम्म डोर्याएका घट्नाहरु धेरै घट्ने गरेका छन् । पारिवारिक कलह र आपसी सम्बन्धमा आउने दरारका कारण हुने आत्महत्या सँगै पछिल्लो समयमा व्यवसायिक तथा उद्यम क्षेत्रमा देखिने समस्या र गरिबीको कारणले पनि मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको धेरै घट्नाहरुले देखाएका छन् । के भन्छ सरकारी तथ्यांक ? नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार १४१ र आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार नेपालका झण्डै ८० प्रतिशत मानिसहरुलाई मानसिक स्वास्थ्य सहायताको आवश्यकता परेको तर त्यसको उपलब्धता नभएको उल्लेख गरिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा आत्महत्या गर्नेको वार्षिक वृद्धिदर ५ प्रतिशत भन्दा बढीले बढीरहेको छ । प्रहरीका अनुसार आवेश, नैराश्यकतारमानसिकरदीर्घ रोग, प्रेममा धोका, व्यावसायिक तनाव, पारिवारिक बेमेलन, असफलता र गरिबी लगायतका कारणले मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । के भन्छन मनोरोग चिकित्सक ? त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा। सरोजप्रसाद ओझाले कोभिड महामारीपछि परामर्शमा आउने मनोरोगीको संख्यामा वृद्धि भएको बताएका छन् । उनका अनुसार पछिल्लो समयमा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरुमा असफलतकाको कारण मनोरोग समस्यामा वृद्धि भएको छ । ‘व्यवसायिक व्यक्ति या उद्यमी मा एन्जाइटीको सिन्ड्रम बढेको देखिन्छ’, डा.ओझाले बताए । उनका अनुसार एन्जाइटीका कारण व्यवसायीहरुले अल्कोहल लिने क्रम पनि पछिल्लो समयमा बढ्न पुगेको छ । आर्थिक समस्याका कारण नकारात्मक संकेत देखिनेको संख्या बढेको उनले बताए ।‘१०/१५ प्रतिशत संख्या बढेको छ, उनीहरुको मुख्य समस्या भनेको आर्थिक समस्या देखिन्छ’, उनले भने । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दैनिक औसत रुपमा ८० देखि १ सय जना मनोरोग सम्बन्धी विमारीहरु उपचारको निम्ति आउने गर्छन त्यसमध्येमा १० प्रतिशत व्यवसाय तथा उद्यम क्षेत्रका विमारीहरु हुने गरेको प्रा।डा। ओझाले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्याले मानसिक स्वास्थ्यमा समस्या बढेको समेत बताउँछन् । उपचारमा प्रारम्भिक चरणमा आएकाहरुलाई भने औषधि र परामर्शले ठिक हुने गरेको उनले बताए ।

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि १० अर्ब अमेरिकी डलर सहयोग

एजेन्सी । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए । डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरे । उनले भनेका थिए, ‘सो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।’ सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो ।’ अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए । डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । रासस

तनहुँमा घरेलु कार्यालयद्वारा १६२ फर्म खारेज

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए। कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् । सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ । थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ताबापत रु २४ लाख तीन हजार चार सय राजस्व सङ्कलन भएको छ । सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । गत आव २०७७/७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । त्यस्तै आव २०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो । एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय, पाँच लाखसम्म पुँजी भएको उद्योगले छ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पुँजी भएको उद्योगले  २० हजार एक सय, पाँच करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोड भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ । रासस

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि १० अर्ब अमेरिकी डलर सहयोग

डाकार । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको जनाइएको छ ।अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए । डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन् । ुसो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ,ु उनले भने । ुअफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो,ु सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भने । अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए । डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । रासस/सिन्ह्वा

विदेशबाट फर्केर कृषि र पशुपालन व्यवसायमा जुट्दै भोजपुरका युवा

भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लागेका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनी अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् । उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । राउतले विदेशमा राम्रो आम्दानी नभए पनि १० वर्षअघिदेखि थालेको बाख्रापालनबाट वार्षिक तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । ‘विभिन्न तीन देश गरेर १५ वर्ष पसिना बगाए’, उनले भने, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिन, त्यहाँ पाएको दुःख सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरुपमा बाख्रापालनमा लागेको छु, बाख्रापालनबाट यहीँ राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशमा गर्ने मेहनत यहाँ गर्नसके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । ‘ठूलो सपना देखेर विदेश गएँ’, उनले भने, ‘विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ, अहिले पछुताएको छु, योजनाबद्धरुपमा व्यवसाय गर्नसके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उनले बताए । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरुपमा बाख्रापालनका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनी बताउँछन् । ‘बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ’, राउतले भने, ‘राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो, मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु, तर भर्खर व्यवसाय थाल्नेलाई समस्या छ ।’ आफ्नो बाख्राको बीमा गराएको भए पनि बिमा रकम लिन भने झन्झट रहेको राउतले बताए । कागजी प्रक्रियाका कारण किसानमा बोज थपिएको उनको भनाइ छ । विदेशबाट फर्केर अर्का युवा प्रेम बस्नेतले पनि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । ‘विदेशमा धेरै नै दुःख छ’, बस्नेतले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन्, तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो, त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनले बताए । ‘यहाँ सोचे जस्तो विदेशमा सहज छैन’, बस्नेतले भने, ‘त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ, अहिले परिवारसँग बसेर व्यवसायबाट राम्रो आम्दानी गरिरहेको छु ।’ विदेशबाट फर्केर अर्का स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यवसायबाट वर्षमा तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताए । ‘विदेशमा लामो समय बिताए, सोचे जस्तो आम्दानी गर्न सकिँन’, उनले भने, ‘अहिले व्यावसायिकरुपमा जडीबुटी खेती गरिरहेको छु, परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’ टेम्केमैयुङ–५ मझौलेका कुमार विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किबी तथा एभोकाडोको खेती गरिरहेको बताए । गत वर्षबाट खेती सुरु गरेकाले अबका केही वर्षमा वार्षिक छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । ‘व्यावसायिकरुपमा फलफूल खेतीमा लागेको छु’, उनले भने, ‘गत वर्षबाट खेती विस्तार गरेको छु, अबको केही समयबाट वार्षिक छदेखि आठ लाख आम्दानी लिने लक्ष्य लिएको छु ।’ युवाले विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्नसके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरुपमा काम सुरु गरेको उनले बताए । ‘हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने, ‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँ चाहिँ दुःख गर्न हिनताबोध गर्छौं, अब हामी युवा यहीँ नै केही गर्न आवश्यक छ, विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।’ जिल्लामा पछिल्लो समय विदेशबाट फर्केर व्यावसायिकरुपमा कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको बताइएको छ । रासस

यतीको दुर्घटनापछि खस्कियो हवाई व्यवसाय, ५० प्रतिशतले घटे यात्रु

फाइल फाेटाे काठमाडौं । पुस मसान्तसम्म निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दैनिक १२ वटा उडान गर्दै आएको थियो । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ । दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनिक ८ वटा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, नेपालगञ्ज र भरतपुरमा नियमित उडान गर्ने गरेको थियो । उक्त रुटमा दुर्घटनापछि ५० प्रतिशत उडान कटौती भएको बुद्धले जनाएको छ । दुर्घटना अघिसम्म यती एयरलाइन्सले दैनिक ६ उडान गर्ने गरेकोमा हाल दैनिक ३ वटा मात्र उडान हुँदै आएको छ । पोखरा रुटमा उडान गर्ने बुद्ध र यती एयरलाइन्ससँगै श्रीएयरलाइन्स र गुण एयरले समेत हवाई यात्रुसँगै उडान संख्यामा कमी आएको बताएका छन् । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि हवाई सेवा पुरानै लयमा फर्कन सकेको छैन । अफ सिजन हुँदा र दुर्घटनाका कारण हवाई यात्रुहरु न्यून भएको वायुसेवा कम्पनीहरुले बताएका छन् । यती एयरलाइन्सको पोखरा दुर्घटनापछि समग्र रुटमा ५० प्रतिशतभन्दा बढि उडान घटेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पोखरा दुर्घटनापछि हवाई उडान घट्नु स्वभाविक भएको भन्दै विस्तारै बढ्दो क्रममा रहेको उनले बताए । ‘सिजनमा दैनिक २८ वटा उडान हुँदै आएकोमा अहिले दैनिक ८ वटा मात्र उडान भएको छ, दुर्घटनाका पछि उडान न्यून थियो अब विस्तारै बढ्न थालेको छ’, उनले भने । उनले मंगलबारसम्म दैनिक ८ वटा मात्र उडान हुने गरेकोमा बुधबार १२ वटा उडान भएको छ । विस्तारै उडानसंख्या सँगै यात्रुको संख्यामा समेत बृद्धि हुन थालेको उनले बताए । दुर्घटना अघिसम्म यतीले विभिन्न गन्तव्यमा ९अफि सिजन० दैनिक १८ वटा उडान गर्दै आएको थियो । ‘अहिले अफ सिजन हो, अन्य समयको तुलनामा अहिले न्यून उडान हुने गर्छ, तर दुर्घटनापछि न्यून भएको उडान विस्तारै बढ्न थालेको छ, अहिलो चिसो मौसमका कारण मानिसहरुको मुभमेन्ट पनि कम छ’, उनले भने । उनले मौसमका कारण समयमा नै विमानस्थल नखुल्दा हवाई यात्रुहरु बस मार्फत सम्बन्धित गन्तव्यमा जाने गरेको पाइएको बताए । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’, उनले भने । यस्तै, बुद्ध एयरले पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । केही दिनअघिसम्म न्यून यात्रु रहेकोमा विस्तारै यात्रुको संख्यामा बृद्धि हुन थालेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन् । उनका अनुसार दुई दिन अघिको तुलनामा बुधबार २५ प्रतिशतले उडानसँगै यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । ‘जनवरी महिनामा अधिकांश विमानस्थल बिहान समयमानै खुल्दैनन्, विमानस्थल ढिला खुल्ला उडानसंख्यासँगै यात्रुको संख्यामा कमी आउने गरेको हो, पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि यात्रुको संख्यामा अलि कमी आएतापनि अहिले पुरानै लयमा हवाई उडान सुरु भैसकेका उनले बताए । ‘यतीको दुर्घटना हुनु र हाम्रो बजारमा अफ सिजन एकैपटक भयो, यतीको दुर्घटनाले खासै असर परेन, अहिले पुरानै अवस्थामा फर्किसक्यौँ’, उनले भने ।

नेत्रज्योति संघको निःशुल्क आँखा शिविरमा ३५८ जनाले पाए नयाँ दृष्टि

काठमाडौं । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिबिर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टा छुट्टै शिबिर सञ्चालन गरिएको थियो । नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरजंग अन्तरगत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिबस्तुका दुईवटा स्थानिय तहमा निशुल्क आँखा शिविर सम्पन्न भएका हुन् । माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो । त्यस्तै बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका थिए । ती शिविरहरुमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर, आँखा रोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । उक्त २ वटै शिविरमा गरेर ७२२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्युनिकरणका लागि उक्त चस्मा वितरण गरिएको हो । ४० वर्ष नाघेका लाई कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी नि–शूल्क चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।