डिशहोममा एक वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते १ लाख
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी दोधारा नगरपालिका निशान्त बुढा दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् । निशान्त बुढाले केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलरमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत सो रकम पाएका हुन् । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्किड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता बुढालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने कम्पनीले जनाएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोमा हेर्न सकिनेछ ।
व्यावसायिक कृषिले बढ्यो किसानको आयस्तर
भोजपुर । व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो । यहाँका किसानले व्यावसायिकरुपमा तरकारी तथा नगदेबालीको उत्पादनबाट राम्रो आम्दानी लिन थालेका हुन् । स्थानीय तहले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरुमा थप व्यावसायिक धारणाको विकास भएको छ । आन्तरिकरुपमा खपत हुँदै आएको यहाँका कृषिउपज अहिले बाहिरका बजारमा समेत पुग्ने गरेको किसानको भनाइ छ । यातायातको सहज पहुँचले यहाँका किसानलाई कृषिउपजको बजारीकरणमा सहजता थपिएको छ । किसानले प्लाष्टिक टनेलमा खेती गरेर मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । उत्पादन भएको तरकारीको बेचबिखन गर्न समस्या नरहेको व्यावसायिकरुपमा तरकारीखेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–११ का किसान यामबहादुर तामाङले बताए । उनले आफ्नो बारीमा प्लाष्टिक टनेलमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् । ‘व्यावसायिकरुपमा कृषि गरेमा राम्रो आम्दानी लिन सकिन्छ’, कृषक तामाङले भने, ‘मैले उत्पादन गरेको तरकारीको बजारीकरणमा समस्या छैन, केही तरकारी स्थानीय बजारमा बिक्री हुन्छ, यहाँ खपत नभएको तरकारी अन्य जिल्लामा समेत पठाउने गरेको छु, तरकारीबाट वार्षिक छ लाख रुपैयाँसम्म आम्दानी लिन्छु ।’ यातायातको सहज पहुँचले तरकारीलाई बजारसम्म लैजान सहज भएको उनको भनाइ छ । मौसमी तथा बेमौसमी दुवै खालका तरकारी उत्पादन गर्दै आएको किसान तामाङको भनाइ छ । ‘मौसमीभन्दा बेमौसमी तरकारीले राम्रो मूल्य पाउने गरेको छ’, उनले भने, ‘वर्षात्को समयमा सडकका कारण बजारसम्म लैजान केही समस्या हुन्छ, अन्य समयमा आफ्नो घरमा ठेकेदार तरकारी खरिद गर्न आउछन् ।’ सडकको सहज पहुँचले कृषकको फार्मबाट सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । व्यावसायिकरुपमा कृषिमा लागे जीवनपायन गर्न समस्या नरहेको किसानको भनाइ छ । राम्रो उत्पादन गर्नसके बेचबिखनका लागि कुनै समस्या नरहेको भोजपुर–५ का किसान कमला थापाले बताए । ‘तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छु’, उनले भने, ‘उत्पादन भएको कृषिउपज स्थानीय बजारमा खपत हुन्छ, यहाँ खपत नभएको सामग्रीलाई बाहिर पठाउने गरेकी छु ।’ भोजपुर–४ सिद्धेश्वरका २५ वर्षीय युवा कृषक गणेश विष्टले पनि तरकारी तथा व्यावसायिकरुपमा पशुपालन गर्दै आएको बताए । इलामबाट उन्नत जातका गाई ल्याएर पशुपालन गरिरहेको उनको भनाइ छ । फार्मबाट उत्पादन भएको मललाई सदुपयोग गर्दै तरकारी तथा सुन्तलाखेतीसमेत गरिरहेको बताए । उनले मौसमअनुसार तरकारी तथा अकबरे खुर्सानी उत्पादन गर्ने उनको भनाइ छ । विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा कृषिमा जुटेका विष्टले राम्रो आम्दानी गर्दै आएको बताए । दावाँली कृषि तथा पशुपालन फार्म दर्ता गरेर उनी व्यावसायिक कृषिमा लागेका हुन् । ‘कृषिमा भविष्य देखेर व्यावसायिकरुपमा लागेका छु’, कृषक विष्टले भने, ‘मेरो उमेरका धेरै साथी विदेशमा छन्, तर मैले कृषिमा लागेर वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी लिँदै आएको छु, सुन्तलाको बगान विस्तार गरेको छु, त्यसले फल दिन थालेपछि मेरो राम्रै आम्दानी हुन्छ ।’ गाई फार्मबाट प्रशस्तमात्रामा प्राङ्गारिक मल निस्कने भएकाले सुन्तला तथा तरकारीखेती गर्न थप सहज रहेको विष्टको भनाइ छ । ‘चौध रोपनी क्षेत्रमा सुन्तलाको खेती विस्तार गरेको छु’, उनले भने, केही बोटले आम्दानी दिन थालेका छन्, अन्य बिरुवा हुर्कंदै छन्, भविष्यमा सुन्तलाबाट रु पाँचदेखि सात लाखसम्म आम्दानी लिने मेरो लक्ष्य छ ।’ राज्यले कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । राज्यले कृषकले गरेको कामका आधारमा अनुदानको कार्यक्रम ल्याउनुपर्ने विष्टको धारणा छ । ‘राज्यको सहयोग खास किसानसम्म पुग्न मुस्किल छ’, उनले भने, ‘पहुँचका आधारमा अनुदान ल्याउने प्रथाको विकास भएको छ, यस्ता खालका कार्यक्रम सञ्चालन गर्दा वास्तविक कृषकसम्म पुग्न आवश्यक छ ।’ काम गर्नेभन्दा झोलामा बोकेका फार्मले बर्सेनि अनुदान पाउने गरेको उनको भनाइ छ । युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा पर्ने गरेको उनले बताए । अरुण गाउँपालिकाका प्रेमकुमार राईले एभोकाडोको व्यावसायिक खेती गरिरहेको बताए । करिब पाँच वर्ष विदेश बसेर आउनुभएका राईले आफ्नै देशमा केही गर्ने उदेश्यले एभोकाडोको व्यावसायिक खेती सुरु गरेको बताए । राईको फार्ममा अहिले एक हजार छ सय बढी एभोकाडोका बिरुवा छन् । अबको केही वर्षबाट यसले उत्पादन दिन थाल्ने उनको भनाइ छ । यसबाट वार्षिकरुपमा ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईको भनाइ छ । ‘स्वदेशमा केही गरौँ भनेर व्यावसायिक कृषिमा लागेको छु’, कृषक राईले भने, ‘आफ्नै ठाउँमा उदाहरणीय बन्ने मेरो लक्ष्य छ, मैले गरेको कामले अन्य युवा साथीहरुलाई समेत आकर्षित गरेको छ ।’ फलफूल खेतीसँगै जैविक तरकारीसमेत उत्पादन गरिरहेको राईको भनाइ छ । बजारमा विषादीयुक्त तरकारीको उत्पादनलाई कम गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘हामीले कृषि उत्पादन गर्दा स्वास्थ्यको कुरालाई पनि ध्यान दिन आवश्यक छ’, उनले भने, ‘म आर्गानिक उत्पादनमा जुटेको छु, तरकारीमा प्राङ्गारिक मलको मात्र प्रयोग गर्छु, आर्गानिक तरकारीको बजारमा अत्यधिक माग छ, तरकारी बिक्रीबाट दैनिक जीवनयापन गर्न समस्या छैन ।’ रासस
धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटामा खुलेको हो । कम्पनीको अनुसार धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवा अन्तर्गतस् सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ । शाखा विस्तारसँगै चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लागि प्रयोग हुने हुन्डाइको एक्स्काभेटरहरू, जिसुङ र रामरु ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू र एम्. बि. बकेट क्रसरु धनगढीबाट सहजरूपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै, हेभि इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपाल इन्स्योरेन्सका डिजिएम निरज बस्नेतले दिए राजीनामा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक (डिजिएम) निरज बस्नेतले राजीनामा दिएका छन् । बस्नेतले बिहीबार डिजिएम पदबाट राजीनामा दिएका हुन् । बस्नेतको सोही दिन नै राजीनामा स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ । २०७७ भदौ ९ गते कम्पनीको नायब महाप्रबन्धक नियुक्त भएका बस्नेत यसअघि प्रिमियर इन्स्योरेन्को फाइनान्स प्रमुखको रुपमा कार्यरत थिए ।
विज्ञहरु भन्छन् : आईकाओको मापदण्डहरु पूर्ण पालना नगर्दा हवाई दुर्घटना बढ्यो
काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्देशन गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन । नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका पूर्व इन्जिनियर डाईरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिए । संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै नेपाल एयर लाईन्सका पूर्वइन्जिनियर डाईरेक्टर पहाडीले आईकाओले निर्देशन गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनिकरण हुँदै जाने बताए । उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए । पहाडीले भने, ‘दक्ष म्यानपावरहरु हायर गरेर काम गर्नु प¥यो, यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दूर्घटना कम हुँदै जान्छ, दक्ष जनशक्तिको व्यवस्था गर्नु प¥यो, बाहिरबाट भएपनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन,’ उनले थपे यस्तै, नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । ‘सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस् । जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो,’ उनले भने ।
फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान बजारमा
काठमाडौं । फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनको इलेक्ट्रिक भ्यान नेपालमा ल्याएको हाे । कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको छ । फोटोन इभि भ्यानलाई टियुभि राइनल्यान्ड, जर्मनीको एक प्रसिद्ध स्वतन्त्र परीक्षण, निरीक्षण र प्रमाणीकरण संस्थाद्वारा युरोपेली सम्पूर्ण सवारी साधनको प्रकारको स्वीकृति प्रमाणपत्र दिइएको छ। कम्पनिका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ केडब्लु एच छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५ केडब्लु पावर तथा २९० एनयम टर्क छ भने फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ। यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू सैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त छन् जसले मानिसहरूलाई वातावरणमैत्री तरिकाले ढुवानी गर्ने छ । दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न एमएडब्लू वृद्धि कमर्सियल भेहिकल पनि प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्वपूर्ण छ । फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौंमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन्।
‘नागरिकता विवादमा भइरहँदा नेतृत्वमा पुग्नु नैतिकताको विषय हो’
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता विवाद हुँदाहुँदै नेतृत्वमा पुग्नु नैतिकताको विषय भएको अधिवक्ता श्रेष्ठले बताएकी छिन् । लामिछाने संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहसका क्रममा उनले यस्ताे बताएकी हुन् । ‘निर्वाचन आयोगले बेलैमा निर्णय गरेको भए यो मुद्दा पहिला नै सकिन्थ्यो अर्कातिर नागरिकता विवाद भएको व्यक्ति गृह मन्त्रालयको नेतृत्वमा हुनुहुन्थेन, यो नैतिकताको पनि विषय हो,’ श्रेष्ठले भनिन् ।
बजेटको अर्धवार्षिक समीक्षाको तयारीमा अर्थ मन्त्रालय, २१ सदस्यीय समिति गठन
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखाका प्रमुखको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेर अर्धवार्षिक समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार २१ सदस्यीय उक्त समितिलाई पुस मसान्तसम्मको समयसीमा तोकिएको छ । उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले बजेटको समीक्षा गर्नेछ । बजेट महाशाखाका प्रमुख रितेश कुमार शाक्यको नेतृत्वमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट एक/एक जना प्रतिनिधि, अर्थमन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य रहेका छन् । मन्त्रालय अन्तरगतको वित्तीय संघीयता समन्वय महाखाशाका प्रमुख सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख बाबुराम सुवेदी, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख आनन्द काफ्ले, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी, कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख डा. अर्जुन कुमार खड्का, प्रशासन महाशाखाका प्रमुख केदारनाथ शर्मा र राजश्व व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बराल उक्त समितिको सदस्य रहेका छन् । यस्तै, बजेट महाशाखाका आठ जना उपसचिवहरु नवराज पन्थी, मोहन सिंह बस्नेत, दिली केसी, ध्रुवप्रसाद पाण्डे, पूर्ण प्रसाद न्यौपाने, उमेश श्रेष्ठ, जनकराज शर्मा, शिव शर्मा उक्त समितिको सदस्य रहेका छन् । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ । अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो । गत आर्थिक वर्ष २०७८/०७९ मा सरकारले विनियोजित बजेटको ८६ अर्ब ५५ करोड रुपैयाँ खर्च नहुने अनुमान गरेर बजेट संशोधन गरेको थियो । कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट रहेकोमा ९४ दशमलव ७ प्रतिशत मात्रै घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको बनाएको थियो ।