विकासन्युज

नियम उल्लङ्घन गरे रेमिट्यान्स कम्पनीलाई १० लाख जरिवाना, खारेज पनि हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुले नीति नियम पालना नगरे दर्ता खारेजसम्मको व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकको नियमावलीको नियम १६ मा नियम उल्लङ्घन गरेमा विप्रेषण कम्पनीलाई हुने सजाय तथा जरिवानाका बारेमा यस्तो उल्लेख गरिएको छ । नियमन उल्लङ्घन गरेमा विप्रेषण कम्पनीलाई राष्ट्र बैंकले एक वा एकभन्दा बढी सजाय तथा जरिवाना गर्न सक्ने व्यवस्था मिलाएको हो । जसमा सचेत गराउने, लिखित चेतावनी दिने, नियमन उल्लङ्घनको प्रकृति हेरी विप्रेषण कारोबारमा १ महिना देखि १ वर्षसम्मको प्रतिबन्ध लगाउने, राष्ट्र बैंकमा रहेको धरौटी जफत गर्ने, नियमन उल्लङ्घनको प्रकृति हेरी १ लाखदेखि १० लाख रुपैयाँसम्म नगद जरिवाना गर्ने, र इजाजतपत्र निलम्बन गर्ने, निलम्बन गरी खारेज गर्ने, वा सोझै खारेज गर्ने व्यवस्था गरेको छ । साथै, नेपाल राष्ट्र बैंकले कम्पनीले नियमन उल्लङ्घन गरेमा पदाधिकारी तथा कर्मचारीलाई पनि सजाय तथा जरिवाना हुने व्यवस्था मिलाएको छ । नियम १७ को ९१० मा नेपाल राष्ट्र बैंक ऐन, २०५८, विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा उल्लिखित ऐनहरू अन्तर्गत बनेको नियम वा विनियम एवम्प्रलचित कानूनका सम्बन्धित व्यवस्थाहरू तथा सो अन्तर्गत राष्ट्र बैंकले समय समयमा जारी गरेका परिपत्र, आदेश, निर्देशन, तथा सूचना विप्रेषण कम्पनीका पदाधिकारी तथा कर्मचारीले उल्लङ्घन गरेमा वा निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा राष्ट्र बैंक वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले माग गरेको कागजात, विवरण वा तथ्याङ्क तोकिएको समयभित्र पेश नगरेमा विनियमावली बमोजिम समेत नियमन उल्लङ्घन गरेको मानिने राष्ट्र बैंकले जनाएको छ । उपविनियम २ मा कसूर गर्ने पदाधिकारीलाई राष्ट्र बैंकले प्रकृति हेरी ५० हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जरिवाना गर्ने र निलम्बनमा गर्ने समेत व्यवस्था मिलाएको छ ।

केरा खेतीबाट बार्षिक २० लाख आम्दानी गर्दै कञ्चनपुरका किसान

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले बार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘राम्रो मूल्य पाए सबै खर्च कटाएर बार्षिक बीस लाख रुपैयाँँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।’ एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गरेका छन् । ‘चार/पाँच बर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट दुई लाख र कृष्णपुर नगरपालिकाबाट एक लाख अनुदान मिलेको थियो ।’ उनले ‘त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहिकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।’आठ बिघा जमिन लिजमा लिएबापत बार्षिक तीन लाख २० हजार रुपैयाँ भाडा तिर्दै आएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिए । समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा बार्षिक सात/आठ लाख रुपैयाँसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उनले बताए । ‘भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई बर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो ।’ उनले भने, ‘पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।’ गत बर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो । ‘सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्’, उनले भने, ‘बीमा नहुँदा जोखिम बढेको छ ।’ एसएलसीसम्मको अध्ययन गरेका चौधरीले केराबाट भएको आम्दानीबाट दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गरे । ‘केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो’, उनले भने, ‘सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।’ रासस

गणपति लघुवित्तको सीइओमा विष्णु ढकाल

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् । बिहीबार बसको संचालकम समितिको बैठकले  ढकाललाई माघ १५ गतेदेखि लागु हुने गरी सीइओमा नियुक्त गरेको हो । ढकाल यसअघि कम्पनीको कामु सीइओ रहेका थिए । उनको कार्यकाल ४ वर्षको रहनेछ । यस्तै, उनले कम्पनी सचिवको जिम्मेवारीमा पनि निरन्तरता पाएका छन् ।

एभरेष्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २३ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।

स्याङ्जाको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड आम्दानी गर्न सफल भएका सुन्तला व्यवसायी मुक्ति अधिकारीले बताए । सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका अधिकारीका अनुसार जिल्लामै सबैभन्दा धेरै क्षेत्रफल र किसान सुन्तला खेतीमा संलग्न भएको वडा नै यही हो । ‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम पचाँस लाखसम्म आम्दानी गर्नुहुन्छ’, उनले भने । पाँच–सात लाखदेखि १५–२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतिबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेति गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउछन् । प्रतिकेजी ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा बिक्री भइरहेको छ । अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । रासस

पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर बन्यो

काठमाडौं । पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर बनेको छ । निरन्तर ओरालो लाग्दै आएको पाकिस्तानी रुपैयाँ बिहीबार पाकिस्तानी बजारमा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको थियो । शुक्रबार पनि घटेपछि पाकिस्तानी रुपैयाँको मूल्यमा शुक्रबार झनै गिरावट आएको हो । शुक्रबार १ डलरको सटही दर २६४ रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट आएको हो । बिहीबार पाकिस्तानमा डलरको मूल्य २५५ रुपैयाँमा कारोबार भएको थियो । जुन सन् १९९९ मा नयाँ सटही दर प्रणाली लागू भएपछिको सबैभन्दा कमजोर सावित भएको हो । बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएसँगै पाकिस्तानी मुद्रा निकै कमजोर बनेको हो । विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनीज एसोसियसन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरिरहेका छन् ।

बैंकहरुको प्रतिवेदनमा राष्ट्र बैंकको खोट : कुनलाई दियो कस्तो निर्देशन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटक बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण स्वीकृतिमा कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको वित्तीय विवरणमा त्रुटि गरेपछि राष्ट्र बैंकले स्वीकृति दिन ढिलाई गरेको हो । वाणिज्य बैंकको वित्तीय प्रतिवेदन स्वीकृति ढिलाई हुँदा वार्षिक साधारण सभा पनि ढिला भएको छ । वित्तीय प्रतिवेदन स्वीकृत हुन ढिलाई भएका कारण कृषि विकास बैंकको वार्षिक साधारण सभा समयमा नै सम्पन्न हुन सकेन । बैंकले लाभांश घोषणा गरेको भएपनि हालसम्म वार्षिक साधारण सभाको टुंगो लागेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा बढी प्रिमियम असुल गरेको भेटेपछि राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएको थियो । साथै, वित्तीय प्रतिवेदन पनि सच्याउन निर्देशन दिएका कारण स्वीकृतिमा ढिलाइ भएको राष्ट्र बैंकले बताएको छ । बैंकहरुले बढी लिएको प्रिमियम फिर्ता गर्न तयार भएपछि मात्रै केन्द्रिय बैंकले स्वीकृत दिएको हो । कुमारी बैंकलाई आर्थिक वर्ष २०७८/७९ मा फेयर भ्याल्यू रिजर्भबाट ५७ लाख ८० हजार ४०९.३७ रुपैयाँ सञ्चित नाफामा रकमान्तर गर्दा २० प्रतिशत अर्थात् ११ लाख ५६ हजार ०८१.८७ साधारण जगेडा कोषमा नगरेकोले सञ्चित नाफाबाट साधारण जगेडा कोषमा रकमान्तर गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘स्टेटमेन्ट अफ अदर कम्प्रिहेन्सिभ इनकम’मा लेखांकन भएको आय फेयर भ्याल्यू रिजर्भमा जम्मा सञ्चित नाफामा रकमान्तर गर्दा उक्त रकमको २० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गरी बाँकी रकम मात्र सञ्चित नाफामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तै, राष्ट्र बैंकले नेपाल बैंकलाई वि.सं. २०६८ कात्तिक ३० गत बैंकिङ कारोबारको निमित्त आवश्यक नरहेको स्थिर सम्पतिहरु बिक्री गर्दा हुन आउने रकमलाई विशेष जगेडा कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । त्यसपछि, फेरी राष्ट्र बैैंकले नेपाल बैंकलाई वि.सं. २०७८ कात्तिक २९ गते २०७४ असार मसान्तसम्म त्यस्तो सम्पत्ति बिक्रीबाट जम्मा हुन आएको १ अर्ब १९ करोड ७८ लाख ७४ हजार ८४ रुपैयाँ सेयरधनीहरुलाई लाभांश र कर्मचारीहरुलाई बोनस बाँड्न नपाउने गरी विशेष जगेडा कोषमा नै सार्न निर्देशन दिएको थियो । सोही बमोजिम नेपाल बैंकलाई त्यस्तो रकम बैंकको पूँजी कोष सरलिकृत गर्न स्थाई प्रकृतिको साधारण जगेडा कोषमा जम्मा गर्न उपयुक्त हुने भएकोले साधारण जगेडा कोषमा रकमान्तर गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तै, बैंकको वित्तीय विवरणको अनुसूची ४.१६ मा प्रस्तुत भए अनुसारको बराबर रिकोन्साइल भएको अन्तरशाखा कारोबारको रकम १ अर्ब ४६ करोड ७८ लाख ८५ हजार रुपैयाँलाई रिकोन्साइल गर्न राष्ट्र बैंकले भनेको छ । साथै, नेपाल सरकारबाट लामो समयदेखि प्राप्त हुन बाँकी रकम १ अर्ब ७२ करोड रुपैयाँ र त्रिभुवन विश्वविद्यालयको टियू पेन्सन रिइम्बर्सएबल खातामा रहेको २१ करोड २७ लाख रुपैयाँ बक्यौता रकमको सम्बन्धित निकायबाट कन्फर्मेसन लिन राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक(आरबिबि)लाई बेसिस फर क्वालिफाइड ओपिनियनमा उल्लेख गरेका बुँदाहरु त्रैमासिक रुपमा छलफल गरी अन्तिम किनारा लगाई त्रैमासिक प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आरबिबिको हिसाव मिलान नभएको अन्तर शाखा वापतको खुद ५१।४४ करोड रुपैयाँ वापतको रकम रिकोन्साइल नभएको र अनआइडेन्टिफाइड एण्ड अनरिकोन्साइल वापत ६३।०९ करोड रुपैयाँको फरफारक र बैंकले हाल प्रयोग गरिरहेको अचल सम्पत्ति बैंकको नाममा नरहेको बताएको छ । कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेको छ । यदि उक्त सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीहरु भएमा सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश वितरण रोक्का राख्न राष्ट्र बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी सेयर धारण गरेका संस्थापकहरुले सेयर बिक्री तथा धितो बन्धक राख्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । स्वीकृति नलिई सेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापकहरुलाई स्वीकृति नलिएसम्म वा सेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी सेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश वितरण रोक्का राख्न पनि बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढी कैलालीमा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मंसिर १३ गते एक कार्यक्रमकाबीच उक्त कार्यक्रम सम्पन्न गरेको हो । बीमित लोकेन्द्र बहादुर बिष्टको मिति २०७९ साउन १८ गते साउदी अरेबियामा मृत्यु भएकाले बीमीतको ईच्छाएको व्यक्तीको श्रीमती कलावती बिष्टलाई चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच कम्पनीका मार्केटिङ्ग प्रमुख योगेन्द्र बिक्रम अधिकारीले किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाखको कलावती बिष्टलाई चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा मार्केटिङ्ग प्रमुख योगेन्द्र बिक्रम अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।