विकासन्युज

भृकुटीमण्डपमा सुरु भयो नेपाल उड इन्टरनेशनल एक्स्पो (फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो सुरु भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनलले आयोजना गरेको एक्सपो माघ १५ गतेसम्म संचालन हुनेछ । प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका स्टल रहेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु राखिएको छ । 

दुगड समुहको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित

काठमाडौं । के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित भएको छ ।कम्पनीलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालयले कम्पनीलाई स–सम्मान प्रशंसा पत्र प्रदान गरेको थियो । स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो । यस कम्पनी विगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको छ ।

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँ : राज्यमन्त्री कार्की

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छिन् । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिइन् । स्वास्थ्य क्षेत्रमा ठूलो लगानी आवश्यक भएको भन्दै बजेट बढाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग छ, स्वास्थ्य वित्त रणनीति कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले मन्त्रिपरिषदमै बजेट बढाउने प्रस्ताव पेस गर्न लागेका छौँ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै बिनियोजन भएको भन्दै उनले उक्त बजेट पर्याप्त नभएको बताइन् । न्यूनतम सेवा मापदण्डअनुसार देशभरका आधारभुत स्वास्थ्य केन्द्रदेखि विशिष्टकृत स्वास्थ्य संस्थाको अनुगमन तीव्र पारिने उनको भनाइ छ । उहाँले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिइन् । जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’मार्फत् एम्बुलेन्स सेवा दिने तयारी भइरहेको उनले बताइन् । ‘एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम गर्दैछौँ’, उनले भनिन् । राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको बताइन् । उनले डाक्टर गोविन्द केसीले राख्दै आउनु भएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको समेत बताइन् ।

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

काठमाडाैं । ग्लोबल आइएमई बैंकले चितवनको भरतपुर महानगरपालिका स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ । बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री सहयोग गरेका हुन् । श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बागमती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् । बैकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गरिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।  

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका छन्। पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन उनले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै खालका जटिलता रहेको र अब आफूले यसको सुधारमा लाग्ने बताए। मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने स्पष्ट पारे। ‘जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्न सकिने गरी स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छ’, उनले भने, ‘यसका लागि नीतिगत, कानुनी तथा प्राविधिक विषय सच्याएर अघि बढ्नुपर्छ ।’ नेपालका ठूला अस्पतालको क्षमता विस्तार तथा ग्रामीण क्षेत्रमा रहेका अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको उपलब्धतालाई ध्यान दिइने पनि बताए। दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा बस्न नचाहने समस्याले पनि गाउँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न नपाएको बताउँदै अब हरेक सरकारी चिकित्सकलाई न्यूनतम समय तोकेर दूरदराजका स्वास्थ्य संस्थामा परिचालन गरिने पनि बताए। स्वास्थ्य मन्त्रालय संवेदनशिल मन्त्रालय भएको बताउँदै उनले हरेक वर्ग र समूदायका नागरिक उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे। उनले पहुँचको आधारमा विदेशी अस्पतालमा गएर राज्यलाई व्ययभार पार्ने प्रचलन रोक्न प्रयास गर्ने बताए । नेपालमै सम्भव हुने उपचार सेवा नेपालकै अस्पतालमा लिनुपर्ने अनिवार्य गरिने बताउँदै सरकारी खर्चबाट विदेशमा उपचार गर्न जाने नीति हटाउनुपर्नेमा जोड दिए। उनले सानातिना रोगको उपचारका लागि सहरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिने विश्वाससमेत व्यक्त गरे। स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य क्षेत्रका समस्या समाधान भने सहज नरहेको बताउँदै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशैभर पुर्याउने दाबी गरे। उनले स्वास्थ्य बीमामा केही समस्या देखिएको चर्चा गर्दै त्यसका लागि कतिपय प्रावधानमा पुनरावलोकन गरेर भए पनि गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताए। आगामी दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरिब जनताले स्वास्थ्य बीमामार्फत् नै सेवा लिनसक्ने व्यवस्था गरिने उनको भनाइ छ । उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे। प्राविधिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको ३२ लाखको लागतमा निर्माण भएको सूचना तथा सञ्चार प्रविधिमैत्री कक्षाको उद्घाटन गर्दै गिरीले अब गाउँ गाउँमा प्राविधिक शिक्षालाई विस्तार गर्न सरकार सक्रिय रहेकोसमेत बताए। यस्ता खालका कक्षाले विपन्न तथा दलित समुदायका विद्यार्थीले सर्वसुलधरुपमा ज्ञान र सीप हासिल गर्न सक्ने उनको धारणा थियो । गत बुधबार गृह जिल्ला आएका मन्त्री गिरी गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा स्वास्थ्य संस्था निरीक्षणमा सक्रिय रहेका थिए । रासस

४ अर्बभन्दा बढि लगानी व्यवस्थापन गर्दै एनआईबीएल एस क्यापिटल

काठमाडौं । एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ४ अर्बभन्दा बढी रकमको यवस्थापन गर्दै आइरहेको छ । विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि हुदै आएको हाे । क्यापिटलमा लगानी व्यवस्थापन सेवामा ११ सयभन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको जनाएको छ । एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अधिदेखी सुरुवात गरेको यस सेवा अन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकबर्गले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकवर्गको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको सफल भएको छ । आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने क्यापिटलले जनाएको छ ।

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस्ले संयुक्तरुपमा आयोजना गरेको नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उनले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताएका हुन् । नेपालमा लगानीको वातावरण बनाउन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत सुधार गर्नुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने उल्लेख गरे । मन्त्री भण्डारीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले विभिन्न कारणले नेपाली उद्योग निरुत्साहित भइरहेकाले ती उद्योगको संरक्षणका लागि सरकारले स्वदेशमा उत्पादित वस्तुको निर्यात गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘मुलुकमा उद्योग व्यवसायको स्थिति खस्किनुको कारण पहिचान गरी समस्या समाधानको खोजी गर्छौं, सहजरुपमा लगानी गर्ने वातावरण बनाउँछौँ ।’ उनले अन्तर्राष्ट्रिय बजारको आधुनिक प्रविधि भित्र्याएर नेपाली उद्योगको उत्पादन बढाउनुपर्नेमा जोड दिए । आजदेखि यही माघ १५ गतेसम्म सञ्चालन हुने एक्सपोमा विभिन्न देशका एक सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्डका प्रदर्शनी कक्ष तथा यस क्षेत्रमा कार्यरत व्यवसायी एवं संस्थाको सहभागिता रहेको छ । एक्सपोमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने जनाइएको छ । यस एक्सपोले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्ने बताइएको छ । रासस

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिए । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन दिएका थिए । रासस