विकासन्युज

शिवम् सिमेन्टको लाभांश सेयरधनीको खातामा जम्मा, तपाईकोमा आयो ?

काठमाडौं । शिवम् सिमेन्टसले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.५३ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले माघ ५ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नं. रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम फिर्ता आउन सक्ने हुँदा परिवर्तित नयाँ खाता नं. हितग्राही खातामा अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ ।

दूरसञ्चार प्राधिकरणले गर्याे एक कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गर्याे एक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था केसीएन नेटले नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेकोले स्वतः खारेज भएके जनाएको छ । उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । साथै इन्टरनेट (इ–मेल सहित) सेवा सञ्चालन गरे बापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु समेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा उपरोक्त बाँकी बक्यौता रकम प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

‘लघुवित्त विरुद्धको आन्दोलनमा राष्ट्र बैंकले बोल्न कन्जुस्याँई गर्यो’

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कुनै एउटा संस्थाले गरेको गल्तिलाई समग्र क्षेत्रलाई दोष दिन नमिल्ने बताएका छन् । आइतबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभामा बोल्दै सीईओहरुले यस्तो बताएका हुन् । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्त संस्थाहरुलाई चुनौती थपिँदै गएको बताए । लघुवित्त संस्थालाई दिगो बनाउनु पर्ने बताउँदै उनले एउटा लघुवित्तले गरेको गल्तिलाई समग्र क्षेत्रलाई दोष दिन नमिल्ने बताए । ‘एकातिर मिटर ब्याजिलाई निमिट्यान्न पार्नु पर्ने चुनौती छ भने अर्कोतिर लघुवित्त खारेजी गर्नु पर्छ भन्नेलाई रोक्नुपर्नेछ, कुनै लघुवित्तले गल्ती गरेको छ भने राष्ट्र बैंकले कारवाही गरे हुन्छ तर, लघुवित्त क्षेत्रले गलत गरेको होइन,’ उनले भने, ‘गलत गर्ने संस्थालाई दण्ड दिनुस्, लघुवित्त क्षेत्रको बिकास गर्न सकारात्मक भूमिका खेल्नुपर्छ, बैंकसङ्ग लघुवित्त पनि जोडिएको हुँदा नेपाल बैंकर्स संघले पनि भूमिका निर्वाह गर्नुपर्छ ।’ नेपाल लघुवित्त बैंकर्स संघका कार्यकारी सदस्य तथा सिभिल लघुवित्तका सीईओ बिनोद आचार्यले लघुवित्त संस्थाहरुलाई आवश्यक पर्ने स्रोतको अभाव र उपलब्ध भइरहेको स्रोतको उच्च लागतका कारण व्यवसाय विस्तार गर्न नसकेको बताएका छन् । उनका अनुसार विगत लामो समयदेखि अनैतिक समूहले गरेको लघुवित्त विरुद्धको आन्दोलनले नै समग्र वित्तीय प्रणालीमा नै दीर्घकाल असर पार्ने गरी अवैधानिक गतिविधि गरेको छ । जसले गर्दा कर्जा असुलीमा सकस परेको र कर्जा विस्तारमा समेत ह्रास आएको उनले बताए । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव तथा नेशनल माइक्रोफाइनान्स लघुवित्तका सीईओ राम बहादुर यादव लघुवित्त संस्थाहरुले अर्थतन्त्रको सफलताको लागि सर्वसुलभ वित्तीय सेवा सुविधा प्रदान गर्दै आएको बताउँछन् । ग्रामीण क्षेत्रको गरीबी न्यूनीकरण र रोजगारी प्रदान गर्न लघुवित्तको ठूलो भूमिका रहेको उनको भनाइ छ । ‘अझैसम्म दुर्गम ठाउँमा लघुवित्त पुगेका छैनन्, लघुवित्त दिगो हुने कि नहुने भन्ने एकिन हुन सकेको छैन, लघुवित्तको लागत उच्च छ, दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन ५० प्रतिशत लघुवित्त संस्था ऋणात्मक हुनेछन्,’ उनले भने, ‘लघुवित्तको पुनर्संरचना गर्न जरुरी छ, मापदण्ड अनुसार कर्जा प्रवाह गर्न सके सहज हुनेछ, लघुवित्तको ५० प्रतिशत कर्जा कृषिमा गएको छ, सामाजिक पर्फमेन्सको पनि वित्तीय विवरण सार्बजनिक गर्नु पर्छ ।’ नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरु संकटमा परेको बेला राष्ट्र बैंकले कुनै पहल नचालेको भन्दै दुख ब्यक्त गरे । यदि राष्ट्र बैंकले समयमा नै लघुवित्तका पक्षमा बोलेको भए आन्दोलनले विकराल रुप नलिने उनको भनाइ छ । ‘राष्ट्र बैंकले समयमा आफ्नो बक्तब्य जारी गर्नु पथ्र्याे, रास्ट्र बैंकले बोल्ने कुरामा कन्जुस्याइँ गर्याे, यदि समयमा नै लघुवित्तको पक्षमा बोलेको भए सानातिना आन्दोलनले केही गर्न सक्दैन थियो,’ उनले भने । यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले लघुवित्त र बैंकहरुबीच सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । उनका अनुसार लघुवित्तको २५० अर्ब रुपैयाँ बैंकमा लगानी रहेको छ । ‘लघुवित्त र बैंकबीच सहकार्य जरुरी छ, अब जोखिमलाई नजिकबाट हेरेर लगानी गर्नुपर्छ, संस्थालाई घाटामा जान नदिन सबैले पहल चाल्नुपर्छ, लागत घटाउन आवस्यक छ, ब्याज नतिर्ने प्रवृत्तिलाई हटाउनुपर्छ, संस्था विरुद्धका आन्दोलनले भविष्यमा ठूलो असर गर्छ, यसलाई तत्काल हटाउनु पर्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्त संस्थाहरुले समाजमा ठूलो राहत पुग्नेगरी योगदान गरेको बताए । पछिल्लो समय लघुवित्त विरुद्धको आन्दोलन हुनु दुखद रहेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले आन्दोलन न्यूनीकरण गर्न पहल गरिरहेको छ, ऋण लिएर तिर्दैन भन्ने गतिविधि अराजकता हो, राष्ट्र बैंकले यसमा कडाइ गरेको छ,’ उनले भने । उनका अनुसार लघुवित्तको सुशासनमा ठूलो गिरावट आएको छ । लघुवित्तले क्रियाकलाप गर्दा सिद्धान्त पालना हुन नसकेको उनले बताए । ‘अहिले लघुवित्त नाफामुखी भएका छन्, ७६ प्रतिशतसम्म लाभांश बाँड्नलाई कताबाट नाफा कमाए ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश बाडेका छन्, लघुवित्त संस्थाहरु सेवामुखी हुन सकेनन्,’ उनले भने । यस्तै, राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्ट लघुवित्त संस्थाले नेपालको गरीबी निवारण र आर्थिक गतिविधि बढाउन योगदान गरेको बताउँछन् । उनले पछिल्लो समय काठमाडौं केन्द्रित हुन थालेकाले अब लघुवित्त संस्थाहरु प्रादेशिक संरचनामा संचालित हुनुपर्ने बताए । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले लघुवित्त संस्थाहरुले छोराको बिहे गर्नलाई ऋण दिन नहुने बताएकी छिन् । केही लघुवित्तले छोराको विवाहको लागि समेत ऋण दिएको बताउँदै उनले अब उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न पर्ने बताइन् । ‘लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन, कर्जा प्रवाह गर्दा लघुवित्त आफै सजग हुनुपर्छ, लघुवित्तले सेयरधनीको हितको लागि मात्रै होइन, सेवामुखि हुनुपर्छ, लघुवित्त घाटामा गएका छन भन्छन तर उच्च लाभांश कसरी बाँडिहेका छन् त ?,’ उनले भनिन् । डेपुटी गभर्नर ढुंगानाले लघुवित्तहरुले मर्जरमा जोड दिनुपर्ने धारण राखेकी छिन् । उनले बाध्यात्मक मर्जरभन्दा पनि आफ्नो स्थिति हेरेर लघुवित्तहरु मर्जरमा जानुपर्न धारणा राखिन् ।

कृषि विकास बैंकको सीईओमा २२ जनाको दाबी, बद्री गुरागाईंदेखी गोविन्द गुरुङको आवेदन

काठमाडौं ।कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्म बैंकको सीईओका लागि २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले विकासन्युजलाई जानकारी दिए । बैंकका सीईओका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङदेखि सहकारी राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि कुमार गुरागाईंसम्मले आवेदन दिएका छन् । यस्तै, सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण प्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कविराज अधिकारीले पनि बैंकको सीईओका लागि आवेदन दिएका हुन् । यस्तै, कृषि विकास बैंकबाट नै दुई जनाको आवेदन परेको छ । बैंकका निमित्त सीईओ समेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले सीइओ पदका लागि आवेदन दिएको कम्पनी सचिव पौड्यालले बताए । हाल बैंकको कायम मुकायम सीईओको जिम्मेवारी उपमहाप्रबन्धक सुवेदीले नै सम्हालिरहेका छन् । यस्तै, बैंकको सीईओ पदका लागि नेपाल सरकारका पूर्व सहसचिवदेखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकले समेत आवेदन दिएको बैंकले जनाएको छ । यस्तै, बैंकको सीईओका लागि विष्णुदेव यादव, भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोक कुमार पौडेल, रमेशराज जोशी,सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोद वावु तिवारीले बैंकको सीईओ पदका लागि दाबी गर्दै आवेदन दिएका हुन् । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो । बैंकले योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा सीईओका लागि छनोट गर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुमध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । बैंकको अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

जनप्रतिनिधि र कर्माचारीको विवादका कारण हरिपुर्वा नगरपालिकाको कामकाज ठप्प

सर्लाही । कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो । केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताए । उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो । नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो । करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो । त्यस क्रममा हरिपुर्वा नगरपालिका–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट थिए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन् । कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्रकुमार अधिकारीले बताए । उनका अनुसार हरिपुर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको पाँचवर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए । नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए । उनका अनुसार बजेट बाँडफाँटमा भागबण्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मङ्सिर अन्तिममा पारित गरिएको थियो । जनप्रतिनिधिबीच राजनीतिक सहमति हुन नसक्दा कर्मचारी चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरप्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने सङ्केत देखिएको भन्दै हरिपुर्वाका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । जनप्रतिनिधि मिल्न नसक्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दुव्र्यवहार सहिरहनुपरेको अर्का कर्माचारी सुनिलकुमार रायले बताए । यता प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरप्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छेमात्रै छनोट गराएका कारण आफूहरूले त्यसको विरोध गरेको हरिपुर्वा नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रमोद यादवले बताए । उनले आफूहरूले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको बताए ।

माछापुच्छ्रे बैंकद्वारा उदयपुरका विद्यार्थीलाई २६५ थान स्वेटर वितरण

काठमाडौं । माछापुच्छ्रे बैंकले विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकालाई २६५ थान स्वेटर वितरण गरेको हो । यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रमोद खरेलले आफ्नो पारिश्रमिक धनकुटा महोत्सवका घाइतेको उपचारमा खर्च गर्ने

धनकुटा । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिएका हुन् । रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए । गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिए ।

गृह मन्त्रालय हाम्रो हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरु राख्ने बताए । ‘अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन्,’ उनले भने । यस्तै, उनले चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनको लागि सूचना जारी गरिने पनि बताए ।