भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरे
काठमाडौं । भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरेका छन् । भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका हुन् । स्वास्थ्यमन्त्री दास सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका थिए । मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उनलाई लगत्तै उपचारका लागि अस्पताल र्पुयाएको थियो । तर, अस्पताल पुर्याउँदा उनी बाँच्न सकेनन् । गोली हान्ने प्रहरीलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन ।
राष्ट्र बैंकले माघ १८ गतेदेखि ८ अर्बको ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘झ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ८ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘झ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले माघ १८ गतेदेखि उक्त ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न आग्रह गरेको हो । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
माघ मसान्तसम्म सरकारको साढे ५ अर्ब रुपैयाँ तिर्न युनाइटेड टेलिकमलाई निर्देशन
काठमाडौं । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई निर्देशन दिएको छ । हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब रुपैयाँ माघ मसान्तसम्म तिर्न कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । कम्पनीलाई वि.सं. २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो । त्यसपछि सरकार र प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम बुझाउन निर्देशन गरेको हो । पुष मसान्तसो बाँकी रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ लामो समय दाखिला नभएकोले सम्पूर्ण बक्यौता माघ मसान्तसम्म बुझाई सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न भनेको छ । यदि उक्त समयमा रकम दाखिला नगरे कानून बमोजिम अघि बढ्ने प्राधिकरणले बताएको छ ।
चिलिमे जलविद्युतको ७.५ नगद सेयरधनीको खातामा जम्मा, बोनस कहिले आउँछ ?
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले माघ ५ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम फिर्ता आउन सक्ने हुँदा परिवर्तित नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ७.५ प्रतिशत बोनश सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । जसमा बोनस सेयर भने नेप्सेमा सूचीकृत पश्चात् हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
२ हजार जनालाई आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज माघ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको हो । लघुवित्तको आईपीओ १० कित्ताका दरले बाँडफाँट गर्दा २ हजार ३३ जनाले मात्रै पाउनेछन् । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन १ गतेसम्म आवेदन सक्नेछन् । लघुवित्तको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मरोेसेयर खाता मार्फत आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
‘शहीदहरूले देखाएको बाटो शब्दमा मात्र होइन, कर्ममा अनवरत लामबद्ध हुनुपर्छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ सन्देशमा भनिएको छ । प्रधानमन्त्री दाहाललले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिएका छन् । उनले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गरे । ‘तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो,’ उनले भने । प्रधानमन्त्री दाहालले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरणसहित उच्च सम्मान व्यक्त गरेका छन् । उनले आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गरेका छन् । ‘राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो,’ सन्देशमा उल्लेख छ । शहीदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उनको भनाइ छ ।
शिवम् सिमेन्टको लाभांश सेयरधनीको खातामा जम्मा, तपाईकोमा आयो ?
काठमाडौं । शिवम् सिमेन्टसले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.५३ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले माघ ५ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नं. रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम फिर्ता आउन सक्ने हुँदा परिवर्तित नयाँ खाता नं. हितग्राही खातामा अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ ।
दूरसञ्चार प्राधिकरणले गर्याे एक कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गर्याे एक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था केसीएन नेटले नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेकोले स्वतः खारेज भएके जनाएको छ । उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । साथै इन्टरनेट (इ–मेल सहित) सेवा सञ्चालन गरे बापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु समेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा उपरोक्त बाँकी बक्यौता रकम प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।