विकासन्युज

सवारी दुर्घटना न्यूनीकरण गर्न कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक एआइजी विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहनुभएको छ । उक्त कार्यदलले सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ ।

नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ माघ २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

डाक्टरको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा ४७ प्रतिशत मात्रै पास

काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा ४७ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार परीक्षामा सहभागी भएका मध्ये ४७ मात्रै उत्तिर्ण भएका हुन् । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा एमबिबिएस तर्फ ४७.११ र बिडिएस तर्फ ४७.६० प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। जसमा एमबिबिएस परीक्षामा १ हजार ८३२ जना परीक्षामा सहभागी भएकोमध्ये ८६३ जना मात्रै उत्तीर्ण भएका छन्। त्यस्तै, बिडिएस तर्फ ४७९ जनाले परीक्षा दिएकोमा २२८ जना मात्रै उत्तीर्ण भएका छन्।

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो

बन्दीपुर  । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको लामो ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको  हो । चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो । बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ । चालु आवमा पनि ३७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । कश्याप कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदो लक्ष्यअनुरूपको काम हुन नसकेको अध्यक्ष थापाले बताए । अन्य दिनमा करिब एक सय जनाको हाराहारीमा आन्तरिक एवं बाह्य पर्यटक घुम्न आउने गरे पनि बिदाको दिनमा दुई सयदेखि तीन सयसम्म हुने गरेको उनले बताए । उक्त दूरीको मिनी ग्रेटवाल फिनिसिङपश्चात् गाउँपालिकाले छलफल गरी टिकट शुल्क कायम गरेर मात्रै पर्यटकलाई प्रवेश अनुमति दिने लक्ष्य बनाएको छ । कूल लागत सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको उनले बताए । नेपाल सरकारको चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । दुईतिर पर्खाल लगाउने र बीचमा आकर्षक सिँढी निर्माण गरी दायाँबायाँ आकर्षक बत्ती जडान गर्ने योजना रहेको उनले बताए । मुकुन्देश्वरी डाँडामा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई पनि पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । जिल्लाको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिने हुनाले यहाँ पुग्ने जो कोही पर्यटक लट्ठै हुने गर्दछन् ।  रासस

बन्दीपुरलाई सुन्दर बनाउन होर्डिङबोर्ड हटाइँदै

तनहुँ । तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये  पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ । बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर बनाउन गाउँपालिका जुटेको छ । बन्दीपुरको सुन्दरता कायम गर्नका लागि बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन शुरु गरेको छ । बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको हो । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए । ‘सम्बन्धित होटल व्यवसायीकै उपस्थितिमा मापदण्डविपरीतका राखिएका होर्डिङबोर्ड हटाउन थालेका छौँ, जथाभावीरुपमा राखिएका होर्डिङबोर्डले बजार नै कुरुप देखिने अवस्था आएको थियो’, गाउँपालिकाका प्रवक्ता श्रेष्ठले भने । देश तथा विदेशबाट बन्दीपुर आउने पर्यटकलाई बन्दीपुरको सुन्दरता देखाउने अभियानमा लागिएको उनले बताए । गाउँपालिकाको सो अभियानमा स्थानीयवासीले सहयोग गरेका छन् । बन्दीपुरको सौन्दर्यतालाई कायम राख्नका लागि गाउँपालिकाले होटल अगाडि मासु पोल्न र चुलो बनाउन प्रतिबन्ध लगाएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको मुख्य बजारको सौन्दर्यका लागि यो निर्णय सकारात्मक रहेको बताए । गाउँपालिकाले सम्बन्धित होटल व्यवसायीले पसल बाहिर सामग्री राखी बिक्री वितरण गर्न रोक लगाएको छ । सडक र सडक पेटीमा व्यवसायीले गाउँपालिकाले तोकेको मापदण्ड र स्थानमा मात्र सामान राखी बेच्न पाउने निर्णय भएको छ । त्यस्तै गाउँपालिकाले तोकेको स्थानीय मापदण्डबमोजिम बढीमा दुई वटा टेबल र प्रतिटेबल तीन वटा कुर्चीसम्म राखी मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्चीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरी प्रयोग गर्ने निर्णय गरेको छ । प्रत्येक होटल व्यवसायीले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बन्दीपुर आउने पर्यटकलाई ताजा र सफा खानाको मात्र व्यवस्था गर्न, बजारमा रङरोगनलगायत स्वरुप परिवर्तन गर्न परेमा गाउँपालिकासँग समन्वय गर्न र बन्दीपुर बजार संरक्षित क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले आग्रह गरेको छ । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । बन्दीपुरमा अरु दिनको तुलनामा बिदाको दिनमा पर्यटकको चाप बढी हुन्छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुछरे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने व्यवसायी वसन्त पौडेलले बताए । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । आठौं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । रासस

दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य परीक्षण

नुवाकोट । नुवाकोटमा सवारीसाधन चलाउँदैआएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरुलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको हो । ‘सवारी दुर्घटनाको कारणमध्ये चालकको लापर्बाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि शिविर सञ्चालनमा ल्याइएको हो’ उनले भने, ‘परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले चालक–सहचालको आँखा, रक्तचापलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गराउन थालिएको छ ।’ ट्राफिक प्रहरीले यसअघि ‘चालकसँग दुई मिनेट’ कार्यक्रममार्फत यात्रामा रहेका चालकलाई रोकेर ट्राफिक नियम तथा जनचेतना जगाउँदै आइरहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भए पनि चालकले गाडी रोकर बस्न बाध्य बनाएकोजस्तो प्रतिक्रिया देखाएपछि उक्त अभियानलाई समेत सहयोग पु¥याउने उद्देश्यले परिस्कृत स्वरुपमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो । यात्रुबाहक सवारी साधनको चालक र सहचालकले यात्रुलाई सेवा पु¥याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिए पनि गाडी चलाएर आउजाउ गर्दा बासस्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने प्रहरीले जनाएको छ । पछिल्लो एक महिनादेखि सबै किसिमका सवारी साधनको पार्टपुर्जाको अवस्था जाँच सुरु गरेको ट्राफिक प्रहरीले आइतबारदेखि सुरु गरेको चालकको स्वास्थ्य परीक्षण शिविरलाई नियमितरुपमा अघि बढाउदै लैजाने जनाएको छ । स्वास्थ्य परीक्षणको लागि सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक बट्टारले स्वास्थ्यकर्मी र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ । शिविरमार्फत चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित उनीहरुलाई ट्राफिक नियमसम्बन्धीको जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहले बताए । शिविरमार्फत चालक तथा सहचालकलाई केही समय आराम गरेर मानसिकरुपमा तन्दुरुस्ती बनाउन र ट्राफिक प्रहरीसँगको सहकार्य बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

२२ प्रतिशत बोनससहित २ कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । सोमबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तम दिन रहेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली माघ १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश तथा साधारण सभामा साभागी हुन पाउनेछन् । नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत .नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण प्रस्ताव पारित गर्न लघुवित्तले माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरे

काठमाडौं । भारतमा प्रहरीले गोलि हानी मन्त्रीको हत्या गरेका छन् । भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका हुन् । स्वास्थ्यमन्त्री दास सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका थिए । मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उनलाई लगत्तै उपचारका लागि अस्पताल र्पुयाएको थियो । तर, अस्पताल पुर्याउँदा उनी बाँच्न सकेनन् । गोली हान्ने प्रहरीलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन ।