विकासन्युज

डेढ वर्षमा भद्रपुर–सलकपुर सडक कालोपत्र ६ प्रतिशत

झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो । ‘सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ’, उनले भने । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ । सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुने छ । कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुने छ । रासस

लाभांश र मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले डाके साधारण सभा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिक डिल्लीबजार काठमाडौंमा र सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा लैनचौ ब्याङ्क्वेटमा हुने । दुवै कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव र मर्जर प्रस्ताव पारित गर्नेछन् । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, दुवै संस्थाबीच हुने मर्जर प्रस्तावलाई सभाले पारित गर्नेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १००ः८० स्वाप रेसियोमा मर्ज हुनेछन् । सभाले  संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछन् । दुवै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले माघ २७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी र लाभांश प्राप्त गर्नेछन् ।

राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जान्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । यस्तै, गभर्नर अधिकारीले निजी क्षेत्रका सबै समस्या सम्बोधन गर्न सकिने अवस्था नरहेको बताए । निजी क्षेत्रले सीमा भन्दा बढी आशा गरेको हुँदा सबै समस्या समाधान नहुने उनले बताए । ‘मौद्रिक नीतिका आफ्नै सीमा छन् तर ती सीमाभन्दा निजी क्षेत्रका आशा निकै बढी छन्, कतिपय मौद्रिक उपकरण छोटो समयका लागि कार्यान्वयनमा ल्याइएका छन्, अर्थतन्त्रको अवस्था सहज हुँदा कसिलो मौद्रिक नीति खुकुलो हुँदै जान्छन्,’ गभर्नर अधिकारीले भने । ‘समग्र आर्थिक सन्तुलनका लागि आन्तरिक उत्पादन बढाउन पर्ने आवश्यकता रहेको उनले बताए । जसका लागि आयातमा निर्भर उपभोग तथा राजस्व प्रणाली, अर्थतन्त्रमा ठूलो योगदान रेमिटेन्सको रहनुजस्ता अवस्थाका कारणले बाह्य क्षेत्र प्रभावित भएको उनको भनाइ छ । विगतमा बाह्य क्षेत्रमा देखिएको प्रभाव अनपेक्षित रहेको उनको भनाइ छ । अहिले तरलता अभाव समस्या विस्तारै कम हुँदै गएको गभर्नर अधिकारीले बताए । कुनै उद्योगी व्यवसायी बैंक वित्तीय संस्थाबाट पीडित भएको भए त्यसको जानकारी राष्ट्र बैंकलाई दिन पनि गभर्नर अधिकारीले आग्रह गरे ।

२० वर्ष पुराना सवारी चलाउन दिनुपर्ने व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो । २० वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न मिल्ने सवारी साधनलाई सञ्चालनका लागि आवश्यक प्रक्रिया पुर्याउन मन्त्रीसमक्ष माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए । महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायको सहभागिता रहने गरी ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्नसमेत माग गरेको छ । देशभर ३६५ सङ्घसंस्था आबद्ध रहेको महासङ्घमा ३ लाख ८० हजार सवारीसाधन आबद्ध रहेका छन् । वि.सं. २०३६ मा स्थापना भएको महासङ्घमा हाल प्रत्यक्ष ११ लाख र अप्रत्यक्षयरूपमा ४० लाख श्रमिक आबद्ध रहेका छन् । उक्त महासङ्घअन्तर्गत देशका न्यून तथा मध्यम वर्गीय व्यवसायीको १० खर्ब रुपैयाँ लगानी रहेको छ । भेटमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने बताए । ‘यातायात व्यवसायी र यातायात क्षेत्रका श्रमिकले राखेको राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नका लागि मन्त्रालयले कार्यदल निर्माण गरेको उनको भनाई छ । उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए । भेटमा मन्त्रालयका सचिव इञ्जिनीयर केशव शर्मा, महासङ्घका उपमहासचिव पुरुषोत्तम सिंखडा, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीको सहभागिता थियो ।

२० प्रतिशत लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीले २४ औँ बार्षिक साधारणसभा फागुन १२ केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजे बोलाएको हो । लघुवित्तको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ । साथै, सञ्चालक समितिका सदस्यहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । यस्तै, संस्थाको अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं महानगरले मेयर्स रिसर्च फेलोसिप प्रोग्राम २०२३ सञ्चालन गर्दै, १० जना छनोट हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप प्रोग्राम २०२३ सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले मेयर्स रिसर्च फेला्सिप प्रोग्राम २०२३ सञ्चालन गर्ने भएको हो । काठमाडौं महानगरपालिकाले महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा सञ्चालन गर्न लागिएको हो । उक्त फेलोसिपका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको हो । महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धान मार्फत् तथ्यमा आधारित नीति निर्माण गर्न एवम् कार्यमूलक अनुसन्धान मार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सघाउ पुर्याउने उद्देश्यले फेलोसिप सञ्चालनमा ल्याउन लागिएको बताएको छ । फेलोसिपमा भाग लिन योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले ३५ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्न आह्वान गरेको हो । अनुसन्धान प्रस्ताव काठमाडौं महानगरपालिकासँग सम्बन्धित हुनुपर्नेछ । इतिहास, कला संस्कृति, परम्परा, भाषा, साहित्य, शहरी योजना, शहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन, शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य जीवन स्तर, स्थानीय आर्थिक विकास, शहरी वित्त, उद्यमशीलता, मानव संसाधन विकास, शहरी अनौपचारिक क्षेत्र, गरिबी, अनधिकृत बसोबास, वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, कानून, शासन र सूचना तथा सञ्चार, नवीन सोच आदि विषयमा अनुसन्धान गरेको हुनुपर्नेछ । सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी २ वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको हुनुपर्नेछ । महानगरपालिकाले उक्त अनुसन्धानका लागि ६ महिनाका लागि १० जनालाई छनोट गर्नेछ ।

सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबरको प्रतिशेयर १ सय दरका ३३ लाख ३२ हजार ५ सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका-१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका-१ तथा भिक्वाखोला गाउँपालिका-१ र २, मेरिङदेन गाउँपालिका-२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका-१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत शेयर निष्कासन गरेको हो । त्यस्तै सर्वसाधारणका लागि ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

पुर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । पुर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै आईपीओ निष्काशनको अन्य प्रक्रियाको काम प्रभु क्यापिटलले गर्नेछ । पुर्वाञ्चल ल्युव आयल र प्रभु क्यापिटलबीच माघ १८ गते आईपीओ बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ । पुर्वाञ्चल ल्युव आयलका प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका प्रबन्ध संचालक दिनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका छन् । पुर्वाञ्चल ल्युव आयलको रजिष्टर्ड कार्यालय सुन्दरहरैचा ९ मोरङ्गमा रहेको छ । कम्पनीले विगत २३ बर्षदेखि पीएलओ ब्राण्डका ल्युब्रीकेन्ट उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । कम्पनीको उत्दपादन ल्युब्रीकेन्ट नेपालभर ९० भन्दा बढी डिलर, ५ हजारभन्दा बढी खुद्रा व्यापारी र २ लाखभन्दा बढी ग्राहकहरुले उपयोग गरिरहेको छन् । विदेशबाट आयातीत ल्युब्रीकेन्टलाई प्रतिस्थापन गर्न कम्पनीले योगदान गरिरहेको छ ।