
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।
महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो ।
२० वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न मिल्ने सवारी साधनलाई सञ्चालनका लागि आवश्यक प्रक्रिया पुर्याउन मन्त्रीसमक्ष माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायको सहभागिता रहने गरी ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्नसमेत माग गरेको छ । देशभर ३६५ सङ्घसंस्था आबद्ध रहेको महासङ्घमा ३ लाख ८० हजार सवारीसाधन आबद्ध रहेका छन् ।
वि.सं. २०३६ मा स्थापना भएको महासङ्घमा हाल प्रत्यक्ष ११ लाख र अप्रत्यक्षयरूपमा ४० लाख श्रमिक आबद्ध रहेका छन् । उक्त महासङ्घअन्तर्गत देशका न्यून तथा मध्यम वर्गीय व्यवसायीको १० खर्ब रुपैयाँ लगानी रहेको छ ।
भेटमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने बताए । ‘यातायात व्यवसायी र यातायात क्षेत्रका श्रमिकले राखेको राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नका लागि मन्त्रालयले कार्यदल निर्माण गरेको उनको भनाई छ । उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए ।
भेटमा मन्त्रालयका सचिव इञ्जिनीयर केशव शर्मा, महासङ्घका उपमहासचिव पुरुषोत्तम सिंखडा, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीको सहभागिता थियो ।