कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण शुरु गरेको छ । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण शुरु भएको हो । सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।
बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताए । ‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ’, उनले भने, ‘ल्याब, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन ।’ उनले अस्पताल सञ्चालनमा आएमा यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए ।
स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम शुरु गरेको’, स्थानीय गणेश भट्टले भने, ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’ हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । रासस