विकासन्युज

शुभम पावरको आईपीओ २ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?

काठमाडौैं । शुभम पावर कम्पनीको आईपीओमा ३१.२८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा १३ लाख ६० हजार ९७ जनाले १ करोड ५० लाख ७३ हजार ६४० कित्ता सेयरका लागि १ अर्ब ५० करोड ७३ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत् अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता सेयर खुला गरिएको थियो । जसमध्ये १० प्रतिशत् अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ । कम्पनीले माघ १८ गतेदेखि माघ २२ गतेसम्म २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुको लागि र बाँकी ४ लाख ८१ हजार ८८२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ४८ हजार १८८ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २ कित्ता बाँकी रहन्छन् । २ जना आवेदकलाई भने बाँकी रहेको २ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गर्नेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।

साना किसान लघुवित्तले मोटरसाईकल बेच्दै, मूल्य साढे १५ हजारदेखि ६७ हजार

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्तले देशभरिका विभिन्न स्थानमा रहेका १६ वटा मोटरसाईकल बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्रीमा राखिएको मोटरसाईकलको न्यूनतम मूल्य साढे १५ हजारदेखि ६७ हजार रुपैयाँसम्म रहेको छ । सन् २०१३ मा बनेको यमाहा एसएस १२५ मोडल को १७ प ७४३ नम्बरको मोटरसाईकल विर्तामोड कार्यालयमा बिक्रीमा राखेको हो । उक्त सवारीको न्यूनतम मूल्य ४१ हजार रुपैयाँ तोकिएको छ । यस्तै, यमाहा वाइबीआर १२५ मोडल को १० प ८७६३ नम्बरको मोटरसाईकलको न्यूनतम २९ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै, सन् २०१३ मा बनेको होण्डा सुपर स्पेलेण्डर १२५ मोडल भे ४ प ४१७९ नम्बरको मोटरसाईकलको न्यूनतम २४ हजार ३ सय रुपैयाँ, सन् २०१४ मा बनेको होण्डा सीबी साइन १२५ मोडल को १७ प ६९८८ नम्बरको मोटरसाईकलको न्यूनतम ३४ हजार ५ सय रुपैयाँ, सन् २०११ मा बनेको यमाहा वाइबीआर १२५ मोडल को १० प ५६८४ नम्बरको मोटरसाईकलको न्यूनतम २७ हजार २ सय रुपैयाँ र सन् २०१२ मा बनेको होण्डा साइन १२५ मोडल लु १४ प ५८०६ नम्बरको मोटरसाईकलको न्यूनतम ३५ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, सन् २०१५ मा बनेको होण्डा साइन १२५ मोडल लु २२ प २४४२ नम्बरको मोटरसाईकलको न्यूनतम ६७ हजार २ सय रुपैयाँ, सन् २०१० मा बनेको यमाहा वाइबीआर १२५ मोडल लु १० प ४५१३ नम्बरको मोटरसाईकलको न्यूनतम २६ हजार ५ सय रुपैयाँ र सन् २०१६ मा बनेको बजाज पल्सर १५० मोडल बा ७५ प ३७४३ नम्बरको मोटरसाईकलको न्यूनतम मूल्य ६० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, सन् २०१२ मा बनेको यमाहा एसएस १२५ मोडल बा ५४ प १२७९ नम्बरको मोटरसाईकलको न्यूनतम ३७ हजार रुपैयाँ, सन् २०१४ मा बनेको यमाहा एसएस १२५ मोडल ग ९ प ४९५५ नम्बरको मोटरसाईकलको न्यूनतम ३६ हजार ५ सय रुपैयाँ, सन् २०१३ मा बनेको सुजुकी १५० मोडल बा ५९ प ३४४८ नम्बरको मोटरसाईकलको न्यूनतम ४८ हजार रुपैयाँ र सन् २०१३ मा बनेको होण्डा सीबी साइन १२५ मोडल ना २६ प ६९० नम्बरको मोटरसाईकलको न्यूनतम ३० हजार रुपैयाँ तोकिएको छ । यस्तै, सन् २०१० मा बनेको यमाहा वाइबीआर १२५ मोडल ज ३ प ८३५१ नम्बरको मोटरसाईकलको न्यूनतम १५ हजार ५ सय रुपैयाँ, सन् २०१२ मा बनेको यमाहा वाइबीआर १२५ डीएक्स मोडल ज ५ प ७११३ नम्बरको मोटरसाईकलको न्यूनतम २८ हजा ५ सय रुपैयाँ र सन् २०१६ मा बनेको सुजुकी एसजेठ १५० मोडल ज ८ प ९१९५ नम्बरको मोटरसाईकलको न्यूनतम ४९ हजार ५ सय रुपैयाँ तोकिएको छ । लघुवित्तले उक्त मोटरसाईकल जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने जनाएको छ । उक्त मोटरसाईकलका लागि फागुन १० गते, ११ गते र १२ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

२० हजार कित्ता किन्न पाइने सुपरमाई हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं । सुपरमाई हाइड्रोपावरले आज (माघ २३ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपश्चात् आजदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । बाँकी रहेको २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सञ्चार प्रतिष्ठानमा अप्रिय घटना घटे जिम्मेवारी अध्यक्ष लामिछानेले लिनुपर्छ : पत्रकार महासंघ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । आइतबार गरिएको पत्रकार सम्मेलनमा लामिछानेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रमा आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै ध्यानाकर्षण भएको बताएको हो । साथै, लामिछानेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गर्दै धम्किपूर्ण अभिव्यक्ति दिएको आरोप महासंघले लगाएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको समेत बताईएको छ । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्छ, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिईनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघले बताएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, नेपाल प्रेस युनियनले पनि रास्वपाका सभापति लामिछानेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक रहेको युुनियनले बताएको छ । ‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन्,’ युनियनले विज्ञप्तिमा भनिएको छ ।

चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो । प्रदेशमन्त्री परिषद्को यही माघ १० गतेको निर्णयानुसार उक्त कार्यदल गठन गरिएको थियो । उक्त कार्यदल आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय थियो । कार्यदलको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने बताए । उनले प्रतिवेदनमा औँल्याइएका विषयलाई प्रदेशका सबै निकायले कार्यान्वयन गर्ने र त्यसका लागि आवश्यक निर्देशन दिइने उल्लेख गरेकाे मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए । मुख्यमन्त्रीले कम्तीमा पनि १५ प्रतिशत चालू खर्च कटौती गर्ने बताएका छन् ।

पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताए । ‘पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो’, उनले भने, ‘तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।’ सरकारले पत्रकारका लागि दुर्घटनामा बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको स्पष्ट पारे । नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएका काम गर्न आग्रह गरे । नेकपा (एमाले) का उपमहासचिव एवं चौतारीका इन्चार्ज पृथ्वीशुब्बा गुरुङले सबैभन्दा योग्य र भरोसायुक्त श्रमजीवीहरुको सङ्गठनका रुपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिए । चौतारीको स्थापना दिवसका अवसरमा डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कार प्रदान गरिएको छ । अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई प्रदान गरिएको छ । सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई उपप्रधानमन्त्री पौडेलले प्रदान गरे । चौतारीले क्रियाशील रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

आर्थिक क्रियाकलापमा नयाँ संकट

काठमाडौं । दक्षिण एसियामा नव–उदारवादी अर्थ व्यवस्थाको प्रभाव बढ्दै गएकाले आर्थिक क्रियाकलापमा नयाँ सङ्कट देखा परेकामा दक्षिण एसियाली मार्क्सवाद अनुसन्धान सङ्गठनले चिन्ता व्यक्त गरेको छन् । यहाँ आज आयोजित कार्यक्रममा विश्वका वामपन्थी कम्युनिष्ट आन्दोलनका अगुवाले उदारवादको संशोधित रुप नवउदारवाद भएको बताउँदै यसले निजी व्यवसाय, उद्यमलाई प्राथमिकता दिने हुँदा सामाजिक सहयोग तथा मूल्य मान्यतामा कमी आउने बताएका हुन् । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले नवउदारवादमा आर्थिक उदारीकरण, विश्वव्यापीकरण, निजीकरण, अर्थतन्त्र र समाजमा निजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती, स्वतन्त्र बजार र खुला अर्थतन्त्रको अवधारणाको विकास भएको बताउँदै यस अर्थ व्यवस्थाले सामाजिक तथा सांस्कृतिक मान्यता न्यूनीकरण गर्ने चुनौती ‍औंल्याए । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश इन्चार्ज सावित्रा भुसालले नवउदारवादको प्रयोगले उत्पादनका साधन र स्रोतमा राज्यको नियन्त्रण खुम्चने हुँदा खुला बजार, निजीकरणका रुपमा उद्यमीले बजारमा नियन्त्रण गर्ने र सरकारले आवश्यक हस्तक्षेप गर्न नसक्ने समस्या रहेको बताइन् । किसान अगुवा प्रमेश पोखरेलले उत्पादनका सबै क्षेत्रमा नवउदारवादीले प्रभाव पार्ने भए पनि कृषि क्षेत्रमा गरिने नयाँ बीउबिजनका प्रयोगले मौलिक उत्पादन लोपोन्मुख भई सामाजिक पहिचानमा पनि ह्रास आउने खतरा रहेको प्रस्ट पारे । भारतका सुजना पुडापाटी, पाकिस्तानका तेमुर रहमान, बङ्गलादेश वर्कर पार्टीका समसिर, दक्षिण अफ्रिकाका बास्ना पिथौसका साथै संयुक्त राज्य अमेरिकाका प्रतिनिधिले यस्तो अर्थ प्रणालीमा पूँजीलाई स्वतन्त्र आवतजावत गर्न निजी क्षेत्रले स्वतन्त्र व्यापारको समर्थन गर्ने, आर्थिक लाभ कायम गर्ने भएकाले राष्ट्रिय पूँजी सञ्चयमा सङ्कट आउने धारणा राखे । आर्थिक उदारीकरण र लोककल्याणकारी राज्यमा भएका आर्थिक सुधारका साथै आर्थिक तथा राजनैतिक स्वतन्त्रतामा एकरुपता नहुने विज्ञहरुको सुझाव थियो । रासस

एक महिनामै ८७ करोडको बीमा पोलिसी सरेन्डर, कसको कति ?

काठमाडौं । गत पुस महिनामा मात्रै ८७ करोड ४३ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी समर्पण (सरेन्डर) भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा ६ हजार ७८२ वटा बीमालेखबाट सो मात्राको बीमा पोलिसी सरेन्डर भएका हुन् । सञ्चालित १८ वटा बीमा कम्पनीका बीमितहरुले एक महिनामै ६ हजार ७८२ वटा बीमालेखबाट पोलिसी निश्चित समय अगावै त्यागेका हुन् । जसमध्ये नेपाल लाइफका बीमितले सबैभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर गरेका छन् । सो अवधिमा २ हजार ८३५ वटा बीमालेखबाट ४३ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । त्यस्तै, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सबैभन्दा बढी रकमको अर्थात ९ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा कम्पनीको १६७ वटा बीमालेख समय अगावै समर्पण भएका छन् । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कर्पोरेशनका बीमितहरुले ८ करोड २३ लाख र राष्ट्रिय बीमा संस्थानका बीमितहरुले ७ करोड ७३ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् । कसको कति ? मेट लाइफ, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ र सानिमा लाइफको एक करोडभन्दा बढी वा ५ करोडभन्दा कम रकमको बीमापोलिसी सरेन्डर भएका छन् । जसमा मेट लाइफको ३ करोड ६ लाख, एशियनको ३ करोड ६८ लाख, गुराँसको २ करोड ६ लाख, प्राइमको २ करोड १२ लाख, युनियनको १ करोड ३६ लाख र सानिमा लाइफको एक करोड १३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । एक महिनामै यी ६ कम्पनीका बीमितहरुले क्रमशः ३२७, ४९८, २४६, ३७०, ९५ र ४५ वटा बीमालेख त्यागेका हुन् । एक करोड रुपैयाँभन्दा कम रकमको पोलिसी सरेन्डरमा गर्नेमा अन्य ८ कम्पनीका बीमितहरु रहेका छन् । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि सन नेपाल लाइफको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । सरेन्डर भएका बीमालेख संख्याको आधारमा पनि सन नेपालकै सबैभन्दा कम छ । एक महिनामा कम्पनीको १० वटा बीमालेखबाट १० लाख ८४ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।