काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए ।
पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उनले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताए । आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवद्र्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सङ्ग्रहालयलाई मनोरञ्जनभन्दा पनि ज्ञानको भण्डारका रूपमा लिइनुपर्नेमा जोड दिँदै आवश्यक सामग्री सङ्कलनसँगै प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा.गणेशबहादुर गुरुङले पर्वतीय सङ्ग्रहालय विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय भएको दाबी गर्दै यसलाई शैक्षिक एवं जीवनपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले सङ्ग्रहालयमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्ने गरेको तर सङ्ग्रहालय अहिले पनि आत्मनिर्भर बन्न नसकेको बताए ।
यसअघि मुख्यमन्त्री अधिकारी र मन्त्री गुरुङले सङ्ग्रहालय स्थापनाकालमा योगदान गर्ने डा.हर्क गुरुङ, खड्कविक्रम शाह र दावानर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यापर्ण गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेपाल पर्वतारोहणको झण्डोत्तोलन गर्दै, सङ्ग्रहालय परिसरमा तेजपातको बिरुवा रोपिएको थियो ।