विकासन्युज

ग्लोबल आइएमई बैकले २७ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले साविक बैंक अफ काठमाण्डूलाई गाभेपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका २७ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले १५ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । बैंक अफ काठमाण्डूका बनेपा काभ्रे, बेनी म्याग्दी, विराटचोक मोरङ, दमक झापा, दमौली तनहुँ, गौर रौतहट, गोठाटार, त्रिपुरेश्वर काठमाडौं, जितपुर बारा, कपिलवस्तु, खाँदबारी संखुवासभा, दिक्तेल खोटाल, लम्की कैलाली, महाराजगंज काठमाडौं, निजगढ बारा, नवलपरासी, पर्सा, भक्तपुर र वालिङ स्याङ्गजाका साविक शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालयहरु अनामनगर, ठमेल काठमाडौं, गुलरिया बर्दिया, लमही दाङ्ग, पनौती काभ्रे, पुल्चोक ललितपुर, टिमुरे र नारायणघाट भरतपुरका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।

एनआइसी एशिया लघुवित्तले माग्यो ३० जना कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ३० जनाका लागि कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर बरिष्ठ सहायक/ शाखा प्रमुखका लागि ५ जना, सहायक पदका लागि १० जना र कनिष्ठ सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

पाठ्यक्रम निर्माणमा दक्ष जनशक्तिको अभाव, उच्च शिक्षा हासिल गरेका विद्यार्थी विदेश पलायन हुँदा समस्या

काठमााडौं । नयाँ पाठ्यक्रम निर्माण तथा परिमार्जनमा दक्ष जनशक्तिको अभाव देखिन थालेको छ । पाठयक्रम विकास केन्द्रले पछिल्लो समय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न जनशक्तिको समेत अभाव खेप्नु परेको गुनासो गरेको हो । सीमित जनशक्तिको बीचबाट नै वर्षेनी काम गर्दै आउनु परेको केन्द्रको भनाइ छ । पाठयक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले पछिल्लो समय पढे लेखेका जनशक्ति विदेश पलयान हुँदा पाठ्यक्रम निर्माणमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव हरेको बताए । ‘पाठ्यक्रम विकास र मूल्यांकनको पाटोमा ‘स्टल एक्सपर्ट’को अभाव छ’, उनले भने, ‘कन्टेटलाई बुझेको विकसित परिस्थितिलाई व्यवहारमा ढालेर उदाहरणसहित व्यवहारिक विधिबाट शिक्षण गर्ने, पाठ्यपुस्तक लेख्ने र पाठ्यक्रम निर्माण गर्ने मान्छेहरुको संख्या अत्यन्तै सीमित छ। यसका बाबजुत पनि हामी काम गरिरहेका छौं ।’ त्यस कारण पनि नेपालको सामाजिक विविधतालाई पनि पाठ्यक्रम निर्माणमा समेट्न नसकिएको अर्याल बताउँछन् । पाठयक्रम विकास केन्द्रले प्रत्येक ५ वर्षमा पाठ्यक्रम र पाठ्यपुस्तकमा सामान्य परिमार्जन र १० वर्षमा पूर्ण परिमार्जनको अभ्यास गर्दै आएको छ । ५ दशकदेखि केन्द्रले सो क्षेत्रमा काम गर्दै आएको छ । विगतको तुलनामा नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकमा विद्यार्थीहरुको रुची बढ्दै वा घट्दै गएको भन्ने विषयलाई भने उसले कुनै मूल्यांकन गरेको छैन । त्यसको लागि पाठ्यक्रम विकास केन्द्रसँग कुनै नीति वा संयन्त्र छैन । केन्द्रले विद्यालय स्तरको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनका लागि वर्षेनी १० करोड भन्दा धेरै खर्च गर्ने गर्छ । तरपनि नेपालको विद्यालय शिक्षा प्रभावकारी बन्न सकेको छैन भन्ने कोणबाट उठेका केही प्रश्नहरु पाठ्यक्रम विकास केन्द्रतर्फ पनि सोझिएका छन् । खस्कँदो विद्यालय शिक्षामा पाठ्यक्रम पाठ्यपुस्तकका कमजोरी मुख्य नभएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको भनाइ छ । विद्यार्थीहरुका रुची र क्षमतालाई पाठ्यक्रम निर्माण गर्ने क्रममा कम ध्यान दिएको विषय महानिर्देशक अर्याल स्वीकार गर्छन । ‘केही विद्यार्थीले पाठ्यपुस्तकमा रुची देखाएको पनि देखिन्छ, पाठ्यपुस्तकमा रुची छैन किन भन्न सकिन्न भने पाठयपुस्तक समयमा पुगेन भने हामीले समाचारहरुमा हाहाकार भएको पढिरहेका हुन्छौं’, उनले भने, ‘त्यसैले पाठ्यपुस्तकप्रति सबैको लगाव छ, विश्वास छ भन्ने म्यासेज पनि हो ।’ विश्वका विकसित मुलुकहरुले क्षमतावान जनशक्ति उत्पादनका लागि विद्यार्थीको रुचीसँग पाठ्यपुस्तक र सिकाई विधिलाई तालमेल मिलाउने प्रयत्न बढी भन्दा बढी गरिरहेका हुन्छन् । तर, केन्द्रसँग विद्यार्थीको रुचीको विषयमा अध्ययन गर्ने स्रोत, साधन र जनशक्ति नभएको महानिर्देशक अर्याल बताउँछन् । भोलिको दिनमा विद्यार्थीको रुचीको विषयलाई पनि अध्ययन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने सन्दर्भमा अन्य प्रविधिको क्षेत्रमा जस्तो विदेशी जनशक्ति खरिद गर्ने अभ्यास संसारभरी नै गरिँदैन । महानिर्देशक अर्यालले केन्द्रले पनि नेपाली जनशक्तिलाई नै प्रयोग गर्ने र थप विकास गर्दै लैजाने अभ्यास गरेको बताउँछन् । ३ दशक यताको नेपाली विद्यालय शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई हेर्दा धेरै विकास भएको आफूले पनि अनुभव गरेको अर्याल सुनाउँछन् । पाठ्यक्रम विकासको कोणबाट हेर्दा दक्षिण एशिया क्षेत्रमा नेपाल समान स्थानमा रहेको महानिर्देशक अर्यालको बुझाइ छ । तर, अमेरिकन र युरोपियन क्षेत्रले विकास गरेको पाठ्यक्रममा भने नेपाल पछाडि रहेको उनी बताउँछन् । ‘साउथ एशियनमा ग्रेड १,२,३ बाट इन्टिग्रेटेड एप्रोचलाइजरमा हामीले पहिलो अभ्यास गर्दैछौं, यसको अरुले डुब्लिकेसन गर्न खोजिरहेको देखिन्छ’, उनले भने, ‘तर, युरोपियन र अमेरिकन देशहरुलाई हेर्यो भने फेरि हामी केही पछाडि छौं, किनकी त्यहाँको सन्दर्भ र हाम्रो सन्दर्भ मिल्दैन ।’ विकसित मुलुकहरुले सीमित विद्यार्थीलाई धेरै शिक्षकहरुको मार्फत व्यवहारिक माध्यमबाट अध्यापन गर्ने विधि भएकोमा नेपालमा धेरै संख्याका विद्यार्थीहरुलाई सैद्धान्तिक रुपमा अध्यापन गर्नुपर्ने अवस्था रहेको महानिर्देशक अर्याल बताउँछन् । विकसित मुलुकहरुले अध्यापनमा प्रविधिको भरपुर प्रयोग गर्ने गरेकोमा नेपाल भर्खरै शुरुवातको अवस्थामा रहेको समेत उनको भनाइ छ । खस्कँदै गइरहेको विद्यालय शिक्षामा पाठ्यक्रम र पाठ्यपुस्तकलाई मात्रै दोष दिन नहुने अर्यालको भनाइ छ । ‘पाठ्यक्रममा सुधार गर्नुपर्ने ठाउँ त होला तर, हाम्रो पाठयक्रममा आवश्यक विषयवस्तुको कमि छैन, जुन अन्य देशको तुलनामा कमि छैन’, उनले भने । मुख्य विषय पाठ्यक्रमलाई लागू गर्ने पाटो भएको उनको भनाइ छ । ‘कक्षाकोठाभित्र त्यसको डेलिभरी कसरी हुन्छ, पेडागोजिकल र कन्टेन्टको हिसाबले कसरी लागू भयो भन्ने पनि महत्वपूर्ण हुन्छ’, उनले भने, ‘नियमित कक्षा भयो कि भएन, शिक्षकले कत्तिको डिभोटी बनेर पढायो की पढाएन, शिक्षकको क्षमता सोही अनुसार विकास भयो की भएन, अहिलेको आधुनिक प्रविधिअनुसार प्रयोग भयो की भएन सो अनुसार कार्यान्वयनको पाटो पनि महत्वपूर्ण हुन्छ ।’ ‘किन विद्यार्थीहरु पढेपछि भिसा लाग्ने मात्रै वातावरण बन्यो भन्ने सन्दर्भलाई हेर्दा हामीले जति राम्रो पाठ्यक्रम लागू गरेपनि पढेपछि विद्यार्थीहरुलाई देशभित्र नै रोजगारी सिर्जना गर्ने किसिमको वातावरण बन्दैन भने पाठ्यक्रम मात्रै राम्रो बनेर के गर्न सकिन्छ र ?’, महानिर्देशक अर्यालले भने । नेपाली विद्यार्थीहरुले विदेशी मुलुकका विश्वविद्यालयमा गएर उत्कृष्टता पदर्शन गर्न सक्ने, रोजगारी प्राप्त गर्न सक्ने तर नेपालमा त्यो नभएकोमा पाठ्यक्रमलाई दोष लगाउन नमिल्ने उनको भनाइ छ । ‘यहाँ पढेको विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, अमेरिका गएर रोजगारी पाउन सक्ने तर नेपालमा पाउन नसक्ने भनेपछि हामीले रोजगारीको क्षेत्र विस्तार गर्न सकेका छैनौ भन्ने हो’, अर्यालले भने । अस्थायी शिक्षकहरुलाई औसतमा स्थायी गर्ने र शिक्षकहरुको क्षमता विकासलाई ध्यान नदिँदा पनि नेपालको शैक्षिक गुणस्तर अपेक्षित रुपमा विकास हुन नसकेको महानिर्देशक अर्यालको बुझाई छ । पाठ्यक्रमलाई थप परिमार्जित र विस्तारित गर्दै लैजाने भनेको नियमित काम भएको अर्यालको भनाइ छ । ‘समयको मागअनुसार, समाजको आवश्यकताअनुसार, अन्य मुलुकमा विकास भएका विषयवस्तु अनुसार, प्रविधिअनुसार र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशअनुसार पनि पाठ्यक्रममा परिमार्जन हुन्छ, यो भनेको जतिबेलापनि सम्भावना रहन्छ’, महानिर्देशक अर्यालले भने । पाठ्यक्रमको कारणले मात्रै उत्कृष्ट जनशक्ति उत्पादन नभएको तर्कमा आफू सहमत नभएको उनको भनाइ छ । नयाँ संविधान र नयाँ व्यवस्थासँगै पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरको पाठयक्रम र पाठ्यपुस्तक एक चरण परिमार्जन गर्ने काम सम्पन्न गरेको छ । सोसँगै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले नयाँ पाठ्यक्रममा आधारित नयाँ पाठ्यपुस्तक पढ्न पाएका छन् ।

सफ्टवारिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २ सय विद्यार्थीलाई आईटीमा रोजगारी दिने

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ईकमर्स काठमाडौंले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएचसँग साझेदारी गरेको छ । सम्झौता अनुसार जर्मनीको सो टेक कम्पनीले सफ्टवेरिका कलेजका २ सय भन्दा बढी विद्यार्थीहरूलाई नेपाल र जर्मनीमा आईटी क्षेत्रमा रोजगारी दिनेछ । एआरआरटीएसएम जीएमबीएच जर्मनको अत्याधुनिक रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा पायोनियर कम्पनी हो । सफ्टवारिका कलेज र सफ्टएड ग्रुप अफ कम्पनीजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्टवारिका कलेज शिक्षामा नवीनतम प्रविधि र व्यावहारिक आधारमा प्राविधिक जनशक्ति विकास गर्न सधैं अग्रपंक्तिमा रहेको बताए । उनले भने, ‘यो पहल हाम्रा आन्तरिक विद्यार्थीहरूका साथै देशभरका प्राविधिक अनुसन्धानकर्ताहरूका लागि नेपालमा उच्चस्तरीय प्राविधिक अनुसन्धान प्रयोगशाला सिर्जना गर्न एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो ।’ सफ्टवारिका कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई विश्वस्तरीय उत्कृष्ट सिकाइ अनुभव दिलाउनका लिग कलेजले काम गर्दै आएको बताए । उनले भने, ‘हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्छौं ताकि हाम्रा विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट प्राविधिक संस्थाहरूसँग सिकाइ अनुभव प्रदान गर्न सकियोस् ।’ उनले यो साझेदारीले विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण हुने विश्वास गरे । एआरआरटीएसएम जीएमबीएचका प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर गौलीले यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्‍याउन यो सम्झौता महत्वपूर्ण भएको बताए । उनले भने, ‘आईटी शिक्षा र अनुसन्धानमा विश्वसनीय ट्रयाक रेकर्ड भएको नेपालको यस्तो प्रतिष्ठित शैक्षिक संस्थासँग साझेदारी गर्न पाउँदा मलाई असाध्यै आनन्द र सन्तुष्टि मिलेको छ, यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्‍याउने विश्वास लिएको छु ।’ उनले आफू युवा प्रतिभासँग काम गर्न निकै उत्साहित रहेको बताए । उनले भने, ‘युवा पुस्तालाई प्रविधि हस्तान्तरण हाम्रो सहयोगको मुख्य उद्देश्य हो ।’ यो सम्झौताले भावी पुस्ताका लागि ठूलो अवसर सिर्जना गर्ने उनले बताए ।

प्रभु बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच फास्ट बैंकिङ्ग सेवाको लागि सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिनेछ । फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने बैंकले जनाएकाे छ ।  । फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्गमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।    

हिमालयन र सिभिल बैंकलाई राष्ट्र बैंकको डेडलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि ‘डेडलाइन’ तोकेको छ । राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मका लागि डेडलाइन तोकेको हो । मर्जरका लागि अन्तिम स्वीकृति दिँदै राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई १ महिनाभित्र अर्थात् फागुन १६ गतेभित्र एकीकृत कारोबार गर्न भनेको हो । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले १० गते एकीकृत कारोबार गर्ने निर्णय भएको बताए । तर, सिभिल बैंकका सीईओ सुनिल पोखरेललाई मातृ शोक र हिमालयन बैंकका सीईओ अशोक राणालाई पितृ शोक पर्दा एकीकृत कारोबार सर्ने होकि भन्ने समस्या पनि देखिएको सञ्चालक बोगटीले बताए । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर संग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिदाँ १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडौँको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, इसिजी/इको/युएसजी, टिएमटी, डिजिटल एक्सरे, डेन्टल सर्भिसलगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ ।  चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्धनमा सघाउ पुग्दै आइरहेको छ ।

नाग्म–गमगढी सडक कालोपत्र गरिने

मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्र गरिने भएको छ । चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो । त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए । हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ । चौलागाईंले भने, ‘पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ । बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरु हुनेछ ।’ थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए । नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रको काम हुनेछ । नाग्म–गमगढी सडक कालोपत्र गर्न ४० करोड खर्च हुने भएको छ । कालोपत्रसँगै अन्य नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायतका काम हुनेछन् । समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । उनले भने, ‘नाग्म–गमगढी सडक ग्राभेल गरिएको छ । गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ ।’ सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ । कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म–गमगढी सडक कालोपत्रको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए । रासस