विकासन्युज

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारे । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ थियो । ‘हरेक पार्किङस्थलबाट दुईदेखि तीन मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ’, प्रमुख कोइरालाले भने, ‘विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्छन् भने हाम्रो भन्नु केही छैन । तर विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईँहरूले सहयोग गर्नुहोस् ।’ बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको अवस्थामा सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहजरूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको प्रमुख कोइरालाको भनाइ थियो । उपप्रमुख शिल्पा निराला कार्कीले यात्रु र आमसर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । उनले भने, ‘विराटनगर हामी सबैको हो, हामी सबै मिलेर लाग्यौँ भनेमात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौँ ।’ वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीलाई आग्रह गरे । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको जानकारी दिए । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । छलफलमा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार सङ्घका महासचिव अनिल सारडा, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्रीले महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै सडकमा पार्किङ गर्न दिएर सवारीसाधनलाई एकतर्फी सञ्चालन (वानवे) बनाउन आग्रह गर्दै आएका थिए । रासस  

महिला र पुरूषमा समान काम, असमान ज्याला

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्छिन् । बेरोजगार भएकै कारण उनी जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्छिन् । टीकापुर बजारमा घर निर्माण भइरहेका ठाउँमा इँटा बोक्ने, माटो, बालुवा, ढुङ्गा बोक्ने काम गर्छिन् । तर दिनभरिको ज्याला साढे चार सयमात्र पाउँछिन् । ‘चार वर्षदेखि घर निर्माणमा खटेका मिस्त्रीसँगै सबै काम गर्छु’, उनले भनिन्, ‘१२ किलोमिटर दैनिक साइकल चलाएर आउँछु, दिनभरि आठ घण्टा बढी काम गर्छु । बेलुका थकानसँगै चार सय ५० लिएर घर फर्कन्छु ।’ उनी काम नगरे पेट भर्न समस्या हुने, गरौँ भने निकै श्रम खर्चनुपरिरहेको बताइन् । ‘अहिले त जवान छु । सकेको गरेर पेट पालेको छु’, उनले भनिन्, ‘हाम्रो ज्याला बढाइदिएको भए पनि हुन्थ्यो । हामीलाई सजिलो काम स्थानीयस्तरमै पाए पनि हुन्थ्यो । यसरी कडा श्रम गरेर जीवन कति दिन चलाउन सकिएला ?’ घर निर्माण गर्ने ठाउँमै ज्यालादारी गर्ने कृष्णा चौधरी पनि मिस्त्रीको सहयोगीका रूपमा काम गर्छन् । उनले कहिले आठ, कहिले नौ घण्टा बढी काम गर्छन् । तर पाउने पारिश्रमिक त्यही चार सय ५० नै हो । दिनभरि माटो, ढुङ्गा र बालुवामा खेल्दा हात काटिने, चोटपटक लाग्ने डर हुन्छ । ‘बाध्यता छ, काम नगरी घर चल्दैन, काम गर्दा जोखिम बढी हुन्छ’, उनले भने, ‘हिजो हात काटियो, इँटा खसेर खुट्टामा पनि चोट लागेको छ । हात फुट्ने, चोट लाग्नेजस्ता कुरा सामान्य भइसके ।’ उनीहरूसँगै घर चिन्ने काम गर्ने पप्पु दासले भने दैनिक आठ सय ज्याला पाउँछन् । उनी आठ वर्षदेखि यही काम गरिरहेका छन् । काम कडा हुने र ज्याला महिला र पुरुषको फरक–फरक रहेको उनले बताए । ‘मैले घर चिन्ने काम गर्छु, मेरो काम कडा हुन्छ त्यसैले मेरो ज्याला अलि बढी हुन्छ’, उनले भने,  ‘महिलाहरू सहयोगीको काम गर्ने भएकाले उनीहरुको ज्याला कम हुन्छ ।’ महिला र पुरुष कामदारमा पनि विभेद छ । महिला कामदारले चार सय ५० देखि बढीमा छ सयसम्म ज्याला पाएका छन् । तर त्यही काम गर्दा पुरुष कामदारले भने पाँच सय ५० देखि  एक हजार दुई सयसम्म पाउँछन् । ‘महिलालाई तीन खालको ज्याला दिइन्छ । सामान्य काम गर्नेलाई चार सय ५०, मसला बनाउन जानेकालाई रु पाँच सय र मिस्त्री काम जानेकालाई त्यसभन्दा बढी रु छ सयसम्म दिने गरेका छौँ’, डकर्मी व्यवसायी संगठन टीकापुरका अध्यक्ष देवदास मुन्सीले भने । ‘पुरुषको ज्याला पाँच सय ५० देखि एक हजार दुई सयसम्म छ । सामान्य काम गर्नेले पाँच सय ५० पाउँछन्, मिस्त्रीको सात सयदेखि एक हजार दुई सयसम्म छ’ उनले सुनाए । सहरी क्षेत्र होस् या ग्रामीण क्षेत्रमा हरेक वर्ष नयाँ घर निर्माण हुन्छन् । नयाँ घर निर्माण हुँदा काम गर्ने डकर्मी तथा मजदुर खटाइने गरिन्छ । विगतमा कच्ची काठले घर बनाउने, टायल तथा खरले छाउने गरिन्थ्यो तर आजभोलि अधिकांशका घर पक्की बन्छन् । पक्की बनाउन नसक्नेले पनि घरको छाना जस्तापाता लगाउने गर्छन् । जस्तापाता लगाउन नसक्नेलाई जनता आवासमार्फत सरकारले बनाइदिनेसमेत गरेको छ । यसरी घर बनाउँदा मिस्त्री तथा मजदुर चाहिन्छन् । यसरी मजदुरी गर्नेमा महिला र पुरुषबीच ज्यालामा विभेद गर्न नहुने महिला अधिकारकर्मी निर्मला कडायतको माग छ । ‘एउटै काम गर्ने पुरुष पाँच सय ५० ज्याला पाउँछ, त्यही काम गर्ने महिलालाई चार सय ५० मात्र दिनु विभेद हो’, उनले भने, ‘मिस्त्री काम जानेका महिलाले पनि ज्याला राम्रो पाउन सकेको देखिँदैन । यसमा स्थानीय सरकारले अनुगमन गर्न आवश्यक छ ।’ सरकारले बराबरी कामको बराबरी ज्याला दिन भने पनि कार्यान्वयनको अवस्था कमजोर छ । बाध्यता भएकाहरू कमै ज्याला दिए पनि काम गर्ने भएकाले यसरी बाध्यतामा काम गर्नेका विषयमा गम्भीर भएर सरकारले ज्यालामा भएको विभेद अन्त्य गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । रासस

चिया निर्यातबाट वार्षिक तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन

झापा। चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदैआएको छ । सोमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुनेगरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । उनले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदैआएको बताए । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदैआएको उनको भनाइ छ । उनले भने, ‘मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं १ मा हुनेगरेको छ ।’ प्रमुख अधिकारीले प्रदेश नं १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने बताए । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको उनको भनाइ छ । उनले मुलुकमा एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिए । बोर्डको तथ्याङ्कमा मुलुकमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । पन्ध्र हजारभन्दा बढी साना किसानले चियाखेती गर्दैआएका छन् । ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ । प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए । उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए । उनले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए । चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदैआएको छ । सोमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुनेगरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । उनले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदैआएको बताए । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदैआएको उनको भनाइ छ । उनले भने, ‘मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं १ मा हुनेगरेको छ ।’ प्रमुख अधिकारीले प्रदेश नं १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने बताए । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको उनको भनाइ छ । उनले मुलुकमा एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिए । बोर्डको तथ्याङ्कमा मुलुकमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । पन्ध्र हजारभन्दा बढी साना किसानले चियाखेती गर्दैआएका छन् । ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ । प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए । उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए । उनले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए । रासस

सनराइज बैंकले २०१८ र २०१९ मा बनेका इसुजु र किया कम्पनीका कार बेच्दै

काठमाडौं । सनराइज बैंकले धितोमा राखिएको सवारी साधनहरु लिलामीमा राखेको छ । बैंकबाट लिएको कर्जा भुक्तान गर्न पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको भैरहवा रुपन्देही शाखा कार्यालयले सांग्रीला ट्रेड कन्सर्नको नाममा दिएको कर्जा भुक्तान नभएपछि सवारी साधन बिक्री गर्ने भएको छ । जसमा जमानीकर्ताहरु सिद्धार्थनगर ७ रुपन्देहीमा बस्ने बुद्धी मणी शर्मा खरेल, प्रिया प्रधान र सिद्धार्थनगरपालिका ९ बस्ने विनोद खरेल रहेका छन् । सनराइज बैंक धनी भई ऋणी सांग्रीला कन्सर्नको नाममा यातायात व्यवस्था कार्यालय बागमतिमा दर्ता भएका १० वटा विारी लिलाममा राखेको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकले २०१८ र २०१९ मा इसुजु कम्पनीले बनाएका ९ वटा पिक अप र किया कम्पनीले बनाएको कार लिलाम गर्ने भएको हो । इसुजु कम्पनीका बा २१ च ९१२९, बा २१ च ५०९०, बा २१ च ५०८०, बा २१ च ५०९१, बा २१ च ५०९३, बा २० च ९०६६, बा २० च ९७१२, बा २१ च ५०३६, बा २१ च ९१३२ र किया कम्पनीको बा २० च ७८४२ नम्बरको सवारी साधन लिलामी गर्ने भएको हो ।

सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा आज माघ २४ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले माघ १० गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको सनराइज फोकस्ड इक्विटी फण्ड बिक्री खुला गरेको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गरेको हो । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

म्याग्दीमा १ करोडको अक्षयकोष स्थापना

काठमाडौं । म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १ करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो । स्वदेश तथा विदेशमा रहेका ७९ जना छन्त्यालबाट न्यूनतम ११ हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म सहयोग जुटाएर कोष स्थापना गरिएको सङ्घका सचिव दीपबहादुर छन्त्यालले जानकारी दिए । ‘कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरूको पुर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजको खोजीमा परिचालन गर्ने लक्ष्य छ, लोप हुन लागेको छन्त्याल भाषा र संस्कृति संरक्षणमा जोड दिएका छौँ,’ उनले भने । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ वटा आदिवासी जनजातिमध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाण हालसम्म जुटेको छैन । बोलीचालीमा प्रयोग भए पनि लिपि नभएको छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको छ । बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् । लिपि र शब्दकोष नहुनु, नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न हिचकिचाउनु, बसाइँसराइका कारणले भाषा लोप भएको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कका चन्द्रप्रसाद छन्त्यालले बताए । छन्त्याल भाषामा पानीलाई कुई, मासुलाई स्या, फूपूलाई निनी, श्रीमतीलाई ने, दूधलाई नेहे, घरलाई टम्ह भनिन्छ । बोल्न सजिलो भए पनि लिपि, व्याकरण र शब्दकोष नभएकाले लेख्न अप्ठ्यारो हुने छन्त्यालले बताए । वि.सं २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० जना छन्त्याल समुदायको बसोबास छ । कुल छन्त्याल समुदायको सङ्ख्यामध्ये म्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत बस्ने गर्छन् । म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बाहुल्य बसोबास छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसङ्ख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् ।

हिमालयन बैंकले धितोमा रहेको जग्गासहित कार बेच्दै

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी सायना सर्भिस प्रालिका सञ्चालक सगेन्द्र महर्जन र व्यक्तिगत जमानीकर्ता पंचराज महर्जनले बैंकमा लिएको ऋण वापत राखिएको धितो जग्गा र सवारी लिलामी गरिएको छ । ललितपुर महानगरपालिका २८ बस्ने पंचराज महर्जनको नाममा दर्ता रहेको कित्ता नम्बर १००७ क्षेत्रफल ०–९–१–१, कित्ता नम्बर १००३ क्षेत्रफल ०–०–१०, कित्ता नम्बर १००८ को क्षेत्रफल ०–२–१–२ को जग्गा लिलामी गर्ने भएको हो । यस्तै, बैंक धनी भई ऋणी सायना सर्भिसको नाममा दर्ता भएको बाग्मती प्रदेश ०१ ०२६ च ७५०७ नंम्बरको महेन्द्रा पिक अप पनि बिक्रीमा राखिएको हो ।

आशा लघुवित्तको सेयर प्रतिकित्ता ३७० मा, आज अन्तिम दिन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बिक्रीमा राखेको संस्थापक सेयमार आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले माघ १० गतेदेखि ७ लाख ७४ हजार कित्ता संस्थापक सेयर बिक्री गरेको थियो । लघुवित्तको उक्त संस्थापक ७ लाख ७४ हजार ३७५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तको उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य ३७० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता ३७० रुपैयाँलाई आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।