कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
काठमाडौं । कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक ‘कस्टमर्स डे’ को रुपमा समेत मनाउदै आएको छ । सोही अवसरमा २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।
कारोबार खुलेको तीन घण्टामा ६० अंकले बढ्यो नेप्से
काठमाडौं । कारोबार सुरु भएको ३ घण्टामा सेयर बजार ६० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार दिउँसो १:५९ बजे नेप्से बढेर २१६१.०७ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार यति बेलासम्म आदर्श लघुवित्तको सेयरमा सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकले गरेको छ ।
सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ । सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् । नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।
सानिमा ग्रोथ फन्ड नेप्सेमा सुचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा ग्रोथ फन्ड सुचिकृत भएकाे छ । सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजनाको सानिमा ग्रोथ फन्ड सुचिकृत भएको हाे । नेप्सेमा सूचीकृत भएसँगै याे फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन् । याे योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ कारोबार संकेत प्रदान गरेको छ। कम्पनीको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले सर्वसाधारणकाे लागी सानिमा क्यापिटल मार्फत् ६ करोड ७२ लाख ५३ करोड २६० इकाई धितोपत्र खुल्ला गरेको थियाे ।
महँगिने भयो प्रेम दिवस, एउटा गुलाफकै साढे दुई हजार रुपैयाँ
काठमाडौं । यस वर्ष विगतको तुलनामा गुलाफका फूलहरुको मूल्य बढेको छ । विभिन्न वस्तुहरुको मूल्य बढेसँगै गुलाफका फूलहरुको मूल्य पनि वृद्धि भएको हो । जसका कारण यस वर्षको प्रेम दिवस महँगिने भएको हो । यस वर्षको प्रणय दिवसका लागि २ लाख ८० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । भ्यालेन्टाइन्स डे लाई लक्षित गर्दै १ करोड ६० लाख रुपैयाँ बराबरका गुलाफका फूलहरु आयात गरिने फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले बताए । ‘आज प्रणय दिवसको पहिलो दिन हो, कति फुल खपत हुन्छ भन्ने अझैं तथ्यांक आइसकेको छैन, फेब्रुअरी १४ सम्ममा २ लाख ८० हजार ‘स्टिम’ गुलाफका फूल खपत हुने अनुमान गरेका छौं, त्यसको ७ प्रतिशत नेपालमै पनि उत्पादन हुन्छ,’ उनले भने । प्रणय दिवसलाई लक्षित गर्दै हालसम्म १८ लाख बराबरको २५ हजार गुलाफका फुल विदेशबाट आएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार सजिएको एउटा गुलाफको बुकेटको मूल्य २ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । अन्य धेरै वस्तुहरुको मूल्य बढेको कारण यस वर्ष फूलको मूल्य पनि बढेको व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस महिनामा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि ९.८२ प्रतिशत रहेको छ । ‘स्टिम’ गुलाफको मूल्य गत वर्षको तुलनामा केही बढेको उनको भनाइ छ । फूलको गुणस्तर हेरेर मूल्य तय हुने उनले बताए । प्रयाप्त मात्रमा स्वदेशमा फूल उत्पादन नहुँदा विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ । अन्य सिजनको तुलनामा प्रणय दिवसलाई नि लक्षित गरी आयात गरिँदै आएको छ । नेपाली बजारमा प्रणय दिवसका लागि मात्र डेढ लाखभन्दा बढी स्टिम गुलाफको फूलको माग छ । तर, उत्पादनको अवस्था अति न्यून छ । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेमा मात्र व्यवसायिक रुपमा गुलाफ उत्पादन हुन्छ । गुलाफकै लागि करोडौं रुपैयाँ भारतीय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ १ सय रुपैयाँदेखि बुकेटसहितको साढे दुई हजार रुपैयाँसम्म पर्छ । हाल नेपालमा १० हजार हेक्टर जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतिक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।
अग्नि ग्रुपको इलेक्ट्रिक थ्री–ह्विलर अटो किन्दा ४० हजारसम्म छुट
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो ‘ट्रियो र यारी’ तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो । कम्पनीले यसै अवसरमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणा समेत गरेको छ । यो छुट बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका सबै महिन्द्रा शोरुमहरुमा लागु हुने कम्पनीले जानकारी दिएको छ । यस अफर अन्तर्गत नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गर्दा ग्राहकले ४० हजारसम्मको नगद छुट पाउनेछन् । कम्पनीको अनुसार यो योजना २०२३ को पूरै फेब्रुअरी महिना भरका लागि लागु हुनेछ ।
प्रहरी बिटमा बालेनको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ । महानगरको नगरप्रहरीले मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट प्रहरीकै सहकार्यमा भत्काएको हो । मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको महानगरले भत्काएको जनाएको छ । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो । सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।
अब पोखराको सडकमा पार्किङ गर्नै नपाइने, छुट्टै व्यवस्था हुँदै
कास्की । पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकमा बढिरहेको सवारीको चापसँगै सडक दुर्घटना बढ्ने र सवारी आवागमनमा थप कठिनाइ भएपछि महानगरपालिकाले मुख्य सहरी क्षेत्रका सडकमा पार्किङ निषेधको घोषणा गरेको थियो । निजी क्षेत्र, यातायात व्यवसायीलगायतको विरोधपछि सो कार्यान्वयन नभए पनि अबदेखि महानगरले खाली रहेका सार्वजनिक तथा निजी जग्गालाई स-शुल्क पार्किङमा उपयोग गर्दै सडक पार्किङ हटाउने योजना बनाएको छ । यसका लागि पोखरा-९ न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा स-शुल्क पार्किङ सुरु गरिएको छ । महेन्द्रपुल, न्यूरोड, नयाँजबार, पृथ्वीचोक, चिप्लेढुङ्गालगायतका बजार क्षेत्रका खाली जमिनलाई पार्किङमा प्रयोगमा ल्याउने र सडकबाट पार्किङ हटाउने काम सुरु भएको महानगरले जनाएको छ । महानगरले सडकको पार्किङ हटाइएका क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारी गरेको छ । महानगर प्रमुख धनराज आचार्यले सडक पार्किङका लागि अब बोलपत्र आह्वान गर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए । ‘अहिले सडकमा भइरहेको पार्किङवापत कुनै शुल्क उठाएका छैनौँ’, उनले भने, ‘अब सडकमा सवारी साधन पार्क गर्ने दिन सकिए ।’ महानगर क्षेत्रमा बनेका भवनका बेसमेन्टलाई पार्किङका लागि उपयोग गर्ने योजना बनाएर भूमिगत तला खाली गर्न सुरु गरिएको छ । महानगरले सूचना जारी गरी भूइँतला खाली गर्न नगरवासीमा आग्रह गरिसकेको छ । सडकको दायाँबायाँ रहेका खाली जग्गासमेत सम्बन्धित जग्गाधनीसँगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङकै लागि उपयोग गरिने प्रमुख आचार्यले बताए । पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । महानगरपालिका क्षेत्रभित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालासँगको छलफलसमेत जारी रहेको र कुनै पेसा व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने महानगरको भनाइ छ । पोखरा महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानमा पाँच सयभन्दा बढी साना सवारीहरू र चार सयभन्दा बढी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्नसक्ने क्षमता छ । पोखराको मुख्य बजारक्षेत्र पृथ्वी चोक, सभागृह चोक, न्यूरोड, बिपीचोक, महेन्द्र पुल, नयाँ बजार हुँदै पृथ्वीचोकसम्मको सडकमा दुई सय ५० गाडी र तीन सय ५० मोटरसाइकल पार्किङ गरेको पाइएको छ । ‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको सङ्ख्यामा सवारीसाान पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ’, प्रमुख आचार्यले भने, ‘तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीको बुझाइ रहेपनि त्यसो हुँदैन ।’ मुख्य बजार क्षेत्रमा आवश्यक मात्रामा पार्किङको वैकल्पिक व्यवस्था गरी सडकमा गरिने पार्किङलाई भूमिगत र सडक छेउमा रहेका खाली जग्गामा व्यवस्था गरिने पोखरा—१६ का वडाध्यक्ष एवं महानगर यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । उनका अनुसार हाल बजार क्षेत्रको सडकमा भइरहेको पार्किङमा राखिने सवारीको सङ्ख्यालाई पर्याप्त पुग्ने स्थानको खोजी महानगरपालिकाले गरिरहेको छ । रासस