विकासन्युज

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङ लगायत कार्यक्रम समावेश गरिएको छ ।

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कर्माचार्य नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।  

युरोपेली युनियनको टोलीद्धारा चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजनाको स्थलगत निरीक्षण

काठमाडौं । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । आयाेजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरुसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको थियो । टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा जानुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ । ‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरुले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘युरोपेली युनियनले इआइबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरु चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनाहरुमा लगानीका लागि सकारात्मक देखिएका छन् ।’ इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमश ः ७१ र ७० प्रतिशत रहेको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैत भित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ । प्रसारण लाइन निर्माणमा करिब तीन सय जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली थ्रि बी हवमा १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्ने लगायतका सबै कामहरु समानान्तर रुपमा अगाडि बढाउन निर्देशक निर्देशक दिए । दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरुमा उपकरणहरु जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ । कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४४ वटाको जग हालिएको छ । १३ वटा टावरहरुको आंशिक जग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने छ । तत्काल १० किलोमिटर तार तान्न सकिन्छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले निर्माणमा तिब्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो । उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

कम्पनीहरु धमाधम मर्ज हुन थालेपछि कर्मचारीलाई जागिरको चिन्ता, प्राधिकरणमा गुनासो गर्ने बढ्न थाले

काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेसँगै कर्मचारीहरु पनि नेपाल बीमा प्राधिकरण धाउन थालेका छन् । बीमा कम्पनीहरुले धमाधम मर्जरका लागि प्रक्रिया अगाडि बढाउने र मर्जर सम्झौता गर्न थालेपछि कम्पनीमा कार्यरत कर्मचारीहरुले प्राधिकरणमा विभिन्न गुनासोहरु गर्न थालेका हुन् । कम्पनीहरु मर्जमा जाने भएसँगै कर्मचारीहरुको वर्गीय हक र अधिकारका लागि स्थापना भएका विभिन्न कम्पनीका कर्मचारी संघहरुले कर्मचारीको तर्फबाट विभिन्न मागहरु उठाएका छन् । यद्दपि, उनीहरुले कम्पनीहरु मर्जरमा जाने विषयमा भने सकारात्मक छन् । तर, मर्जरमा जाँदा उच्च व्यवस्थापनले कर्मचारीहरुसँग सरोकार राख्ने विषयमा सहकार्य गरेर मात्रै अघि बढ्न उनीहरुको माग छ । उनीहरुले रोजगारी सुनिश्चित गर्नुपर्नेदेखि भीआरएसको योजना ल्याउनेसम्मको माग गरेका छन् । रोजगारी सुनिश्चित गर्नुपर्ने पछिल्लो समय कम्पनीहरुबीच भइरहेको मर्जरले बेरोजगारी सृजना गरिरहेको बताउँदै कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्नु पर्ने उनीहरुको माग छ । यस्तो अवस्था आउन नदिन कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै उनीहरु प्राधिकरण पुगेका हुन् । प्राधिकरणका अनुसार अहिले यस्ता गुनासासहितको माग बढ्न थालेका छन् । सम्मानजनक रुपमा समायोजन दुई वा बढी कम्पनी एक आपसमा मर्जरमा जाँदा सबैभन्दा महत्वपूर्ण काम हो कर्मचारी व्यवस्थापन अर्थात समायोजन गर्ने विषय । यसरी दुई वा बढी कम्पनीका कर्मचारी एउटा कम्पनीमा समायोजन गर्दा कर्मचारीहरुको योग्यता, क्षमता र जेष्ठताको आधारमा सम्मानजनक रुपमा समायोजन गरिनु पर्ने माग उनीहरुको छ । कतिपय कम्पनीहरुमा स्वाप रेसियोका आधारमा कर्मचारीको पदीय अवस्था निर्धारण गरिन्छ । तर, कर्मचारीहरुले भने दुइटै कम्पनीका कर्मचारीबीच कुनै भेदभाव नहुने गरी समान हैसियत कायम हुने गरी कर्मचारी व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् । सेवा सुविधा कटौती नगर्न माग पछिल्लो समय मर्जरमा गएका कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गरिरहेको भन्ने धेरैको गुनासो छ । मर्जअघि उनीहरुले खाइपाई आएको तलब मर्जपछि घटेको उनीहरु बताउँछन् । त्यसैले कर्मचारीहरुले खाइपाई आएको तलब भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामूहिक सौदावाजीको माध्यमबाट प्राप्त हुँदै भएको सेवा सुविधा कटौती गर्न नदिन भन्दै कर्मचारीहरुले प्राधिकरण समक्ष माग गरेका छन् । भीआरएसको योजना ल्याउनु पर्ने मर्जरमा जाने कम्पनीले आफ्ना कर्मचारीहरुको लागि सम्मानजनक/न्यायोचित स्वेच्छिक अवकास (भीआरएस) को योजना ल्याउनुपर्ने संघको माग छ । यो योजना कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई केही सुविधाहरुको बदलामा संस्थाबाट स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्ने योजना हो । यो योजनामा एकमुष्ट भुक्तानी र बीमा, पेन्सन लगायतका अन्य सुविधाहरु समावेश हुन्छन् । सामान्यतया यो योजना सेवानिवृत्ति उमेर नजिक भएका कर्मचारीहरुलाई प्रस्ताव गरिन्छ । सहमतिमा विनियमावली बनाउनु पर्ने मर्जर पश्चात कम्पनीले नयाँ कर्मचारी विनियमावली बनाउनु पर्ने हुन्छ । उक्त विनियमावली बनाउँदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गर्न कर्मचारीहरुले माग गरेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरणले जारी गरेको कम्पनीहरुको गाभ्ने/गाभिने र प्राप्ति गर्ने निर्देशिका र सोसँग सम्बन्धित परिपत्रहरुमा व्यवस्था भए बमोजिमका कर्मचारीसँग सम्बन्धित विषयको कार्यान्वयन गर्नुपर्ने उनीहरुले बताएका छन् । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने व्यवस्था गर्यो । समग्रमा बीमा कम्पनीहरुको जोखिम बहन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्राधिकरणले गरेको उक्त व्यवस्थाअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरु पछिल्लो समय धमाधम मर्जरमा जाँदै छन् । केही कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न गर्न संस्थागत सेयर अनुपात, मर्जर पश्चात बन्ने कम्पनीको नाम जस्ता विषय टुङ्ग्याई अन्तिम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारीमा छन् । कम्पनीको पुँजीगत आधारलाई मजबुत बनाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न तथा लगानीकर्ता लगायत सरोकारबालाहरुको दीर्घकालीन हित संरक्षण गर्नका लागि चालिएको उक्त कदम सकारात्मक रहेको कर्मचारीहरुको ठहर छ । ‘कर्मचारीको अहित भए कडा कदम चाल्छौं’ मर्जरले कम्पनीहरुको पुँजी एकीकृत हुनुमात्र नभई ती कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन, कम्पनीले सञ्चालनमा ल्याएको प्रणाली, बीमा योजनाहरु र कार्यस्थल बीचको मर्जर पनि हो । त्यसैले, कम्पनीमा कार्यरत आम कर्मचारीहरुको हित प्रतिकुल नहुने गरी कम्पनीको उच्च व्यवस्थापनले सम्पन्न गर्नेछ भन्नेमा कर्मचारीहरु विश्वस्त छन् । कर्मचारीहरुसँग सहमतिबिना अघि बढेमा कडा कदम चाल्न बाध्य हुने भन्दै उच्च व्यवस्थापनको ध्यानाकर्षण गराएको एक कम्पनीका कर्मचारीले भने । ‘कर्मचारीहरुको अहित हुने गरी मर्जरको प्रक्रिया अगाडि बढेमा आम कर्मचारीको हकहित संरक्षणार्थ श्रम ऐन कानूनले दिएको अधिकारको प्रयोग गर्दै कडा कदम चाल्छौं, गराउँछौं,’ ती कर्मचारीले विकासन्युजसँग भने । के भन्छ प्राधिकरण ? नियामक नियकाय नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुबाट गुनासो बढेको बताएको छ । प्राधिकरण उच्च श्रोतका अनुसार मर्जरमा जान लागेका कम्पनीसँगै मर्जरमा गइसकेका कम्पनीका कर्मचारीहरुबाट गुनासो बढेको छ । यो विषयमा प्राधिकरणले के कस्ता गुनासो आएका छन् सो अनुसार विचार गरेर कर्मचारीको हितमा काम गर्न सम्बन्धित कम्पनीहरुलाई आग्रह गरिएको उक्त श्रोतले विकासन्युजसँग भन्यो । यद्दपि, यो विषयमा कम्पनीहरुलाई धेरै हस्तक्षेप अर्थात कडाई गर्दा मर्जरमा उनीहरु मर्जमा जाँदैनन् की भन्ने डर बीमा प्राधिकरणमा रहेको देखिन्छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले भने खासै गुनासो नरहेको धारणा राखे ।

खाद्य स्वच्छताका आधारमा रुपन्देहीका होटल तथा रेष्टुरेण्टको स्तरीकरण

रुपन्देही । रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका जारी गरेबमोजिम होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएको बताए। कार्यालयबाट खटिएका निरीक्षकको अनुगमनपछि परिणामका आधारमा होटल तथा रेष्टुरेण्टमा पुगेर स्टिकर टाँसिएको उनले बताए । अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा स्तर निर्धारण गरिएकाले सोही स्टिकरका आधारमा उपभोक्ताले होटल तथा रेष्टुरेण्टको गुणस्तर थाहा पाउने प्रमुख दाहालको भनाइ छ । जिल्लामा हालसम्म २५ होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएकामा एउटा होटलमात्रै अतिउत्तम निर्धारण गरिएको छ । सय पूर्णाङ्कमा मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा तीनवटा तारा भएको (क वर्ग)को हरियो स्टिकर टाँसिएको छ । (अतिउत्तम), ८० देखि ८९ सम्म अङ्क प्राप्त गर्नेलाई दुईवटा तारा भएको (ख वर्ग)को हरियो स्टिकर (उत्तम), ६५ देखि ७९ सम्म ल्याउनेलाई एउटा तारा भएको हरियो स्टिकर तथा ६५ भन्दामुनि र ५० भन्दामाथि अङ्क प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा पहेँलो स्टिकर टाँसिएको छ । स्वच्छताका आधारमा ५० बुँदामा प्रत्येक बुँदाको २ नम्बरको हिसाबले एक सय पूर्णाङ्कको आधारमा चारवटा श्रेणीमा स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । रासस

एशियन पेन्ट्सको स्मार्टकेयर हाइड्रोलक बजारमा

काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकतालाई मध्येनजर गरेर एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हाे । यो एक पेनिट्रेटिभ वाटर प्रुफिंग समाधान रहेको कम्पनीले जनाएको छ । जसको वाटर प्रुफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी समेत रहेको छ । हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथमा भएको जसले गर्दा यसलाई वाटर प्रुफिङको च्याम्पियनको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

क्यान इन्फोटेक मेलाको उद्घाटन [LIVE]

क्यान इन्फोटेक मेलाको उद्घाटन LIVE