काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबारसम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी काम अघि बढाएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा चाँडै सार्वजनिक गर्ने तयारी काम गरिरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बताए । ‘राष्ट्र बैंक छलफलकै क्रममा छ, सकेसम्म यसै साताभित्र सार्वजनिक गर्ने तयारी छ तर, हालसम्म मिति तय भएको छैन, बोर्डले निर्णय गर्छ, यसै साता पनि हुन सक्छ,’ उनले भने ।
यदि यही साता सावृजनिक नभए अर्काे साता भने सार्वजनिक गर्ने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि माघ २० गतेसम्म सरोकारवालाहरुसँग सुझाव मागेको थियो । अहिले राष्ट्र बैंकले सरोकारवालाहरुबाट प्राप्त सुझावलाई अध्ययन गरिरहेको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सेयर धितो कर्जामा कायम रहेको १२ करोडको सीमा हटाउने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४÷१२ को नीति लागू गरेको थियो । उक्त व्यवस्थालाई केही खुकुलो गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमालाई बढाएर १२ करोड पुर्याएको थियो ।