विकासन्युज

१० अर्बमा निर्माण भयो सुपरदोर्दी ‘ख’ आयोजना

लमजुङ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ । मुख्य सुरुङको २०/२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ । आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल आठ अर्ब ८० करोड रुपैयाँको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित १० अर्ब ३९ करोड देखि ५० करोड रुपैयाँसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता पिपिए गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने पिपिए सम्झौता गरिएको छ । रासस

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप बुस्टर डोज आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ गाभीले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए । उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले सङ्क्रमण घटेको छ । अहिले सङ्क्रमण पनि कम हुँदै गएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना सङ्क्रमित र तीनजना सक्रिय सङ्क्रमित भेटिएका छन् । रासस

हिमपात नहुँदा जनजीवन प्रभावित

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौंतिर लागिने । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उनी हिउँ छल्न काठमाडौं गएकी हुन् । शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौं पुगेकी होइनन्, हिउँ पर्ने समयमा गाउँ छोडेर कहिले सदरमुकाम फुङ्लिङ बजार त कहिले काठमाडौं पुग्ने गर्छिन् । हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौं पुगेका छन् । पेमा र उटुकजस्तै गाउँका अधिकांश हिउँ छल्न अन्यत्र गएपछि यहाँ बस्ती सुनसान जस्तै बनेको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला बस्ती अहिले रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा हिमपात छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको हो । विगत वर्षहरुमा मङ्सिरको तेस्रो सातादेखि नै यस तोक्पेगोलामा बस्तीमा हिमपात सुरु हुन्थ्यो । वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार हिमपात हुँदा अत्यधिक चिसो हुने हुँदा हिउँ छल्नका लागि हिउँदभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न सदरमुकामदेखि काठमाडौं पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताउँछन् । शेर्पाका अनुसार घुन्सा गाउँका ३३ घरपरिवारमध्ये मङ्सिर सुरु भएसँगै २० घरपरिवार अन्यत्र गइसकेका छन् । अहिले १३ परिवार मात्र गाउँमा छन् । यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालन हो । चिसोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटको आगमन पनि यतिबेला ठप्प छ । चौँरी याक गोठ हुनेहरु मात्र गाउँमा बसेका छन् । गर्मीयाम सुरु भएपछि उनीहरु गाउँ फर्किने गर्दछन् । विगतका वर्षहरुमा हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरु सेताम्य हुन्थो । तर अहिले माघ सकिन लाग्दासमेत हिमाली क्षेत्रहरुमा हिमपात भएको छैन । कञ्चनजङ्घा हिमशिखर कालो चट्टान जस्तै देखिएको छ । ताम्लिङ शेर्पा बिहानको घाम ताप्दै कञ्चनजङ्घा हिमालतिर हेरेर टोलाउँदै थिए । उनी समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो शेर्पाको घर । याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन् । उनको पुख्र्यौली पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले याङमा गाउँमा चौँरी याकपालनका लागि अनुकूल क्षेत्र हो । यस क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत भने चौँरी याक गोठ हो । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा हिउँ पग्लेपछि हिमताल सुक्न गई पानीको हाहाकार हुने हो कि भन्ने चिन्ताले सताउन थालेको स्थानीय फिन्सो शेर्पाको भनाइ छ । सुक्खा मौसम भएपछि घाँसपात नउम्रने भएकाले चौँरी याक चरनमा समस्या आउने चिन्ता लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो । हिमाल सुक्खा भयो भने पानीको मुहानहरु सुक्छ । चौँरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन । घाँस नभएपछि चौँरी याकहरु तिर्खा र भोकले मर्नेछन् ।’ उच्च हिमाली स्थान भएकाले अन्न नहुने भएकाले यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पशुपालन हो । ‘हिमालमा हिउँ पग्लँदै गएको छ । खेतबारीहरु सुक्खा हुँदैछ”, फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भने, ‘बारीमा जौ, गहुँमा बाला लाग्न नपाई सुक्दै गएको छ ।’ पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खडेरीबाट अलैँची बगान जोगाउन बिहान–बेलुका पाइपबाट सिँचाइ गर्नु परेको उनले सुनाए । हिमपात र वर्षा नहुँदा हिउँदे बाली नाली सुक्दै गएको सिरिजङ्घा गाउँपालिका–५ मामाङ्खे टीका माबोले बताए । उनले भने, ‘खरेडीबाट हिउँदे बाली र अलैँची जोगाउन मुस्किल भएको छ ।’ विगतका वर्षहरुमा मङ्सिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । समयमा हिपात र वर्षा नहुँदा वैशाख र जेठ महिनामा असिना पर्छ भन्ने चिन्ता लागेको फुक्ताङलुङ गाउँपालिका–६ मादिबुङका सन्तकुमार फेम्बूले बताए । समयमा हिमपता नहुँदा तथा कम हिमपात हुँदा असिना ज्यादा पर्छ भन्ने जनविश्वास रहेको फेम्बूले बताए । सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ । हिमालमा स्नो लाइन (हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लँदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताए । राईले भने, ‘जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ ।’ कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुर्लभ जनवार हिउँचितुवाको विशेष बासस्थान मानिन्छ । हिउँ पग्लँदै गएपछि हिउँचितुवासमेत सङ्कटमा पर्न सक्ने राईले चिन्ता व्यक्त गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विश्व संरक्षण कोष (डब्लुडब्लुएफ), नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो । त्यस समयमा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको विभागले जनाएको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । हिमतालहरु सुक्ने, पानीको मुहानहरु सुक्दै जाने, वन जङ्गल सुक्खा हुने भएकाले ढडेलो लाग्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ । कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्न समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् । समउमा हिउँ नपर्दा हिमाल कालो चट्टान जस्तै बन्दै गयो भने विदेशी पर्यटकहरु आउँदैन कि भन्ने चिन्ताले पर्यटन व्यवसायी सेराप शेर्पालाई सताएको छ । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ्ग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । विगतका वर्षमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान भएको छ । गत भदौदेखि मङ्सिरसम्म जम्मा चार सय ३९ जना बाह्य पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गर्न पुगेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुुभयो । लिम्बूका अनुसार मङ्सिरयता भने पर्यटकको आगमन शून्य रहेको छ । गत २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । विसं २०५७ देखि २०७७ सम्म ११ हजार एक सय ९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ । रासस

एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम

पोखरा । एनएमबी लघुवित्तले किसान लक्षित कार्यक्रम ल्याएकाे छ । लघुवित्तले सम्पत्ती कर्मचारी क्षमता अभिवृद्धि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम पोखरामा सम्पन्न गरेको हाे । सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखलाको कर्जाहरु सार्वजनिक गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान श्रृंखला अन्तरगत विभिन्न कर्जाहरु ल्याइएको बताए । नाफा मुलक परियोजनाको पहिचान गरि लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनले थपे । संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ । किसानहरुलाई खेतियोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैंचो गरी संस्थाले यो श्रृंखला अन्तरगत पाँचवटा कर्जाहरु प्रोडक्टहरु ल्याएको जानकारी दिए । आगामी १५ दिन भित्र संस्थाका सबै कर्मचारीहरुलाई यस श्रृंखला अन्तरगतका कर्जाहरुको तालिम सम्पन्न गरि यो योजना पूर्ण रुपमा लागु गर्ने संस्थाले लिएको छ ।  

राष्ट्र बैंकको कारवाहीमा ९ वाणिज्य बैंक, ४ वटालाई ५० लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चाल आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नियम विपरित काम गर्ने विभिन्न ९ बैंकलाई कारवाही गरी जरिवाना तिराएको हो । जसमा प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक), प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपालइन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंक रहेकाे छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै ४ वटा बैंकलाई जरिवाना तिराएको छ । राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, साविक बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई प्रति बैंक ५० लाख रुपैयाँ जरिवाना तिराएको हो । यस्तै, माचापुच्छ्रे बैंकलाई एकीकृत निर्देशन २०७८ को कार्यान्वयनका लागि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारण पुँजी कोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेकाले राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराइएको छ । यस्तै, सानिमा बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा (७) को उलङ्घन हुनेगरी तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार सचेत गराइएको छ । यस्तै, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५/३/८ मा ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन,’ भन्ने व्यवस्थालाई पालना नगरेकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकका सीईओलाई सचेत गराइएको छ । यस्तै, नबिल बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था, कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ७ (फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको छ । यस्तै, प्रभु बैंकलाई राष्ट्र बैंकको कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्थापना नगरेको कारण राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको छ ।

तनहुँमा ६ महिनामा दर्ता भए ४३५ उद्योग

दमौली। चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए । तीमध्ये ३४ उत्पादनमूलक, दुई सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्’, प्रमुख कुँवरले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा दुई हजार एक र ०७६/७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ । एक लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले एक हजार एक सय, तीन लाखसम्म पूँजी भएको उद्योगले तीन हजार रुपैयाँ एक सय, पाँच लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले छ हजार एक सय रुपैयाँ, ५० लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले १२ हजार एक सय रुपैयाँ, एक करोड रुपैयाँसम्म पूँजी भएको उद्योगले २० हजार एक सय रुपैयाँ, पाँच करोड रुपैयाँसम्म पूँजी भएको उद्योगले ३० हजार एक सय रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार एक सय १० रुपैयाँ दर्ताबापत शुल्क बुझाउनुपर्छ । रासस  

शिखर इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, पूँजी दुई अर्ब ६५ करोड नाघ्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १६.८४ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको १७ ‍औं तथा १८ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यससँगै सेयरधनीले दुई आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने भएका छन् । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६५ करोड रुपैयाँ नाघेको छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेकोभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्युनतम पूँजी दुई अर्ब ५० करोड रुपैयाँ तोकेको छ । त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिले पाउँदै आएको भत्तामा परिमार्जन गरेको छ । परिमार्जित बैठक भत्ता अनुसार अध्यक्षलाई २० हजार रुपैयाँ, सदस्यलाई १८ हजार र अन्य समितिको प्रतिबैठक भत्ता वापत संयोजक तथा सदस्यलाई ९ हजार रुपैयाँ भत्ता (प्रतिबैठक) तोकिएको छ । यसअघि अध्यक्षलाई प्रतिबैठक १२ हजार, सदस्यलाई १० हजार र उपसमितिका संयोजक तथा सदस्यलाई ५ हजार रुपैयाँ भत्ता तोकिएको थियो । शिखरलाई ‘नम्बर वान’ मै कायम राख्न मर्जरमा जानुपर्ने हुन्छ : सीईओ पाण्डे साथै, तत्काल मर्ज (गाभ्ने तथा गाभिने तथा प्राप्ति) मा जाने योजना नबनाएको कम्पनी आगामी दिनमा उपयुक्त लागेमा मर्जरमा जाने बताएको छ । जसको लागि सभाले सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी समेत दिएको छ । सभाले कम्पनीको स्वतन्त्र सञ्चालक इन्द्र प्रसाद कर्मचार्यको नियुक्तिलाई अनुमोदन गरिएको छ । उनी गत माघ २३ गते बीमा ऐन २०७९ बमोजिम नियुक्त भएका थिए । सभाले आर्थिक वर्ष २०७७/७८ तथा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सोलाई पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकमा हालकै लेखापरीक्षक बीके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई निरन्तरता दिएको छ । जसको पारिश्रमिक कूल ४ लाख ५० हजार रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) तोकिएको छ । त्यसैगरी, सभाले सञ्चालकहरुको नियुक्ति सम्बन्धी नियमलाई संशोधन गरेको छ । यससँगै अब कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट ३ जना, सर्वसाधारण सेयरधनीबाट ३ जना र स्वतन्त्र सञ्चालकमा एक जना गरी ७ जना सञ्चालक नियुक्त हुने भएका छन् । यसअघि संस्थापकबाट ४, सर्वसाधारणबाट २ जना र स्वतन्त्रबाट १ जना नियुक्त हुने व्यवस्था थियो ।

ग्लोबल आइएमई बैकले २७ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले साविक बैंक अफ काठमाण्डूलाई गाभेपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका २७ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले १५ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । बैंक अफ काठमाण्डूका बनेपा काभ्रे, बेनी म्याग्दी, विराटचोक मोरङ, दमक झापा, दमौली तनहुँ, गौर रौतहट, गोठाटार, त्रिपुरेश्वर काठमाडौं, जितपुर बारा, कपिलवस्तु, खाँदबारी संखुवासभा, दिक्तेल खोटाल, लम्की कैलाली, महाराजगंज काठमाडौं, निजगढ बारा, नवलपरासी, पर्सा, भक्तपुर र वालिङ स्याङ्गजाका साविक शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालयहरु अनामनगर, ठमेल काठमाडौं, गुलरिया बर्दिया, लमही दाङ्ग, पनौती काभ्रे, पुल्चोक ललितपुर, टिमुरे र नारायणघाट भरतपुरका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।