काठमाडौं । हिमालयन–सिभिल बैंकको मर्जर प्रक्रियामा सिभिल बैंकका कर्मचारीले असन्तुष्टि जनाएका छन् । मर्जरमा कर्मचारी समायोजनमा सिभिल बैंकका कर्मचारीकाे एक तह पद घट्ने भएपछि कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए ।
‘व्यवस्थापनबाट एक तहब पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने ।
उनका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू भएको हो । उनले लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई पनि यसले मर्कामा पार्ने भन्दै विरोध जनाएको बताए ।
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यसअघि नै हुने भनिएपनि हालसम्म हुन सकेको छैन । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि पुनः सारेको हो ।
उनको अनुसार अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ । राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको दिन नै पत्र पठाए पनि स्वीकृति नपाएर ढिला भएको सञ्चालक बोगटीले बताए ।
‘राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।