अवैध मोबाइल भित्रिदा वार्षिक २ अर्ब राजश्व गुम्दै, एमडीएमएस छिट्टै लागु गर्न माग
काठमाडौं । नेपाल मोबाइल वितरक संघले विदेशबाट मोबाइल ल्याउने नागरिकलाई भन्सार छुट दिएर मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न आग्रह गरेको छ । संघले छिट्टै मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्नको लागि सरकारलाई अनुरोध गरेको हो । यस अघि यो प्रणाली लागु भईसकेको बेलामा भ्रमपुर्ण कुरा फैलाएर प्रधानमन्त्रीले नै एमडीएमएस प्रणाली लागु गर्न नदिएको संघको आरोप लगाएको छ । एमडीएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपुर्ण रहेको संघले जनाएको छ । संघका अनुसार एमडीएमएस प्रणाली नेपालमा भित्रिने फोनहरुको तथ्यांक राख्ने तथा नियमण गर्ने प्रणाली हो । यो प्रणालीमा समस्या नभई मूल समस्या नेपालको कर व्यवस्थामा रहेको संघले दाबी गरेको छ । नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले विदेशबाट फर्किएका नेपाली नागरिकले ३ वटै फोन ल्याए पनि भन्सार छुट दिए हुने तर अवैद रुपमा भित्रिएका फोनलाई राेक्न तत्काल एमडीएमएस सिस्टम लागु गर्नुपर्ने बताए । ‘सरकारले विदेशबाट आउनेहरुको हकमा भन्सार छुटमा मोबाईल फोन ल्याउन दिई एमडीएमएसमा निःशुल्क दर्ता गरेमा समस्या समाधान हुन्छ,’ उनले बताए । त्यसो गर्न सके अवैधरुपमा भन्सार छलेर ल्याएका फोनको खुलेआम व्यापार गर्ने मोबाईल माफियाहरु निरुत्साहित हुने र हजारौं नेपालीलाई रोजगारी प्रदान गर्दै राज्यलाई कर तिरेर वैधानिक कारोबार गर्ने मोबाईल व्यवसायीहरु मर्कामा नपर्ने संघले जनाएको छ । संघका अनुसार नेपालमा ३८ देखि ४० अर्ब रुपैयाँको मोबाईल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भैरहेको छ भने झन्डै चौध अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्र्याईका फोनहरुको कारोबार भएको छ । यसरी अवैध रुपमा भईरहेको मोबाईल फोनको कारोबारले नेपाल सरकारले झण्डै वार्षिक दुई अर्बको हाराहारीमा राजस्व गुमाइरहेको संघ बताउँछ । यसरी भित्रिने फोनहरु रिफर्बिस, डुप्लिकेट तथा चोरीका समेत पर्ने हुँदा बिक्री पछिको वारेन्टी नहुने, पार्ट्स नपाउने तथा कानुनी झमेला समेत आउन सक्ने संघले बताएकाे छ ।
क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड
काठमाडौं । सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ । ‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ । ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इञ्जिनीयरहरुले तयार पारेका हुन् । कन्सेप्ट डेभलपर विजयराज ढुङ्गेललगायत टिममा दीपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इञ्जिनीयर रहेका टिमका सफ्टवेयर इञ्जिनीयर दिपेश न्यौपानेले जानकारी दिए । मेलामा पूजापाठको स्टलमा धार्मिक कार्यमा चाहिने गाईको गोबर, रातोमाटो, गाईको घ्यूलगायतका सामग्री राखिएको ‘पूजापाठ’ एपका उत्तम खनालले बताए । उनले भने, “हामीले भक्तजनलाई सहज होस भनेर पूजापाठ एप बनाएका छौँ, धार्मिक तथा पितृकार्य कसरी गर्ने र के के सामग्री चाहिन्छ भन्ने बारेमा पूजापाठ एप डाउनलोड गरेर जानकारी पाउँछन् ।” उनका अनुसार वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पाउन सकिन्छ । मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सुरु गरिएको आयोजकले जनाएको छ । प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिने हुँदा मेला प्रभावकारी भएको कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानका अध्यक्ष रञ्जित पोद्धारले बताए । ‘ठूला ठूला कम्पनीले छ महिनादेखि एक वर्षमा हार्डवयर तथा सफ्टवयर प्रविधिमा परिवर्तन गरिरहेका हुन्छन् । यसलाई एकै ठाउँमा हेर्न सकिने भएकाले मेला आयोजना गरिएको हो’, उनले भने । मेलामा कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, किताब, छालाका सामान, गमला घर, इलेक्टिकल बाइक, स्टेसनरीलगायत व्यापारिक सामाग्री बिक्रीका लागि राखिएका छन् । रासस
विद्यालय शिक्षामा डिजिटलाइजेसन : कसरी पढ्ने मोबाइल ल्यापटपमा विद्यालयका कोर्ष ?
काठमाडौं । केही समय अगाडि कक्षा कोठा र किताबमा मात्रै सिमित भएको विद्यालय शिक्षाले बिस्तारै फड्को मार्न थालेको छ । शिक्षा मन्त्रालय र मातहतका निकायहरुले नै पछिल्लो समयमा विद्यालय स्तरका शैक्षिक सामग्रीलाई डिजिटलाइजेसन गर्ने काम भइरहेको छ । देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक लगायत गुणस्तरीय सिकाइ सामग्रीहरुको सहज पहुँच पुर्याउने उद्देश्यले मन्त्रालय र मातहतका निकायहरुले डिजिटल सामग्रीहरुको उत्पादन, प्रसारण र वितरणको काम गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सूचना तथा प्रविधिमा पहुँच भएका विद्यार्थीहरुको सहजताका लागि विभिन्न डिजिटल प्लेटफर्मको विकास भएका छन् । पाठ्यक्रम विकास केन्द्रले डिजिटल पुस्तकालयको विकास गरेको छ । जसमा विद्यालय तहमा पढाई हुने सम्पूर्ण पाठ्यपुस्तकको ई–कपी राखिएको छ । विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रको वेबसाइटको मुख्य पेजमा गएर डिजिटल लाइब्रेरी मार्फत विभिन्न ९ वटा लाइब्रेरीहरुमा जान सकिन्छ । साथै केन्द्रको मुख्य पृष्ठमा नै राखिएको टेक्स्ट बुक मार्फत पनि कक्षा १ देखि कक्षा १२ सम्मका विभिन्न पुस्तकहरुको पिडिएफ प्रति डाउनलोड गरेर पढ्न सकिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि ई–लाइब्रेरीको व्यवस्था गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटको मुख्य पृष्ठमा राखिएको ई–लाइब्रेरीमा गएर विद्यार्थीहरुले विभिन्न पुस्तक तथा सन्दर्भ पुस्तक अध्ययन गर्न सक्छन् । त्यस्तै, सोही केन्द्रको वेबपेजको मुख्य पृष्ठमा राखिएको अनलाइन पोर्टलमा गएर विद्यार्थीहरुले कक्षा १ देखि १२ सम्मको पुस्तक अध्ययन गर्न सक्छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको ई–लाइब्रेरी र लर्निङ पोर्टलमा पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमार्फत पनि जान सकिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको अनलाइन पोर्टल शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै वेबसाइटको अनलाइन कक्षामार्फत युट्युब च्यानलमा गएर पनि विद्यार्थीहरुले १ देखि कक्षा १० सम्मका अध्ययन को भिडियो सामग्री हेर्न सक्छन् । यी भिडियोहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार देखि शुक्रबारसम्म एनटिभी प्लसमा बिहान ६ देखि ८ः३० सम्म र साँझ ४ः३० देखि ७ बजेसम्म हेर्न सकिन्छ । देशभरीका विद्यार्थीहरुलाई लक्षित गरेर नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट मंगलबार साँझ ७ बजे शिक्षाको चौतारी कार्यक्रम प्रसारण हुने गरेको छ भने मंगलबार र शनिबार विभिन्न सूचनामुलक, सचेतनामुलक र लघुनाटकहरु प्रसारण गर्ने गरेको छ । जुन सामग्रीहरु विद्यालय तहका विद्यार्थीहरुको लागि सन्दर्भ सामग्री बन्न सक्छन् । शिक्षा मन्त्रालयले आइसिटी ल्याब प्रयोग गरिरहेका विद्यालयहरुले ई–लाइब्रेरीलाई प्रयोगमा ल्याउन पनि अनुरोध गरेको छ । शिक्षा मन्त्रालयले हालै एक सूचना जारी गरेर मन्त्रालय र मातहतका निकायहरुको पहलमा विकास गरिएका डिजिटल अध्ययन सामग्रीको विषयमा आम विद्यार्थी र अभिभावकहरुमा जानकारी दिन अनुरोध गरेको छ । [pdf id=386987]
अपाङ्गता भएका बालबालिकाको उपचार गर्दै नलगाड नगरपालिका
जाजरकोट । आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ । पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा अस्पतालमा उपचार सुरु गर्न लागिएको नगरप्रमुख डम्बरबहादुर रावतले जानकारी दिए । दोस्रो चरणमा पालिकाभित्रका सबै शारीरिक अशक्त तथा असहाय बालबालिकालाई दल्लीमा शिविर सञ्चालन गरेर उपचार गरिने उनले जानकारी दिए । उनका अनुसार यहाँ उपचार सम्भव नभएकालाई बाहिर उपचार गरिने छ । ‘अहिले नगरपालिकाभित्रका सबै वडामा शारीरिक अशक्त तथा असहाय बालबालिकाको खोजी भइरहेको छ’, उनले भने । वडाध्यक्षलगायत अन्य सरोकारवाला निकायको पहलमा खोजी गरी फागुन १४ मा शिविर सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएको छ । नगरप्रमुख रावतले भने, ‘दल्लीमा उपचार सम्भव नभएकालाई बाहिर लगेर पूर्ण रुपमा उपचार गर्ने योजना अनुरुप काम भइरहेको छ ।’ पहिलो चरणमा उपचार गर्नेको प्रदेशस्थित अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र वीरेन्द्रनगर सुर्खेतबाट सिफारिस गरी बनेपा अस्पतालमा लगिएको उनले जानकारी दिए । नगरपालिकाको यो अभियानले आर्थिक रुपमा पछि परी वषौँदेखि उपचार नपाएका बालबालिका तथा अभिभावक खुसी भएका छन् । यसअघि नगरपालिकाले आर्थिक कमजोर भएका परिवारलाई जटिल प्रकृतिको रोग लागेमा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । नगरपालिकाको पहलमा अहिले पालिकास्तरमै आँखाको उपचार सेवा समेत सुरु भएको छ । आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै आँखाको जाँच गरी सेवा लिइरहेका छन् । रासस
नेपालले टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउँदै
काठमाडौं । टर्कीमा गएको विनासकारी भूकम्प आएपछि राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीले भने, ‘नेपाल हाम्रो असल मित्रराष्ट्र हो, हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो, टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ, त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।’ बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित रहेको थियो । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।
बुधबार घट्यो सेयर बजार, साढे ३ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार ७.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार घटेर २१७०.८० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज डेढ करोड रुपैयाँको सेयर किनबेच हुँदा तीन अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयरधनीले कमाएका छन् भने आदर्श लघुवित्तको सेयधनीले सबैभन्दा बढी गुमाएका छन् ।
कोसी राजमार्गको निर्माण आधा सकियो
काठमाडौं । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो । सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ । कालोपत्र गर्न चार ठेक्कामार्फत काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए । कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उनले बताए । उनले भने, ‘यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।’ पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उनले बताए । आयोजना आफैँले गर्नुपर्ने ठाउँमा ट्र्याक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्र्याक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताए । किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उनले बताए । कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताए । करिडोरको चौडाइ नौ मिटर रहेको छ । झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उनले बताए । मङ्सिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताए । निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उनले जानकारी दिए । उनले भने, ‘बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ ।’ बरुण र अरुण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ । दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उनले बताए । उनले भने, ‘अब ८० किमीभन्दा माथि खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ ।’ बरुण र अरुण करिडोरमा विद्युत्का परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुरिहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताए । सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उनले बताए । सडक निर्माण सम्पन्न गर्न विसं २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उनले बताए । अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उनको भनाइ छ । आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ । असी किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताए । करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिराको समस्या आइरहेको आयोजनाले जनाएको छ । विभिन्न स्थानमा पहिराले गर्दा यातायात अवरुद्ध भइरहेको छ । आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ । चारमध्ये वरुण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताउनुभयो । बरुण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ । करिडोर सडकमा ट्र्याकसमेत पूरै खोलिनसकिएकाले सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताए । राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन । वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुबर्षिय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने गरिएको उनले बताए । विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेर कामको गति बढाइरहेको उनले बताए । निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटक पटक बैठक गरेर गति बढाउन लागिएको हो । सो राजमार्गको निर्माण पाँच वर्षपहिले सुरु भएको हो । उक्त आयोजनाको कोसी करिडोर नामाकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ । दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्ष रुपमा लाभ दिनेछ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रुपमा समेटे पनि सिङ्गो प्रदेश नै यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ । रासस
ललितपुर महानगरबासीले आइएमई पेमार्फत कर तिर्न सक्ने
काठमाडौं । ललितपुर महानगरबासीले आइएमई पेमार्फत कर तिर्न सक्ने भएका छन् । ईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिका बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ । सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सकिने कम्पनीले जनाएको छ । नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पे परिवार खुशी व्यक्त गर्दछ ।