विकासन्युज

सेयर लगानीकर्ताको ब्याज बढ्दै कर्जा घट्दै, लागत ५३ प्रतिशतले बढ्यो

काठमाडौं । सेयरधितो राखेर वाणिज्य बैंकहरुबाट ऋण लिएका लगानीकर्ताहरुलाई ठूलो रकमभार परेको छ । एक वर्षको अवधिमा सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताको लागत करिब ५३.५० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको मंसिरसम्ममा सेयर कर्जामा औसत ९.१२ प्रतिशत ब्याज तिरेका लगानीकर्ताले चालू आवको मंसिरसम्ममा औसत १४ प्रतिशत ब्याज तिरेका छन् । यो एक वर्षको अवधिमा लगानीकर्ताको लागत ५३.५० प्रतिशतले लागत बढेको हो । वाणिज्य बैंकहरुले २०७८ को मंसिरमा ८६ अर्ब ६१ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ९.१२ प्रतिशत रहेको थियो । अहिले लगानीकर्ताहरुको औसत ब्याजदर औसत १४ प्रतिशतभन्दा बढी ब्याज तिर्नु परेको कारण लागत पनि बढेको हो । एक वर्षको अवधिमा सेयर धितो कर्जाको ब्याजदर ४.७५ प्रतिशत बिन्दुले बढेको छ भने सेयर धितो कर्जा ३२.१५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुको सेयर धितो कर्जा लगानी घट्दै गइरहेको छ भने ब्याजदर भने बढ्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाले २०७८ को साउनमा ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.१४ प्रतिशत रहेको थियो । लगानीकर्ताले गत वर्षको मंसिरमा ८४ अर्ब ६१ करोड १० लाख रुपैयाँ बैंकबाट ऋण लिएर औसत ९.१२ प्रतिशत ब्याज तिरेका थिए । गत वर्षको पुसमा लगानीकर्ताले ९.४१ प्रतिशत ब्याजदरमा ८३ अर्ब ७० करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका थिए । यस्तै, गत वर्षको माघ महिनामा लगानीकर्ताले १०.३३ प्रतिशत ब्याजदरमा ८२ अर्ब ४४ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् । यस्तै, वाणिज्य बैंकले २०७८ को फागुनमा १०.५९ प्रतिशत ब्याजदरमा ७९ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ, चैतमा १०.९० प्रतिशत ब्याजदरमा ७८ अर्ब ४० करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७९ को बैशाखमा ११.९० प्रतिशत ब्याजदरमा ७५ करोड १६ लाख ८० हजार रुपैयाँ, जेठमा १२.०६ प्रतिशत ब्याजदरमा ७१ अर्ब ७१ करोड ३० लाख रुपैयाँ, असारमा १२.२५ प्रतिशत ब्याजदरमा ६४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र साउनमा १२.८९ प्रतिशत ब्याजदरमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षमा वाणिज्य बैंकको सेयर धितो कर्जा घट्दै गएको देखिन्छ । वाणिज्य बैंक भदौमा औसत १३.१२ प्रतिशत ब्याजमा ६० अर्ब ३१ करोड, असोजमा १३.३२ प्रतिशत ब्याजमा ६० अर्ब ३४ करोड, कात्तिकमा १३.९५ प्रतिशत ब्याजमा ५९ अर्ब ९१ करोड र मंसिरमा १४ प्रतिशत ब्याजदरमा ५८ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दशौदी निर्वाचित

देउखुरी । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत प्राप्त गरेका छ्न । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन भएको हो । रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ दुई सय १८ मध्ये दुई सय १७ मत खसेको थियो ।

केरा खेतीबाट वार्षिक ९० लाखको कारोबार गर्दै कञ्चनपुर पूर्णसिंह साउद

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहका साउदको वार्षिक ९० लाख रुपैयाँ बराबरको कारोबार रहेको छ । आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहेका साउदले केराबाट वार्षिक पाँच रुपैयाँदेखि सात लाख बचत गरिरहेको बताए । ‘सबै खर्च कटाएर पाँच/सात लाख रुपैयाँ बचत हुन्छ’, उनले भने, ‘कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो ।’ उनले तिल्केनी क्षेत्रका करिब डेढ सय किसान केरा खेतीमा संलग्न रहेको बताए । प्रतिबिघा ५० हजार रुपैयाँ भाडा तिर्दै आएका साउदले केरा खेतीबाटै जीविका चलेको बताए । पछिल्लो समय कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर निर्माण भइसकेको छ । ‘कृषिबाट ४९ लाख रुपैयाँ र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ’, सहकारीका अध्यक्षसमेत रहनुभएका साउदले भने, ‘केरा खेतीबाट धेरै स्थानीयवासीलाई ज्याला मजदुरीको काम मिलेको छ ।’ विसं २०५४ देखि केरा खेती गरिरहेका साउदले सहकारीमार्फत भीमदत्त नगरपालिका–९, १० र ३ मा केराखेती र बाख्रापालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरिरहेको बताए । ‘भारतीय केरा आयात हुँदा स्थानीय उत्पादन खपतमा समस्या भयो’, उनले भने, ‘स्थानीय उत्पादनलाई बजारको समस्या हल गर्न सरोकारवाला निकायले पनि पहल गरिदिनुपर्छ ।’ उनले केरा व्यवसायमा नौ जनालाई रोजगारीसमेत दिएको बताए । दुई वर्षअघि मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत मिलेको बताए । ‘मुख्यमन्त्री नमुना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग भयो’, उनले भने, ‘यहाँ छुट्टै समिति बनाएर यो कार्यक्रम यहाँका चार वडामा लागू भएको थियो ।’ उनले उत्पादित केरा सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रमा समेत व्यापारीमार्फत निर्यात हुने गरेको जानकारी दिए । त्यसैगरी कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठाराले ११ बिघा जमिनमा केराखेती गरिरहेका छन् । विसं २०६४ देखि केराखेतीमा सक्रिय जेठाराले केराबाट वार्षिक १० लाख रुपैयाँ मुनाफा हुने गरेको बताए । ‘दुई वर्षयता सुदूरपश्चिममा केराको उत्पादन धेरै हुँदा बजारको समस्या हुने अवस्था छ’, उनले भने, ‘यहाँ उत्पादित केरा खपतका लागि बजार सानो भयो ।’ कृष्णपुरमा ३० बिघा जमिनमा विगतमा केरा खेती गरेका जेठाराले जमिन राम्रो नपर्दा घटाएको बताए । ‘केराखेती फेरि बढाउने योजनाअनुसार जमिन भाडामा खोजिरहेको छु’, उनले भने, ‘अहिले १० बिघाप्रति बिघा ५५ हजार रुपैयाँका दरले भाडामा लिएर खेती गरेको छु ।’ कृषि ज्ञान केन्द्रबाट केरा खेतीका बेला बीउबिजनलगायत सामान्य अनुदान पाएको उनको भनाइ छ । रासस

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त

  काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिए । उनले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उनले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गरे । सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो ।

सिम र मोबाइल एउटै व्यक्तिको नाममा हुनुपर्ने, नभए फोन नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फोन सञ्चालन सम्बन्धी नयाँ नीति अख्तियार गर्ने भएको छ । अब मोबाइल फोन दुबै एउटै व्यक्तिको नाममा नभए प्रयोग गर्न नमिल्ने प्रणालीको विकास प्राधिकरणले गर्न लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी अच्युतानन्द मिश्रले सिम र मोबाइल एउटै व्यक्तिको नाममा भएका मोबाइल मात्र चल्ने प्रणालीको विकास गर्न लागिएको बताएका छन् । उनले नेपाल मोबाइल वितरक संघले आयोजना गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमा नै लागु गर्नुपर्ने विषयको कार्यक्रममा बोल्दै सो बताएका हुन् । मिश्रका अनुसार मोबाइल र सिम एकै व्यक्तिको नाममा दर्ता नभए उक्त मोबाइल चल्दैन । ‘जसको नाममा मोबाइल अथवा सिम छ, त्यही फोन चल्नु पर्छ, मोबाइल र सिम त्यही व्यक्तिको नाममा हुनु पर्यो, अनि मात्र मोबाइल चल्ने नभए मोबाइल एउटा बट्टाको रुपमा मात्र प्रयोग हुन्छ, यसको लागि पहिला एमडीएमएस प्रणाली लागु हुनु पर्यो र त्यही व्यक्तिको सिम हो भनेर जान्नको लागि केवाइसी सिस्टम पनि चाइन्छ,’ उनले भने । यसको लागि अहिले प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ। सिम र मोबाइलको नाम फरक हुने वित्तिकै मोबाइल नचल्ने पनि मिश्रले जानकारी दिए । उनका अनुसार प्राधिकरणले मोबाइलको आइएमइआइ नम्बर र सिम कार्ड एकै व्यक्तिको नाममा दर्ता भएपछि मात्रै मोबाइल चल्ने सिस्टमको विकास गर्न लागेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ मुद्धती खाता : ५ लाखको बीमा, ९० प्रतिशत ऋण पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याइएको हो । यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ । दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा ५० हजार रुपैयाँ भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको बैंकले जनाएको छ । यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ । यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड पहिलो वर्ष, लकर शुल्कमा शतप्रतिशत छुट पहिलो वर्ष र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा पहिलो वर्ष उपलब्ध गराइने छ । साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने बैंकले जनाएको छ । यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्धती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउनेछन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले समय समयमा यस्ता योजनाहरु ल्याएर बचतकर्ताहरुलाई लाभान्वित गर्दै आएको छ ।

सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट शुरु

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता समुद्घाटन भएको छ । काठमाडौँ उपत्यकाका १७ विद्यालयहरु र काभ्रे जिल्लाबाट नेपाल पुलिस स्कुल, साँगा एक गरी जम्मा १८ वटा विद्यालयहरुले यस प्रतियोगितामा भाग लिएका छन्। लीग कम नकआउट आधारमा सञ्चालन गरिने उक्त प्रतियोगिता विद्यालयका प्रधानाचार्य युवराज पराजुली र विद्यालय समादेशक स.प्र.ना.उ. लक्ष्मी थपलियाबाट संयुक्त रुपमा उद्घाटन गरी खेलको शुभारम्भ गरिएको थियो । उक्त समारोहमा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापकले सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । आज भएको उद्घाटन खेलमा आयोजक नेपाल एपिएफ स्कुलले हारति शिक्षा मन्दिर विद्यालयलाई ७-० गोल अन्तरले पराजित गरेको छ। जसमा नेपाल एपीएफ स्कुलका अविन वस्यालले – १, रोहित गोले – १, तेन्जिङ्ग शेर्पा – २, डम्बर वि.क. – १, विवेक पश्चिमा थारुले – १ गोल गरेका थिए भने – १ आत्मघाति गोल समेत भएको थियो। आजै सम्पन्न भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई १२ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा सैनिक आवासीय महाविद्यालयको तर्फबाट उज्जवल राई – ५, अफ्रेज अलि -३, दिपेश दुर्जन – १, कृष्ण थापा – १, अनुभव पुरी – १ र दक्ष लामाले – १ गोल गरेका थिए । त्यसैगरी भोली २६ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको आयोजकले जनाएको छ । १. ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ध डि.ए.भि. स्कुल २. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध ब्लुम नेपाल स्कुल

अवैध मोबाइल भित्रिदा वार्षिक २ अर्ब राजश्व गुम्दै, एमडीएमएस छिट्टै लागु गर्न माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले विदेशबाट मोबाइल ल्याउने नागरिकलाई भन्सार छुट दिएर मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न आग्रह गरेको छ । संघले छिट्टै मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्नको लागि सरकारलाई अनुरोध गरेको हो । यस अघि यो प्रणाली लागु भईसकेको बेलामा भ्रमपुर्ण कुरा फैलाएर प्रधानमन्त्रीले नै एमडीएमएस प्रणाली लागु गर्न नदिएको संघको आरोप लगाएको छ । एमडीएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपुर्ण रहेको संघले जनाएको छ । संघका अनुसार एमडीएमएस प्रणाली नेपालमा भित्रिने फोनहरुको तथ्यांक राख्ने तथा नियमण गर्ने प्रणाली हो । यो प्रणालीमा समस्या नभई मूल समस्या नेपालको कर व्यवस्थामा रहेको संघले दाबी गरेको छ । नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले विदेशबाट फर्किएका नेपाली नागरिकले ३ वटै फोन ल्याए पनि भन्सार छुट दिए हुने तर अवैद रुपमा भित्रिएका फोनलाई राेक्न तत्काल एमडीएमएस सिस्टम लागु गर्नुपर्ने बताए । ‘सरकारले विदेशबाट आउनेहरुको हकमा भन्सार छुटमा मोबाईल फोन ल्याउन दिई  एमडीएमएसमा निःशुल्क दर्ता गरेमा समस्या समाधान हुन्छ,’ उनले बताए । त्यसो गर्न सके अवैधरुपमा भन्सार छलेर ल्याएका फोनको खुलेआम व्यापार गर्ने मोबाईल माफियाहरु निरुत्साहित हुने र हजारौं नेपालीलाई रोजगारी प्रदान गर्दै राज्यलाई कर तिरेर वैधानिक कारोबार गर्ने मोबाईल व्यवसायीहरु मर्कामा नपर्ने संघले जनाएको छ । संघका अनुसार नेपालमा ३८ देखि ४० अर्ब रुपैयाँको मोबाईल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भैरहेको छ भने झन्डै चौध अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्र्याईका फोनहरुको कारोबार भएको छ । यसरी अवैध रुपमा भईरहेको मोबाईल फोनको कारोबारले नेपाल सरकारले झण्डै वार्षिक दुई अर्बको हाराहारीमा राजस्व गुमाइरहेको संघ बताउँछ । यसरी भित्रिने फोनहरु रिफर्बिस, डुप्लिकेट तथा चोरीका समेत पर्ने हुँदा बिक्री पछिको वारेन्टी नहुने, पार्ट्स नपाउने तथा कानुनी झमेला समेत आउन सक्ने संघले बताएकाे छ ।