बुधबार घट्यो सेयर बजार, साढे ३ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार ७.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार घटेर २१७०.८० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज डेढ करोड रुपैयाँको सेयर किनबेच हुँदा तीन अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयरधनीले कमाएका छन् भने आदर्श लघुवित्तको सेयधनीले सबैभन्दा बढी गुमाएका छन् ।
कोसी राजमार्गको निर्माण आधा सकियो
काठमाडौं । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो । सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ । कालोपत्र गर्न चार ठेक्कामार्फत काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए । कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उनले बताए । उनले भने, ‘यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।’ पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उनले बताए । आयोजना आफैँले गर्नुपर्ने ठाउँमा ट्र्याक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्र्याक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताए । किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उनले बताए । कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताए । करिडोरको चौडाइ नौ मिटर रहेको छ । झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उनले बताए । मङ्सिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताए । निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उनले जानकारी दिए । उनले भने, ‘बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ ।’ बरुण र अरुण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ । दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उनले बताए । उनले भने, ‘अब ८० किमीभन्दा माथि खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ ।’ बरुण र अरुण करिडोरमा विद्युत्का परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुरिहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताए । सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उनले बताए । सडक निर्माण सम्पन्न गर्न विसं २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उनले बताए । अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उनको भनाइ छ । आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ । असी किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताए । करिडोरमा कुनै कुनै खण्डमा वर्षाको समयमा पहिराको समस्या आइरहेको आयोजनाले जनाएको छ । विभिन्न स्थानमा पहिराले गर्दा यातायात अवरुद्ध भइरहेको छ । आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ । चारमध्ये वरुण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताउनुभयो । बरुण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ । करिडोर सडकमा ट्र्याकसमेत पूरै खोलिनसकिएकाले सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताए । राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन । वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुबर्षिय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने गरिएको उनले बताए । विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेर कामको गति बढाइरहेको उनले बताए । निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटक पटक बैठक गरेर गति बढाउन लागिएको हो । सो राजमार्गको निर्माण पाँच वर्षपहिले सुरु भएको हो । उक्त आयोजनाको कोसी करिडोर नामाकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ । दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्ष रुपमा लाभ दिनेछ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रुपमा समेटे पनि सिङ्गो प्रदेश नै यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ । रासस
ललितपुर महानगरबासीले आइएमई पेमार्फत कर तिर्न सक्ने
काठमाडौं । ललितपुर महानगरबासीले आइएमई पेमार्फत कर तिर्न सक्ने भएका छन् । ईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिका बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ । सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सकिने कम्पनीले जनाएको छ । नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पे परिवार खुशी व्यक्त गर्दछ ।
विप्लवको पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने, भन्छन् : व्यवसायी टाट पल्टिए
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई दिन देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले फागुन ५ र १५ गते महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न भएको हो । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पा्टीले यस्तो निर्णय गरेको हो । पार्टीका महासचिव रहेका विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् । ‘ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेका छन् तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका छन्,’ उनले भने । यस्तै, क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु ठूलो संख्यामा बेरोजगार भएर विक्षिप्त रहेको उनले बताए ।
अर्थमन्त्रीले यूएसएआइडीकी प्रमुखसँग भने : कसिलो मौद्रिक नीतिले नेपालको अर्थतन्त्र सुस्त बनायो
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छिन् । उनीहरुबीच बुधबार अर्थमन्त्रालयमा भेटघाट भएको हो । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत् विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको धारणा व्यक्त गरे । नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उनले नेपालले सन २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए । युएसएआईडी प्रशासक सामन्था पावरले नेपालमात्र जी टु जी सहायता प्राप्त परिचालन गर्ने देश भएको जानकारी दिइन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताइन् । उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आवद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराउको अर्थ मन्त्रालयले जनाएको छ ।
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । ‘सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो’, इन्जिनियर दिष्टीले भने, ‘म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।’ अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताए । नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए । ‘अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्’, उनले भने, ‘गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।’ भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताए । सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उनको भनाइ छ । ‘सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ’, इन्जिनियर ढकालले भने, ‘बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।’ सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताए । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए । ‘पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ’, उहाँले भन्नुभयो, ‘यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो ।’ सूचना अधिकारी ढकालले हालसम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिए । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताए । ‘अहिले हाम्रो साइटमा दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन्’, उनले भने, ‘यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।’ पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उनले बताए । ‘परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ’, ठेक्का व्यवस्थापक झाले भने, ‘पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।’ ठूला पुलहरुमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको बताए । ‘आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।’ यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । ‘दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्’, झाले भने, ‘त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौं ।’ यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको झाले बताए । नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् । रासस
धुलिखेल नगरपालिकाले कृषिमा जापानिज सीप र प्रविधि भित्र्याउँने
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको छ । कम्पनीले धुलिखेलका कृषकलाई जापानिज सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम दिनेछ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने जनाइएको छ । जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गरिने नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए । उनका अनुसार सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने छ । ‘जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरपालिकाले प्रविधिमा सहयोग गर्नेछ’, ब्याञ्जूले भने । उनले करिब एक महिनापछि दुई पक्षबीच सम्झौता गरिने सहमति भएको बताए । नगरपालिकाले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि नगरपालिकाको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । यसैबीच नगरपालिकाले एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय नगर धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरिएको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । ‘अब रोपिएका बिरुवामा जिपिएस् जोडिएको छ’ उनले भने ‘उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ ।’ उनका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो । रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पुर्याउने योजना बनाइएको जनाइएको छ । नगरपालिकाले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिसाजन्य फोहारबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरपालिकाले जनाएको छ । साथै टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताए । विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबद्ध तवरले निरन्तरता दिइने जनाइएको छ । गत असार तेस्रो साता संयुक्त राष्ट्र सङ्घ न्युयोर्कमा नगरप्रमुख ब्याञ्जूले धुलिखेल दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धताबमोजिम १७ लक्ष्यका चार विकास लक्ष्य शून्य गरिबी, सुस्वास्थ्य, गुणस्तरीय शिक्षा तथा सफा पिउने पानी पूरा गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै नगरपालिकाले सार्वजनिक गरेको ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ मा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ । नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरपालिकाले ८४ प्रतिशत जनसङ्ख्याको घरमा खानेपानी (एक घर–एक धारा) पुर्याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्नेका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नाका साथै काभ्रेपलाञ्चोकका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप-२६) मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरपालिकाले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ । नगरपालिकाले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरपालिकालाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । रासस
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : जगन्नाथ चापागाईं
काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएको छ । उनले भने, ‘म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।’ चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा बिदाइ गरेका थिए । महासचिव चापागाईंले भने, ‘रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।’ आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट नेपाल सरकारलाई सहयोग गरेको थियो । सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेसल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि सो संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । उक्त संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुनुहुन्छ । ‘विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ’, उनले भने । भ्रमणका क्रममा महासचिव चापागाईंले सो संस्थाको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रसले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिएको थियो । उनले आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । ‘ख’ वर्गका सो एम्बुलेन्सले बिरामी तथा घाइतेहरुलाई स्वास्थ्य सस्थासम्म पु¥याइ जीवन रक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । महासचिव चापागाईंले आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण गरे । ‘विश्वास , समता र स्थानीय कार्य’ नामक सो प्रतिवेदनमा कोभिड–१९ महामारीले उत्पन्न गरेका स्वास्थ्य सङ्कट र सङ्कटकसँग जुध्न गरिएका विश्वव्यापी अनुभवलाई औँल्याइएको छ । भविष्यमा हुन सक्ने विपद्हरूलाई राम्रोसँग व्यवस्थापन गर्न कोभिड–१९ बाट महत्वपूर्ण सिकाइ भएको कुरा प्रतिवेदनले औँल्याएको छ । विश्वास, समता र स्थानीय कार्यहरू नै विपद् पूर्वतयारीका महत्वपूर्ण पक्ष भएको प्रतिवेदनले जनाएको छ । भ्रमणका क्रममा महासचिव चापागाईंले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग अलग अलग द्विपक्षीय भेटवार्ता गरेका थिए । साथै राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफल गरी रेडक्रस अभियानलाई सुदृढ बनाउन आग्रह गरेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पु¥याउने गर्दछ । कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दीका बाबजुद उनले सङ्कटापन्न समुदायलाई मानवीय सहायता पुर्याउन निर्वाह गर्नुभएको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ । स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनाका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ । रासस