नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । ‘सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो’, इन्जिनियर दिष्टीले भने, ‘म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।’ अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताए । नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए । ‘अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्’, उनले भने, ‘गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।’ भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताए । सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उनको भनाइ छ । ‘सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ’, इन्जिनियर ढकालले भने, ‘बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।’ सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताए । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए । ‘पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ’, उहाँले भन्नुभयो, ‘यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो ।’ सूचना अधिकारी ढकालले हालसम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिए । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताए । ‘अहिले हाम्रो साइटमा दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन्’, उनले भने, ‘यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।’ पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उनले बताए । ‘परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ’, ठेक्का व्यवस्थापक झाले भने, ‘पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।’ ठूला पुलहरुमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको बताए । ‘आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।’ यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । ‘दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्’, झाले भने, ‘त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौं ।’ यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको झाले बताए । नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् । रासस
धुलिखेल नगरपालिकाले कृषिमा जापानिज सीप र प्रविधि भित्र्याउँने
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको छ । कम्पनीले धुलिखेलका कृषकलाई जापानिज सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम दिनेछ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने जनाइएको छ । जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गरिने नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए । उनका अनुसार सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने छ । ‘जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरपालिकाले प्रविधिमा सहयोग गर्नेछ’, ब्याञ्जूले भने । उनले करिब एक महिनापछि दुई पक्षबीच सम्झौता गरिने सहमति भएको बताए । नगरपालिकाले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि नगरपालिकाको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । यसैबीच नगरपालिकाले एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय नगर धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरिएको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । ‘अब रोपिएका बिरुवामा जिपिएस् जोडिएको छ’ उनले भने ‘उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ ।’ उनका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो । रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पुर्याउने योजना बनाइएको जनाइएको छ । नगरपालिकाले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिसाजन्य फोहारबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरपालिकाले जनाएको छ । साथै टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताए । विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबद्ध तवरले निरन्तरता दिइने जनाइएको छ । गत असार तेस्रो साता संयुक्त राष्ट्र सङ्घ न्युयोर्कमा नगरप्रमुख ब्याञ्जूले धुलिखेल दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धताबमोजिम १७ लक्ष्यका चार विकास लक्ष्य शून्य गरिबी, सुस्वास्थ्य, गुणस्तरीय शिक्षा तथा सफा पिउने पानी पूरा गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै नगरपालिकाले सार्वजनिक गरेको ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ मा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ । नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरपालिकाले ८४ प्रतिशत जनसङ्ख्याको घरमा खानेपानी (एक घर–एक धारा) पुर्याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्नेका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नाका साथै काभ्रेपलाञ्चोकका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम सञ्चालन गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप-२६) मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरपालिकाले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ । नगरपालिकाले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरपालिकालाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । रासस
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : जगन्नाथ चापागाईं
काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएको छ । उनले भने, ‘म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।’ चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा बिदाइ गरेका थिए । महासचिव चापागाईंले भने, ‘रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।’ आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट नेपाल सरकारलाई सहयोग गरेको थियो । सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेसल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि सो संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । उक्त संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुनुहुन्छ । ‘विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ’, उनले भने । भ्रमणका क्रममा महासचिव चापागाईंले सो संस्थाको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रसले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिएको थियो । उनले आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । ‘ख’ वर्गका सो एम्बुलेन्सले बिरामी तथा घाइतेहरुलाई स्वास्थ्य सस्थासम्म पु¥याइ जीवन रक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । महासचिव चापागाईंले आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण गरे । ‘विश्वास , समता र स्थानीय कार्य’ नामक सो प्रतिवेदनमा कोभिड–१९ महामारीले उत्पन्न गरेका स्वास्थ्य सङ्कट र सङ्कटकसँग जुध्न गरिएका विश्वव्यापी अनुभवलाई औँल्याइएको छ । भविष्यमा हुन सक्ने विपद्हरूलाई राम्रोसँग व्यवस्थापन गर्न कोभिड–१९ बाट महत्वपूर्ण सिकाइ भएको कुरा प्रतिवेदनले औँल्याएको छ । विश्वास, समता र स्थानीय कार्यहरू नै विपद् पूर्वतयारीका महत्वपूर्ण पक्ष भएको प्रतिवेदनले जनाएको छ । भ्रमणका क्रममा महासचिव चापागाईंले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग अलग अलग द्विपक्षीय भेटवार्ता गरेका थिए । साथै राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफल गरी रेडक्रस अभियानलाई सुदृढ बनाउन आग्रह गरेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पु¥याउने गर्दछ । कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दीका बाबजुद उनले सङ्कटापन्न समुदायलाई मानवीय सहायता पुर्याउन निर्वाह गर्नुभएको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ । स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनाका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ । रासस
एमालेले प्रस्ताव गरेको राष्ट्रपतिलाई हराएरै छाड्छु : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताए । महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । यो पटक म संसदमा एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा उभिए । निर्वाचनमा क्षेत्रमा हाल्छु भोट तलाई एमसीसी पास गर्ने भनेर गाली खाँए । राष्ट्रपतिजीलाई त्यो संग जोडेको छैन । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दूर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं । ’ विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाई थियो ।
‘सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुँदैन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने दावी गरे । उनले सरकारले अर्थतन्त्र जोगाउनेतर्फ मात्रै नलागेर अर्थतन्त्र चलायमान बनाउन तल्लो तहसम्म तरलता सहज हुने वातावरण बनाउन आवश्यक रहेको बताए । ुक वर्गका वाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउन आवश्यक छ,ु उनले भने । यस्तै, उनले बैंकको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको बताएका छन् ।
१० अर्बमा निर्माण भयो सुपरदोर्दी ‘ख’ आयोजना
लमजुङ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ । मुख्य सुरुङको २०/२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ । आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल आठ अर्ब ८० करोड रुपैयाँको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित १० अर्ब ३९ करोड देखि ५० करोड रुपैयाँसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता पिपिए गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने पिपिए सम्झौता गरिएको छ । रासस
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप बुस्टर डोज आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ गाभीले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए । उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले सङ्क्रमण घटेको छ । अहिले सङ्क्रमण पनि कम हुँदै गएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना सङ्क्रमित र तीनजना सक्रिय सङ्क्रमित भेटिएका छन् । रासस