स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज माघ २६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । आइसिआरए नेपालले इक्राएनपी आइआर त्रिपल ए रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा संकेत गर्दछ ।
शिखरलाई ‘नम्बर वान’ नै कायम राख्न सकिन्छ : सीईओ पाण्डे
मेरो २९ वर्षको बुझाईमा बीमा यस्तो मार्केट हो जहाँ बीमितको विश्वास जित्नुपर्छ । बीमितको विश्वास जित्नलाई दावी तिर्नुपर्छ । बीमितको जति दावी तिर्यो त्यति बीमा बजार बढ्दो रहेछ । यसको लागि मेरो सञ्चालक समिति र मेरो टीमलाई धेरै धन्यवाद पनि दिन चाहान्छु । समितिले विश्वास गरेर दिएको अधिकारलाई हाम्रो टीमले कार्यान्वयन गरेको छ । यसले गर्दा सर्वसाधारणमा शिखर प्रतिको विश्वास बढेको छ, जसले गर्दा हाम्रो बीमा बजार बढ्दै गएको छ । कृषि र लघुबीमा नेपालको लागि आवश्यकता हो । हामी तथा सञ्चालक समितिको प्रिन्सिपल के छ भने नेपाली जनताको आर्थिक अवस्थामा सुधार आयो भने बीमा बजारमा आफै सुधार आउँछ । आजको दिनमा बीमा बजार किन बढेन भन्ने हो भने बीमा हाम्रो बीमितको क्रयशक्तिसँग टाई अप छ । आजको आवश्यकता नै उहाँहरुले पूर्ति गर्न सक्नुभएन भने भोलिको लागि सोच्ने कुरै आएन । बीमा भनेको भोलिको लागि हो । आज त आजको आवश्यकता महत्वपूर्ण हुन्छ । त्यसैले आर्थिक अवस्था उन्नत्ति भयो भने मात्रै मान्छेले सुरक्षा खोज्न थाल्छ । यो अवस्थामा मात्रै बीमा बजार बढ्छ । हामीले किसान तथा न्यून वर्गमाझ लघुबीमा लान सक्यौं भने उहाँहरुको आर्थिक अवस्था उकासिन्छ । सोही अनुसार हामी उहाँहरु माझ पुगेका छन् । ९ करोडबाट २२ करोड, २२ करोडबाट ३६ करोडको बीमा गरेका थियौं । चालु आवमा करिब ६० करोड र आउँदो आवमा १०० करोडको लघुबीमा व्यवसाय गर्ने हाम्रो टार्गेट छ । यसको लागि शाखा कार्यालय विस्तार गर्नुपर्ने हुन्छ । सोही अनुरुप हामीले शाखा कार्यालय बढाउँदै गएका छौं । हामीले आज ११० वटा शाखा सञ्चालनमा ल्याएका छौं । शिखरको लगानी बढ्दो क्रममा छ । आजको दिनमा करिब ४२५ करोड बढीको लगानी भइसकेको छ । कम्पनीले मुद्दति निक्षेपमा २७१ करोड, ऋणपत्रमा ६६ करोड, नेपाल पुनर्बीमा कम्पनीमा १६ करोड २० लाख, सेयरमा १८ करोड ७७ लाख जसमा ४ करोडको जतिको इम्प्याक्ट परेको हो । तर आजको दिनमा हामी सेयर लगानीमा नोक्सानमा छैनौं । विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा कूल ९ करोड ४५ लाख र पूर्वाधार क्षेत्रमा १७ करोड ४४ लाखको लगानी छ । दीर्घकालिन लगानी ९ करोड ४५ लाख थियो भने अहिले बढेर १७ करोड पुगेको छ । हालको पूर्वाधार क्षेत्रको प्रोजेक्टले दीर्घकालमा हामीलाई राम्रै प्रतिफल दिने विश्वास छ । ३ लाख ४३ हजार बीमा पोलिसी पुगेको कम्पनीको अहिले झरेर २ लाख ३५ हजार पुगेको देखिन्छ । यो किन घट्यो भने नेपालमा मोटरसाइकल बीमामा एकदमै अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो । लगभग ३५ वटा यतायात कार्यालयहरुमध्ये हामी ३२ वटाबाट बीमा गर्थ्यौं । यसमा अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेपछि सबै बीमा कम्पनी र बीमा प्राधिकरण मिलेर यसलाई मार्केट पुल बनाऔं भनेपछि एउटा कार्यालयमा दुई तीन वटा कम्पनी मात्रै राखौं भन्ने भयो । सो अनुसार ३२ वटाबाट बीमा गरेका हामीले तीन वटा कार्यालय (प्रदेश नम्बर १, मधेष प्रदेश र बागमती प्रदेश) बाट मात्रै पोलिसी जारी गर्ने भएको हुनाले जारी बीमालेखको संख्या घटेको हो । अब विभिन्न शाखा विस्तार गरेर अघि बढेपछि चालु आवमा ३ लाखको पोलिसी जारी गर्नेछौं । शरहमूखी मात्रै नभई गाउँ केन्द्रित रहने शिखर पहिलो कम्पनी हो । हाल कम्पनीको शाखा कार्यालय ११० वटा पुगेको छ । यी शाखाबाट उत्साहजनक प्रगति भएको छ । जुम्ला, हुम्ला, मुगु र कालिकोट यी चार वटा जिल्लामा ६ वर्ष अघि हामीले बीमा गर्दा जम्मा २ लाखको बीमाशुल्क उठेको थियो भने यो आवमा लगभग २२ करोडको बीमाशुल्क संकलन भएको छ । स्याउको बीमा परिकल्पना गर्ने त्यहाँका कृषकले आज वास्तवमै गर्नुभएको छ । त्यहाँका कृषकहरुले फुँजी ब्राण्डको स्याउँ बीमा रोप्न थालिसक्नु भएको छ । यसले बीमा बजार बढ्दै गएको देखाउँछ । कृषि बीमा फष्टाउनुको कारण नेपाल सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदा हो । आजको दिनमा किसानहरु ‘बरु अनुदान चाहिँदैन बीमा हाम्रो आवश्यकता हो, शिखर इन्स्योरेन्सले गरेको छ, यसलाई धन्यवाद, हामी यो बीमा गर्छौं’ भनेर अघि बढ्नु भएकोले हामी उत्साहित छौं । त्यसैले आगामी दिनमा बीमाको भविष्य कृषि बीमामा त्यो पनि दुर्गम क्षेत्रमा देख्छु म । हामी एउटा ग्रोथ मोडमा गएका छौं । दुई वर्षमा हामी बीमाशुल्कमा ३५० करोडबाट ५०० करोडको ग्रोथमा पुग्यौं । यसरी कम्पनी बलियो हुँदै गएको छ तर व्यवसाय बढेको अनुसार कम्पनीका सेयरधनीलाई दिनु पर्ने प्रतिफल आएको हुँदैन । सायद चालु आवमा हामी ५५० देखि ६०० करोडको हाराहारीमा बीमाशुल्क संकलन गर्छौं । त्यसपछि हामी कन्सोलेडेसन मोडमा जान्छौं । त्यसपछि रिजर्भहरुबाट कम्पनीमा प्रतिफल आउन थाल्छ र फेरि रिटर्न दिन सक्छौं । त्यो कारणले नाफामा केही असर परेको हो । शाखा विस्तार गरिसकेपछि स्ट्रङ भएर अघि बढेपछि लगानीकर्ताको अपेक्षाअनुसारको प्रतिफल वितरण गर्न हामी सक्षम हुन्छौं । शिखरको स्ट्रेन्थ के ? कम्पनीको सल्भेन्सी मार्जिन राम्रो छ । जस्तै, आज मसँग एक रुपैयाँ छ । तर मैले २ रुपैयाँको जोखिम लिएँ भने म इन्सल्भेन्ट अर्थात बन्द हुन सक्छु । तर आज हाम्रो १०० रुपैयाँको जोखिम छ भने ३२५ रुपैयाँ हामीसँग जगेडा छ । त्यसैले हामी सल्भेन्ट छौं । र, हामीले जति जोखिम लिएका छौं, त्यो तिर्न हामी सक्षम छौं । विश्व बजारनै रिक्स बेस्ड क्यापिटलमा गइसकेको छ । नेपालका बीमा कम्पनी पनि आगामी दिनमा यो मोडालिटिमा जान्छन् । त्यस्तै, कम्पनी ओन रिक्स एण्ड सोल्भेन्सी एसेस्मेन्ट (ओआरएसए) सिस्टममा जानुपर्छ । अर्थात कम्पनीले यो बिजनेसमा यति जोखिम लिन्छु भनेर एउटा अनुशासनमा रहेर पोलिसी बनाउनुपर्छ । जुन पोलिसीलाई नियामकले स्वीकृत गरेर निगरानीमा राखिरहेको हुन्छ । सोहीअनुसार कम्पनी व्यवस्थापक तथा बोर्डले काम गर्नुपर्छ । यसको लागि हामीले अध्ययन गरि ड्राफ्ट तयार पारिसकेको छ । नयाँ बीमा ऐन आएको छ । त्यसमा पुराना निर्देशनहरुलाई समावेश गरिएको छ भने जरिवाना (पेनाल्टी) हरु बढेका छन् । हामीले शुशासनमा धेरै नै जोड दिएका छौं । त्यसैले हामी के मा विश्वास गर्छौं भने हामीले बदमासी गर्नु छैन, हामीलाई डराउनु छैन, हामी पेनाल्टीमा नडराऔं, अगाडि बढौं भन्ने थिममा हाम्रो टीम लागेको छ । यसले कम्पनीको व्यवसाय विस्तारमा राम्रो भूमिका खेल्छ । बजारमा स्वस्थ र अस्वस्थ दुई वटै किसिमको प्रतिस्पर्धा छ । हामी स्वस्थ प्रतिस्पर्धासँग डराउँदैनौं । तर अस्वस्थ प्रतिस्पर्धाले हामीलाई धेरै नै असर गरेको हुन्छ । जसले गर्दा कम्पनीले गत वर्ष मात्रै मोटर व्यवसायमा १५ करोड र सम्पत्तिमा झण्डै १० करोडको बिजनेस लुज गर्यो । तर हामीले पहिला नै फोर्सिन गरेर शाखा सञ्जाल विस्तार गरेर नयाँ बीमा बजारमा आफूलाई स्थापना गर्यौं, यसले गर्दा प्रतिस्पर्धाले त्यति असर गरेन । तर आगामी दिन अर्थात दीर्घकालमा यसले असर गर्छ । विद्युतीय युग छ । डिजिटाइजेशनमा जानुपर्छ । हामी पुरानो सफ्टवेयर परिवर्तन गरेर नयाँमा सिफ्ट हुँदैछौं । यसले गर्दा पनि हाम्रो सभा ढिला हुन पुगेको हो । उपयुक्त वातावरण भए मर्जरमा जाने हाम्रो चुक्ता पुँजी २ अर्ब ६५ करोड पुगेको छ । जुन नियामक निकायले तोकेको पुँजीभन्दा बढी हो । त्यसैले पनि हामीलाई मर्जर आवश्यक छैन । तर अन्य कम्पनी धमाधम मर्ज हुँदा हामीलाई चुनौती थपिएको छ । अन्य कम्पनी अगाडि नजाउन् भन्दा पनि हामी अझ अघि कसरी बढ्न सक्छौं ? त्यो ग्याप कसरी कायम राख्न सक्छौं ? त्यतातिर हाम्रो लागि चुनौति छ । आजको दिनमा मर्जरमा गएका कम्पनीभन्दा ४०/५० प्रतिशत बढी प्रिमियम संकलन गर्न सफल भएका छौं । अरु आँकडाहरुमा पनि हामी अगाडि नै छौं । तैपनि उपयुक्त वातावरण भयो भने मर्जरमा जानु पनि पर्छ । प्रतिस्पर्धी बजारमा नम्बर वान कम्पनीको रुपमा रहन यो आवश्यक हुन्छ । नयाँ लघुबीमा कम्पनीहरु आएका छन् । त्यसले हामीलाई केही हिट गर्छ नै तर पनि हामीले अहिले नै उक्त बजार क्याप्चर गरिसकेको हुनाले जीवनलाई जति निर्जीवनलाई त्यति धेरै असर पर्दैन होला । लगानीकर्तालाई राम्रो प्रतिफल दिने लगानीकर्तालाई २०/३० प्रतिशतको लाभांशको अपेक्षा छ । यसमा हामी अग्रसर नै छौं तर हामी व्यवस्थापनमा बस्नेलाई रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) को प्रेसर जहिल्यै पनि हुने रहेछ । हाम्रो रणनीति कस्तो छ भने एक लेभलसम्मको व्यापार बढाउने, नराम्रो व्यवसायलाई हटाउने र राम्रो बिजनेसलाई लिएर अगाडि बढ्ने हो । हाम्रो लाभांशदरमा केही संकुचन आएको छ । आगामी दिनमा यसलाई स्टेबल गर्दै जान्छौं । तर यो भन्दैमा यो वर्ष नै बढ्छ भन्ने होइन । तीन वर्ष अगाडि ५ वर्षमा भनेको थिएँ, अहिले तीन वर्ष भयो । यो चौथो वर्षमा केही लक्षण देख्नुहुन्छ । र, अर्को पाँचौं वर्षमा राम्रै प्रतिफल दिएर अगाडि बढ्न सक्छौं । शिखर इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, पूँजी दुई अर्ब ६५ करोड नाघ्यो अन्त्यमा, विभिन्न चुनौतिका बावजुद पनि हामी आजको दिनसम्म नाफामा छौं । अब चालु आर्थिक वर्षदेखि हामी उकालोतर्फ लाग्छौं । हाम्रो ओरालो जाने क्रम सकियो जस्तो लाग्छ । (शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डेले कम्पनीको १७औं तथा १८औं वार्षिक साधारण सभामा राखेका मन्तव्यको सम्पादित अंश)
रिभ्याम्प नेपाल २०२३ हुँदै, ७० भन्दा बढी उद्यमी सहभागी हुने
काठमाडौं । रिभ्याम्प नेपालको पाँचौं संस्करण ‘रिभ्याम्प नेपाल २०२३’ हुने भएको छ । माघ २८ गते ठमेलको छाया सेन्टरमा उक्त मेला हुन लागेको हो । दिनभर चल्ने कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम, व्यवसायका साथै प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता रहने आयोजकले बताएको छ । आयोजकको अनुसार मेलामा प्रवेश नि:शुल्क रहको छ । महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को शुरुमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम फेब्रुअरी २०२१ मा र अगस्ट २०२१ मा अनलाइन आयोजना गरिएको थियो । जुन पुनः अप्रिल र सेप्टेम्बर २०२२ मा भएको थियो । पाँचौं संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रूपमा सम्भावित ग्राहकहरू, ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न र उनीहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गर्ने आयोजकले बताएको छ । फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा नबिल बैंकसँगको सहकार्यमा आयोजित रिभ्याम्प नेपालको यस संस्करणमा डिश होम, ई(बिमा, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, उपाय, फुडमाण्डु, नेपाल एयरलाइन्स, ई(सेवा, सिस्क्युब टेक्नोलोजी, आर्टसियम प्रोडक्सन, ग्रेस इन्टरनेशनल एजुकेशन, युजि केक, रमाइलो गेम्स, शेरिङ्ग अपर्म्युनिटिज, हाइलाइफ, र नेपाल युवा उद्यमी फोरम ( काठमाडौं च्याप्टर लगायत संस्थाहरुको सहयोग रहेको छ । कार्यक्रममा ७० भन्दा बढी उद्यम व्यवसायहरुको सहभागिता हुनेछ भने ७ हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको छ ।
खप्तड पर्यटन परियोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग
काठमाडौं । खप्तड एकीकृत पर्यटन परियोजनाको गुरुयोजना निर्माण र पूर्वसम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरिएको छ । लगानी बोर्डको कार्यालयले आज एक सूचना जारी गर्दै १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणका लागि प्रस्ताव पेश गर्न आगामी फागुन ११ (फेब्रुअरी २३) गतेसम्मको समय दिइएको छ । लगानी बोर्डको कार्यालयका अनुसार यस्तो प्रस्ताव अनलाइनमार्फत पेश गर्नुपर्नेछ । प्रस्ताव छनौटपछि परियोजनाको सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणका लागि एक वर्षको समय दिइएको छ । सरकारले विसं २०७५ चैतमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा लगानी बोर्डको कार्यालयले यो परियोजनालाई सोकेसमा राखेको थियो । लगानी सम्मेलनका क्रममा तयार पारिएको प्रोजेक्ट बैंकको विवरणअनुसार खप्तड राष्ट्रिय निकुञ्जमा एकीकृत पयर्टन र यातायात पूर्वाधार निर्माणका लागि १८ करोड ७० लाख अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो । डोटी जिल्लाको झिग्राना पोष्टदेखि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयसम्म सात किलोमिटर केबलकार निर्माणको योजना लगानी बोर्डले बनाएको उक्त विवरणमा देखिन्छ । दुई वटा तारे होटल, गल्फ, योगा, ध्यान, घोडचढी (हर्स राइडिङ), साइक्लिङ, हेली सर्भिस, स्काई डाइभिङलगायतका सुविधा उपलब्ध हुनेगरी पूर्वाधार बनाउने योजना लगानी बोर्डको रहेको देखिन्छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र वरिपरिका बस्तीहरूलाई सांस्कृतिक क्षेत्रका रूपमा अघि बढाउने गरी पूर्वाधार बनाउन सकिने पनि लगानी बोर्डको कार्यालयको विवरणमा उल्लेख छ । यो परियोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा अघि बढाउने योजना लगानी बोर्डको छ । परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम सरकारले गर्नुपर्नेछ । “खप्तडमा पर्यापर्यटन (इकोटुरिजम) का हिसाबले के कति काम गर्न सकिन्छ भनेर सम्भाव्यता अध्ययन गर्न र खप्तड क्षेत्र जोडिएका बझाङ, बाजुरा, डोटी र अछाममा पर्यटन पूर्वाधार निर्माणका लागि एकीकृत योजना तयार पार्न आवश्यक छ । त्यसैका लागि आज प्रस्ताव माग भएको हो”, लगानी बोर्डका परामर्शदाता रञ्जिता आचार्यले भने । विसं २०७५ मा आयोजना भएको लगानी सम्मेलनअघि यो परियोजनाबारे लगानी बोर्डको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारसँग छलफल गरेको र त्यो क्षेत्रको सम्भाव्य आयोजनाका रूपमा अघि बढाउन खोजेको उनको भनाइ छ । ‘सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रका लागि एकीकृत पूर्वाधार परियोजना बनाउने भनेर भनेपछि उक्त परियोजनाका लागि सामान्य अध्ययन गरेर सोकेसमा राखियो । अहिले थप अध्ययनका लागि प्रस्ताव मागिएको छ’, उनले भने ।
माइपे वालेटबाट आईसीसी विश्वकप लिग २ को टिकट सस्तोमा किन्न सकिने
काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्था समेत गरेको छ । खेल आउँदो फागुन २ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ । क्यानले सामान्य टिकटको मूल्य १५० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३५० रुपैयाँ निर्धारण गरेकोमा माइपेमार्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य १३० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३२० रुपैयाँ रहेको छ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ । माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आग्रह गरेको छ ।
रास्वपा एक नेताको भावनाभन्दा माथि उठ्नु पर्छ : अर्निको पाँडे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेले रास्वप एक नेताको भावनभन्दा माथि उठ्नुपर्ने बताएका छन् । बुधबार दिउँसो ट्वीट गर्दै उनले रास्वपा सभापति रवि लामिछानेको भावना भन्दा युवा, सीमान्तकृत र आशावादी नेपालको लागि उठ्नु पर्ने बताए । सभापति लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा दिएका अभिव्यक्ति बारे प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् । यस्तै, उनले लामिछानेले पत्रकार सम्मेलनमा बाेलेको कुराको आफुले जिम्मेवारी नलिने बताएका छन् । उनले पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिए पनि पछि दिएको अभिव्यक्तिको आफुले जिम्मेवारी निलिने बताएका हुन् । Yes I co-own RSP’s decision on Sunday – we discussed extensively. No I was not part of the press conf. prep. & I don’t co-own the narrative, its delivery & its omissions. RSP must rise above one leader's emotions to stand for the young, the marginalized and the hopeful of Nepal. — Arnico Panday अरनिको पाँडे (@arnicopanday) February 8, 2023
एउटा संस्थामा आवद्ध डाक्टर अर्कोमा काम गर्न नपाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर, कान्ति र परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु गर्ने भएको छ । मन्त्रालयले स्वास्थ्यका नीतिगत प्राथमिकता र न्यूतम कार्यक्रमको कार्ययोजना तयार गर्दै उक्त कार्ययोजनामा सो विषय समावेश गरेको हो । सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित रहेर स्वास्थ्यका नीतिगत प्राथमिकता र न्यूतम कार्यक्रमको कार्ययोजना तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पेस गरेको छ । सरल र सहज सार्वजनिक सेवाको प्रवन्ध गर्न मन्त्रालयले सो कार्यक्रम लागु गर्न लागेको कार्ययोजनामा उल्लेख गरिएको छ । सरकारले २०७७ मा नै ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ मन्त्रीपरिषदबाट स्वीकृत गरिसकेको छ । एक चिकित्सक एक स्वास्थ्य संस्था नीति लागु भइसकेपछि भने चिकित्सकहरुले सम्बन्धित स्वास्थ्य संस्था बाहेक अन्यत्र चिकित्सकीय काम गर्न पाउँदैनन् । तर, सो नीति लागु भएका स्वास्थ्य संस्थाले भने अतिरिक्त सेवा सुविधा उपलब्ध गराउने विषय उक्त कार्यविधिमा उल्लेख गरिएको छ । उक्त कार्यविधिमा कतिपय स्वास्थ्यकर्मीहरुले पनि तत्कालिन समयमा असहमति जनाएका थिए । तर, सो नीति लागु हुन सकेमा स्वास्थ्य संस्था बलिया हुने, शुसासन कायम गर्न र सेवा प्रवाह गर्न सजिलो हुने धेरैको बुझाइ रहेको छ । [pdf id=387030]
टर्की र सिरियाको भूकम्पमा साढे ९ हजार बढीको मृत्यु
इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन् । युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलव्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् । रासस