भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने पाइने व्यवस्था गरेको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जारी गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । ‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ’ समीक्षामा उल्लेख छ ।
बजार अभावले बङ्गुरपालन व्यवसाय चौपट
उर्लाबारी । अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर करिब पाँच वर्ष अघि नेपाल फर्किए । उनले आयआर्जन हुने विभिन्न उपाय खोजी गर्ने क्रममा पारिवारिक सहमतिमा बङ्गुरपालन व्यवसाय थाले । सुरुआतमा सुन्दासले वैदेशिक रोजगारीमा आर्जन गरेको धनबाट व्यवसाय स्थापना गर्ने सोच बनाए । तर त्यो पैसाले व्यवसाय सञ्चालन गर्न मुस्किल पर्ने देखेपछि उनले बैंकबाट ऋण लिएर व्यवसायलाई विस्तार गर्ने सोच बनाए । एक करोड रुपैयाँ ऋण लिएर सुन्दासले ४० बङ्गुरपालन थाले । मासु उत्पादनभन्दा पनि पाठापाठी उत्पादन गर्ने र बिक्री गर्ने सोचका साथ कृषि पेसामा होमिएका सुन्दासले करिब तीन वर्ष राम्रै व्यापार गरे। तर व्यवसायमा लगानी गरेको ऋण चुक्ता गर्न सकेनन् । यसैबीचमा कोरोना सङ्क्रमण फैलियो । व्यापार–व्यवसाय चौपट बन्न पुग्यो । उनी कोरोना महामारी अघि उत्पादित पाठापाठी भारतको सिक्किम र भुटानसम्म निर्यात गर्दै आएका थिए । ‘कोरोनापछि बङ्गुरका पाठापाठी निकासीमा रोकलगाएपछि व्यवसाय चौपट भयो’, उनले पीडा सुनाए । सुन्दास जस्तै बङ्गुरपालन गर्दै आएका अन्य कृषक पनि मर्कामा परे । यतिबेला फार्ममा उत्पादन भएका पाठापाठीलाई पेटभरि आहारा खुवाउन पनि मुस्किल भएको उनको दुखेसो छ । ‘महिनैपिच्छे बैंकबाट साँवा–ब्याज किस्ता, भन्दै आउने टेलिफोनको घण्टीले थप पीडित बनाएको छ’, उनी भन्छन् । फार्ममा पाठापाठी उत्पादन भएर हुर्किने बेला भएपनि नेपालमा बिक्री हुने नहुने केही ठेगान छैन । निर्यात गर्न सरकारले सहज वातावरण बनाइदिनुपर्ने उनको माग छ । आहाराको दाम दिनप्रतिदिन बढ्दो छ । खुराकको अभावमा पाठापाठी मर्ने पिर रहेको सुन्दासले बताए । सुन्दास मात्र हैन सोही क्षेत्रमा बङ्गुरपालन व्यवसाय गर्दै आएका रमन बस्नेत र लोकेन्द्र बस्नेतको पीडा पनि उस्तै छ । नेपालबाट बाहिर निकासी ठप्प हुँदा लागत मूल्यनै उठाउन मुश्किल भएको रमन बताउँछन् । उनी भन्छन्, “बजारमा दानाको मूल्य दिन–प्रतिदिन आकासिने क्रम रोकिएको छैन, उत्पादन भएका पाठापाठीको मूल्य घटेको घटै छ, उत्पादन खर्च धान्न हम्मेहम्मे परेको छ, पाठापाठी छाडा छोडौँ त छिमेकीलाई असर, खोरमा थुनेर दाना दिँदा खर्च धान्न मुस्किल छ ।’ नगरपालिकाले न्यून आयस्रोत भएकाको जीविकापार्जनका लागि बङ्गुरका पाठापाठी वितरण गर्ने भए निःशुल्क दिन तयार रहेको बस्नेतले बताए। राज्यबाट कृषकको जीवनस्तर उकास्ने नाममा विभिन्न ठाउँमा धेरै प्रकारका कार्यक्रम सञ्चालन हुने गरेका छन् । कृषकका लागि भनेर विभिन्न अनुदानका कार्यक्रमसमेत सरकारले ल्याएको छ । तर सरकारीस्तरबाट यसरी ल्याइएका कार्यक्रमबारे गाउँस्तरसम्म पुगेर प्रभावकारी अनुगमन र नियमन हुन सकेको छैन । कृषकलाई दिएको सुविधामा विचौलियाको दबदबा बढेपछि वास्तविक कृषक मर्कामा पर्ने गरेका अर्का किसान लोकेन्द्रको भनाइ छ । रासस
भारतीय बजारको असर नेपालमा : धान चामलको मूल्य बढ्दा किसान खुसी तर उपभोक्ता मारमा
पोखरीया । नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान धानको उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर यसपालि भने मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३० लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले पनि कम नै हुने गरेको भए पनि यसपालि भने थोरै भए पनि खुसी भएको उनी बताउँछन् । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आफ्नो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुसी नै छौँ हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि त भएको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धि हुँदा एकातिर किसानले खुसी व्यक्त गरेका छन् भने अर्कोतर्फ चामलका उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल रु तीन सयसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँ सम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छन् । भारतले नेपालका लागि चालु आर्थिक वर्षमा छ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष डा सुबोध गुप्ता भारतले गत वर्षदेखि धानको समर्थन मूल्य रु पाँचदेखि छ बढाएर बिक्री गर्ने गरेको र भारततर्फबाट धान चामल नेपालतर्फ आयात गर्दा त्यसमा नै भन्सार कर र ढुवानी भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने कारणले मूल्य वृद्धि भएको अवस्था रहेको बताउँछन् । अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारततर्फ नै निर्भर रहेको उनको भनाइ छ । नेपाली बजारमा पनि भारततर्फकै धान चामलको समर्थन मूल्यले ठाउँ लिँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । नेपाली बजारमा गत वर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ थियो भने हाल बढेर तीन हजार एक सय रुपैयाँ पुगेको छ । त्यही धानको मूल्य भारतमा तीन हजार दुई सय ५० रुपैयाँ रहेको अर्थात् नेपालको धान चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको गुप्ताको भनाइ छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट वीरगञ्ज नाका हुँदै १९ हजार आठ सय एक मेट्रिक टन अर्थात् एक अर्ब ५० करोड ५५ लाख रुपैयाँ बराबरको चामल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा छ । वीरगञ्ज नाका हुँदै यही अवधिमा धान एक लाख ९४ हजार ८१ मेट्रिक टन अर्थात् छ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । रासस
बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका’ प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलो पटक संयन्त्रको बैठक बसेको हो । संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।
८० करोडमा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र
झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा ८० करोड रुपैयाँको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उनले जानकारी दिए । ‘आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ’, उनले भने, ‘परियोजनालाई चाहिने आवश्यक सामग्री निर्माणाधीन स्थलमा आइरहेको छ ।’ परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुने उनले बताए । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने सम्झौता भइसकेको उनको भनाइ छ । पूर्व पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल रहेको छ । त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि इनर्जी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरिसकेको छ । भट्टराईले परियोजनामा उच्च प्रविधियक्त सोलार प्यानल तथा उपकरण जडान गरिने बताए । उनले नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २०७८ मङ्सिर १२ मा विद्युत् खरिद सम्झौता भइसकेको बताए । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास गत वर्ष संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पुर्याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्याउने बताए । रासस
बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित
फुङ्लिङ । जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको छ । स्वास्थ्य बीमाबापतको ५६ लाखभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले जानकारी दिए । स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम समयमै नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याब सेवा बन्द हुने उनी बताउँछन् । जिल्ला करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याब सेवा समिति आफैँले सञ्चालन गरिरहेको छ । जिल्ला अस्पतालका निमित्त प्रमुख विजया राईका अनुसार बीमाबापत अस्पतालले ५६ लाख ७८ हजार पाउन बाँकी छ । आर्थिक वर्ष २०७८/७९ मा ४३ लाख ४५ हजार मागदाबी गरिएकामा ५ लाख ४५ हजार भुक्तानी भएको छ । चालु आव २०७९/७९ को मागदाबी गरिएमध्येको कत्ति पनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ । राईका अनुसार चालु आवको पुस मसान्तसम्मको १८ लाख ७७ हजार स्वास्थ्य बीमाबापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी छ । समयमै बीमाबापतको रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेको राईले बताइन् । ‘स्वास्थ्य बीमा बोर्डले चाँडै भुक्तानी दिने आश्वासन दिएको छ । समयमै भुक्तानी नभए स्वास्थ्य सेवा प्रभावित हुन्छ,’ उनले भनिन् । रासस
बागलुङमा स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ । विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्नेगरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदैआएको छ । पटक–पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए । निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको जनाएको छ । कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको बस्ताकोटीले बताए । ‘ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भएको छैन’, उनले भने । भवनको लागत एक करोड ७० लाख ४८ हजार रहेको छ । स्वास्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो गरे । एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्नेलगायत काम गरिँदैआएको छ । ‘पुरानो भवनमा पर्याप्त कोठा छैनन्, एकै पटक धेरै बिरामी आए कहाँ जाँच गर्ने ?, कहाँ खोप लगाउने ?, कहाँ प्रसूति गराउने भन्ने समस्या हुन्छ’, उनले भने । रासस
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
काठमाडौं । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।